नेपाली दर्शकहरूले प्रख्यात वैज्ञानिक जे. रोबर्ट ओपेनहेमरको जीवनीमाथि फिल्म निर्देशक क्रिस्टोफर नोलनले बनाएको फिल्म ‘ओपेनहेमर’को स्वाद लिइरहेका छन् ।

फिल्मको मूल कथानकमा भन्दा भारत र नेपालमा ओपेनहेमरले गीता पढ्थे भन्ने सन्दर्भलाई बढी बढाइचढाइ पेश गरिएको थियो तर त्यही दृश्य सिनेमाको पर्दाबाट गायब हुन पुगेको छ । यौन गतिविधिमा लिप्त रहेलगत्तै ती वैज्ञानिकले गीता उठाएर पढ्न थालेको दृश्य धेरैका लागि आपत्तिजनक लागेकाले नेपालको सेन्सरबोर्डले त्यो दृश्य हटाएर मात्र प्रदर्शन गर्न स्वीकृति दिएको छ ।

यौन गतिविधिका दृश्य आएका बेला पर्दा कालो हुन्छ, के भयो, के बिग्रियो भनेर दर्शक अलमलमा पर्छन् ।

संसारभर ‘ओपेनहेमर’ फिल्मको धूम मच्चिरहेको छ । नेपालमा पनि यसले राम्रै दर्शक बटुलिरहेको छ । नेपालमा निर्देशक क्रिस्टोफर नोलनका राम्रै प्रशंसकहरू छन् भन्ने कुरा यसको भिडबाट प्रस्टिन्छ ।

केहीले उनका अघिल्ला फिल्महरूभन्दा यसलाई मध्यमस्तरको मानेका छन् तर पनि धेरैले उनको प्रयासलाई सराहना गरेका छन् । खासगरी अणु बम बनाइसकेपछि ओपेनहेमरको द्वैधतालाई फिल्मले मज्जाले अभिव्यक्त गरेको छ ।

बम बनाइसकेपछि उनले आफैँसँग जुझेको मानसिक तनावलाई एउटा संवादले प्रस्ट पार्छ । उनी भन्छन्, ‘म मृत्यु बनेँ, संसारको संहारक !’

फिल्मको शुरूवाती क्षणमै ओपेनहेमरको दुविधा देखिन्छ । मानसिक रूपमा उनी रूग्ण देखिन्छन् । र, उनको यो द्वैधता बम बनाएपछि वा त्यसलाई हिरोसिमा र नागासाकीमा खसालेपछि मात्र देखिएको हैन, उनी कलेज पढ्दाताका एक जना प्राध्यापकलाई कति धेरै घृणा गर्थे र उनलाई मार्नका लागे ओपेनहेमरले साइनाइड हालिएको स्याउ दिन चाहन्थे । तर जब उनलाई आफ्नो गल्ती महसुस भयो, दौडँदै आएर त्यो स्याउ फ्याँकिदिन्छन् ।

शुरूवाती यही एउटा दृश्यले ओपेनहेमरमा रहेको द्वैधता र त्यसलाई ठिक पार्न गर्न सक्ने प्रयासका लागि सधैँ प्रयत्नरत व्यक्तिका रूपमा देखाउन खोजेको छ ।

यो फिल्म अणु बम कसरी बनाइयो भन्नेबारेमा होइन, यो त मान्छेमा भएका महत्त्वाकांक्षा, नैतिक दुविधाजस्ता कुरालाई महत्त्वका साथ पस्किनु हो ।

हामीले गर्ने कुनै कर्मले भविष्यमा ल्याउने ठूलो आँधीबेहरीलाई कुन नजरले हेर्ने, त्यसलाई कसरी सम्हाल्ने, हामीसँग त्यो बेला के कस्ता छनोट हुन सक्छन्, भन्नेबारेमा फिल्मले बोलेको छ ।

फिल्मको एउटा दृश्य छ, जहाँ अल्बर्ट आइन्स्टाइनलाई भेट्न ओपेनहेमर पुग्छन् । त्यहाँ उनीहरूबीच कुराकानी हुन्छ । त्यस कुराकानीबाट उनलाई भान हुन्छ कि छेउको तलाउमा पानीका साना साना थोपाले त यत्ति ठूलो वृत्त बनाउँछ भने हामीले गर्ने साना साना कर्मले कति ठूलो प्रभावजन्य वृत्त बनाउँदो होला ?

ओपेनहेमर र आइन्स्टाइनबीचको संवादमा एउटा कुरा प्रस्टिन्छ कि यो संसारमा केही गलत भयो भने त्यसको सारा दोष ओपेनहेमरमाथि नै लाग्नेछ । यो संसारको सोच्ने दोषपूर्ण कोण हो । र, यो स्वाभाविक पनि हो ।

यो फिल्मलाई अहिले स्कुल कलेजका विद्यार्थीलाई तिनका शिक्षकहरूले सिफारिस गरिरहेका छन् । जसका कारण केही साता सिनेमा हलहरूमा यो फिल्म हेर्न किशोर किशोरीहरूको भिड लाग्नु स्वाभाविक बन्न जान्छ ।