सन् १९९४ अक्टोबर १६ मा जन्मिएकी एलिस मे ओसमन बेलायती लेखिका हुन् । उनले १७ वर्षकै उमेरमा पुस्तक लेख्ने अफर पाएकी थिइन् र पहिलो उपन्यास ‘सोलिटायर’ सन् २०१४ मै प्रकाशित भएको थियो । त्यसयता उनले लेखेका उपन्यासहरू रेडियो साइलेन्स, आई वज बर्न फर दिस र लभलेस निकै रूचाइए । पछिल्लो समय भने उनको अर्को उपन्यास ‘हर्टस्टपर’ निकै चर्चामा छ ।

समलैंगिक विषयमा लेखिएको यो उपन्यास शुरूमा उनले अनलाइनमा वेबकमिकका रूपमा प्रकाशन गरेकी थिइन् । वेब कमिक यति रूचाइयो कि पछि उनले त्यसैलाई उपन्यासिकाका रूपमा छापिन् । उपन्यास पनि रूचाइएपछि नेटफ्लिक्सले उनलाई पटकथा लेख्न आग्रह गर्यो । यो उपन्यासको अहिले दुई सिजन आइसकेको छ भने तेस्रो सिजनमा काम भइरहेको छ ।

डुरहाम विश्वविद्यालयमा अंग्रेजी साहित्यमा बिएसम्मको अध्ययन गरेकी उनको सफलता कथा रोचक छ । किनभने, उनका उपन्यासहरू प्रायः कुनै ठूला प्रकाशकले शुरूमा छापेका होइनन् । उनले त शुरूमा अनलाइन र सामाजिक सञ्जालबाट सार्वजनिक भएका हुन् । ती सामाजिक सञ्जालमा लोकप्रिय भएपछि अन्य प्रकाशकले पनि आँखा लगाएर प्रकाशन गरे । पछि पुस्तकमा पनि ती लोकप्रिय भए ।

हाल २८ वर्षकी ओसमनका उपन्यासहरूले बालबालिकाहरूलाई निकै छोएको छ । उनका प्रायः सबै उपन्यासलाई ग्राफिक उपन्यास बनाएर निकाल्दा ती सुपरहिट भएका छन् । उनका सिर्जनाहरू सबैभन्दा बढी बिक्री हुने ग्राफिक उपन्यासमा पर्छन् । उनको लोकप्रियता नेटफ्लिक्समा पनि देख्न सकिन्छ । उनका वेबकमिक्सका दर्शक १२४ मिलियन छन् । उनको हर्टस्टपरमाथि बनाइएको टिकटकलाई ११ बिलियन पटक हेरिएका छन् ।

बेलायतको प्रख्यात साहित्य महोत्सव हे फेस्टिभलमा यसपाला उनलाई निम्त्याइँदा दर्शकको घुइँचो देखिन्थ्यो ।

अमेरिकाका फ्लोरिडा लगायतका राज्यमा उनका पुस्तक प्रतिबन्धित छन् । त्यस्तै हंगेरीले पनि उनका पुस्तक पढ्न बालबालिकाहरूलाई प्रतिबन्ध लगाइएको छ । उनीहरूको भनाइमा, बालबालिकाले यस्ता विषयमाथि बनेका फिल्म, टेलिभिजन शृंखला तथा पुस्तक शृंखलाहरू जति पढ्यो, उनीहरूमा त्यस्तै बन्ने लालसा बढ्ने हुनाले उनीहरूलाई पढ्न दिइनु हुँदैन । कलिलो मस्तिष्कमा के सही के गलत भन्ने बुझ्न सक्ने क्षमता नहुने हुनाले उनीहरूले पढेका साहित्यले गहिरो असर पार्ने हुनाले उनीहरूको पढ्ने छनोटमाथि सरकार र अभिभावक सचेत हुनुपर्ने धारणा राख्छन् ।

तर लैंगिक अल्पसंख्यकहरू भने यस किसिमको प्रतिबन्धले लैंगिक अल्पसंख्यकहरूका बारेमा गलत बुझिने डर हुने बताउँछन् । त्यसैले सानै उमेरदेखि यस्ता उपन्यास वा सिर्जना हेर्दा वा पढ्दा अल्पसंख्यकहरूप्रति सकारात्मक धारणा नहुने, विभेद नबढ्ने बताइन्छ ।

यस्तोमा ओसमनको सफलताले भने लैंगिक अल्पसंख्यकमाथि लेखिएका सिर्जनाबाट पनि लोकप्रियता र आम्दानी बढाउन सकिने उदाहरण देखाएको छ ।