१.
उधारो

हे अस्ताउँदै गरेका रवि !
मलाई थाहा छ
भोलि तिमी पुनः उदाउनेछौ
आफ्नो आभाले जगतलाई
उज्यालो बनाउनेछौ
तिमीलाई सलाम!
….

तिमी भोलि उदाउँजेञ्लसम्मलाई
मसँग एक मुठी प्रकाश उधारो छोडेर जाऊ न !
मलाई आजकै रात इतिहास कोर्नु छ।

२.
सिफ़ारिस

बुढापाकाहरूको भनाइ छ
चिता जलेको धुवाँ
सीधा उड्दा स्वर्ग जाने
बाङ्गो उड्दा नर्क
त्यही कारणले
हे हावा ! तिमीसँग
अहिले नै सिफारिस राखेँ
मेरो चिताको धुवाँ उड्ने बखत
तिमी कतै नहिँडी
म जलेको तमासा हेरिरहनू !
मलाई स्वर्ग गएर
स्वर्गको आनन्द लिनेहरूको
एकचोटि
कडावाला परीक्षा लिनु छ ।

३.
क्यामेरा

म काले मान्छेलाई कालै खिच्छु
गोरेलाई गोरै
सुन्दरलाई सुन्दर
कुरुपलाई कुरुप नै खिच्छु

आजभोलि मेरो योग्यता
निकै विकसित भएको छ
कालेलाई गोरो पनि खिचिदिन्छु
उनीहरूको मन फुरुक्क बनाइदिन्छु

मान्छेको बानी हेर्नु न !
कोही पनि
कालो तस्वीर खिचेको मन पराउँदैनन्
उसको रूपअनुसार फोटो लिँदा
फोटो राम्रो आयो भन्दैनन्
तब म
उनीहरूलाई गोरै खिच्न बाध्य छु

अब मलाई
जीवनमा एउटै धोको छ
कास !
मान्छेको मनको तस्वीर खिच्ने
योग्यता कसैले निर्माण गरिदिए हुने !
तब
हाँस्दै उपरखुट्टी लगाएर बस्ने थिएँ।

 

४.
बल्ब

मरुञ्जेल जलेँ
जीवनपर्यन्त अँध्यारोसँग सङ्घर्ष गरेँ
कयौँलाई बाटो देखाएँ
कयौँलाई पढाएँ
सानै आकारको भए पनि
राजनीति गराउन सामर्थ्य राखेँ
मेरो सास अड्किएपछि
कसैले प्वाँट्ट फुटाइदियो
कसैले डस्टबिनमा हालिदियो
कसैले झ्यासमा हुइँकाइदियो
………

सबै एकैनास नहुँदा रहेछन्
कसैले कला भएको हातमा पार्दे
उसले श्रृङ्गार गरेर
अतिथि बस्ने कोठामा सजाइदियो
म मक्ख परेँ
आजकल घरीघरी
जल्दै गरेको बल्बलाई हेरेर
मुसुक्क हाँस्दछु ।

५.
सहयोग

जब मलाई आकाङ्क्षाको भारीले
असह्य पीडाको कुम्लो बोकाइदियो
पीडा हलुङ्गो गर्ने चेष्टामा
दुवै हात फैलाई आकाशतिर हेरेँ
सिरिरिरी हावा चल्दा
अँगालिएको आभास पाएँ
खुसीमा आँसु अविरल बगे
एक्कासि आकाश पनि
धुरूधुरू रुन लाग्यो ।