विज्ञानको अद्भुत प्रगति भएसँगै मानिसहरू पृथ्वीमा मात्र सीमित नरही अन्तरिक्षको अन्वेषणमा समेत दत्तचित्त भएर लागिपरेका छन् । अन्तरिक्षका कुनाकन्तरको खोजीसँगै त्यहाँ विभिन्न प्रयोजनका लागि भूमिमा आधिपत्य जमाउने होडबाजी पनि चलिरहेको छ । त्यही होडबाजीले टिम मार्शलको शब्दमा अन्तरिक्ष राजनीति (एस्ट्रोपोलिटिक्स) लाई जन्म दिएको छ ।

पृथ्वीमा रहेका विभिन्न राज्यहरूले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भूराजनीति गरेझैं स्रोतसाधनले सम्पन्न ठूला शक्तिराष्ट्रहरूले अन्तरिक्ष राजनीति गरिरहेको तर्क मार्शलले आफ्नो नयाँ पुस्तक ‘द फ्युचर अफ जियोग्राफी’मा गरेका छन् । यसअघि ‘प्रिजनर्स अफ जियोग्राफी’ र ‘द पावर अफ जियोग्राफी’मार्फत गहन भूराजनीतिक विश्लेषण पस्केका मार्शलले नयाँ पुस्तकमा अन्तरिक्ष राजनीतिको चर्चा गरेका छन् ।अन्तरिक्ष युग शुरू भइसकेको अवस्थामा आगामी ५० वर्षमा अन्तरिक्षको भूराजनीति कस्तो हुनेछ भनी मार्शलले यस पुस्तकमा चर्चा गरेका छन् । शक्तिराष्ट्रका सरकार र निजी क्षेत्र दुवै अन्तरिक्षमा मानवसहित तथा मानवरहित रकेटहरू पठाउनका लागि तीव्र प्रतिस्पर्धा गरिरहेको अवस्थामा चर्किने भूराजनीति रोचक तथा जोखिमयुक्त दुवै हुने प्रक्षेपण मार्शलले गरेका छन् ।

Tim Marshall will join RMIT in February 2021पुस्तकको आरम्भमा मार्शलले अन्तरिक्षप्रति मानिसहरूको चासोका विषयमा प्राचीनकालदेखि आधुनिक कालसम्मको इतिहास छोटकरीमा उधिनेका छन् । सूर्य, चन्द्र र तारामण्डललाई नियालेर त्यहाँ पुग्न पाए कस्तो हुन्थ्यो भनी कल्पना गर्ने मानिसहरूले दोस्रो विश्वयुद्धपछि अन्तरिक्षमा पाइला टेक्नका लागि प्रयास बढाएका थिए । रुसी वैज्ञानिक कोन्सटान्टिन त्सियोलकोव्स्की र चिनियाँ वैज्ञानिक छ्यान स्वेसनले अन्तरिक्षविज्ञानमा गरेको योगदानको प्रशंसा मार्शलले गरेका छन् ।

विशेषगरी शीतयुद्ध शुरू भएपछि अमेरिका र तत्कालीन सोभियत संघबीच भएको प्रतिस्पर्धाका कारण मानवताको पाइला अन्तरिक्ष (चन्द्रमा) मा पर्न पाएको थियो । उक्त प्रतिस्पर्धाले सन् १९५० को दशकमा पहिलोपटक अन्तरिक्षयात्रालाई सम्भव बनाएको भए पनि यो अत्यन्तै खर्चिलो र कष्टसाध्य भएकाले दुवै महाशक्तिहरू यसलाई अघि बढाउन अनिच्छुक भएको मार्शल लेख्छन् ।

तर अहिले पुनः अन्तरिक्षयात्राका लागि शक्तिराष्ट्रहरू इच्छुक हुन थालेका छन् । विशेषगरी अमेरिका र चीनले यसमा प्रतिस्पर्धा गरिरहेका छन् । यी दुई महाशक्तिबीच शीतयुद्धको जस्तो चिसोपन आएको बेलामा चन्द्रमा तथा मंगलग्रहमा रहेका खनिज पदार्थको उत्खनन र दोहनका लागि प्रतिस्पर्धा भइरहेको हो । चीनको भूमिमा रहेको दुर्लभ पदार्थ (रेयर अर्थ्स) को प्राचुर्यका कारण उसले आर्जित गरेको शक्तिबाट ईर्ष्यालु बनेको र यसका लागि चीनमा निर्भर नरहन चाहेको अमेरिकाले चन्द्रमाका खनिज पदार्थमा बढी चासो देखाइरहेको छ । अनि चीन पनि थप शक्तिशाली अन्तरिक्षयान बनाएर टाढाटाढाका कुनामा पुग्नका लागि अन्तरिक्षमा रहेका खनिज पदार्थको दोहन गर्न खोजिरहेको छ ।

टिम मार्शल

यसरी त्यहाँका खनिज पदार्थ प्राप्तिमा प्रतिस्पर्धा भइरहँदा शक्तिराष्ट्रहरूले आफ्नो क्षेत्र निर्धारणको प्रयास पनि गरिरहेका छन् । अझ उनीहरूले पृथ्वीको वायुमण्डलभन्दा माथि आफ्नो प्रभावक्षेत्र बनाएर प्रतिस्पर्धी मुलुकलाई त्यहाँ आउन नदिने प्रयास गर्दा मनमुटावको स्थिति पनि ल्याएको मार्शल वर्णन गर्छन् । त्यस प्रतिकूल स्थितिलाई व्यवस्थापन गर्न विभिन्न कानून त बनेका छन् तर ती पुराना भएकाले तिनलाई अद्यावधिक गर्नु अहिलेको आवश्यकता भएको मार्शलको तर्क छ । सन् १९६७ को आउटर स्पेस ट्रीटी, सन् १९७९ को द मून अग्रीमेन्ट र सन् २०२० को दी आर्टेमिस एकोर्ड्सलाई नयाँ वास्तविकता अनुकूल हुने गरी संशोधन वा पुनर्लेखन गर्नु जरूरी रहेको उनी धारणा राख्छन् ।

अझ, अन्तरिक्षमा इलोन मस्कको स्पेसएक्स, जेफ बेजोसको ब्लू ओरिजिन र रिचार्ड ब्रानसनको भर्जिन गलाक्टिक जस्ता कम्पनीहरूको उपस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा खासै चर्चा नभएको मार्शल लेख्छन् । अन्तरिक्षमा पनि निजी कम्पनीहरूलाई पृथ्वीकै जस्तो कानूनअनुसार नियमन गर्ने हो कि भन्ने कुरा निष्कर्षमा पुगेको छैन । तर समयानुकूल कानून नबनाएमा त्यसको परिणाम गम्भीर हुने चेतावनी मार्शलले दिएका छन् । उनका अनुसार, प्रविधिले कानूनलाई उछिनिसकेको छ अनि कानूनको अभावमा अन्तरिक्ष राजनीति जंगली न्यायमा परिणत हुनेछ ।

अन्तरिक्षको स्रोतसाधनको दोहन गरी अकूत पैसा कमाउने उद्देश्य यी निजी कम्पनीहरूले बोकेकाले तिनलाई नियमन गर्ने कानून जरूरी पनि छ । हुन पनि लगानी बैंक मोर्गन स्ट्यानलीले अन्तरिक्ष उद्योगबाट सन् २०४० सम्ममा कम्तीमा १० खर्ब डलरको राजस्व सिर्जना हुने प्रक्षेपण गरेको छ । अनि अन्तरिक्ष भौतिकवैज्ञानिक नील डिग्रासे टाइसनले विश्वको पहिलो १० खर्ब डलर खर्बपति अन्तरिक्षको उत्खननकर्ता हुने बताएका छन् ।

अन्तरिक्षको दोहन तथा सैन्य उपयोगका लागि शक्तिराष्ट्रहरूले प्रतिस्पर्धा गरिरहँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा भएको सहकार्यलाई मापदण्ड बनाउन सकिने मार्शल लेख्छन् । जस्तो, अन्तरिक्षमा भूउपग्रहहरूको कूडाकर्कट व्यवस्थापनमा सहकार्य अत्यावश्यक छ किनकि त्यसको अव्यवस्थापनले निम्त्याउने दुष्परिणाम भयावह हुनेछ । अनि पृथ्वीमा ठोकिन आउने क्षुद्रग्रह (एस्टेरोइड) हरूलाई अन्तरिक्षमै नष्ट गर्नका लागि पनि शक्तिराष्ट्रहरूको समन्वय सकारात्मक हुनेछ ।

शक्तिराष्ट्रहरूले चन्द्रमालाई अखडा बनाएर अन्तरिक्षका सुदूर क्षेत्रको अन्वेषणका लागि गरिरहेको प्रयासका बारेमा मार्शलले विस्तृत वर्णन गरेका छन् । उनका अनुसार, सन् २०१९ मा चीनले मानवरहित यान छाङ’ई ४ लाई चन्द्रमाको सुदूर कुनामा (फार साइड अफ द मून) सफल अवतरण गराएको थियो र त्यसो गर्ने पहिलो यान बनेको थियो । त्यहाँ चीनले आफ्नो देशको झण्डा गाडेर ढुंगाहरूको उत्खनन गरिरहेको छ र त्यहाँ अखडा बनाउन खोजिरहेको छ । त्यस्तै अमेरिकाले चन्द्रमा नजिक लुनार गेटवे स्पेस स्टेशन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । यसरी चन्द्रमा र वरपरका क्षेत्रमा अखडा बनाउँदा द्वन्द्वको स्थिति निम्तिन सक्ने खतरा छ । उता रुसले अन्य मुलुकका भूउपग्रहहरूलाई तिरिमिरझ्याइँ बनाउने लेजर बीम बनाउन खोजेको छ जसलाई उसले कालिना नाम दिएको छ ।

पुस्तकमा मार्शलले अन्तरिक्ष अन्वेषणमा अमेरिका र चीनको प्रयासको सराहना गर्दै त्यो सफल हुने बताएका छन् । तर रुसको प्रयासलाई अवमूल्यन गर्दै रुस अन्ततोगत्वा चीनको कनिष्ठ साझेदार मात्र रही सहयोगी भूमिकामा हुने मार्शलको भनाइ छ । युक्रेन युद्धका कारण रुसप्रति पश्चिमको नकारात्मक धारणालाई मार्शलले अन्तरिक्ष राजनीतिमा समेत आरोपण गरेको देखिन्छ ।

अमेरिका, चीन र रुसबाहेक अन्य मुलुक पनि अन्तरिक्ष अन्वेषणमा रुचि देखाइरहेको मार्शल लेख्छन् । फ्रान्स, जर्मनी, जापान, अस्ट्रेलिया, भारत, बेलायत, इजरायल, इरान र यूएईले पनि विभिन्न परियोजनाहरू अघि सारेका छन् । यी परियोजनाहरू मानवताको कल्याणका लागि भन्दा पनि अन्तरिक्षमा रहेका स्रोतसाधनको दोहनमा केन्द्रित रहेको भनी मार्शलले चिन्ता व्यक्त गरेका छन् ।

मानिसले नयाँ ठाउँको अन्वेषण गरेपिच्छे युद्ध हुने गरेको इतिहास (साम्राज्यवाद र उपनिवेशवादको चर्को प्रतिस्पर्धाका कारण भएका दुई विश्वयुद्ध) को सम्झना गर्र्दै मार्शलले अन्तरिक्षमा त्यही नियति दोहोरिन नहुने धारणा राखेका छन् । अन्तरिक्षलाई सामरिकीकरण गरेर युद्धभूमिमा परिणत गराउँदा त्यसको परिणाम नकारात्मक हुने चेतावनी उनले दिएका छन् ।

त्यसैले पुस्तकको अन्तिमतिर मार्शलले अन्तरिक्षको शान्तिपूर्ण दोहन सम्भव बनाउने सहमति तथा कानूनहरू शक्तिराष्ट्रहरूले बनाउनुपर्ने सुझाव दिएका छन् । त्यसका लागि विशेषगरी अमेरिका, चीन र रुसबीच सहमति बन्नुपर्ने उनको धारणा छ । तर पृथ्वीमा कठोर भूराजनीतिक प्रतिस्पर्धा गरी शीतयुद्ध सदृश तिक्तता राख्ने यी राष्ट्रहरूबीच अन्तरिक्ष राजनीतिमा सहमति बन्ने सम्भावना कत्तिको बन्ला भनी प्रश्न गनुपर्ने स्थिति छ ।