‘मन भनेको के रहेछ त ?’ भनी हेर्दा नेपाली बृहत् शब्दकोशले चार प्रकारका अर्थ दिएको रहेछः
१. प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प, विकल्प आदिलाई नियन्त्रित तथा परिचित गर्ने अन्तःकरण र त्यसको वृत्ति ।
२. नाक, कान, आँखा आदिबाट थाह भएका कुराले आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय; अन्तःकरण; चित्त; दिल; हृदय ।
२. इच्छा, कामना, अभिलाषा, रूचि ।
३. स्वभाव, प्रकृति ।
४. आशय, इरादा, विचार ।
नेपाली जनजिब्रोमा त मन, वचन र कर्मले काम गर्नुपर्छ भनी यसलाई परिश्रमको प्रतिफलको रूपमा पनि उभ्याइएको पाइन्छ । समाजमा हेर्ने हो भने मनका प्रकार पनि कति छन् कति । दुई घण्टाको ठाडो उकालो हिँडेर असिनपसिन भएको बटुवालाई शीतलता र आराम दिन भुटेको मकै र मोही दिने बूढीआमाको मन कस्तो होला ? कस्तो होला ती छोराछोरीको मन जो आलिशान घरमा बसेर बाआमालाई वृद्धाश्रममा छोडेर आउँछन् ? गरिबीको चपेटामा परी विक्षिप्त मन कस्तो हुन्छन् ?
कोही अभावका बिच खुसी मनका साथ रहेका हुन्छन् भने कोही धन पैसाको सिरानी लाएर पनि दुःखी मन लिएर बाँच्छन् । कसैकाे मन लोभी हुन्छ, सम्पत्ति चुहिएर जाँदा पनि लोभ गरी रहने । कला, साहित्य त मनको सिर्जना हो । मनमा रहेका भावनाका पोकाहरूलाई सँगालेर नै कला तथा साहित्य सिर्जना हुन्छ । कसैको हेपाइमा यही मन कुँडिन्छ, कसैको प्रशंसामा यही मन आनन्दित हुन्छ । देशको माटोप्रतिको अगाध स्नेह यही मन भएर ओर्लिन्छ । राष्ट्रिय गान बज्दा यही मन कदम भई उठ्छ । धोकाबाट यही मन तोडिन्छ भने मायाबाट यही मन जोडिन्छ । आफ्नो बालबच्चाप्रतिको माया यही मनमा बसेको हुन्छ । सानोले ठूलालाई गर्ने सम्मान होस् वा ठूलोले सानोलाई गर्ने प्रेम, यही मनमा कैद हुन्छ । दयालु मनहरू असहायको साहारा बनेर उभिदिन्छन् । कयौँ मनहरू घृणाको तलाउमा डुबुल्की मार्दै हुन्छन् । प्रकृति पनि त मनसँगै खेल्छ मनमोहक दृश्य दिएर । कहिले मन रुवाउँछ आधी, तुफान र बाढी दिएर ।
यिनै मनको छायाङ्कन गर्न मन लाग्यो अनायासै एक दिन र हिँडेँ । सायद गन्तव्य तय थियो नै, त्यसैले आफूसँग के के लाने भनेर सामग्री तयार पारी सकेको थिएँ । क्यामरा, ल्यापटप, चार्जर आदि । यस्तै सामग्रीले भरिएको एउटा झोला भिरेर म हिँडेँ कतै छायाङ्कन गर्न मनहरूको । हिँड्दै गएँ बाटामा सौन्दर्यको पहाड ठोकियो अनि लाग्यो, सहर कति भव्य र सभ्य रहेछ । यसलाई नाप्न कुनै यन्त्रले सक्दैन होला लग्यो । अलि मास्तिर पुग्दा कतै कुनमा सुक्कसुक्क सुन्दै थिएँ । सायद धोखेबाजको घातक प्रहार सहन नसकी पीडामा व्यक्त गर्दै थिए होलान् । कति कोसिस गर्दा पनि सायद तिनीहरूकाे एक भाडामा आँसु सङ्कलन गर्ने कार्यमा सफल हुन सकिरहेको थिएन । त्यही भएर त बगिरहेको नदी जस्तै सुसाइरहेका थिए आँसुका गुच्छाहरू ।
गन्तव्य सही मानेर नै होला पाइला निरन्तर त्यतै कदम चाल्दै थिए । ती अजङ्गका पहाडहरू नाघ्न हौसिएका थिए । एकार्काको खुट्टा तान्ने प्रवृत्ति नरहेको प्रष्ट देखिन्थ्यो, त्यसको सट्टा ती एकार्कालाई सहयोग गरिरहेका थिए । मिलन यहाँ संयोग या प्रयोग थिएन गन्तव्य थियो । ती पीडामा पनि मलम लगाइरहेका थिए मायाको । मिलनमा एकार्कामा रमाइरहेका पनि भेटिए । धोकाको मार खप्न होला सायद, मायाको पर्खाल खडा गर्दै थिए । धोका अलि शक्तिशाली थियो क्यार, यसको वेगमा कोही ढलेको पनि देखियो । म गन्तव्यमा पुगेँ ।
यो रहेछ मायालु मनको सहर । एक कल्पना गरेजस्तै मायालु मनहरूको फूलैफूलको सहरमा पुगेर टोलाउन लाग्दा लागेन थकाइ । आएन बेकार आएछु भन्ने सोचाइ । मेरो आवागमनमा स्वागत भयो । म जानेबेला ढोकासम्मै छोड्न आए । नेपाली आतिथ्यताको संस्कारको झलक यहाँ पनि देखियो ।
फेरि अर्को दिन त्यही दिन म उही बाटो हिँड्दै थिए पुगेँ यस्तो सहर । काँडाको पर्खालमा लेखिएको थियो फूलहरूलाई प्रवेश निषेध । यो रहेछ धोखेबाज मनहरूको सहर । म यसको सीमामा पुग्न नपाउँदै मलाई काँडाद्वारा आक्रमण भयो । म धरमरिएँ । क्यामेरा खोस्लान् भनेर लुकाएँ । साँघुरो चोरबाटोको गल्ली हुँदै लागेँ म त्यतातिर । यहाँको वातावरण तनावग्रस्त थियो । कोही आफ्नो योजना सफल भएकोमा खुसी हुँदै थिए । ती खुसी भएको देखेर कोही भने तीनहरूको खुट्टा तान्न तल्लीन थिए । सडक पारी एक हुल मान्छेहरू अहङ्कारको पसलतिर जाँदै थिए । उनीहरू वेगमा बतासी रहेका थिए केही छुट्ला जसरी । म पनि डराएर एक जना नजिक पुगेर सोधेँ । ऊ खुसी हुँदै थियो ।
मैले सोधेँ, ‘किन तिमी साह्रै खुसी देखिन्छौ त ?’
उसले अहङ्कारको परिचय दिँदै भन्यो – आज उसले एक जनाको मन टुटाएर आएको रे, कहिले नजोडिने गरी । त्यसैको खुसीमा अहङ्कारको पसलमा गएर ऊ पिउन चाहन्छ रे, कहिल्यै धित नमर्ने जाली लोकल ठर्रा ।
यहाँ मेलमिलापको दृश्य कैद गर्न मैले पाइनँ । यी खुसी भएर पनि दुःखी जस्ता देखिन्थे । न्यानोपन थिएन । असिनपसिन थिए । बाह्र हल गोरुको काम एक्लै गरेजस्तै । सायद एकआपसमा लडेर होला, थकित देखिन्थे । जान त म दिनभर छायाङ्कन गर्न भनेर गएको थिएँ त्यहाँ तर एक घण्टा पनि टिकिनँ । किनकी ती स्वागतका लागि तयार थिएनन् । बरु काँचै निल्न तयार देखिन्थे । यो देखेर म अघि आएको चोरबाटोबाटै लुसुक्क निस्किएँ । निराश भएर ।
घर आएर हेरेँ । फिल्म रित्तो थियो, पर्दा कालो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 







