विमल निभा नेपाली कविताको जगतमा करिब साढे पाँच दशक देखि सक्रिय एक शक्तिशाली नाम हो । उनै बलशाली कवि विमल निभाको पछिल्लो कविता कृति हो ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ । जुन कृति क्रान्तिकारी कविताहरूको एक महत्त्वपूर्ण दस्ताबेज हो ।

पुस्तकको विशिष्टता र गम्भीरता यो छ कि पुस्तकको नाम एक वामपन्थी योद्धा डेगेन्द्र राजवंशीको आत्महत्यासँग  जोडिएको छ । २०२८ ताका झापा आन्दोलनमा होमिएका वामपन्थी योद्धा डेगेन्द्र राजवंशी आत्महत्या गर्नुभन्दा केही दिन अगाडी काठमाडौं छिरेका थिए छोराको रोजगारीको लागि। काठमाडौं छिरेपछि छोरालाई जागिरको भिख माग्दै एमाले पाटी कार्यालय बल्खु पुगेर समकालीनसँग हात जोड्नु उनको दैनिकी बनेको थियो। तर उनी हरेक दिन निरस मन र निरर्थक हात बनाएर फर्किन्थे। झापा आन्दोलन पश्चात् चप्पल लगाएर काठमाडौं पसेका सहयात्रीहरूले आलिसान महल बनाउँदै , करोडौँका गाडीमा हुइँकिँदै बिलासी जीवनशैली बिताइरहेको वर्तमान उनकै आँखा अगाडी थियो । तर उता डेगेन्द्रको पारिवारिक स्थिति प्रतिदिन कठिन बन्दै गइरहेको थियो । त्यही गरिबिको पिँधबाट माथि आउने बाटो पहिल्याउँदै उनी छोरालाई लिएर देशकै केन्द्र काठमाडौं आइपुग्छन् जहाँ थियो उनैले गोडमेल गरेको पाटीको सरकार । तर पुँजीवादले गजधम्म ढाकेको सत्ताले भुईँ मान्छेहरूलाई न देख्छ र न सुन्छ र यही नै कुरूप यथार्थ थियो । कोठा र बल्खु बिचको दुरी नाप्दा नाप्दै थाकेका राजवंशीका पैतालाले सदाको लागि विश्राम लिने सोच्छन् र त्यही रात तथाकथित कम्युनिस्ट पाटीको हेडक्वार्टर बल्खु कार्यालयको अगाडीको आलुबखडाको हाँगामा झुन्डिएर आत्महत्या गर्छन् । तर कम्युनिस्ट आन्दोलनको लागि यो आत्महत्या थिएन हत्या थियो कवि विमल निभा यसै भन्छन् ।

डेगेन्द्र राजवंशीको आत्महत्या

डेगेन्द्र राजवंशीको आत्महत्या

यस्तै वर्गीय उत्पीडनको जाँतोमा पिसिएका कैयौँ डेगेन्द्र राजवंशीहरूलाई कविता मार्फत पुस्तकमा उतारेका छन् कविले ।

कविता सङ्ग्रहमा जम्मा जम्मी ७० वटा कविताहरू छन् । हरेक कविताहरूले देशलाई बोकेका छन् । राष्ट्रियता र जनजीविकाका पक्षमा आफूलाई खरो रूपमा उतार्न पोख्त कवि विमल निभा यस पुस्तकमा पनि उतिकै बुलन्द भएर आएका छन् । राजनीतिक रूपले जुनसुकै व्यवस्था आए पनि आम मानिसहरूको जिन्दगीमा कुनै फेरबदल नआउनुको विडम्बनाको बिचमा आउने पुस्ताले यो देशमा पक्कै आमूल परिवर्तनको झन्डा गाड्नेछन् भन्ने दृढ आत्मविश्वास देखिन्छ निभाका कविताहरूमा ।

 लडाकाहरू अहिले पनि 
            आमाको पेटमा छन् 
            तिनीहरू मध्ये थुप्रैको 
            सहादत निश्चितै छ भन्ने 
            खबर उडिरहेको छ हावामा
            …त्यहाँबाट बाहिर आउनासाथ 
            लडाई थालिनेछ ।
            आमाको पेटमा नै पढेका हुन 
            लडाकाहरूले उन्मुक्तिको 
            आख्यान ।

यो कविता कविले प्यालेस्टाईन जनतालाई समर्पित गरेता पनि, कतै हराइरहेको नेपाली उन्मुक्तिको आन्दोलनलाई यस कविताले चाँदीको घेरा दिने काम गर्छ । भित्ताहरूमा लेखिएका नारा मेटिन नपाउँदै पुँजीवादसँगै अपहरित क्रान्ति प्रतिको जागरण बोध गराउँछ ।

देश बनाउँछु भनेर देश र जनताप्रति नै गद्दारी गरेर सत्ताकै वरिपरि रहनेहरूलाई तीखो व्यङ्ग्य गरिएको छ कविता एघार गद्दारमा । उसो त व्यङ्ग्यवादी साहित्यकारको रूपमा पनि छुट्टै पहिचान छ कविको । कविता एघार गद्दार यसो भन्छ
एउटा गद्दार 
                             त्यो गल्ली छेउको 
                             अग्लो घरको छाया कक्षमा बस्छ।
                             दोस्रो गद्दार 
                             साप्ताहिक सयर गर्न 
                             सबडिगार्ड गएको छ 
                             नागार्जुन डाँडा ।
                             ,,,,,,,,,,,
                             छैटौँ गद्दार 
                             मुख्य अतिथि भई भाग लिन 
                             गएको छ धर्म सभामा । 
                             एघारौँ गद्दार 
                             नयाँ गद्दार भएकोले अलमलिएर 
                             चुपचाप टोलाइरहेको छ ।

जनतालाई केवल भोट बैङ्क मात्र सोच्ने तर जनताप्रति नै अनुत्तरदायी हुने शासकहरू प्रति व्यङ्ग्यात्मक आलोचना पाइन्छ कवितामा र आफ्नो सत्ता जोगाउन विदेशी राजदूतका ढोका ढोका पुग्ने प्रवृत्तिको पर्दाफास गरेको छ यो कविताले ।

विमल निभाका कविताले केवल आफ्नो देश र समाजका बारेमा मात्र बोल्दैनन् । उनका कविताहरू विश्वको सिङ्गो प्रणाली विरुद्ध बोल्छन् । यसलाई यसो पनि भनौँ उनका कविताहरू विश्व भूमण्डलीकरण , उपनिवेशीकरणका विरुद्ध अझ शक्तिशाली भएर आउँछन् । उनले दशकौँ देखि अँगालेको वैचारिक दृढता पनि यही हो कि उनी आफूलाई मार्क्सवादी भन्न रुचाउँछन् । त्यसैले उनको दृष्टिकोण अन्तर्राष्ट्रियतावादी छ ।

कविता ह्वाइट हाउसको काव्यात्मक अभिव्यक्ति यसो छ।
विभिन्न रङले
                जगमग जगमग 
                गरिरहेको ह्वाइट हाउस 
                अन्ततः ह्वाइट हाउस नै हो 
                पुरै ह्वाइट हाउस ,एउटा खलविचार 
                अर्थात् 
                रङ्गभेदी चेतको पर्मानेन्ट प्रतीक 
                ह्वाइट हाउस 

कविता भोक पढिरहँदा एकातिर सत्ता विरुद्धको उनको विद्रोह अझै मुखरित भएर आउँछ भने सोनचरैया कविता भित्र मधेसमा दाइजो नल्याएको निहुँमा हत्या गरिएका कैयौँ छोरीहरू प्रतिको कविको प्रेम र संवेदना महसुस हुन्छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि गरिखाने श्रमजीवी वर्गका लागि हिजोको राजतन्त्रात्मक व्यवस्था भन्दा कुनै अन्तर छैन यो व्यवस्था । अझ परिवर्तनकारी र मुक्तिवादी शक्तिहरूबाट नै उनीहरू प्रति हेरिने दृष्टिकोण र गरिने व्यवहार उही सामन्तकालीन छ। यही विषयको काव्यात्मक अभिव्यक्ति छ कविता बग्गी घोडामा ।
म बग्गीमा जोतिएको घोडा 
         मलाई थाहा छैन को सवार छ बग्गीमा 
         राजा या गणतान्त्रिक मुलुकको 
         राष्ट्रपति । 
         दुवैको भारमा त्यस्तो अन्तर छैन कुनै । 
         … 
         बग्गीलाई निरन्तर तानिरहने 
         मेरा पयरहरू भइसकेका छन् गलित 
         र मेरो कमजोर काँध पनि 
         यस्तो सान सौगतको भारी बग्गी 
         तान्न भैसकेको छ । 
         असमर्थ पुरै 

         अब कुनै पनि बेला 
         बग्गीमा बस्नेलाई झट्कारेर
         म फाल्न सक्छु तल ।

उच्चतम व्यङ्ग्य चेतका साथ विद्रोहको बोध पाइनु निभाका कविताहरूको अर्को विशेषता हुन् । पढिरहँदा कविताहरू पाठकलाई आफ्ना लाग्न थाल्छन् । कथित व्यवस्थाप्रति एउटा कवि कतिसम्म आक्रामक हुनसक्छ ? निभाका कविता पढेपछि थाहा हुन्छ ।

बेला पब्लिकेसन्सद्वारा प्रकाशित कविता सङ्ग्रह डेगेन्द्र राजवंशीको आत्महत्या प्रगतिशील कविताहरूको एक सङ्ग्रहनीय कृति हो । कविताहरूको शब्द संयोजन र शब्द छनोटले सङ्ग्रह अझ कलात्मक भएको छ । पाठकलाई शब्दहरूसँगै डोर्‍याउन सक्नु लेखकको अर्को मजबुत पक्ष हो । हामीले वर्षौँदेखि भोग्दै आएका शोषण र उत्पीडन विरुद्धको तीव्र आक्रोश, बिम्बात्मक ढङ्गले सत्ताको तीखो आलोचना र विषयवस्तुहरूको गम्भीर उठान सङ्ग्रहका मुख्य विशेषता हुन् । समकालीन वामपन्थी लेखकहरूमा देखिएको विचलन र पलयानताको बिचमा कवि विमल निभाको लेखनीको उचाइ अविराम छ ।