सन् २०१७ को नोबेल पुरस्कार विजयी साहित्यकार काजुओ इशिगुरोको जन्म ८ नोभेम्बर १९५४ मा जापानको नागासाकीमा भएको थियो । अहिले उनी ६६ वर्षको भए । अहिलेसम्म उनले नोबेल पुरस्कारको अतिरिक्त बूकर प्रइज, अर्डर अफ द राइजिङ सन, अर्डर दे आर्टस् ए दे लेटर्स र कोस्टा बूक अफ द इयर जस्ता पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले साहित्य सेवाको लागि सन १९१९ को ७ फेब्रुअरीमा नाइटहूड भन्ने सम्मान प्राप्त गरे ।

मूलतः उनी आख्यानकार हुन्, तर उनले नाटक र फिल्मका पटकथा पनि लेखेका छन् । एतिहासिक उपन्यासमा उनको ठुलो योगदान छ । उनका पिता शिजुओ इशिगुरो ओसिनोग्राफर (Oceanographer) थिए । उनलाई नेशनल इन्स्टिच्युट अफ ओसिनोग्राफीमा अनुसन्धान कार्यको लागि निमन्त्रणा आएपछि पाँचै वर्षको उमेरमा काजुओ इशिगुरो आफ्नो परिवारसँग जापानबाट बेलायतको गिल्डफोर्ड, सर्रे भन्ने ठाउँमा बसाइँ सरे ।

जापानी मूलका इशिगुरोले बेलायतमा शिक्षा प्राप्त गरे । परिवारको भाषा, संस्कार र रहनसहन जापानी थियो भने उनक शिक्षा र कामकाज बेलायती थियो । बेलायतमा शरणार्थीको रूपमा जीवन यापन गरे पनि उनी जापानको परिकल्पना गर्न छाड्दैनथे । यस्तै परिकल्पनाका आधारमा जापानि संरचनामा उनले दुई उपन्यास पनि लेखे ।

सर्रेमा उनले स्टाउटन प्राइमरी स्कुल र वर्किङ काउन्टी ग्रामर स्कुल अध्ययन गरे । स्कुलको परिक्षा सकिएपछि एक वर्षको विदामा उनले संयुक्त राज्य अमेरिका र क्यानाडाको भ्रमण गरे । सन् १९७४ मा उनले क्यान्टरबेरीको युनिभर्सिटी अफ केन्टमा उच्च शिक्षाको अध्ययन सुरु गरे र १९७८ मा अङ्ग्रेजी साहित्य र दर्शनशास्त्रमा स्नातक गरे । त्यसपछिको एक वर्ष उपन्यास लेख्न खर्च गरेपछि उनले इस्ट एङ्लिया युनिभर्सिटस्मा अध्ययन सुरु गरे । सन् १९८२ मा उनले क्रियटिभ राइटिङमा एम.ए.को डिग्री हासिल गरे । उनको थेसिस नै १९८२ मा प्रकाशित पहिलो उपन्यास पहाडहरूको पहेँलो दृश्य (A Pale View of Hills) बन्यो । सन् १९८३ मा उनले ब्रिटिश नागरिकता लिए ।

बेलायत बसेको ३० वर्षपछि मात्र अर्थात सन् १९८९ मा जापान फाउण्डेसन सर्ट टर्म भिजिटर्स प्रोग्राममा भाग लिन उनी जापान फर्केका थिए ।

इशिगुरो एक जापानी मूलका साहित्यकार हुन्, तर न यिनलाई जापानी भाषा, चालचलन, रीतिरिवाज बारे राम्रो ज्ञान थियो, न त अङ्ग्रेजी समाजसँग नै यी राम्रोसँग परिचित थिए । घरमा बा, आमा जापानी बोल्थे,मूल्य र मान्यता सबै जापानी थियो, तर बाहिर निस्कने बित्तिकै अङ्ग्रेजी रहनसहनमा हिड्नु पर्थ्यो । नोबेल पुरस्कार प्राप्त गरेपछिको एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘म बेलायतमा हुर्केको र पढेको भएता पनि आफ्नो बाबु आमाले जापानी बोलेर जापानी संस्कारमा हुर्काएको हुँदा मेरो विश्वलाई हेर्ने दृष्टिकोण र कला सम्बन्धी सोच धेरै हदसम्म जापानी नै छ र मैले विश्वलाई सधैँ आफ्ना बा, आमाका नजरले हेर्ने गरेको छु ।’

उनलाई जापानी लेखन र उपन्यासहरू बारे पनि त्यति जानकारी थिएन, तर उनले अनुमानका आधारमा जापानी पृष्ठभूमिमा दुईवटा  उपन्यास लेखे ।

इशिगुरोका उपन्यासहरू परिष्कृत र परम्परागत देखि असरल्ल र असम्बद्ध समेत छन् । नयाँ पाठकलाई उनको कुन उपन्यासबाट पढ्न सुरु गर्ने भन्ने निर्णय लिन कठिन हुन्छ । उनका केही प्रमुख उपन्यास यस प्रकार छन् :-

१. मलाई कहिल्यै बिदा नदेउ (Never Let Me Go, 2012) : इशिगुरोका नयाँ पाठकले यस उपन्यासबाट पढ्न सुरु गर्नुपर्छ पनि भनिन्छ तर यो वैज्ञानिक उपन्यास हो । यसमा उपन्यासकी मुख्य पात्र क्याथे नाउँकी एउटी सचेत तर सामान्य किशोरीको आफूलाई निराश पार्ने घटनाको जीवन वर्णन छ ।

२. अधैर्य (The Unconsoled, 1995) : यस उपन्यासलाई कसैले इशिगुरोको सर्वश्रेष्ठ उपन्यास मान्दछन् भने कसैले छिचोल्नै नसकिने भताभुङ्ग जहाज पनि भनेका छन् । यस उपन्यासमा सामान्य व्याख्यात्मक संरचना छैन, स्वप्निल तर्कका आधारमा असम्बद्ध रूपमा लेखिएको छ ।

३. आजको अवशेष (The Remains of the Day, 1993): यो उनको अर्को प्रसिद्ध उपन्यास हो । यस उपन्यासको कथा दोस्रो विश्वयुद्ध ताका एउटा जमिन्दारको घरमा प्रमुख नोकर(बट्लर)को रूपमा काम गर्ने चरित्र स्टेभेन्जको ओरिपरि केन्द्रित छ । उसले त्यही घरमा काम गर्ने क्याथीलाई मन पराउँछ तर क्याथीको रोमान्टिक भावनासँग सामञ्जस्य राख्न सक्दैन । क्याथीको रोमान्सले रमाउनुभन्दा विश्वको सन्त्रस्त स्थितिले उसलाई विकृत पारेको अवस्थाले हाम्रो छात्ती चस्कन्छ ।

४. तैरिएको विश्वको एउटा कलाकार (An Artist of the Floating World, 1986): सन् १९४५ मा जापानले आत्मसमर्पण गरेपछि पुनःसंरचनाको अवधिमा कुनै बेनामी जापानी शहरको पृष्ठभूमिमा यो उपन्यास आधारित छ । दोस्रो विश्वयुद्धमा उपन्यासको नायक कसरी बलजफ्ती सहमतिमा आउनु पर्यो भन्ने कुरा छ । जापानको गलत विदेश नीतिबाट निर्देशित भएको भनि आफूलाई नयाँ पुस्ताले दोषारोपण गरेको र आधुनिक समयको आदर्शसँग जुध्न बाध्य पारिएको कुरा उसका नातिबाट भनाइएको कथा छ ।

५. गाडिएको राक्षस (The Buried Gaint, 2015): उनको पछिल्लो उपन्यास गाडिको राक्षस चाहि स्वैरकल्पनामा आधारित कृति हो । यो उपन्यास पढ्दा साहित्यिक उपन्यास नभै यो एउटा रूपक कथा हो कि जस्तो लाग्छ । यो मध्यकालीन अङ्ग्रेजी दन्त्यकथामा आधारित राक्षस र श्रापको दुखान्त कथा हो । यस उपन्यासले मानव जातिलाई नै घृणा गर्ने र मानविय प्रवृत्तिमा पाइने निकृष्ट चिसोपनको चित्रण गरेको पाइन्छ ।

६. जब हामी टुहुरा थियौँ (When We were Orphans, 2000): यसलाई इशिगुराका फ्यानले गुप्त हिरा अथवा उनको सबैभन्दा राम्रो उपन्यास भन्ने गरेका छन् । यो जासुसी उपन्यासझैँ प्रारम्भ हुन्छ, पारिवारिक कथामा विश्वास हुन्छ र त्यसपछि अनायसै युद्ध कथामा परिवर्तन भएको संकेत दिन्छ । उपन्यासको कथा असम्बद्ध छ, कथाको वर्णन गराइबाट पात्रको विश्व बुझ्ने क्षमता नै छैन जस्तो लाग्दछ । यसलाई अनेकौं अँध्यारा पक्षले जकडेको अव्यवस्थित र पढ्नै कठिन हुने उपन्यास भन्ने गरिन्छ ।

इशागुरोका उपन्यास समस्याको कुनै समाधान बिना अनायसै समाप्त हुन्छन् । उनका पात्रले विगतमा सामना गरेका समस्या त्यतिकै हराएर जान्छन् । उनका चरित्रले विगतलाई स्विकार गर्छन्, मानविय मूल्यको अवसान भएको कुरा सहज रूपमा लिन्छन्, तर तिनमा मानसिक असन्तुष्टि भने रहिरहन्छ । सन् २०१७ को नोबेल पुरस्कार प्राप्त गरेपछि इशिगुरोले भनेका छन्, महान भावनात्मक शक्ति भएको उपन्यासका लागि दिइएको यस पुरस्कारले विश्वसँगको हाम्रो भ्रमपूर्ण सम्पर्क भित्रको गहिरो खाडलको घुम्टो खोलेको छ । यस सम्मानले म महान लेखकको पदचिह्न पछ्याउँदै छु भन्ने कुरा दर्शाउँछ । विश्व अनिश्चित अवस्थामा छ र नोबेल पुरस्कार विश्वको निम्ति केही सकारात्मक शक्ति बनोस् भन्ने आशा छ ।