पद्मश्री पुरस्कार प्राप्त लेखक रमेश सायन आफ्नो तेस्रो पुस्तक र पहिलो उपन्यास `अन्तर´ लिएर यतिबेला नेपाली साहित्यमा उदाएका छन् । उनले पहिलो कृतिको रूपमा  कवितासङ्ग्रह `भागेर भूगोलभरि´ र दोस्रो निबन्धसङ्ग्रह `छुटेका अनुहार´ प्रकाशित गरेर नेपाली साहित्यमा आफ्नो नामलाई स्थापित गराइसकेका छन् । आज उनको उपन्यास `अन्तर´सँग सम्बन्धित भएर पुस्तक संवाद गरेका छौँ ।

यहाँको तेस्रो कृति, पहिलो उपन्यास `अन्तर´ लोकार्पित भएको छ । यो कथा भन्छु भन्ने विचार, विषयको चयन, कथाको स्पष्टता कसरी सुरु भयो ?

सामाजिक पर्दाभित्र बसिरहेका मानिसहरूबारे सोचिरहेको थिएँ । उनीहरू देखिँदा एउटा र बाँच्दा अर्को जीवन बाँचिरहेका छन् । हाम्रो सामाजिक संरचनाले सबै लैङ्गिक विशेषता भएका मानिसलाई बराबर समानताको नजरले हेर्दैन ।  विभेद गर्छ । त्यो एकदमै अन्यायपूर्ण छ । फरक लैङ्गिक विशेषता भएका मानिसले, “म पनि समाजमा तिमी जस्तै बराबर आत्मसम्मान चाहन्छु ! मलाई पनि  बराबर आत्मसम्मानले बाँच्न देऊ !” भनेर चिच्याइरहनु परेको छ । उनीहरू पनि महिला र पुरुष जस्तै प्राकृतिक हुन् । उनीहरूलाई प्राकृतिक हिसाबमै बराबर व्यवहार गरिनुपर्छ, आत्मसम्मान पाउनुपर्छ भन्ने आवाजमा, आवाज थप्नका लागि पनि मैले यो विषय चयन गरेको हुँ ।

सुरुमा कसरी लेख्ने होला भनेर आफ्नै लागि चुनौती थियो । पात्रको चरित्र विकासमा मलाई केही फरक लैङ्गिक विशेषता भएका साथीहरूले सहयोग गर्नु भयो । उहाँहरूले आफ्नो सामाजिक मनोदशा व्यक्त गर्दै जानुभयो र कथा अगाडि बढ्दै गयो ।

 

समलिङ्गी जस्तो एउटा चुनौतीपूर्ण विषयमा उपन्यास लेख्नुभएको छ । एउटा गैरसमलिङ्गीको लागि वास्तविक समलिङ्गीको मनस्थिति, व्यवहार, अनुभव, जीवनशैली, सङ्घर्ष आदि बुझ्न के कस्तो कसरत गर्नुभयो ?

यो मेरो लागि एउटा निकै चुनौतीपूर्ण कुरा थियो । पात्रको चरित्र विकास गर्ने क्रममा केही साथीहरूले सहयोग गर्नुभयो । ती साथीहरू खोज्नु र उहाँहरूबाट उहाँहरूको कथा लिनुचाहिँ थप चुनौती थियो । यो किताब लेखिसक्दाको यात्रा रोचक छ ।  मैले खोजेका पात्रले बाँचेको र भोगेको जीवन साँच्चीकै दुख लाग्ने खालको थियो । पहिला त आफैँसँग गरेको सङ्घर्ष, त्यसपछि परिवार र समाजसँग गरेको सङ्घर्ष सानो थिएन । यो किताब मबाट लेखिएको हो तर कथा त उनीहरूकै हो । जो कथामा पात्र बनेका छन् ।

 

उपन्यासको कथा खोज्ने क्रममा वास्तविक समलिङ्गीसँग यहाँले भेट्नुभयो ? 

अवश्य पनि ।

विमोचनका दिन चर्चित ब्लगर तथा समलिङ्गी लेक्स लिम्बुले आफू समलिङ्गी हुँ भनेर परिवारसमक्ष कन्फेसन गर्न २५ वर्षको उमेरसम्म कुर्नुपर्‍यो भनेर बताए । हाम्रो समाजमा अधिकांश समलिङ्गीले आफ्नो वास्तविक पहिचान लुकाएर बाँच्न पर्ने अवस्था छ ।

 

समलिङ्गीले गर्वका साथ आफ्नो पहिचान खुलाउने अवस्था ल्याउनका लागि के कस्तो सामाजिक परिवर्तनको आवश्यकता देख्नुहुन्छ ?

पहिलो कुरा त सबै मान्छे मान्छे हुन् । सबै मान्छे प्राकृतिक हुन् । पुरुष, महिला, समलिङ्गी महिला, समलिङ्गी पुरुष, वा अन्तरलिङ्गी, पारलैङ्गिक सबै प्राकृतिक हुन् । चाहेर कोही महिला वा पुरुष हुन नसके जस्तै चाहेर कोही पनि अन्य लैङ्गिक विशेषता भएर जन्मिन सक्दैनन् भनेर बुझ्न बुझाउन जरुरी छ ।  समाजमा यो विषयमा धेरै छलफल हुनु जरुरी छ । साधारण मानिसले कुरा बुझ्नेगरी सञ्चारमाध्यमले यस विषयमा छलफल चलाउनु जरुरी छ । विभिन्न कलाको माध्यमबाट समाजको मगजमा सकारात्मक चेत भर्दै जानु जरुरी देख्छु । अहिले त यस विषयमा सिनेमाहरू पनि बन्दै छन् । नाटकहरू बनेका छन् । केही किताबहरू पनि लेखिएका छन् ।

हामीले यो विषयलाई लुकाउने हैन, खुलाउँदै जाने वातावरण तयार पार्दै जानु पर्छ । सबैलाई बराबर आत्मसम्मान महसुस गराउन सक्नु पर्छ । कसैले “म पुरुष हुँ ! वा महिला हुँ ” भन्दा जति आत्मसम्मान महसुस गर्छ उसले  “म समलिङ्गी पुरुष हुँ वा समलिङ्गी महिला हुँ !” भन्दा पनि उत्ति नै आत्मसम्मान पाउने सामाजिक वातावरण तयार पार्ने जिम्मेवारी सबैले लिनु पर्छ । राज्य र कानुनले फरक लैङ्गिक विशेषता भएकाहरूलाई समान दृष्टिले हेर्नु पर्छ र कानुन कार्यान्वयन हुनु जरुरी छ ।

 

सायद यहाँले कतै भन्नुभएको थियो – म उपन्यास लेख्दिनँ । आजको दिनमा यहाँले उपन्यास लेखेर प्रकाशित पनि गरिसक्नु भएको छ । के कुराले आफैँले गरेको निर्णयलाई खारेज गर्ने अवस्थामा पुर्‍याउने रहेछ ?

अलिक वर्षअघि मैले आफूलाई उपन्यास लेख्नको लागि तयार बनाएको थिइनँ । यो कुरा सत्य हो । विषय र पात्रको कथाले मलाई उत्प्रेरणा दियो । म साधारण मानिस हुँ, र आफूलाई कयौँ ठाउँमा परिवर्तन भएको पाएको छु । लेख्ने मान्छेको लागि के कुरा प्रेरणा बनेर आउँछ भन्न नसकिँदो रहेछ । मलाई पात्रहरूले प्रेरित गरे ।

 

सरकारले केही दिनअगाडि समलिङ्गी विवाहको अनुमति दिने गरी प्रस्ताव अगाडि बढाइएको थियो । यो सरकारले गर्न लागेको उदार र प्रगतिशील निर्णय पनि थियो । अहिले देवानी कानुनले सो निर्णयलाई अस्वीकृत गरेको छ । समलिङ्गी अधिकारलाई सुनिश्चित गर्ने विषय कत्तिको उठाउनु भएको छ उपन्यासमा ?

सर्वोच्च अदालतले अस्थायी अभिलेख रहने गरी सरकारको नाममा आदेश जारी गरेको थियो तर दुःखद् कुरा सर्वोच्च अदालतको आदेश जिल्ला अदालतले मानेन । यो साँच्चिकै दुःखद् कुरा हो । ‘विवाह कोसँग कसरी गर्ने ?’ भन्ने कुरा व्यक्तिको अधिकारको कुरा हो । महिलाले पुरुषसँग बिहे गर्नु जति प्राकृतिक विवाह हो, समलिङ्गीले समलिङ्गीसँग गरेको विवाह पनि उति नै प्राकृतिक हो । यस कुराले धेरै फरक लैङ्गिक विशेषता भएका मानिसलाई दुःखी बनाएको छ । यो गलत  भयो ।

मेरो उपन्यासमा पात्रले आत्मसम्मानको लडाइँ लडेको छ र आफ्नो अधिकार खोजेको छ ।

 

उपन्यास लेख्न कति समय खर्चिनु भयो ? र, उपन्यासको पात्रसँग कति जिउनु भयो ?

लेख्न त्यति धेरै समय लागेन । तीन वर्ष जति लाग्यो तर यस विषयमाथि स्पष्ट हुन र पात्रलाई बुझ्न धेरै समय लाग्यो । यो किताब त पात्रहरूबाटै लेखिएको हो । म माध्यमा हुँ ।

 

अन्तमा, प्रश्नबाट स्वतन्त्र राख्दै यहाँले मन लागेको कुरा भन्न सक्नुहुन्छ ।

कसैको आत्मसम्मान चोट लाग्ने कामबाट हामी सबै दूर हुन सकौँ । आफ्नो अधिकारका लागि हामी जसरी लड्छौँ अरूको अधिकारका लागि पनि उसरी नै लड्न र बोल्न सकौँ ।