(पहिलो दृश्य)

(जीविकाको व्यस्त समयमा पनि भावनाको प्रसव पीडाले मिठास दिँदो रहेछ चित्तवृत्तिलाई । देख्दै छु, कल्पनाको अँगालोमा हाँसिरहेछ एउटा दृश्य । दृश्यभित्र खण्डदृश्य सुन्दर कक्ष, रेशमी पर्दा, गलैँचा ओछ्याएको भुईँ, घुम्ने कुर्सीमा विराजमान एकाकी कुमार ‘प्रस्तोता’ । उसैको सोझिछन् सिकर्मीका बिछट्टै कला कुँदिएका दुइटा कुर्सी । घुम्ने कुर्सी र कुर्सीका मध्यस्थता गर्ने बाकुलो काँच ओछ्याएको ठूलो टेबुल । त्योमाथि सजाइएका फूलदानी, कलमदानी, पेपरवेट आदि । अनि सञ्चारका आधुनिक साधनहरू । ठुलो बोर्ड झुन्ड्याएको छ संस्थाले उन्नति गर्या प्रतिलिपि र नाराहरू बोकाएर ।)

आगन्तुक : (कक्षमा प्रवेश गर्दै) एकाकी सर ! सकजअ है ।

एकाकी : (हात उठाउँदै) सेम टू यू नाटक सर !

नाटक : (खाली कुर्सीमा बस्दै) हाम्रो परिकल्पना साकार बन्दै छ हगि ?

एकाकी : (मन्द हाँस्दै) हाम्रो अनलाइन विज्ञापनको बल्छीमा एउटी जलपरी परेकी छे ।

नाटक : दर्शन गरौँ न त हाम्रा भाग्यलाई । धेरै होलान् ऊसँग हाम्रा कामयावी झुप्पाहरू ।

एकाकी : (रिमोट थिच्छ) नेपथ्यमा मधुरो घण्टी बजेको सुनिन्छ । सुन्दर ठिटीको प्रवेश । (ठिटीतिर इशारा गर्दै) यहाँ नै हुनुहुन्छ सुश्री मञ्चनकुमारी ‘उत्पीडित’ । अनि मञ्चनज्यू, यहाँ हुनुहुन्छ यो संस्थाका रचनाकार श्री नाटकबहादुर ‘उफरमाउला’ ।

मञ्चन : (हात जोड्दै) नमस्कार सर !

नाटक : सकजअ ! आगन्तुक र अग्रजलाई सम्मान गर्ने संस्थाको नयाँ रीत नमस्कार, नमस्ते, दर्शन, प्रणाम, सलाम, जय नेपाल, जय हिमाल, सम्धी ढोग आदिका रीति शैलीसँगै एकलकाँटे लागे पनि हामी चार अक्षरले सम्मान गर्छौँ ।

मञ्चन : प्रस्तुति नवीन छ । विज्ञापनको शैली उस्तै एकदमै आकर्षक ।

नाटक : संस्थाका उद्देश्यहरू—परोपकारी लlकमा दगुर्ने रेल हो, अशक्तलाई टुङ्गोमा पुर्याउने । यसको परियोजनाभित्र सुन्दर संसार हाँसिरहेको हुन्छ ।

मञ्चन : संस्थाको टार्गेट अतुलनीय छ । यसमा सहभागी हुन पाए अहोभाग्य हुन्थ्यो मेरो ।

एकाकी : मञ्चनज्यू, संस्थाकी महिला सदस्यता प्राप्त गरिसक्नु भो । अब कागजी प्रक्रिया मात्रै छन् । छोटो अन्तर्वार्ता गरौँ, कतिको ब्युटीपार्लर धाइन्छ ?

मञ्चन : कृतिम सौन्दर्य स्थायित्व हुँदैन ।

नाटक : पट्ठो ठिटोसँग मसाज गराउन कत्तिको मन लाग्छ ?

मञ्चन : पर पुरुषले सार्वजनिक स्थलमा सिवाय, टचसम्म गर्या छैन । सर ! संस्थाभन्दा बाहिरका भन्नै अप्ठ्यारो लाग्ने प्रश्न ?

एकाकी : प्वालबाट संसार हेर्ने प्रयास गर्छौ । प्रश्न र उत्तरलाई मुछेर निर्क्यौलका तोर्मा ठहर्याउँछौँ । अनि तोर्माभित्र रे—की गर्छौ, उत्तर दिनेको आचरणलाई । संस्थालाई इन्फेक्सन हुन सक्छ, नकारत्मक सदस्यका चित्र, चरित्रहरू ।

मञ्चन : दुर्गामी सोच ।

नाटक : पैसालाई कसरी बुझ्न हुन्छ ?

मञ्चन : पैसा मेरो शरीरको छैटौँ इन्द्रिय हो ।

एकाकी : तपाईंसँग संस्थाले शारीरिक अङ्गका लागि भिख माग्यो भने दान दिन सक्नुहुन्छ ?

नाटक : एकाकी सर, के तपाईं पनि आवश्यक परे संस्थालाई अङ्ग दिन सक्नुहुन्छ ?

एकाकी : आवश्यक परे तयार छु, अङ्गदान गर्न । एउटा आँखा दान गरेर पनि अर्कोले त्यति नै देख्न सक्छु । अपशोच, अझसम्म मेरो अङ्गसँग ठ्याक्कै मेलखाने आवश्यकवाला भेटाएको छुइनँ ।

नाटकः सर मेरो सोच एउटा छ । अङ्गदानको बदलामा अर्थ प्रदान पनि हुन्छ । यदि हाम्रा अङ्गलाई दान गर्न पाएको भए शरीर अपाङ्ग, आर्थिक सपाङ्ग भेट्नु हुन्थ्यो हामीलाई हाम्रो मञ्चनजीले ।

मञ्चन : (दीर्घ श्वास तान्दै) तपाईंहरूको अन्तर्भावसँग सहमत छु । गाउँको दलाहा व्यक्तिलाई पछि पार्न भाइलाई शिक्षाले सक्षम बनाउनु छ । झुट्टो फरेब रचेर मेरा बाउआमालाई समाजको अगाडि माफी माग्न र पैतालाको धूलो चाट्न बाध्य बनाको दृश्य सम्झँदा अझै आगो दन्किन्छ मुटुभित्र । केवल पैसा चाहिन्छ, आइपरे जे पनि गर्छु ।

एकाकी : मञ्चनजी जस्तै परपीडित सदस्यले नै यो संस्थालाई अगाडि बढाउँछन् । हामी पनि शोषित वर्गलाई नै संस्थामा सदस्यता दिने प्रयास गछौँ । अब हामी एउटा सर्तनामा गरौँ । ताकि भोलि सदस्यले कुनै किसिमको मनगढन्ते आरोप लगाई, संस्थालाई उजुर नहालुन् भन्नको खातिर । अनि तपाईंलाई पचास हजार अग्रिम भुक्तान गर्दै छौँ । (त्यही टेबुलमाथि सर्तनामा कागजमा सही गर्छिन् मञ्चन) र पाँच सय नोटको एक बण्डल पैसा लेडिज ब्यागमा राखेर बाहिरिन्छन् ।

(कार्यालयबाट केही कागजी काम गरेर, एकाकी र नाटक पनि खुसी हुँदै बाहिरिए ।)

===

(दोस्रो दृश्य)

(अप्रेशन कक्ष । टेबुलमाथि चिकित्सकीय समानहरू छन् । भित्ताको आधुनिक यन्त्रमुनि जोल्ठिएका एक जोर पाङ्ग्रे खाट । पूर्वतिरको खाटमा एउटी दृष्टिबिहीन केटी लमतन्न सुतेकी छन् । अर्कोमा मञ्चन टुक्सुक्क बसेर रुँदैछन् । श्वेत वस्त्र पहिरिएको डाक्टर भित्रिन्छ । केही क्षणमै अप्रेशनका औजार लिएर पस्यो कम्पाउण्डर पनि ।)

मञ्चन : (डाक्टरलाई हेरेर हात जोड्दै) एकाकी सर आँखा दान गर्न मन मानिरहेको छैन । प्लिज मलाई छोड्दिनुहोस् ।

एकाकी : (डाक्टर बन्या) तपाईंको भनाइ संस्थासँग गर्या एग्रिमेन्ट विपरीत हुँदै छ । पचास हजार साँवा ब्याज संस्थाले तपाईंलाई सक्षम बनाउन गरेको खर्च । यो बेला यी सबै फिर्ता गर्ने ल्याकत छ तपाईंसँग ?

कम्पोडर : शीर्षकीय चरित्रलाई समूल उखल्ने सपना भ्रूण अवस्थामै धोइँदैन ? भुपट्टै अनिकाल पर्या छ, गाउँमा । छरपटाउ भा’छैनन्, आकाश हेरेर थाकिसकेका छन् मान्छेहरू । त्यसको प्रभाव सहरसम्म पुगिसक्यो ।

दृष्टिबिहीन केटी : मञ्चनजी, मेरो नाम नायिका ‘विवशी’ । भिक्षा मागेँ मलाई आँखा दान गरेर अन्धकार संसारबाट मुक्ति दिनुहोस् । मलाई जन्माउने आमालाई देखाइदिनोस् । मान्छेको रूप, रङ्ग, डाल, चालका कुरा गर्छन् त्यो कस्तो हुन्छ ? घाम, जुन र तारा छन् रे आकाशमा । यदि देख्न पाए … । म शून्य छु । साथीहरू भन्छन्, म राम्री छुरे । राम्रो नराम्रो के हो ? कल्पना र सपनाको यथार्थता दिनोस् ।

मञ्चन : (नायिकालाई निर्निमेष हेर्दै) ठीकै छ नायिका मसँग भएको उज्यालो बाडौँ । (डा. एकाकीतिर हेर्दै) । सर ! दाहिनो आँखा झिकेर नायिकालाई प्रत्यारोपन गरिदिनोस् ।

(पर्दा खस्छ । पर्दामाथि विद्युतीय रेखाद्वारा लेखिन्छ—यहाँ खुशी रोपिँदैछ ।)

===

(अन्तिम दृश्य)

(फूलैफूलले सजिएको मञ्च । मध्य भागमा राखिएको छ ठूलो कुर्सी । दुइतिर छन् अन्य कुर्सीहरू, बाँसुरीको सुमधुर धुनसँगै लोकसुर गञ्जिरहेछ नेपथ्यमा । मञ्चअगाडि दर्शकहरू खचाखच छन् ।)

नाटक : (मञ्चमा प्रवेश गर्दै) दर्शक महानुभावमा संस्थागत स्विकार्नोस् । (दुवै हात उठाएर) सकजअ ! अब म ती महान् व्यक्तिलाई निम्त्याइरहेछु । उहाँ हुनुहुन्छ सुश्रीमञ्चन कुमारी ‘उत्पीडित’ । (टाउकोको दाहिने पाटोदेखि दाहिने हात हुँदै देब्रेतिरको ठूटे खुट्टोसम्म सेतो ब्यान्डिजले कसिएकी वैशाखीको चीत्कारसँगै मञ्चनको प्रवेश हुन्छ मञ्चमा । सहारा दिएर मध्यभागको कुर्सीमा राख्यो नाटकले ।)

एकाकी : (मञ्चमा प्रवेश गर्दै) सबैलाई सकजअ ! (मञ्चनतिर इशारा गर्दै) यहाँ नै हुनुहुन्छ उदाहरणका दुर्लभ उदाहरण मञ्चनजी । जसले आफू अधुरो रहेर अरुलाई पूर्ण बनाउनु भो । अन्यलाई आधा उज्यालो दिएर स्वयम् अधुरो भइन् । परचक्रीलाई आगत बाँड्दै जाँदा, यादै रहेन आफू विगत भइसकेको ।

नाटक : अब म मञ्चनजीका अङ्गहरू बहुशरीरमा विभक्त भई नयाँ जन्म पाउनेहरूलाई आमन्त्रित गर्दैछु । मञ्चनजीको अङ्ग प्रदान कार्यको पहिलो प्रस्तुति श्रीमती नायिका ‘नायक’ । मञ्चनजीको आधा उज्यालो पाएर श्रापित जीवनबाट मुक्त हुनु भो । संयोग उद्योगपति नायकका नायिका श्रीमती हुनुहुन्छ । मञ्चनजीको लीला पतिपत्नी दुवैका शरीरमा मञ्चनजी समाहित हुनुहुन्छ । गाडी दुर्घटनामा दुवै खुट्टा गुमाएर स्थूल बन्नुभएको नायक ‘सर्वहारा’जीलाई मञ्चनजीले देब्रे खुट्टो दिएर वैशाखी टेकेरै हिँड्ने बनाइदिनु भो । आज नायिकाजी श्रीमानका नाम नायकलाई उपनाम बनाउनु भा’छ भने नायकज्यूले पनि श्रीमतीको नाम नायिकालाई उपनाम बनाउनु भा’छ । अतः आउँदै हुनुहुन्छ मायाको ढुकुरजोडी श्रीमती नायिका ‘नायक’ र श्रीमान् नायक ‘नायिका’ज्यू ।

(दुवै पति पत्नीले मञ्चनलाई खादा ओढाई खुट्टो छोएर सम्मान गरे । आकस्मिक मञ्चनले नायिकालाई अनुहार छेउमै बोलाएर आतुरताका साथ आफूले दिएको आँखालाई धेरैपल्ट चुमिन्, एउटी आमाले हराएको नानी भेटेर माया गरेझैँ । अनि नायकलाई उभ्याउने आफ्नो खुट्टालाई हेरिरहिन् । कुनै समय त्यो खुट्टोलाई राम्रो बनाउन दिनभरि माडी रहन्थिन् । नङ काटेर रातो नङ्पालिसले बेहुली बनाउँथिन् । नायक नायिका आआफ्ना कुर्सीमा बस्छन् ।)

एकाकी : यहाँ हुनुहुन्छ । लेखकराज ‘लेकाली’ यो एकाकी नाटकका लेखक । यहाँको शरीरभित्र निरन्तर सक्रिय छ, मञ्चनजीको मिर्गौला ।

नाटक : अब हाम्रा आवाजलाई मञ्चनजीको कर्णद्वारा सुनिरहनुभएको श्री निर्देशक राम ‘अभिनय’लाई आमन्त्रित गर्दै, सबैलाई आआफ्ना अतिथि डेस्कमा बसिदिन अनुरोध गर्दछु ।

एकाकी : हाम्री अन्तिम एक जना महिला मित्र हुनुहुन्छ, सुश्रीसङ्गीतामाया ‘छायाकार’ । मञ्चनजीको एकमुठी केश मागेर आफ्नो चिन्डे कपालमा रोपिन् । प्रकृतिको लीला भनौँ कि चेतनशील मान्छेका कमाल । रोपेको केशहरूले छावा छोड्न थालेपछि उहाँको चिन्डे कपाल अमेरिकन वैज्ञानिकका अनुसन्धान केन्द्र भइदियो । अन्य देशले पनि अनुसन्धान गर्ने सूचना दिइसकेका छन्, हाम्रो देशलाई । र, सङ्गीतामाया ‘छायाकार’ज्यूलाई आफ्नो स्थानमा आसनग्रहण गर्न अनुरोध गर्दछु ।

एकाकी : अब हामीे साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ ।

(नेपथ्यमा गीत बज्न थाल्छ । मञ्चन लगायत सबै उठेर नाँच्न थाल्छन् । गीतको भावना, नृत्यका प्रस्तुति र सङ्गीतको तालले दर्शक वर्गलाई भावविभोर बनायो ।

नाटक : मञ्चनजीका अवयवहरू आफ्नो मूलदेहलाई सम्मान, जीवनोपार्जन गर्न पचास लाखको चेक र गाडीको चाबी समर्पण गर्ने कार्यक्रमम छ । अतः सबै दर्शक वर्गले मञ्चनजीको दीर्घायूका लागि कार्यक्रम भइन्जेल ताली बजाइरहन अनुरोध छ । म निश्चित समयमा धन्यवाद भन्ने छु । अनि ताली नबजाई दिनु होला ।

(बैंकको चेक र गाडीको चाबी मञ्चनलाई सामूहिक रूपले प्रदान गरे । नेपथ्यमा ताली बजिरह्यो । फोटो सेशन चल्यो । थुप्रै मोबाइलहरू क्लिक भए कुनै रेकर्डिङ प्ले भइरह्यो ।

नाटक : धन्यवाद ! (नेपथ्यमा ताली बज्न छोड्छ )

(मञ्चमा इन्स्पेक्टर देखा पर्यो ।)

इन्स्पेक्टर : अङ्ग प्रदानले मञ्चनजी परपीडित हुनुहुन्छ । तपाईंलाई कुनै पनि तरहले अङ्गदान गर्न प्रेरित गर्ने संस्था वा व्यक्तिमाथि उजुर गर्न सक्नु हुन्छ । कानुन तपाईंको पक्षमा उभिने छ । अङ्गदान गरेर आर्थिक दान लिने संस्कृतिले गरिब वर्गमा नकारात्मक प्रभाव पार्न सक्छ । यसको फाइदा असमाजिक तस्करहरूले मानव चलखेल गर्न सक्छन् । मञ्चनजी, तपाईंलाई आमा बन्ने अभिलाषा छैन ? आफ्नो अनुवंश जोगाउनु हुन्न ?’

मञ्चन : (मन्द हाँस्दै) मेरा अङ्गदान स्वेच्छाले भएको हो । पछुतो छैन अपाङ्ग भएकीमा । यतिबेला मेरा भाइ कानुन पढ्दैछ, न्यायको वकालत गर्न । कन्दमुलले छाक टार्ने मेरा बाउआमा योबेला बासमती चामलको सुगन्धमा रमेका छन् । म मरेर मेरो अन्त्य हुँदैन, थुप्रै परिवारमा मेरा कोशिकाहरू सञ्चालित रहने छन् । आमा बन्ने जन्मसिद्ध अधिकार सुरक्षित छ । निःशुल्क वीर्य दान गर्न तयार छन् महापुरुषहरू । यदि कानुनन् अड्चनहरू आएन भने अर्को वर्ष मेरो क्लोनलाई यहीँ ल्याएर देखाउने छु । तर यसो भन्दा तपाईंहरू मञ्चन नबन्नुहोस् । पूर्ण जीवनको स्वाद अधुरोमा पाइँदैन । इन्स्पेक्टर सर ! धन्यवाद तपाईंलाई । आवश्यक पर्यो भने आउने छु, कानुनको परिसरभित्र । अन्तमा यहाँहरू सबैलाई सकजअ !

(पर्दा खस्छ ।)

सः समाउने
क: कमाउने
ज: जमाउने
अ: आनन्द गर्ने