कामुकता र लालचका लागि मात्र गाली गलौज खानु उपयुक्त हुन्छ, रक्सीका लागि हुन्न ।
जोन स्टेनबेक
सन् १९०२ मा जन्मिएका जोन स्टेनब्याक उपन्यासकारका रूपमा प्रख्यात भए तर उनी छोटा कथाहरू पनि लेख्थे, फिल्मका पटकथा पनि लेख्थे । उनको चौथो उपन्यास टोर्टिला फ्ल्याटले मात्र चर्चामा ल्याएको थियो । उनले लेखेको मुसा मानुष उपन्यासले भने एकै झमटमा उनलाई प्रख्यात लेखकको श्रेणीमा उभ्याइदियो । उनको अर्को उपन्यास द ग्रेप्स अफ रयाथले पुलित्जर पुरस्कार हात पारेको थियो भने नेसनल अवार्डसमेत जितेको थियो । सन् १९६२ मा उनलाई नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो । उनको निधन १९६८ मा हुन पुग्यो ।
विख्यात फिल्ममेकर अल्फ्रेड हिच्ककको ‘लाइफबोट’ भन्ने फिल्मका लागि स्क्रिप्ट लेखेपछि र अस्कर अवार्डका लागि नामाङ्कित भएपछि साहित्यकार जोन स्टेनबेकको ख्याति निकै चुलियो । उनले धमाधम काम पाउन थाले । उनको हिमचिम चार्ली च्याप्लिन, बर्गेस मेरिडिथ, स्पेन्सर ट्रासीजस्ता विख्यात कलाकारसँग हुन थाल्यो । उनलाई अर्का पटकथाकार रोबर्ट वेनच्लीले त औधि रूचाउँथे । कारण चाहिँ, जब उनले एक बोतल रक्सी सफाचट पार्थे, त्यसपछि उनका मुखबाट यस्ता यस्ता उद्गार निस्कन्थे कि कापी-कलम अगाडि राखेर टिपूँ कि नटिपूँ हुन्थ्यो । ती अनुभव, कुरा व्यक्त गर्ने शैली उनका लागि काम लाग्ला भन्ने बेनच्लीले सोच्थे ।
एक पटक रक्सी खाँदै गर्दा उनीहरूले एउटा खेल खेल्न सिर्जना गरे । कसले कति पिउन सक्ने भन्ने त्यो खेल त्यो रात निकै लामो समयसम्म चल्यो । उनीहरूसँग प्रतिस्पर्धा गर्नेहरू आए गए तर उनीहरू टसको मस भएनन् ।
यसपछि नै हो, उनले आफूले कति पिएँ भन्ने थाहा पाउन कति जना यो पिउने गेमबाट आउट भए भनी गणना गरिन्थ्यो ।
पछिसम्म उनको यो गेम मनपसन्द खेलका रूपमा रहिरह्यो ।
०००
लागू औषध, रक्सी, हिंसा वा पागलपनका बारेमा कसैसँग पनि पैरवी गर्नु मलाई त घृणा नै लाग्ने कुरा हो तर पनि खै किन हो, जब म यसका पक्षमा बोल्न थाल्छु, सधैँ अगाडि उभिएकाले वाह वाह गरिरहेकै पाउँछु ।
हन्टर एस. थम्सन
शुरूमा पत्रकार र पछि उपन्यासकारका रूपमा परिचय बनाएका हन्टर एस. थम्सनलाई उनको लेखनशैलीका कारण रूचाइएको थियो । उनले लेखेका कतिपय रिपोर्टिङमा लेखक र विषयबीचको लाइन नै गायब भएको हुन्थ्यो । उनको सो शैलीलाई ‘गोन्जो जर्नालिज्म’ पनि भनियो । उनको उपन्यास फियर एन्ड लोथिङ इन् लस भेगासलाई सबैभन्दा उम्दा सिर्जना मानिन्छ । धेरैले यसलाई कल्ट क्लासिकको दर्जामा राख्ने गरेका छन् ।
यिनै लेखकका एक जना साथी थिए, राल्फ स्टिडम्यान । राल्फ पत्रिकाका इलुस्ट्रेटर तथा व्यंग्यचित्र बनाउँथे । उनीहरूबीच रोलिङ स्टोन नामक पत्रिकामा काम गर्दै जाँदा दोस्ती बढेको थियो । उनै राल्फ भन्थे, ‘कसैले पनि थम्सनसँग पिउने कुरामा बाजी नठोक्नू, अवश्य हार्नेछौ ।’
उनको खानाको मेनु यस्तो हुन्थ्यो, ‘चार वटा ब्लडी मेरी, दुई वटा अंगुरका दाना, एक भाँडो कफी, रंगून क्रिप, आधा पाउन्ड ससेस, राम्रोसँग काटिएका गोरूको मासु, स्पेनी अमलेट, एक चौथाई दुध, काटिएका खोर्सानी र कागतीका केही टुक्रा, लाइम पाईको एक स्लाइस, दुई मार्गरिटा र कोकिनका ६ लाइन ।’
यो सुनेपछि रेस्टुराँ या होटलको अर्डर लिने केटो लगभग बेहोस नै हुन्थ्यो ।
०००
एउटा जँड्याहा किन जँड्याहा बन्यो भन्ने कुरा अर्को जँड्याहालाई मात्र थाहा हुन्छ । उसले पिउनुका अनेक कारणहरू अगाडिकै जँड्याहालाई दिइरहेको हुन्छ ।
जिम थोम्सन
१९०६ मा जन्मिएका जिम थोम्सन पल्प उपन्यासकारका रूपमा चिनिन्छन् । उनले केही कथाहरू र फिल्मका लागि पनि लेखेका छन् । द किलर इन्साइड मि उनको महत्वपूर्ण उपन्यास हो । उनले फिल्म निर्देशक स्टान्ली कुब्रिकसँग मिलेर द किलिङ र पाथ्स् अफ ग्लोरीजस्ता महत्त्वपूर्ण फिल्म लेखेका थिए । उनको निधन १९७७ मा भएको थियो ।
जिम थोम्सनले सधैँ मज्जाले पिउने लेखकका रूपमा आफ्नो परिचयलाई कहिल्यै हराउन दिएनन् । उनी अमेरिकाको नेब्रास्का राज्यमा जन्मिएका थिए र नेब्रास्कामा उनका हजुरबुवाले बिहान बिहान स्कुल जाँदा नाति चिसोले कक्रक्क नहोस् भनेर जबरजस्ती रक्सी पियाएर स्कुल पठाउँथे ।
पछि उनी टेक्ससमा रहँदा घरेलु रक्सी पिउँथे र त्यो यति कडा हुन्थ्यो कि उस्तैलाई त्यो खाएपछि आँखै हेर्न मुस्किल पर्थ्यो । अदुवाको रक्सी उनलाई साह्रै मन पर्नेमध्येको थियो । अदुवाको रक्सी चाहिँ पछिसम्म पनि औषधिका रूपमा बेचविखन हुन्थ्यो ।
उनको रक्सीप्रेमबाट उनकी पत्नी साह्रै दुःखी थिइन् । उनी बिरामी पर्दा पनि औषधिको साटो रक्सी मागिरहेका हुन्थे । उनकी पत्नी उनीसँग ज्यादै रिसाउँदा उनी भन्थे, ‘नरिसा न ! म मरेको १० वर्षपछि यति प्रख्यात हुन्छु कि तँ नै मख्ख पर्छेस् ।’
उनी प्रख्यात हुन उनको मृत्युको १० वर्ष कुर्नु परेन । उनको मृत्युलगत्तै उनका सिर्जनाहरू खोजी खोजी पढ्न थालियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।