आफ्नो जीवनकालमा अत्यधिक विवादित भएर जीवन बाँचिरहेकी तस्लिमा नसरिनको जन्म २५ अगस्ट सन् १९६२ मा बंगलादेशको मैमनसिंह नगरमा भएको हो ।

उनको उपन्यास `लज्जा´ निकै नै विवादित भएपछि उनलाई देशबाट खेदिएको थियो । उनको मृत्युमा इनामको घोषणा पनि गरिएको थियो । इस्लाम धर्मका कमजोरीहरूलाई आलोचनात्मक टिप्पणी गरेका कारणले उनलाई कट्टरपन्थी इस्लामबाट सधैँ अपहेलित हुनुपर्‍यो । उनी सन् १९९४ मा बंगलादेश छाडेपछि स्वीडेन, जर्मनी र अमेरिकामा एक दशक बिताइन् । सन् २००४ देखि उनी भारतको कोलकातामा बस्न थालिन् । कोलकातामा पनि बस्दा उनले विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखिरहिन् । निडर, हक्की, महिलावादी र मानवतावदी विचारक र साहित्यकार तस्लिमाले भारतमा पनि कट्टरवादीहरूको घृणाको सिकार हुनपर्‍यो । सन् २००७ मा अल इन्डियन मुस्लिम पर्सनल बोर्डले उनको टाउको काट्नेलाई पाँच लाख पुरस्कारको घोषणा गर्‍यो । त्यसले गर्दा उनलाई महिनौँ नजरबन्दमा राख्न पर्‍यो । सन् २००८ मा उनले भारत छोड्ने भइन् । चालिसवटा जति पुस्तक सिर्जना गरेकी नसरिन हाल भारतको दिल्लीमा बस्दै आएकी छन् । विवादमा तानिए पनि संसारभर उनको विचारलाई सम्मान गर्ने समूह पनि ठूलै छ । उनले उठाएका मुद्दाहरूलाई सम्मान गर्दै विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि दिइएको छ । स्वीडेनले उनलाई नागरिकता पनि प्रदान गरेको छ । उनका कृतिहरू ३० भन्दा अधिक भाषामा अनुवाद भएका छन् । आज हामीले उनको आत्मकथ्यबाट केही अंश साभार गरेर प्रस्तुत गरेका छौँ । यस आत्मकथ्यमा उनले दिल्ली बसाइको अनुभवका साथमा आफ्नो दिनचर्या र आफ्ना सपना र भोगाइबारे प्रकाश पारेकी छन् ।

निर्वासित जीवनको बीस वर्ष मैले कयौँ देशमा बिताएँ । हरेक देशको जीवन आफ्नै शैलीको थियो । भारतमा बिताएको जीवन युरोप वा अमेरिकाको भन्दा भिन्न थियो । यो देशमा आफ्नो टाउको मूल्य धेरै पटक चुकाउनु पर्‍यो । ममाथि शारीरिक आक्रमण भयो, मेरा किताब निषेध गरियो । सरकारी वा गैरसरकारी सबै किसिमका मान्छेले मेरा किताबलाई मन नपराएरै होला विभिन्न मुद्दा दर्ता गराए । मलाई एउटा प्रान्तबाट मात्रै होइन, देशैबाट पनि खेदियो तर यही देशमा मेरा पाठक अत्यधिक मात्रामा छन् । जसरी यस देशका मान्छेले मेरो हत्या गर्न चाहन्छन्, त्यसरी नै मलाई प्रेम पनि यसै देशका मान्छेबाट प्राप्त भएको छ । मलाई जसले मन पराउँछन् उनीहरू निकै साधारण मान्छे हुन् । यो देशमा जति आनन्दको अनुभूति छ, त्यति नै भय पनि छ । पाश्चात्य जगतमा केही छैन, न आनन्द न त भय नै । अनुभूति त्यति तीव्र छैनन् त्यता ।

यो देशमा धेरै आफ्नोपन पाउँछु । यति धेरै आघात र घृणा पाएकी छु मैले फेरि पनि मान्छेहरू सोध्ने गर्छन्, `कसरी बित्छन् दिनहरू?´ । दिन त यसै पनि बितिहाल्छ । हजारौं काम छन् । त्यसलाई फत्ते गर्ने समय पनि छैन मसँग । हजारौं किताब छन्, त्यसलाई पढ्ने फुर्सद पनि छैन । पढ्न बसेँ भने लेख्न सकिँदैन, लेख्न बसे पढ्न सकिँदैन । यतिधेरै किताब किनेकी छु, यसलाई कहिले पढेर सकूँली भनेर शरीर काँप्छ । छोटो जीवनमा यो सबै सम्भव छैन । जिन्दगी हजार-दुईहजार वर्षको हुने भए, कति जाती हुन्थ्यो !

कहिलेकाहीँ सोच्ने गर्छु, जिउनुको प्रयोजन के छ र ? जब कसैको मर्ने इच्छा भयो भने शरीरको कुनै अंगको गोप्य बटन दबाउने बित्तिकै मर्न सकोस् । यदि कसैको बाँच्ने इच्छा भए लाखौं वर्ष पनि बाँच्न सकोस् । विज्ञानले त अनेक अमर हुने तरिकाको आविष्कार गर्दै छ तर म जीवित हुँदासम्म यो सब सम्भव हुनेछैन मलाई थाहा छ । म मर्नेछु तर त्यसपछि पनि मेरा धेरै इच्छाहरू जीवित रहून् कि म जिउँदै रहूँ । विश्व ब्रह्माण्डमा त्यसपछि के-के घटना घट्नेछन् त्यो देख्न पाउने छैन । यसले मलाई खुब पीडा दिन्छ ।

भारतवर्षमा कोठामा बसेर लेखपढ गर्नु मेरो मूल काम हो । मूल काम यही भएकाले त्यसलाई सन्तुलित तरिकाले गर्ने गर्छु वा त्यसो गर्ने इच्छा राख्छु । युरोप-अमेरिकामा घरको काम एक्लै गर्नु पर्थ्यो । यहाँ घर पोछा लगाउन खाना बनाउन र भाँडा माझ्न सहयोगी राख्न सकिन्छ । यसले गर्दा लेख्नका लागि धेरै समय पाउँछु तर लगातार लेखिरहन पनि मन लाग्दैन । दिल्लीमा घरबाहिर जाने धेरै ठाउँ छैनन् । न्युयोर्कमा सडकमा पैदलयात्रा गर्थेँ, स्वच्छ हावामा मुक्त स्वास फेर्थेँ, ब्रोड वेमा सांगीतिक कार्यक्रम हेर्थेँ, लिंकन सेन्टर जान्थेँ, झक्कास क्याफेमा बस्थेँ, भव्य रेष्टुरेन्टमा खाना खान्थेँ । त्यस किसिमको जीवन दिल्लीमा सम्भव छैन । बाहिरको हावामा प्रदूषण छ । पैदल घुम्न सकिने अवस्था छैन् । बाहिर निक्लिए भने फोक्सोमा संक्रमण हुन्छ । भारतबाहिर मज्जाले घरबाहिर निक्लन सकिन्छ । प्रायः युरोप-अमेरिकामा भाषण गर्न जानुपर्छ । मूल रूपमा मानवता, नारी स्वाधीनता आदि इत्यादि विषयमा बोल्न निमन्त्रणा आउँछन् ।

प्रवचन दिन्छु तर लामो समयसम्म कतै पनि कविता पाठ हुन सक्दैन । बंगलादेशमा हुँदा खुब कविता सुनाइन्थ्यो । कहिलेकाहीँ कोलकाताबाट केही बंगाली मेरो घर आउँथे । दिल्लीमा पनि एक दुईजना बंगाली आउँदा कविता सुनाउने गर्छु ।

यस बाहेक विदेशको साहित्यिक कार्यक्रममा अङ्ग्रेजी कविता सुनाउँदा बिचबिचमा बंगाली कविता पनि सुनाइदिन्छु । विदेशीलाई बंगाली भाषाको स्वर सुन्न मन हुँदा सुनाउँछु । जतिजति दिन बित्दै छन्, कविता पनि जिन्दगीबाट टाढिँदै छन् । धेरैपछि यसपटक कविताको किताब निकाल्ने छु- यस्तो सोचेको थिएँ । तर कविताको सङ्ख्या यति कम छन् कि त्यसले एउटा किताबको आकार बनाउन सक्दैन । आजभोलि मँसग कविता आउँदैनन् । कविता भनेको स्वयं आउने कुरा हो, लेख्ने कुरा होइन ।

दिल्लीमा एउटा काम खुब हुन्छ, धेरै माछा किन्नु । विदेशमा हुँदा देशी माछा आइसमा राखिएको किन्न पर्थ्यो । यहाँ ताजा पाइन्छ । बंगालीलाई माछा र भात नभई भान्सै चल्दैन । दिल्ली कोलकाता त होइन । दिल्लीको बंगाली चोकमा माछा जरूर पाइन्छन्, यद्यपि सबै थरिका माछा पाइन्नन् । एकैपटक धेरै माछा किनेर त्यसलाई फ्रिजमा राख्छु । अनि थोरैथोरै खान्छु । म कति नै खान सक्छु र ! प्रायः म अरुलाई खुवाउँछु । केही मान्छे यस्ता हुन्छन् जसलाई अरुलाई खुवाउँदा आनन्द मिल्छ । म त्यहीँ किसिमको मान्छे हुँ । एक्लै खानै सक्दिनँ । पाहुना बोलाउनै पर्छ, सबै खुवाउँछु उनीहरूलाई । मेरो भागमा केही नरहे पनि खासै फरक पर्दैन । जब कोलकातामा थिएँ, मेरो घरमा सबै आएर खान्थे । मध्याह्न वा रातमा मेरो घर आउने कुनै पनि व्यक्ति खाली पेट फर्किँदैनन् । चाहे उनीहरू निम्तो नदिएका पाहुना नै किन नहुन् ! यस्तो आतिथ्य सत्कार मैले कहाँबाट सिकेँ ? पक्कै पनि आमाबाट ।

म कहिले खाना बनाउदिन भन्ने पनि होइन । प्रायः पकाइरहन्छु । विशेष जब राम्रो माछा हुन्छ, माछामासु पक्कै खान्छु तर त्यो भन्दा बढी सागसब्जी खान्छु । शाकाहारीले जति सागसब्जी खान्छन् नि त्यो भन्दा पनि बढी खान्छु होला । सागसब्जी आफैं किनेर ल्याउँछु । साँच्चै भन्ने हो भने यो शहरको सब्जीवाला, माछावाला, चियावाला मेरा साथी हुन् । कोलकातामा हुँदा सब्जीवाला, पसलवाला मलाई दिदी दिदी भनेर घेर्थे । वास्तवमा देश विदेश जतासुकै साधारण मान्छे नै मेरा साथी हुन्छन् । ठूला मान्छेसँग मेरो खासै जम्दैन ।

मलाई यो थाहा छ कि दिल्लीमा र कोलकातामा धेरै पार्टी हुन्छन् । कोलकातामा केहीले मलाई आमन्त्रण गरेका थिए । त्यहाँ गएपछि मलाई केही राम्रो लागेन । पार्टी-सार्टी मेरालागि होइन । गएर फर्किहाल्ने पक्षधरको मान्छे हुँ तर सबै मान्छे त्यस्ता हुँदैनन् । उनीहरू धेरै अबेर रातमा पार्टीमा पुग्छन्, रक्सी पिउँछन्, खानपिन गरेर घर फर्कदा बिहान भइसकेको हुन्छ । म मद्यपान गर्दिनँ । नसामा चूर भएकासँग तर्कहीन, बुद्धिहीन वार्ता गर्नुमा मेरो कुनै सोख छैन । दिल्लीमा मलाई कुनै पार्टीबाट निमन्त्रणा आउँदैन । ठूला मान्छेको घरमा अङ्ग्रेजी बोल्ने एलिट श्रेणीका पार्टीमा मेरो कुनै रुचि छैन । अनि मध्यमवर्गीय मान्छेसँग पनि जम्दैन किनकि मेरो मानसिकता मध्यवित्त वर्गको होइन । त्यसैले म कतै घुलमिल हुन सक्दिनँ । गरिबबस्तीका मान्छेसँग पनि मेरो खासै जम्दैन । खास भन्ने हो भने म यिनीहरूमध्ये कुनै श्रेणीमा पर्दिनँ । म त श्रेणी र वर्गको धारणालाई नै मन पराउन्न । मैले बुझेकी छु, ममा कुनै वर्गको चरित्र छैन ।

आफ्नो देशबाट धेरै टाढा, समस्त बंगालबाट अधिक टाढा । आत्मीय कोही छैनन् । साथी पनि छैनन्, लेखिरहन पनि सक्दिनँ । एउटा बिरालो मसँग बस्छे । कहिलेकाहीँ यस्तो लाग्छ, मान्छेभन्दा बिराला धेरै ठीक छन् ।

यस्ता कुरामा समय बर्बाद नगरेर लेखपढ गर्न सके राम्रो हो; अथवा ट्वीट गर्न सके पनि राम्रो हो । ट्वीट गर्न सोच्नु पर्छ । एक-एक ट्वीट एउटा निबन्ध हुन सक्छन् । ट्वीटमा बुद्धिमान मान्छेसँग विचार विनिमय हुन सक्छ ।
मलाई लाग्छ मन्दबुद्धि भएकासँग सामुन्ने बसेर वार्तालाप गरेर समय नष्ट गर्नुभन्दा सामाजिक सञ्जाल धेरै ठीक हुन्छ । छोटो समयमा नै संसारभरका समाचार, ज्ञान, भिन्नभिम्न मत तथा विचारसँग साक्षात्कार हुन पाइन्छ ।
आफ्नो मत पनि राख्न पाइन्छ । कुनै सेन्सरसिप तथा निषेधाज्ञा हुन्न ।

तथापि विभिन्न विषयमा मेरा मत, अधिकांश अवसरमा र सबैको अपेक्षा जहाँ मेरो भिन्न मत होस् । इन्टरनेट बाहिर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम छैन- मसँग । मेरो आफ्नो लेख भयका कारणले छाप्न चाहन्नन् । छापियो भने सरकार रिसाउँछ भन्ने डर उनीहरूलाई छ किनभने सरकारले मुस्लिम रुढिवादी समूहलाई खुसी बनाउन चाहन्छ । मलाई जुन कारणले रुढिवादीहरू दुश्मन सम्झिन्छन्, त्यसै कारणका लागि मेरो लेख छापेर रुढिवादीहरूलाई दुःखी बनाउन चाहन्न सरकार । अङ्ग्रेजीमा ब्लग लेख्छु । नो कन्ट्री फर विमेन । बंगालीमा पनि लेख्छु । नाम हो, मुक्तचिन्ता ।

मात्र ब्लग बिनासेन्सर चल्छ । पत्रपत्रिकामा छापिने लेख यस्तो हुन्न । आजकल मलाई यो भनेर निर्देशन दिइन्छ कि धर्म शब्दको ध पनि लेखमा नहोस् । कतै पनि धर्मलाई छोएर कुनै धारणा दिन सकिन्न तर ब्लगमा अझै पनि स्वाधीनता छ । प्रत्येक दिन ट्वीट गर्छु, प्राय: ब्लग लेखिरहन्छु, साप्ताहिक रूपमा दुई तीनवटा स्तम्भ लेख्छु, अनि अन्य समय कविता कथा लेख्छु । केही दिनपछि एउटा नयाँ उपन्यास सुरु गर्नेछु । दिन त यसै कटिहाल्छ, रात पनि कटिरहेकै छ । ट्वीटका लागि दुई तीनवटा मुद्दा चलिसक्यो । बिहार र उत्तरप्रदेशमा । आफ्नो विचार व्यक्त गर्ने स्वाधीनता के हो, यहाँका मान्छेलाई थाहा छैन । केही दिन पहिला पश्चिम बंगालमा मेरो एउटा मेगा सिरियल सुरु हुने कुरा चलेको थियो तर टिभी च्यानलमा प्रहरी पठाएर यो मेगा सिरियल चलाए सर्वनाश गर्ने धम्की दिइएछ । सर्वनाश हुने डरले उक्त टिभी च्यानलले अब सो सिरियल नदेखाउने भएछ ।

रातभर जागा बसेर लेख्छु । लगभग ४० पुस्तक लेखिसकेँ । यो पटक पृथ्वी पथमा निक्लन जरुरी छ । बाँकी जीवन घरमा बसेर लेखेर दुनियाँलाई के देखाउनु छ र ! एकदिन मर्नु छ । विशाल जगतमा धेरै कुरा हेर्नू छ । ती सारा कुरा नदेखी मर्छु भन्ने पनि सोच्दिनँ । मेरो कुनै देश छैन, न त घर नै छ । अरुकै फ्ल्याटमा बस्छु । कुनै दिन मलाई कसैले हत्या गर्नेछ वा सरकारले मलाई यहाँबाट पनि लखेटेर भगाउने छ । जिन्दगीको कुनै ठेगान छैन । जहाँ बसे पनि जुन देशमा भए पनि म लेख्नेछु मेरा मनका कुरा । किनभने मेरो विचारले महिलाहरूलाई आफ्नो अधिकार लिएर शिर उच्च राखेर स्वाधीनताका साथ जिउने प्रेरणा दिन्छ । जीवनको सार्थकता पनि यसैमा छ । एउटा जीवनमा धेरै पुरस्कार पनि प्राप्त गरेँ । धेरै प्रेम र श्रद्धा पनि प्राप्त भयो; अब मलाई केही चाहिन्न । जे जति घृणा मैले प्राप्त गरेकी छु, त्यो निश्चित रूपमा मैले केही सही विचार लेखेकोमा हो ।

दिल्लीबाट अन्य शहर वा प्रान्तमा जाने कुनै उपाय छैन ।

पाइलापाइलामा निषेधाज्ञा छ । कहाँ जाँदा कुन घटना घट्ने हो पत्तो हुँदैन । दिल्लीमा प्रिय लाग्ने ठाउँ एकदम कम छन् । सबैभन्दा मज्जा लाग्छ जनपथको नजिकैको सडकमा बाँदरलाई केरा खुवाउँदा । धेरै केरा किनेर खुवाउँछु । बाँदर खुसी भएको अनुहार हेर्न कति रमाइलो लाग्छ । सडकमा माग्नेहरूलाई देखेर गाह्रो हुन्छ । उनीहरूलाई केही पैसा दिन्छु । के मेरो पैसाले उनीहरूको दुर्दशा ठीक हुन्छ ? सपना देख्छु; पृथ्वीका सबै मानव समाज सुखी रहून, कसैलाई केही अभाव नहोस्, कहिले पनि विषमता नहोस् । दिनरात सपना देख्छु । मानचित्रहीन पृथ्वीको सपना देख्छु । जसलाई जहाँ मनलाग्छ, त्यहीँ जान सकून् । यद्यपि मेरै पाइलापाइलामा बाधा छ । दिल्लीमा चौबीसै घन्टा मलाई प्रहरीको सुरक्षा प्रदान गरिएको छ । प्रहरीको सुरक्षा राम्रो लाग्दैन । यदि मानवजातिको प्रेम नै मेरो सुरक्षाको साधन भएको भए !

यो शहरमा बस्छु तर शहर वा देशको नाममा मसँग अहिले इँट्टा, काठ र पत्थरको घर छैन । कुनै मानचित्र छैन । देश वा घर भन्नु मेरालागि मान्छे हुन् । यस्ता मान्छे, जसले मलाई प्रेम गर्छन् वा जसलाई मैले प्रेम गर्छु ।

प्रस्तुति : जनक कार्की