
विश्वविख्यात रसियाली साहित्यकार फ्योदोर मिखाइलोभिच दस्तोएभ्सकी नोभेम्बर ११, १८२१ मा मस्कोको एक उच्च वर्गीय चिकित्सकका घरमा जन्मेका थिए । बाल्यकालमै उनकी आमाको देहान्त भएपछि उनी आफ्ना बाबुको कठोर नियन्त्रणमा हुर्केका थिए ।
सन् १८३७ मा दस्तोएभ्सकी सन्त पेतेर्सबुर्ग (अचेलको लेनिनग्राद) को सैनिक इञ्जीनियरिङ विद्यालयमा अध्ययन गर्न गए । त्यसको दुई वर्षपछि उनका बाबु आफ्ना अर्द्धदासबाट निर्दयतापूर्वक मारिए । यस घटनाले उनी एक्ला भए र उनलाई मानसिक तनाब बढ्दै गयो । फलस्वरूप, जीवनभर उनी छारे रोगले ग्रस्त हुनुपर्यो । लेनिनग्रादमा इञ्जीनियरिङको योग्यता प्राप्त गरिसकेपछि उनी सरकारी सेवा गर्न लागे ।
सन् १९४६ मा प्रकाशित उनका दुई उपन्यास दरिद्र जनता र जुम्ल्याहाबाट उनको लेखन कार्य सुरु भयो । १८४९ मा साम्यवादी दलसँग सम्बन्ध भएको अपराधमा अरु साथीका साथ उनलाई पनि मृत्युदण्ड दिन भनी जार सरकार समक्ष ल्याइयो । अकस्मात जार सरकारबाट उनी मुक्त भएता पनि उनलाई चार वर्षसम्म साइबेरियामा निर्वासित गरियो । त्यसपछि उनलाई जबर्जस्ती सेनामा भर्ना गरियो र अर्को चार वर्षसम्म उनले सेनाको कठोर यातना भोगे ।
पेतेर्सबुर्गबाट फेरिपछि उनले भ्रेम्या (Vermya) नाउँको सामयिक पत्रिका निकाले । यो पत्रिका १८६३ मा प्रतिबन्धित भयो । उनका दुई प्रसिद्ध उपन्यास अपराध र सजाय (Crime and Punishment) र मूर्ख (The Idiot) क्रमशः १८६६ र १८६८ मा प्रकाशित भए । जताततै ऋण बढेर साहूले च्याप्च्याप्ती पारेपछि पश्चिम युरोपको यात्रा गर्ने निहु गरी दस्तोएभ्सकी घरबाट हिँडे । सन् १८७१ मा भेमणबाट फर्केपछि उनी पेतेर्सबर्ग नै बस्न थाले । सन् १८७२ मा उनको उपन्यास शैतान (Demons) प्रकाशित भयो । सन् १८७३ देखि १८८० सम्म उनले एउटा लेखकको डाएरि (An Author’s Diary) प्रकाशित गरे । रसियामा चम्कँदै गएको उनको ख्याति उनको विश्व प्रसिद्ध उपन्यास कारमाजोभ दाजुभाइहरू (The Brothers Karamazov, 1879-80) प्रकाशित भएपछि चरम सीमामा पुग्यो । उनी जारकालीन समाजका व्यथा, अन्याय र अत्याचारदेखि पीडित थिए । उनले आफ्नो कृतिमा यिनै विकृति र विसङ्गतिलाई मनोवैज्ञानिक ढङ्गले चित्रण गरेका छन् । उन्नाइसौँ शताब्दीको रुसको समस्याग्रस्त राजनीतिक, सामाजिक र आध्यात्मिक वातावरणमा दोस्तोएभ्सकीका सिर्जनाले मानवीय मनोविज्ञानको सुक्ष्म अध्ययन र विश्लेषण गरेका छन् । उनका ११ उपन्यास, तीन लघु उपन्यास र १७ लघु कथाका अतिरिक्त अरू विविध विषएका रचना छन् ।
युरोपले सन्सारका बिसौँ शताब्दीका प्रथम दुई दशक पछिका धेरै उपन्यास उनीबाट प्रभावित छन् । उनका कृति विश्वका १७० भाषामा अनूदित छन् । फेब्रुअरी ९, १८८१ मा पेतेर्सबुर्गमै दस्तोएभ्सकीको मृत्यु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

