घन गिटीमा बजार्दाबजार्दै उनलाई व्यथाले बजार्यो । फोरेका गिटीका चुच्चा ढुङ्गा हत्केलाले अठ्याउँदा हात रगताम्मे भए । नदीका किनार उनको मृतकण्ठले पुकारेको आवाजले प्रतिध्वनित् थियो । त्यो पुकार उनकै कानसम्म मात्र पुग्यो । आवाजले कानलाई सन्देश पढायो, “तँ गरिबको पुकार कसले सुन्छ ?”

बिपिन अर्याल

सूर्यले तापको श्राप बढाउँदै थियो । पसिनाको मूलले भिजाएको सारीभरि पोखिएका थिए रगतका भलहरू । त्यही समय ऊ आमाको पेटलाई लत्याएर दुनियाको होलमोलमा मुछियो । नदीवरिपरि ऊ रोएका आवाज गुन्जियो । आमाले उठेर छिनोले नाभी काटिन् र निदाइन्, कहिल्यै नबिउँझिने निद्रामा । कति निर्दयी रहिछे पापीनी ! आफ्नो छोरालाई एकपटक ममताका हत्केलामा राखेर उसका अधरमा नचुमी, नअंगाली सधैँका लागि नदाइन् । उनलाई छोराभन्दा प्यारो त बगर पो रहेछ !

रक्सीको मातमा रोल्मोलिएर बगर घुदैआएको एक व्यक्तिले छोरालाई उठायो । उसलाई मात्र नभई साथमा उसका जिम्मेवारी पनि । आमाको छातीलाई बेल्चाका बेल्चा बालुवाले अंगाले, त्यस पापीनीलाई त ठीकै भयो ! खुब प्रेम थियो नि बगरसँग, आफ्नो प्रेम प्राप्त गरी !

उसलाई पाल्नेले पनि 5 वर्षमै संसार छाड्यो । ऊ फेरि अनाथ भयो, कर्म दिनेबाट पनि । त्यसपछि सडकका पेटी उसको शरीर बिसाउने बिस्तारा बने भने झुत्रा भएर पनि भोकका भारी बोक्ने बोराहरू ब्ल्याङ्केट र आकाश छानो । अरे ऊ त धनी पो भएछ ! जहाँ गयो त्यहीँ घर ।

खालि प्लास्टिक तथा सिसाका बोतल उसको जिम्मेवारी थियो र जति धेरै बोतल उति धेरै खाना । कुनै दिन बोतलहरु छैन त उपवास । ऊ बिरामी पर्न पनि सक्दैन, सधैँ स्वस्थ रहनै पर्ने । भोको पेटले विद्यालय जान त के सोच्न सक्नेसम्म कुरो भएन । तर ऊ अनाथ भने होइन, मात्र आफ्नो भन्ने कोही नभएको हो ।

उसको नाम छैन, भए पिन बिर्सिसक्यो । बोलाउनेले ‘एइ…. खाते’ भन्छन् । ऊ सोच्छ ” खान नपाउनेहरूकै नाम खाते ! खान पाउनेहरूको त के के हो के के ! खान नपाउनेहरूको नाम आवश्यक पर्दैन हो ?” प्रश्न त्यतिकै छोडिदिएर बोतल बटुल्छ ती फरक नाम भएकाहरूले फालेका ।

आकाश चकमन्न अध्याँरोको बाकसभित्र बन्द भएको छ। चारैतिर तुफानले बजारलाई ढाकेको छ। मान्छेहरू घरभित्रै बसेर कोही आगोका वरिपरि गोलाकार भएर, कोही सिरकमा गुटमुटिएर, कोही हातमा कफी लिएर मुखमा तातो सुर्की लगाउँदै चीसो मनाइरहेका छन् । उनीहरू बाहिरी तत्वको सामना गर्नु नपरेकोमा कृतज्ञ छन् । तर त्यहाँ ऊहरू पनि छन्, जो घरभित्र बस्नेभन्दा ठीक विपरित छन् ।

प्रतिक्षालयमा ऊ शरिरबाट कम्पन फ्याँक्दै, टुक्रुक्क परेर उज्यालोको पर्खार्इमा थियो, अध्याँरो आकाशमुनि बसेर सुन्दर बिहानीको परिकल्पना गर्दै थियो । उसलाई बाडुल्की कहिल्यै लाग्दैन । बाडुल्की लाग्न त सम्झिनेहरू चाहिने रहेछ ! यद्पि उसले पनि साथी पायो, जो एक राक्षस थियो । त्यो कहिल्यै सुत्दैनथ्यो- किरण । आशाको किरण।

किरण र ऊ सधैँ राति सँगै खेल्थे, रातिमा मात्र । दिनमा आउन किरण सक्दैनथ्यो । तिनीहरू कहिले क्यानका बोतललाई फुटबल बनाउथे र खेल्थे, कहिले लुकामारी खेल्थे, कहिले एकअर्कोलाई छुने खेल । उसले कल्पना गर्थो, ऊ रातमा मात्र नभई दिनमा पनि ती खेल खेल्न सकोस् । पूरा दिन साथीसँगै दिन बिताउन सकोस् ।
एक रात ऊ साहसिक यात्रामा निस्कियो, राक्षसहरूको संसार घुम्न ।
“ऐ किरण ! तिमी कता छौ ? ……… किरण ?” अनाथले रात पर्नलाग्दा चिच्चायो ।
उसको बायाँपट्टिबाट भयभित र डरलाग्दो आवाज सुन्न थाल्यो । ऊ झ्याप्प त्यतैतिर फर्कियो । केही देखेन र छिटो छिटो यताउति मन्टो फर्काउँदै हेर्न लाग्यो । किरण चिच्यायो ‘भू………..!’

ऊ डराएन, तर उसले आफ्नो पनि संसारमा कोही भएको महसुस गर्यो ।
उसले किरणलाई हेर्नासाथ किरणले प्रश्न गर्यो, “किन हो तिमी बस् यहीँ वरिपरि घुमिरहन्छौ ? जाऊँ हिँड आज म तिमीलाई राक्षसहरूको दुनियाँ घुमाउँछु । तर म पहिले नै तिमीलाई चेतावनी दिन्छु, यो सुरूमा डरलाग्दो छ । पछि पक्कै तिमीलाई रमणीय लाग्नेछ ।”

उसले भुईँबाट उठ्दै जवाफ दियो, “हुन्छ, म तयार छु । हुनसक्छ, मैले त्यहाँ मेरा आफन्तलाई भेट्न सकू !” उसलाई किरणले रिसको आँखाले हेर्यो, हेरिरहन सकेन र हाँस्न लाग्यो ।

“हे ! के मैले त्यस्तो हाँसोउठ्दो कुरा के गरेँ ?”
“हाम्रो संसारमा कुनै परिवार हुँदैन, न कुनै आफन्त । हामी केटाकेटीहरूलाई तर्साउँदै हिँड्छौँ । ल अब जाऊँ ।”, जब उनीहरू राक्षसहरूको संसार प्रस्थान गर्दै थिए, किरणलाई बल्ल महसुस भयो उसको कुनै नाम थिएन । भन्यो, “अब तिमीलार्इ नाम चाहिन्छ । अबोध ! तिमीलाई आफ्नो नाम कस्तो लाग्यो ?”, उसलार्इ मन नपर्ने कुरै थिएन । मनमनै तीन पटक भन्यो, “अबोध ! अबोध !! अबोध !!!”
उनीहरूले राक्षसको संसारमा जानेक्रममा शब्द र प्रश्नहरूको सुरुङ पार गरे । दृश्य र आवाजहरूको, कल्पना र सपनाहरूको, भोक र खानाहरूको, नाङ्गो शरीर र कपडाहरू अनेकौँ सुरूङपश्चात् गन्तव्यमा पुगे । त्यहाँ अबोधले अनेकौँ अनौठा चिजबिज र दृश्यहरू देख्यो जुन यसअघि कहिल्यै देखेको थिएन ।

अबोधले फरक-फरक प्रकृतिका राक्षसहरू र तिनका संस्कृति देख्यो। तिनीहरूको आकाश कालो थियो जसमा कहिल्यै नमेटिने कालो अध्याँरो थियो । जूनलाई रातो रगतले लिपिएको थियो जसबाट रगत तपतप चुहिरहेको थियो र रूखहरू बैजनी रंगले रंगिएका थिए। घाँसहरू कालो छायाजस्ता देखिन्थे । तर सबैभन्दा हतोत्साहित बनाउने पक्ष त यो थियो कि त्यस संसारका कुनै पनि राक्षसका छाया थिएनन् ।किरणले अबोधको अनौठो अनुहार हेर्यो र मुसुक्क हाँस्यो ।

दुवैले रातो चन्द्रमालाई हेरिरहेका थिए । अचम्मको र डरलाग्दो दृश्य त्यो जूनमा खोपिएको थियो; जहाँ एक बालक सडकमा भोकका कारण मृत अवस्थामा सुतिरहेको थियो।