उदास देखियो अपरिचित अनुहार । उनका गोडाहरू हतारमा चल्दै थिए । सायद, कुनै गन्तव्य लिएर । एकाएक उनी मसँग आएर ठोक्किन पुगिन् । झसङ्ग भएँ । आफैँलाई सिरकभित्र पाएँ ।
आँखामा झलझली नाच्यो अघिको सपनाको तस्बिर। सिरक छोडेर दायाँ हात बाहिर निस्कियो । छेवैमा रहेको साइड टेबलको मोबाइल उठायो र फर्कियो सिरकभित्र। मोबाइलको स्क्रिनमा औँला नाच्न थाले। स्क्रिनको लक खोल्नु र नेट जोडिनु सँगसँगै भयो । समयले बिहानको ३:१५ बजाएको रहेछ ।
मेसेन्जरभित्र मध्यरातमा उतैबाट भ्वाइस मेसेज आएर थन्किएको रहेछ – “हेर न भोलि चार बजे म उठ्न नसक्ने भएँ ल । हाम्रो एकजना सरको लडेर खुट्टा भाँचिएछ । हस्पिटल जाँदै छु । हामी भोलि दिउँसोतिर भेटौँ या अर्को शुक्रवारतिर ल । किनकि भोलि एनआरएनको चुनावमा सहयोग गर्नुपर्छ । यदि म उठेँ भने मेसेज गर्छु है ।”
तीनै बजे कहिले नउठ्ने मेरो अल्छीपना भित्रभित्रै मुर्मुरिंदै थियो । करिब तीन मिनेटपछि ट्वाङ्ङ… आवाज आयो । मेसेन्जरतिर नजर दौडाएँ । अनुमान थियो मेसेज उनैको हुनुपर्छ।
“नमस्कार सर । शुभ प्रभात !”
मेसेज आश्विनी कोइराला सरको रहेछ । उहाँसँग केही बेर लेखेरै कुराकानी भयो । एक छिनमा फेरि सुत्ने तरखर गरेँ । निद्रादेवी ओझेल परिसकेको जानकारी दिए दुवै नेत्रले । के गरौँ भन्ने प्रश्न मनले निर्माण नगर्दै दुईजना साथीहरू टुप्लुक्क देखिनु भयो । एक मित्र पुछार घरे अनि अर्का मित्र खेमराज सुवेदी ।
एक जनालाई मेसेज गरेँ र कल पनि । कुनै प्रतिक्रिया आएन । फेरि, अर्को साथीलाई कल गरेँ । उताबाट बिजी भन्ने देखाएको सेकेन्ड भरमै ल्याण्डलाइनबाट कल आयो । कुराकानीमा उहाँले पनि मियापार्क जानेमा सहमति जनाउनु भयो । लगत्तै अर्को साथीको कल पनि प्राप्त गरियो । एउटा कुनै पुस्तक बोकेर जानुपर्छ मनले उर्दी जारी गर्यो । हातमा विवेक ओझाको ऐलानी पुस्तक बोकेर निस्किएँ ।
आफ्नो परदेशको बसाइ पनि ऐलानी भएको महसुस गरेँ । म गाडीमा बस्दै गर्दा सिताराम सर दिमागमा बस्नु भयो । उहाँले हिजो फेसबुकमा पोस्ट गर्नु भएको कसले किन्दियो ? कथा सम्झिएँ। मोबाइलमा फेरि डाटा अन गरेर लिङ्क खोलेँ । कथा पढ्न थालेँ । गाडीमा ब्रेक लाग्दा पो झसङ्ग भएँ । हमाद अन्तर्राष्ट्रिय विमानस्थलतिर छुटिने बाटोमा पुगिएछ । दायाँ बायाँ हल्का गुलाबी रङका विद्युतीय खम्बाहरू चम्किरहेका थिए । मनमनै तारिफ गरेँ – कति राम्रो कथा लेख्नु भएछ ? एकै छिन हराउन पुगेछु ।
९७४ स्टेडियम लेखेको ट्राफिक बोर्ड काट्न लाग्दा यु टर्न लिनुपर्ने भयो । काम उस्तै पर्यो । आवश्यक काम सकेर फेरि कोर्निस रोड हुँदै मिया पार्क पुग्यौँ । उज्यालो भुँइ बस्ने तरखर गर्दै थियो । रुखमा चराहरू कोलाहल गर्दै थिए । केही पर एक दर्जन जति शरीरहरू योगामा तल्लीन देखिए । एकजना परिचित मित्र हुनुहुन्छ भन्ने थाहा भए पनि उहाँहरूको ध्यान भङ्ग गर्न चाहेनौँ ।
उज्यालोले आफ्नो साम्राज्य जमाएपछि पुछार घरे सरका डिउटी ड्रेस झोलामा भित्र पसे । चराहरू भने हरियो रुखबाट चौरतिर निस्किए । पार्कमा काम गर्ने कामदारहरू चलमलाउन थाले । हामी भने सरासर वारिपारिको दृश्य कति आँखामा कति क्यामेरामा कैद गर्दै अगाडि बढ्यौँ । एका बिहानै कति जोडीहरू गफिँदै थिए भने कति दौडिँदै पनि । हामी पनि आफ्ना मनभित्र बसेका मान्छेहरूलाई चियाउँदै गाफियौं ।
पल्लो कुनामा पुग्दा सूर्य पनि देखियो । कति हतार भएको होला सूर्यलाई पनि ? गर्मीको मौसम उसैमा आर्द्रता निकै उच्च भएको कारण हामी निथ्रुक्क भिजी सकेका थियौँ। आकाश धुम्म थियो। जोडी चराहरूले यत्रतत्र यात्रा उडान भर्दै थिए। एक छिन ढुङ्गामा बसेर समुद्रभित्र नजर दौडिए। विभिन्न प्रजातिका माछाहरू आफ्नै सुरमा पौडी खेल्दै थिए। फेरि बाटोमा उक्लियौँ।
नजिकैको निकै आकर्षक कफीसप हेर्दै बोल्नुभयो पुछार घरे – “मेरी ‘नू’लाई यस्तै ठाउँमा बसेर कफी पिउन अति मन पर्छ । मलाई पनि यस्तै कफी सपमा बसेर क्यामेरा जडान गर्ने मन छ भन्दै गम्भीर देखिए । मैले पनि उनीलाई सम्झिएँ । एक दुई वटा फोटो मेसेन्जरमा पठाई दिएँ। फोटोमा लभ रियाक्ट तत्काल आयो । ओठमा मुस्कान । क्या गजब ! उनी आफैँसँग रहेको अनुभूति । पुछार घरे उनकै ‘नू’सँग म उनीसँग, एकछिन त हामी आआफ्नै दुनियाँमा थियौँ ।
पल्लोपट्टि वेस्ट वेमा लहरै उभिएका गगनचुम्बी महलहरूलाई निसानामा पार्दै फेरि केही थान तस्बिरहरू कैद गर्यौँ ।
नजिकै चौरमा केही थान काला बिरालाहरू सिकारी झैँ चनाखो भएर ढुकेका थिए । सायद, चराहरूको सिकार गर्न चाहन्थे । आजको दिन यिनीहरू यसरी सुरु गर्दै थिए। हामी अगाडी बढ्यौँ । एक फन्को मारिएछ पहिले कै ठाउँमा आयौँ । समुद्रमाथि छायामा देखिने टावरहरू, हरियो चौरमा उभिएका बाक्लै रुखहरू, चौर कब्जा गरेका परेवा, ढुकुर लगायत अन्य चराहरूको कोलाहल यस्तै यस्तै दृश्यहरूले हाम्रो मनलाई नियन्त्रण गरिरहे ।
अघि योगा गरिरहेको समूहतिर हामी लम्कियौँ । त्यहाँ पुग्दा त सबै परिचित अनुहारहरू, दोहामा पवित्र कर्म वा परोपकार गरेर नथाक्ने आत्मा बोकेका शरीरसँगको साक्षात्कार ओहो ! क्या गजब ! चिया कफी र पानीले स्वागत गर्नु भयो । एक छिन रमाइलो गफगाफ भयो । सबै छुट्टिनु पर्ने समय आयो छुट्टियौँ पनि ।
आफ्नो गन्तव्यको निश्चित गरेका थिएनौँ तर पनि कल्याण थापा सरले आफ्नो गाडीमा बस्न आग्रह गर्नु भयो । उहाँको नाम जस्तै कल्याणकारी कर्मको बयान गर्न सकिँदैन । गाडीमा पुस्तकालय राख्नु भएको छ । कतारको कुनै पनि ठाउँमा पुस्तक पुर्याइदिनु हुन्छ । हामीले दुई वटा पुस्तक शून्यको मूल्य र खबुज किन्यौँ । विभिन्न ठाउँमा पुस्तक पुर्याएर हिँड्ने उहाँले यो पटक उहाँले हामीलाई आफ्नै निवासमा पुर्याउनु भयो । उहाँको कोठाभित्र बसेर तीनै जनाले आफ्नो मनको विचार, भावना र अनुभूतिहरूलाई बिस्कुन झैँ फिँजायौँ । एक अर्कालाई धेरै जान्ने र बुझ्ने अवसर मिल्यो ।
विभिन्न कोणबाट सत्ययुगको बाटो भएर कलियुग सम्मको यात्रा गर्यौं। शरीर यहीँ थियो । मनको सहारामा नेपालका हरेक पवित्र स्थलहरूको यात्रा गर्यौं। पुस्तक लेखनका बारेमा विचार विमर्श भए।
कस्तो विचित्रको संयोग । त्रिकोणात्मक विचारले निर्माण गरिदिएको परिदृश्यले स्वार्गानुभूती दिलायो । त्यसै कहाँ भनिएको होला र ब्रह्मा, विष्णु, महेश्वरको देनले संसार चलेको छ । उसै गरी पदार्थको अस्तित्व चलेको छ एलेक्ट्रोन, प्रोटोन र न्युट्रोनले।
अन्ततः आफ्नै देशमा मात्र खान पाइने मिठो परिकार बनाएर खुवाउनु भयो । यो भेटघाट अत्यन्त महत्त्वपूर्ण भएको महसुस गर्दै छुट्टियौँ ।
सदा यस्तै समय जुरिरहोस् भन्ने कामना गर्दा मनमा खुसीले बुर्कुसी मारिरहेको छ ।
दोहा, कतार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।