फ्रान्सेली आख्यानकार, दार्शनिक र पत्रकार अल्बेअर कामुको जन्म ७ नोभेम्बर १९१३ मा अल्जीरियाको ड्रीन मोंदाभी भन्ने शहरमा भएको थियो । उनका बाबु फ्रान्सेली र आमा चाहिँ स्पेनियाँ थिइन् । साधारण किसान परिवारमा जन्मेका कामु गरिब भएकाले बाल्यकालदेखि नै बामपन्थी राजनीतितर्फ आकर्षित हुँदै गई विद्यार्थी जीवनमा साम्यवादी भए । विद्यार्थी छँदा उनले छात्रवृति पाउँथे । त्यसको अतिरिक्त अरू सानातिना काम खोजेर खर्चको जोगाड गर्दै उनले आफ्नो अध्ययन बढाए । सन् १९३६ मा उनको पुस्तक सुल्टो र उल्टो (L’Envers et l’Endroit) र त्यसपछि सन् १९३८ मा मेला-चाडबाड (Noces) प्रकाशित भए । यी निबन्धमा मानवीय जीवन र सुखको व्याख्याका साथै यी सबै कुराको निर्थकता बारे लेखिएको छ ।

सन् १९४० मा उनी प्यारिस गए र त्यसै साल उनी अल्जेरिया फर्की शिक्षक भएर काम गर्न लागे । सन् १९४२ मा उनी फेरि फ्रान्सतिर लागे र त्यहाँ आफ्नो सम्पूर्ण समय सिर्जनात्मक कर्ममा लगाए । दोस्रो विश्वयुद्ध ताक उनी सङ्घर्स(Combat) नामक गोप्य पत्रिकाका सम्पादक थिए । सन् १९४९ मा तत्कालीन सोभियत संघ र अमेरिकी दृष्टिकोणको भर्त्सना गर्न कामु अन्तराष्ट्रिय सम्पर्क समूह (Group of International Liaisons) खोले । उनलाई अराजकतावादी(Anarchist) र निस्सारतावादी (Absurdist) दर्शनका प्रणेता पनि भनिन्छ ।

मानसिक परिश्रम निस्सार ठान्ने निस्सारतावादका प्रतिपादक अल्बेअर कामुले ४४ वर्षको उमेरमा १९५७ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनी वैयक्तिक स्वतन्त्रताका पक्षपाती भएता पनि नास्तिकवादका पनि प्रवर्तक थिए । उनले आफू कहिल्यै अस्तित्ववादी नभएको मान्छन्, तर सार्त्र र कामुलाई सबैले अस्तित्ववादी भनेर चिन्दछन् । फ्रान्सेली साहित्यकार उनीभन्दा १३ वर्ष जेठा आन्द्रे मालरोलाई समेत सार्त्र र कामुको समूहमा उभ्याएका छन् । उनका प्रमुख कृति यस प्रकारका छन्ः

उपन्यासः १) अपरिचित (The Strange, 1942), २) प्लेग रोगको महामारी  (The Plague 1947),३) पतन (The Fall 1956), ४) सुखद मृत्यु (A Happy Death 1971), ५) पहिलो व्यक्ति (The First Man 1995) (पछिल्ला दुई उपन्यास मरणोप्राप्त प्रकाशित) ।उनको उपन्यास The Stranger लाई श्री डिल्लीराज उप्रेतीले परचक्री शीर्षकमा, भीमराज ढकालले पराइ शीर्षकमा र हरिहर खनालले आगन्तुक शीर्षकमा नेपाली अनुवाद गरेका छन् ।

नाटकः १) कालीगुला (Caligula), २) हत्याराहरू (The Just Assassins), ३) भ्रम (The Misunderstanding), ४) घेराबन्दीको अवस्था (The Stage of Siege), ५) आफ्नो अधिनमा रहेको (The Possessed)

कथा सङ्ग्रहः  निर्वासन र अधिराज्य (The Exile and The Kingdom 1957)

उनले थुप्रै निबन्ध तथा दार्शनिक लेख लेखेका छन् । ती मध्ये सिसिफसको पौराणिक कथा (The Myth of Sisyphus, 1942)/ विद्रोही (L’Homme Revolt, 1951) उनका प्रसिद्ध दार्शनिक लेख हुन् ।

४ जनवरी १९६० मा फ्रान्सको विल्लेब्लेविन भन्ने शहरमा कार दुर्घटनामा परि कामुको मृत्यु भयो ।