समाज द्रूत गतिमा परिवर्तनतर्फ अग्रसर भइरहेको छ । सदियौँदेखि विधिको शासनबाट चलिरहेको समाज अहिले प्रविधिको शासनमा रूपान्तरण भएको छ । प्रविधिको चङ्गुलमा फसिसकेको छ दुनिया, मानिससँग जोडिएका हरेक क्षेत्रहरू प्रविधिसँग पनि जोडिइसकेका छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, व्यापार, मनोरञ्जनलगायत हरेक क्षेत्रमा प्रविधि अपरिहार्य भइसकेको छ । एक्काइसौँ शताब्दीको यही परिवर्तनशील समाजका बृहत् आयाममाथि चर्चा र चिन्तन गर्ने बौद्धिक जमात पनि प्रविधिको विकाससँगै फरक ढङ्गले अघि बढ्न विवश भइरहेका छन् । प्रविधिले गर्दा उनीहरूको अमूल्य समय बचत भएको कुरा नकार्न सकिन्न तर त्यही प्रविधिमा आधारित भएर ठूलो फड्को मारेको मनोरञ्जन क्षेत्रका केही मञ्चहरूकै कारण बौद्धिक वर्गले समाजका विभिन्न आयाममाथि आफ्ना विचार, विमर्श, अनुसन्धान एवं रचनात्मक कार्यमा दिनुपर्ने महत्वपूर्ण समय बर्बाद गरिरहेको अनुभूति भइरहेको छ ।

हामीमध्ये धेरै अहिले सामाजिक सञ्जालका मञ्चहरू, जस्तै फेसबुक, ट्वीटर, टिकटक, युट्युब, इन्स्टाग्राम आदिमा आफ्ना अमूल्य समय व्यतित गरिरहेका छौँ । झिना-मसिना कुरामा अल्झिएर बसेका छौँ । समाजका अगुवाका रूपमा समाजको मेरूदण्ड बनेर बसेका राजनीतिज्ञदेखि प्रशासक, प्राध्यापक, शिक्षक, चिन्तकलगायत अन्य विभिन्न पेशा-व्यवसायमा आवद्ध सबै सामाजिक सञ्जालमा जोडिएका छौँ। ती मञ्चहरूमार्फत् आफ्ना विचारहरू, रचनाहरू, विभिन्न फोटोहरू तथा भिडियोहरू सेयर गरिरहेका हुन्छौँ । अरूले सेयर गरेका त्यस्ता सामाग्रीहरू पढिरहेका हुन्छौँ, हेरिरहेका हुन्छौँ र आफ्ना धारणा राखिरहेका हुन्छौँ । तर के यस्ता कार्यले हामीलाई केही मात्रामा खुसी र केही समय कटाउने मेलो दिनुबाहेक कुनै महत्वपूर्ण गन्तव्यमा पुर्याउन सघाइरहेका छन् त ? के प्रवुद्ध वर्गले समाजका निम्ति गर्न सक्ने योगदानमा अझै थप केही दिन सहयोग गरिरहेका छन् त ? हामीले यस विषयमा सोच्ने बेला भइसकेको छ भन्ने लाग्छ । ढिला गर्यौँ भने समाजको रूप नै बद्लिसकेको हुनेछ र मानवसभ्यतामाथि नै ठूलो प्रश्न चिह्न खडा भइसकेको हुनेछ ।

दीपक श्रेष्ठ

हामी जुन पेशा-व्यवसायमा लागे पनि हामीले आ-आफ्नो क्षेत्रका बारेमा विचार आदानप्रदान गर्नेदेखि छलफल र बहसको माध्यमबाट नवीन सोचको विकास गर्न हरदम तयार रहनुपर्दछ। यसका निम्ति सामान्य छलफलदेखि अनुसन्धानात्मक अध्ययनसम्म गर्नुपर्ने हुन्छ । त्यसका निम्ति हामी मानसिकरूपले तयार हुनुपर्दछ । शारीरिक रूपमा स्फुर्त रहनुपर्दछ । तर वर्तमान परिवेशको कुरा गर्ने हो भने हामी सबै व्यस्त छौँ । हाम्रो मस्तिष्क र शरीर दुवै प्रविधिको चङ्गुलमा परिसकेका छन् । सामाजिक सञ्जालमा भुलेरै मस्त भइसकेका छौँ। अझ भनौं अस्तव्यस्त भइसकेका छौँ। हामी एक्लाएक्लै भएर विभाजित भइसकेका छौँ। विचारमा मात्र होइन काममा समेत विभाजित छौँ। हामी न मिलेर केही ठोस कार्य गर्न सक्षम भएका छौँ न कुनै योजना बनाउन नै लागिपरेका छौँ। हामी त आफैँलाई मात्र केन्द्रमा राखेर अघि बढिरहेका छौँ। आफैँले सोचेको मात्र ठीक, आफैँले सम्पन्न गरेको कार्य मात्र राम्रो भन्दै आफ्नै डम्फु बजाउनमै मस्त छौँ । यो सबै सामाजिक सञ्जालकै कारण भइरहेको छ भन्ने नै मेरो निष्कर्ष हो।

मैले मेरा जीवनका उर्जाशील कैयौं वर्ष लेखपढमै बिताएको छु । शिक्षण पेशामा आवद्ध भएर करिब दुई दशक यही क्षेत्रका निम्ति लगानी गरेको छु । तर मैले यस क्षेत्रमा देखेका, भोगेका कैयौँ समस्याहरू समाजसामु कहिल्यै उजागर गर्न सकिनँ । सन् २००९ मा फेसबुक नेपालीहरूमाझ आएदेखि नै म पनि यसमा रमाउन थालेँ । आफ्ना चिनारू तथा नचिनेका सामान्य व्यक्ति एवं सेलिब्रेटीहरू खोजी खोजी फ्रेण्ड रिक्वेस्ट पठाएर ‘हाइ हेलो’ गर्दै सुरू भएको थियो सामाजिक सञ्जालको यात्रा । यो यात्रामा अन्य यस्तै सञ्जालहरू युट्युब, ट्वीटर, इन्स्टाग्राम, टिकटक सबैमा भुल्न थालेँ । समय कटेको पत्तै नहुनेगरी जीवनका करिब एक दशक समय बितेपछि भने अहिले आएर आफूले गुमाएका ती विगत सम्झेर पछुताउँदैछु।

सबै कामहरू जति सबै अरूले नै गरिदिने हुन् भन्ने मानसिकतामा बसिरहेका छौँ ?

लेखपढमा रुची भएको म जस्तो शिक्षण पेशामा लागेको व्यक्ति यसरी भुलभुलैयामा परेको छ भने अरूको त झन् के कुरा गर्नू र खै !

हामी त्यस्ता सामाजिक सञ्जालका दास हुनपुगेका छौँ भने ती प्रविधि विकास गर्नेहरूचाहिँ संसारका धनाढ्यमा गनिन थालेका छन् । तर हामी दास बनिरहेका छौँ । किन हामी उच्च शिक्षा आर्जन गरेकाहरू नै दास मानसिकता पालिरहेका छौँ ? किन सबै कामहरू जति सबै अरूले नै गरिदिने हुन् भन्ने मानसिकतामा बसिरहेका छौँ ?

मलाई विश्वास छ, हामी सबै मध्यम स्तरमा लेखपढ गर्न सक्षम छौँ। कैयौँ विषयमा छलफल चलाउन सक्षम छौँ। हामी अनुसन्धान गरेर त्यसबाट नयाँ निचोड निकाल्न सक्ने स्थानमा छौँ। तर हेर्नुहोस् त, सामाजिक सञ्जालको करामत ! हामी हल्काफुल्का कुरामा रूमलिइरहेका छौँ । यसको फाइदा उठाउँदै सत्तामा बस्नेहरूले अनेकौंपटक जनताको आँखामा छारो हाल्ने र झारा टार्ने काम गरिरहेको कुराबाट बेखबर भएका छौँ । खबर आए पनि त्यसलाई सही दिशातर्फ डोर्याउन हामीमध्ये कतिजना विचारशील र विवेकपूर्वक लागिपरेका छौँ ? प्रश्न हामीतिरै तेर्सिएको छ।

ठण्डा दिमागले सोच्नुपर्ने बेला आइसकेको छ, सञ्जालमा अल्झिएर हामीले महत्वपूर्ण समय खेर फालिरहेका त छैनौँ ? हामीले एकपटक पाउने यो जिन्दगीमा अनेकौँ कार्य गर्नुपर्ने कुरा शाश्वत सत्य हो । सञ्जालमा बाँधिएर त्यसमा नियमित तर थोरै समय दिएर अघि बढ्नु अबको कार्यदिशा हुनुपर्दछ । हामीले आफूले विज्ञता हाँसिल गरेको क्षेत्रका अनेकन् सत्यतथ्यहरू बाहिर ल्याउन सक्नुपर्दछ। शिक्षा, स्वास्थ्यमात्र होइन मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने धर्म, संस्कृति, इतिहास, परम्परादेखि हिजोआजका जल्दोबल्दो प्रविधिका विविध आयामहरूमाथि प्रकाश पार्नसमेत ढिला भइसकेको छ । यसका निम्ति आ-आफ्ना क्षेत्रमा आवद्ध भएका साथीहरू मिलेर घनिभूत रूपमा छलफल चलाएर तत्तत् क्षेत्रका कमीकमजोरी एवं फाइदाजनक तथ्यहरू उजागर गर्नुपर्छ । जुन समाजको ऐना हुनेछ । विभिन्न संचार माध्यमहरूमार्फत् त्यस्ता कुराहरू सार्वजनिक गर्नुपर्दछ । त्यसका निम्ति रेडियो, टेलिभिजन, इन्टरनेट तथा इन्टरनेटमा आधारित विभिन्न सामाजिक मञ्चहरू प्रयोग गर्न सक्छौँ।

जो व्यक्ति जे विषयमा सामान्य जानकार छन् वा विशेषज्ञतामा हाँसिल गरेका छन्, त्यो व्यक्तिले स्वयं वा अन्य व्यक्तिसँग मिलेर विषयगत लेख रचनाहरू तयार गर्न सक्छन् ।

आमजनतामा पुग्न सकिने सशक्त एवं सरल माध्यमहरूमध्ये लेखेर व्यक्त गरिने माध्यम सबैभन्दा उपयुक्त माध्यम हो भन्ने मेरो ठहर हो । यसको निम्ति कुनै पनि जटिल किसिमका प्राविधिक ज्ञानको आवश्यकता पर्दैन । जो व्यक्ति जे विषयमा सामान्य जानकार छन् वा विशेषज्ञतामा हाँसिल गरेका छन्, त्यो व्यक्तिले स्वयं वा अन्य व्यक्तिसँग मिलेर विषयगत लेख रचनाहरू तयार गर्न सक्छन् । लेख रचनाहरू साहित्यिक वा गैरसाहित्यिक जुनकुनै रूपमा लेख्न सकिन्छ ।

सामान्य छलफल गरेर निष्कर्षमा पुग्ने हो कि अनुसन्धानका अनेकन विधि अपनाएर निचोड निकाल्ने हो, त्यो लेखकमा भर पर्दछ । एकलरूपमा वा समूहमा रहेर लेखिएका लेखहरू विभिन्न दैनिक पत्रपत्रिकादेखि जर्नललगायत हालको समयमा अनलाइन जर्नल तथा पत्रपत्रिकामा समेत प्रकाशन गर्न सकिने भइसकेको छ । निजि खर्च वा प्रकाशकको सहयोगमा पुस्तक प्रकाशन गरेर पनि अघि बढ्न सकिने यो कार्यमा लागेमा समाजका निम्ति केही अतुलनीय कार्य गर्न सकिने देखिन्छ । यस्तो महत्वपूर्ण कार्य गर्दा आफूलाई  मिल्ने अपार सन्तुष्टि त छँदैछ, आफ्नो विज्ञता समाजको निम्ति अचुक सामाग्री हुनजाने कुरामा पनि गर्व गर्न सकिने समय आउनेछ ।

समयको भरपुर सदुपयोग गर्दै आफ्नो रूचीको विषय र क्षेत्रमा अध्ययन अनुसन्धान गरेर केही योगदान गर्न सकेको खण्डमा मानव सभ्यता र विकासमा एउटा ईंट्टा थपिन जाने कुरामा पक्का छ छैन । यसका निम्ति हामीले गर्नुपर्ने एकमात्र महत्वपूर्ण कार्य भनेको समयको सदुपयोग हो।

हामी हाम्रा भावी पुस्तालाई विस्तारै सही बाटोमा ल्याउनसमेत सफल हुनेछौँ।

आजका दिनसम्म आइपुग्दा हामीले समय बचत गर्न सक्ने एकमात्र उपाय भनेकै सामाजिक सञ्जालमा कम तर गुणस्तरीय समय दिएर व्यवस्थापन गर्नु हो । यसो गर्दा अनावश्यक सामाग्री हेर्न र सुन्नबाट टाढा रहन सक्छौँ । हामीले नहेरेपछि, नसुनेपछि,नपढेपछि र अनावश्यक रूपमा सेयर नगरेपछि त्यस्ता उट्पट्याङ्ग र अनुचित सामाग्रीहरूको प्रकाशन र प्रशारण स्वत बन्द हुनेछन् । हामी हाम्रा भावी पुस्तालाई विस्तारै सही बाटोमा ल्याउनसमेत सफल हुनेछौँ। लेखपढ जस्तो ज्ञान आर्जन गर्ने दिव्य कार्यमा मन लगाएर फेरि पनि  समाजलाई उर्वर र उर्जाशील बनाउन सक्षम हुनछौँ। आफ्नो अमूल्य जीवनका बाँकी दिनहरू अझ सचेत भएर लेखपढमा बिताउन सक्नेछौँ ।

ज्ञानको महासागरमा एक थोपामात्र अमृतसरी आफ्ना नवीन विचार थप्न अग्रसर हुने अवसरलाई खेर फाल्नु भनेको ठूलो भूल हो । सही समयमा पलाएको सही विचारले हामीलाई दिने भनेको त्यही सन्तुष्टि नै हो जुन हामी अवास्तविक सामाजिक सञ्जालमा खोजिरहेका छौँ ।