(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)

१. नर + नारी
(मोहन कोइराला)

मलाई छुन आगो डर मान्छे
आगो छुन म डर मान्छु
मसित पानी छ, उससित आगो छ
म पानी भएर भेट्न आउँछु, बादलमा उड्छु
ऊ भुङ्ग्रो भएर भेट्न आउँछे, झिल्कामा चोइटिन्छे
बिजुलीको घुक्र्याइमा नाइनास्ती फर्काएर ।

२. मानिसको पयर
(ईश्वरवल्लभ)

आकाश मात्रै नहेर
धरती पनि हेर्नुपर्छ

धरतीले मानिसलाई सारै माया गर्छ
जति नै तारा आकाशमा छन्
त्यति नै थोपा यहाँ पानी पर्छ,

त्यति नै बिरुवा यहाँ सर्छ—
क्षितिज जति जति टाढिँदै जान्छ
पाइला त्यति त्यति नै यहाँ सर्छ
कहीँ बत्ती बल्दै बल्दै जान्छ,
कहीँ बत्ती निभ्दै निभ्दै जान्छ,
तर पयर मानिसको सर्दै सर्दै जान्छ ।

३. विधवा
(द्वारिका श्रेष्ठ)

मन टुसाउने यी वैभवहरू
कलिला दुई आँखामा यसै–यसै बुड्छन् ।
बादल झैँ बढेका उनका छोराछोरीहरू
आकाश जत्रो छाती दिएर पनि
यहाँ अत्तालिरहेका मान्छे,
कपालमा लत्रेका उनका लामा केशपाशमा
तिमीहरूको औँला गुजुल्टिन्छन्
उनको गरुङ्गो छातीमाझमा
लोग्नेको श्वास फुसफुसिन्छ,
उसैको कात्रो लगाउने यी विधवाहरू
लोग्नेलाई घिसारी–घिसारी हिँड्छन् ।

४. ईश्वरले खाएको बालक
(मदन रेग्मी)

करकापमा मित्रता मृत्युको
सुरक्षित राखिएको थियो तेजापमा
एउटा प्राचीन फिलिङ्गो,
प्रणय र होमोग्लोविनको बीभत्सता ।
यो अटूट आगमन काष्ठमण्डपको
भोको लहरलाई मिल्किन देऊ ।
धुन देऊ पालिस, दिन र रातले थुपारेको
विधिवत् स्रष्टाहरु, चिहानको एक तह,
त्यो ईश्वरले खाएको बालकको आँगमा
चम्किरहेछ आज पनि बिफरको सौन्दर्य
र खुम्चिँदै त्वचा–सुरविहीन
मलिलो नबिझाउने दौड आफ्नै उपसंहारतर्फ
आफ्नै अन्तिम संहारतर्फ,
लम्कन्छ युगको एउटै मुहान,
ईश्वरले खाएको बालक !!

५. राज्यकविता
(तोया गुरुङ)

दिलमा खुलेको नीलो आकाशमा
ताराको बुट्टा भनेको राज्यकविता
बादलको छ्याक्ला भनेको पनि राज्यकविता
डम्म बादल भनेको पनि राज्यकविता

झर्छ एउटा मधुर मुस्कान, त्यो हाँसेको दिन हुन्छ
या रोएको दिन हुन्छ— त्यो पनि एउटा राज्यकविता
तर, कहिलेकाहीँ त यसै मन बिथोलिएर पनि
घाम ओइलिन्छ

तर घाममा फुलेको फूल भने ओइलिएको हुँदैन
यसरी कति पटक जुधेको प्रकृतिसँग प्रश्न भयो
उत्तरमा— तिमी हिँड आफ्नो धरातलमा
आफ्नो आकृतिमा पवित्र वसुधा भएर हिँड
प्रकृति पनि तिम्रो राज्यकविता भएर हिँड
भवितव्य पनि तिम्रो राज्यकविता भएर हिँड ।