विभिन्न शास्त्रीयवाद तथा दर्शनअनुसार मान्छे विषयगत र वस्तुगत दुई तरिकाले जिउने गर्दछ। विषयगत भन्नाले मान्छेको व्यक्तिगत भित्री चाहना भन्ने बुझिन्छ भने वस्तुगत भन्नाले भौतिक सुख वा विज्ञानले खोज गरेको जिन्दगी भन्ने बुझिन्छ।
वस्तुगत अवधारणा भन्दा विषयगत अवधारणाबाट जिउनु व्यक्तिगत अवधारणा हो र यसको लागि कुनै कसैको बाधा हुनु हुँदैन भन्ने दर्शन अस्तित्वबाद हो। किर्के गार्ड र फ्रेडरिक निचको अस्तित्ववादी दर्शनबाट प्रभावित भएर लेखिएका रचना, साहित्य र दर्शनबाट फ्रेन्च नोबेल पुरस्कार विजेता अल्वेयर कामु र जाँ पाल सार्त्रले नोबेल पुरस्कार जित्न सफल भएका थिए। Søren Kierkegaard को सन् १८४४ मा प्रकाशित The Concept of Anxiety नै किर्केगार्डको अस्तित्ववादी दर्शन हो ।
अस्तित्ववादी दार्शनिक किर्केगार्डका अनुसार विज्ञानले धेरै कुरा पत्ता लगायो तर मान्छेको बेचैनीको कारण के हो त्यो कहिल्यै पत्ता लगाउन सकेन। उनका अनुसार विज्ञानले पत्ता लगाउन नसकेको बेचैनीका लागि अस्तित्ववादी दर्शनको ज्ञानबाट मानवीय बेचैनीको खोज गरिनु पर्छ भन्नु हो । अस्तित्ववादअनुसार प्रत्येक व्यक्तिको समस्या छ तर कतिपय उसका समस्या ऊ बताउन सक्दैन।
प्रत्येक व्यक्तिको त्यही समस्याबाट नै समाजमा मान्छे चिन्तित रहेको हुन्छ । मान्छेको समस्या साझा छ तर व्यक्त गर्न सक्ने क्षमता छैन । समस्या बताउन नसकेर हुने मानवीय बेचैनी नै मानव जातिको साझा समस्या हो । हामी महसुस गर्दछौ तर हामी व्यक्त गर्न सक्दैनौँ । जो व्यक्त गर्न कोसिस गर्दछ, तीमध्ये धेरै व्यक्ति समाजको वाहियात वा मानसिक रोगी व्यक्ति ठहर्दछ । हाम्रो समाजमा मान्छे यस्तो हुनुपर्छ भन्ने कुरा सधैँ भिडले निर्णय गर्ने गर्दछ र हामी सधैँ भिडको दृश्यमा जिउने गर्दछौं । अस्तित्ववादी दर्शनका अनुसार मानवीय जीवनमा खुशी र चिन्ता सबै मान्छेमा एकनासले आएको हुन्छ । कसैको सहन शक्ति धेरै हुन्छ भने कसैको सहन शक्ति थोरै हुन्छ ।
सबै मान्छेहरूको समाज प्रतिको हेराई उसको धर्म र संस्कृतिअनुसार हुने गर्दछ । ऊ आफैँले हेर्नुपर्नेमा हामीले यसरी हेर्नु पर्छ भनेर समाज अगाडि राख्दछ ।
अस्तित्ववादी दार्शनिक किर्केगार्डको जन्म एक धनी परिवारमा भएको थियो। उनीहरू ७ भाइ बहिनीहरू थिए । किर्केगार्ड २२ वर्ष नहुँदै उनी र उनका एक भाइबाहेक सबै दाइभाइ बहिनीको मृत्यु भयो । उनी विरक्तिए । मानसिक रूपमा अशक्त हुँदै जाँदा उनी शारीरिक रूपमा पनि अशक्त हुन पुगे । शारीरिक तथा मानसिक रूपमा अशक्त भए पनि केही गर्ने पर्छ भन्ने सोचका साथ उनी अगाडि बढे । २७ वर्षको उमेरसम्म उनी बेरोजगार थिए । उनी काम गर्न चाहन्थे तर कसैको वश उनलाई सैह्य थिएन । उनी अन्तर्मुखी थिए । कतै काम गरे पनि उनी कसैसँग मिल्न सक्ने क्षमता उनीमा थिएन । उनी सधैँ टोलाएर बस्थे । उनको सिद्धान्त र उनको कुरा कसैले मन पराउँदैनथ्यो । उनी एकदम एक्ला थिए । उनी अबोध जनावरसँग मिल्थे, प्रकृतिसँग मिल्थे । उनी आफू बाँच्नका लागि जस्तो काम पनि स्विकार्थे तर आडम्बरी जिन्दगी उनी रूचाउँदैनथे ।
उनको २७ वर्षे जिन्दगीमा तीन विकल्पहरू आएकामध्ये पादरी पनि एक थियो। उनको परिवार धार्मिक परिवार थियो । पादरी बनेर जिन्दगी निकाल्नु भनेको उनका लागि केवल जिन्दगी निकाल्ने पक्रिया मात्रै हुन्थ्यो तर जिन्दगीको सत्यसँग पुगिदैनथ्यो। त्यही समयमा उनको सम्पर्कमा एक केटी साथी आइन् । बिहे गर्न उनमा केही दवाव पनि आयो। उनले धेरै सोचे र मनमनै भन्न थाले, एक बेरोजगार युवक बिहे गरेर अगाडि बढ्नु भनेको आम जिन्दगी बिताउनु हो । केही समयका लागि यौन सम्पर्कको यौन सुख तथा बच्चा जन्मेपछि पारिवारिक धकेलाधकेल जिन्दगी, बस् चक्रीय जिन्दगी !
उनी बिहे गर्ने, पादरी बन्ने वा एक लेखक बन्ने भन्ने कुरा निधो कसरी गर्ने भन्नेमा अन्योल सिर्जना भयो। उनले बिहे र पादरीको पाटो त्यागी दिए । उनलाई धर्ममा विश्वास हुन छाडेको थियो । बिहे उनको जिन्दगी निकाल्ने एउटा हतियार मात्रै थियो तर यथार्थ जिन्दगी बुझ्नु भनेको लेखक हुनु हो भन्ने उनमा पर्यो । चिच्याएर हिँडेर कोही सुन्नेवाला थिएन । कसैले आफूलाई पढोस् या नपढोस्, जे जसरी हुन्छ आफ्नो कुरा लेखक भएर व्यक्त गर्ने अठोट उनमा आयो ।
उनका अनुसार जीवन भनेको जीवन खोज्नु हो र यसको यथार्थ कुरा बताउनु हो। सामाजिक रीतिरिवाज अनुसार जिन्दगीको मजा भनेको बिहे गरेर बच्चाबच्ची जन्माउनु, समाजमै रहेर कुनै जीवनयापन गरेर जिन्दगी बिताउनु हो र मैले यो यहाँसम्म गरें है भनेर समाजको अगाडि प्रदर्शित हुनु हो । अस्तित्ववाद भन्छ‑ हाल समाजमा रहेको विज्ञता भिडले निर्णय गरिराखेको छ। भिडले गरेको निर्णयमा हामी ताली बजाएका हुन्छौँ । त्यसमा हामी खुशी भएको अभिनय गरिराखेका छौँ । आधुनिक समाज भन्छ‑ ईश्वर खोज्न चर्च, मन्दिर, मस्जिद वा मूर्तिमा जानुपर्छ तर अस्तित्ववाद भन्छ, यी सबै व्यर्थ हुन् । यी सबै अध्ययनपश्चात किर्केगार्डले समाज र जिन्दगीका लागि लेखक बन्ने निधो गरे। उनका अनुसार भूत जानिन्छ र बुझिन्छ तर रहस्यका लागि हामी जिउने गर्दछौँ ।
अस्तित्ववादी दर्शनको नजिक पुगेपछि किर्केगार्ड बिहे नगर्ने निष्कर्षमा पुगे। अस्तित्ववादी दर्शनको प्रभावबाट अविवाहित रहेका किर्केगार्डलाई उनका विविध अवस्था र निर्णयले गर्दा समाजले बहिस्कृत नजरले हेर्न थाल्यो । सामाजिक बहिस्कारले उनलाई अझै सशक्त र अनिवार्य लेखक बनायो। उनी भित्र अस्तित्ववादको दह्रो उपस्थितिले लेखक बनाउन प्रेरित गर्यो। उनी एक्ला थिए। उनको साथमा कोही थिएन। जब मान्छे एक्लो र बहिस्कृत हुन्छ, या त ऊ आत्महत्या गर्छ या त संकल्प लिन्छ ।
उनका अनुसार संकल्प पनि दुई थरिका हुन्छन्, पहिलो नकारात्मक बदला त दोस्रो सकारात्मक बदला। उनी नकारात्मकमा गएनन्। नकारात्मकमा अरूलाई हानि हुन सक्ने बदला हुन सक्थ्यो तर उनी सकारात्मक बदलामा गए। उनी चिन्ताको बारेमा अध्ययन गर्न थाले । आखिर चिन्ता के हो र यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा उनले Concept of Anxiety लेखे । यो नै उनको जिन्दगीमा सबै भन्दा राम्रो मानवीय जीवनको उपदेशात्मक रचना हुन पुग्यो ।
बहकिएको जिन्दगीको रफ्तार अब पुस्तक रचना र आफ्नो आत्मा र अरूको आत्मालाई एक देखेर लेख्न शुरू गरेका लेखबाट जिन्दगी अगाडि बढाउन थाले। किर्केगार्ड जिन्दगी कहाँबाट लेख्ने भन्ने कुरा उनी अन्यत्र गएनन्, उनी आफ्नै कुरा दर्शनमा ल्याए। आफ्नो कथा नै दर्शनको रूपमा अगाडि आयो । उनी आफैँले आफूलाई व्याख्या गर्न थाले । उनको विकल्प मर्नु या लेख्नु थियो। लेखेर मानवीय समस्या उजागर गर्न सकेमा सह्य हुने भएकाले उनी लेख्न शुरू गरे ।
सन् १८१३ मा जन्मेका किर्केगार्डले सन् १८४३ सम्ममा ९ वटा किताब लेखेर प्रकाशनमा ल्याए । स्मरण रहोस्, उनले कहिल्यै पनि लेख तथा रचना पैसाका लागि लेखेनन् ।खास जिन्दगी के हो ? मान्छे किन जिउँछ ? के कस्तो अवस्थामा मान्छे विचलित हुन्छ ? विचलितता के हो ? उनका लेखनी यिनै विषयमा आधारित छ ।
उनका अनुसार वस्तुगत सत्यता भनेको विज्ञानमा आधारित हुन्छ । यो प्राकृतिक हुन्छ । यो विज्ञानले पत्ता लगाएको छ तर मान्छे विषयगत सत्यता खोज्दछ तर उसले यो कहिले प्राप्त गर्दैन । मान्छे जहिले यही भ्रममा रहिरहन्छ। समाजमा ऊ बोल्ने गरेका जति पनि विषय छन्, ऊ भ्रममा बोल्ने गर्दछ। समाजले उसलाई भ्रमित बनाएको हुन्छ । व्यक्तिगत सत्य मान्छेले बुझ्दछ तर ऊ बुझ पचाउँछ । मान्छेको आफ्नो बारेका सत्य बताउन नसक्नु नै विषयगत कमजोरी हो। उदाहरणका लागि न्यायाधीश जब बोल्दछ, ऊ कानुनको कुरा बोल्छ । सत्य भन्दा कानुनमा लेखिएको आधारमा बोल्दा उस्को सोझो (नुनको सोझो) हुने गर्दछ । एक शिक्षक किताबमा लेखेको विषय अध्यापन गराउँदछ। नियम भित्र पढाउनु पर्ने बाध्यतामा उ रहेको हुन्छ। यदि त्यो नभएमा उसको दैनिकी चल्दैन। दैनिकी नचल्नु परिवार नचल्नु हो र परिवार नचल्नु ऊ समाजमा असफल हुनु हो। बाध्यताले ऊ झुटो जिन्दगीको सहारा लिनुपर्ने बाध्यतामा हुन्छ ।
किर्केगार्डका अनुसार हामीले जिन्दगीमा पटक पटक लिएको निर्णय नै जिन्दगी हो। आधुनिक मान्छे जहिले भिडको निर्णय लिन्छ। धर्म र समाजले जहिले भिडको निर्णय गराउँदछ। जब धर्म समाजमा पस्दछ, त्यो बेला निर्णय भिडको हुन्छ । व्यक्तिगत हुँदैन। भिडको निर्णयबाट बाहिर अथवा स्वयंबाट भएका निर्णयले कयौँ आत्महत्या हुने गरेका छन् । यो आत्महत्या स्वयंले होइन कि समाजले गराएको हुन्छ । जति विज्ञानको विकास हुँदै गयो मान्छेको जिन्दगी व्यक्तिगत जिन्दगी हुन्छ भन्ने सोचाइ रहेको किर्केगार्डले सोचेभन्दा ठिक विपरीत हुँदै गयो। मान्छे झनै विचलित हुँदै गयो । आधुनिक विकासले मान्छे अझै भिडमा निर्भर हुँदै गयो । मान्छे भिडमा रमाउन थाल्यो । भिडले वाह् गरेन भने ऊ एक्लिने र चिन्तामा हुने गर्यो ।
किर्केगार्डका अनुसार दर्शनमा नियम हुँदैन, हामी स्वतन्त्र जिउन पाउनु पर्छ । हामी आफैँमा खुशी हुनका लागि समाजले अवरोध गर्न पाउनु हुँदैन । दार्शनिक किर्केगार्डले मान्छेको मन मस्तिस्कमा परिरहने र सधैँ हैरानीमा रहने बारेमा Anxiety, Absurd, Despair र Angus बारेमा समेटेर कृतिहरू लेखे । मान्छे जन्मेपछि हुर्कनु, विवाह गर्नु, बच्चा जन्माउनु, बच्चा पालनपोषण गर्नु, अनि वुद्ध हुनु मर्नु । यसलाई कतिले सफल जिन्दगी भन्छन् भने कतिले असफल । तर समाज तथा भिडले यसलाई नै सफल जिन्दगी भन्ने गर्दछ। हामी जहिले आफ्ना खुशीका लागि काम गर्दैनौँ । जहिले हामी अरूको खुशीका लागि काम गर्दछौँ। हामी आफूलाई अरूको आँखाबाट हेर्ने गर्दछौँ।
किर्केगार्डका अनुसार जिन्दगी समाधान गर्नका लागि होइन कि यो त अनुभव गर्नका लागि हो। यदि हामी अनुभव गर्नका लागि जिउने प्रयास गर्यौं भने हामी अवश्य हाम्रो जिन्दगी जिउने छौ । भिडले जे भन्दछ हामी त्यही भैदिन्छौँ । हामीले आफ्नो अस्तित्व स्वीकार्ने कोसिस गर्यौं भने मात्र हामी हाम्रो जिन्दगी जिउन सक्छौँ । अहिले त हामी अरूको जिन्दगी जिइरहेका छौँ । मान्छे भएर भ्रममा नबाँचौँ, मात्र सत्यतामा बाँचौँ । आज मान्छे समाजका लागि बाँचेको छ । त्यसैले ऊ सन्तुष्ट छैन तथा ऊ जहिले तनावमा जिएको छ, बेचैन छ । ऊ स्वतन्त्र र आफ्नै लागि जिउने हो भने केही हदसम्म आफैँ जिउने बन्न सक्छ।
दार्शनिक किर्केगार्ड जहिले सकारात्मक थिए । उनी समाजको विशेष अध्ययन तथा उनको समाजलाई हेर्ने दृष्टिकोणको प्रभावबाट नै उनी समाजदेखि बाहिर भएका हुन् । उनी भन्थे, तिमी जुन काम गर्छौ, तिमी जति सन्तुष्ट हुन्छौ, त्यति तिमी असन्तुष्ट पनि हुन्छौ । कुनै पनि कामको सकारात्मक र नकारात्मक दुईवटा पक्ष हुन्छ । गरे पनि नगरे पनि, तिमी पछुताउनु र खुशी हुनु स्वभाविक हो ।
अस्तित्ववादका महान् दार्शनिक सोरेन किर्केगार्डले आफ्नो दर्शन विभिन्न रचनामार्फत दिएपश्चात मात्र ४२ वर्षको उमेरमा उनी सन् १८५५ मा स्वर्गबास भए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।