दैलेखमा जन्मनुभएको हरिहर अधिकारी, ‘श्यामल’ नामले परिचित हुनुहुन्छ । ‘मातृभूमि’पत्रिकाबाट पत्रकारिता सुरु गर्नु भएको उहाँ साहित्य लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँको तीन वटा कवितासङ्ग्रह, ‘रित्तो गाउँ’ निबन्ध सङ्ग्रह प्रकाशित भइसकेको छ । सम्पादक तथा सल्लाहकारको रूपमा पनि कार्य गर्दै अउनुभएको उहाँ विभिन्न सङ्घसंस्थाहरू बाट सम्मानित हुनुभएको छ ।

प्रस्तुत छ, पत्रकार तथा कवि श्यामलसँग साहित्यपाेस्टका साहित्यिक पत्रकार जनक कार्कीले गरेको संवादको सम्पादित अंश:

एउटा जिम्मेवार कविको कर्तव्य भनेको के समाज चित्रण गर्दिने मात्रै हो कि केही जिम्मेवारी पनि हुन्छ ? कतै हामी कविहरू ‘दि भल्चर एण्ड द लिटल गर्ल’ नामक तस्बिर खिच्ने साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरद्धारा जस्तो अर्को गिद्ध त बनिरहेका छैनौ ?

श्यामल

– निःसन्देह, जब उनी पुरस्कारबाट सम्मानित भए, र खुसीयाली मनाउँदै थिए, त्यस बखत दुनियाँभरका सञ्चार माध्यममा उनकै चर्चा भइरहेको थियो । त्यति बेला उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो –“त्यसपछि त्यो बालिकाको के भयो ?” उनले जवाफ फर्काए –त्यसपछि म त्यहाँ रोकिइन, किनकि मेरो फ्लाइट डिले हुँदै थियो । उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनीतर्फ इङ्गित गर्दै भने –“म तपाईँलाई भनिरहेकी छु कि त्यस दिन त्यहाँ दुई वटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो ।” फोटो पत्रकार करविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा अवसादमा पुगेर आत्महत्या गरे ।

अवसादका पनि तह वा चरण हुन्छन् भनिन्छ । धेरथोर हामी पनि अवसादग्रस्त हुन सक्छौँ । समाज व्यवस्थासँगका हाम्रा अपेक्षा पनि छन्, हाम्रा असीमित चाहना र महत्त्वाकाङ्क्षा छन्, कुनै व्यर्थका चिन्ता र कुनै समाजले थोपरिदिएका चिन्ताको भारी पनि छ । बाँच्ने क्रममा तपाईंले धेरै थोक भोग्नुपर्छ । चिन्तनशील मानिस यस्तै चिन्तामा हुन्छ । धेरैजसो मानिस आफ्नो असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोध भएपछि आफू बाँचिरहेको समाजबाट भाग्न संन्यास ग्रहण गर्छन् । अध्यात्मतिर लाग्छन् ।

समाजले खडा गरेका प्रश्नहरूको सामना गर्ने ह्याउ सकिएपछि उसका अगाडि विकल्पहरू साँघुरिँदै जान्छन् र केही मानिस आत्महत्याजस्तो खतरनाक कृत्य गर्न उद्यत हुन्छन् । तर यो विसङ्गति बोध र समाज वा पारिवारिक व्यवस्थाप्रतिको यस तहको वितृष्णाबाट दार्शनिकहरूले र कविहरूले उत्कृष्ट जीवन दर्शन दिएका यथेष्ट उदाहरण पनि छन् । धार्मिक वा राजनीतिक पाखण्डसँग लड्दै सोक्रेटिस र ग्यालिलियोले मृत्यु वरण गरे । उनीहरूको अन्त्य सत्यको खोज र स्थापनाका लागि भयो । यसलाई आत्मबलिदान भन्न सकिन्छ । उनीहरूले पत्ता लगाएको सत्यलाई तत्कालीन समाजले अस्वीकृत गरे तापनि आजपर्यन्त त्यो सत्य बदल्ने साहस कसैले गरेको देखिन्न ।

असङ्ख्य प्राणी र वनस्पतिहरूलाई जीवन दिने पृथ्वी नामक यस ग्रहलाई केही पाखण्डी राजनीतिकर्मी, अपराधी मानिसहरू र स्वार्थी तत्त्वहरूले यति धेरै दोहन गरेका छन् कि यो बसोबास गर्न अयोग्य बन्दै गएको छ । यस्तो अवस्थामा मानिस अवसादको सिकार हुनु धेरै सम्भव हुन्छ ।

जहाँसम्म आत्महत्या गर्ने क्यामरामानको प्रश्न छ, त्यस्तो अवस्थामा ऊसँग समुचित उत्तर तयार नहुनु र प्रश्नले अवसादतर्फ धकेल्नु उसको अन्त्यको कारक बन्न गएको देखिन्छ । हामी मानव भएर जन्मेपछि समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह गर्न सक्नुपर्ने हो । तर संसार त्यस्तो छैन । संसारका धेरै मुलुकमा युद्ध, दङ्गा, कचिङ्गल, काटमार, अन्याय र अत्याचार जारी छ । संयुक्त: राष्ट्रसङ्घ जस्ता निकायहरू पनि विकसित र धनी मानिएका मुलुकहरूका अगाडि निरीह बन्न बाध्य छन् ।

विज्ञान र प्रविधिको विकासलाई मानवताको सेवामा लगाउनुपर्नेमा महत्त्वाकाङ्क्षी शासकहरू र युद्ध सरदारहरूले हिंसामा प्रयोग गर्नाले विश्वशान्ति भन्ने कुरा नारामा मात्र सीमित भएको देखिन्छ । तेलका धनी इराक, इरान, यमन, लेबनान, सिरिया र लिबिया लगायतका अरब मुलुकहरूमा पसेर उन्मादी पश्चिमा शासकहरूले वितण्डा मच्चाइरहेको बारे दुनियाँ जानकार छ । हाम्रै छिमेकी मुलुक अफगानिस्तानको दुरवस्था हेर्नोस् । अफ्रिकी देशहरूलाई लामो समय उपनिवेश बनाएर कङ्गाल र असहिष्णु समाजको सिर्जना गरिएको छ । कोरियाली प्रायद्वीप साठिऔँ वर्षदेखि अशान्त छ । चीनको समृद्धिबाट अत्तालिएर पश्चिमा मुलुकहरू ताइवान प्रवेश गरेका छन् । साना ठुला हतियार बेचेर दोहन गर्ने पुँजीवादी काइदा हो यो । विश्व अर्थतन्त्र युद्धमा आधारित भइसकेको छ ।

पारमाणविक, तीव्र गतिका अन्तर्देशीय र अन्तर महादेशीय क्षेप्यास्त्रहरू, साना ठुला हतियार उत्पादन गर्ने फर्महरूका मालिकहरू राज्यका नीति निर्माणमा हाबी भइरहेका छन् र धन र सुविधा एकत्रित गरिरहेका छन् । यसरी विश्वको स्रोत मुठ्ठीभर मानिसहरूले अन्यायपूर्वक दोहन गरिरहेको देखिन्छ । यसले जलवायु परिवर्तनमा प्रतिकूल असर पर्नुका साथै सम्पूर्ण पृथ्वी नै सङ्कटमा फसिरहेको छ । पछिल्लो अवस्थामा युरोप र अमेरिकाको डढेलो, अफ्रिका र युरोपको खडेरी र पाकिस्तानको बाढी मानवता द्रोही पुँजीवादी उपभोक्तावादी संस्कृतिको सेवाका लागि खोलिएका उद्योगहरूले निकालेको कार्बन उत्सर्जन र त्यसका कारणबाट भएको तापमान वृद्धिका परिणाम हुन् । अब मानवतालाई बचाउन नयाँ पहल गर्नु जरुरी भइसकेको छ ।

गीताको उपदेशलाई प्रतीकात्मक अर्थमा लिने हो भने धर्मका रक्षाखातिर युगयुगमा महामानव जन्मन्छन् । वर्तमान सन्दर्भमा साहित्यकारहरूले यस नकारात्मक दबाबलाई आत्मसात् गरेको हुनु जरुरी छ र त्यसै अनुरूप आफ्ना कलारचनामा यस्ता भयावह सङ्कटको सामना गर्ने साहसको प्रतिबिम्बन गर्नु पर्दछ ।  प्राकृतिक वातावरण र सन्तुलित पर्यावरणीय परिस्थितिकीलाई जोगाउन सकिएन भने हाम्रा रचनाहरूको कुनै अर्थ रहने छैन । सम्पूर्ण मानवता आत्महत्यामा अग्रसर भइरहेको देख्दादेख्दै हामी चुप लागेर बस्न मिल्दैन, न त यस्ता सङ्कटबाट अन्यत्र ध्यान मोडेरै समस्याको हल खोज्न सकिन्छ ।

यस संसारका मानिसहरू विभिन्न गुण र अवगुण लिएर जन्मिछन् । पृथ्वीमा आजसम्म जति पनि कवि जन्मिए उनीहरूमा के त्यस्तो विशेषता भएर कवि बने होलान् ?

– मानिसमा विद्यमान जीवनदृष्टि नै पहिलो सर्त हो र कविहरू अलि फरक ढङ्गले जीवन जगतलाई नियाल्ने कलाको विकास गर्न सक्षम हुन्छन् । कालबोध र त्यसको पुनर्सिजन गर्ने कलाका कारण उत्कृष्ट कविहरू विशिष्ट क्षमताका धनी हुन्छन् । काव्य भाषाको खोज उनीहरूले गरेका छन् । अत्यन्त प्रभावकारी विशिष्ट अभिव्यक्ति शैलीको खोज उनीहरूले गरेका छन् ।  जीवन र जगतलाई बुझ्ने र त्यसलाई अर्थपूर्ण ढङ्गले सिर्जनात्मक उपयोग गर्ने मामलामा नै उनीहरूको अहम् भूमिका रहन्छ । त्यही नै उनीहरूको  विशेषता हो ।

शताब्दीयौँ पुरानो अग्नि पुराणमा भनिएको छ: ‘कवित्वं तत्र दुर्लभम् ।’ पहिले त यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि कवि हुनु झन् दुर्लभ हुन्छ भन्छन् अग्नि पुराणका रचयिता हाम्रा महर्षिहरू ।

हाम्रो पूर्वीय वाङ्मयमा संस्कृत काव्य साधकहरू कालिदास, भवभूति, माघ, भारवि आदि र नेपालीका लेखनाथ, देवकोटा, रिमाल, सम, घिमिरे आदि हाम्रा दुर्लभ प्राप्ति हुन् ।

पश्चिमी सभ्यताका एस्किलस, सोफोक्लिज, प्लेटो, होमर, सेक्सपियर, शेली, वर्डस्वर्थ, टल्स्टोय, रुसो, पु्रधों, वोदलेयर, गोर्की, चेखव, वाल्ट व्हिटमन, एलेन गिन्स्वर्ग, पाब्लो नेरुदा, बर्तोल्त ब्रेख्तले हामीलाई आफ्ना भाषिक काव्यकलाका चमत्कारले आच्छादित तुल्याएका छन् । उनीहरूले आफ्नो समयको दुष्चक्रसँग लड्न भाषाको धारिलो अस्त्र तयार गरेका थिए । उनीहरूको उद्देश्य अधिक मानवीय चेतना सम्पन्न समाज बनाउनु थियो । तसर्थ उनीहरूले राज्य र सुखसुविधाभन्दा फरक बाटो रोजेका थिए ।

टर्कीका नाजिम हिम्मत यस्तै अर्को नाम हो । यसै गरी जापानी, पोर्चुगिज, चिनियाँ, जर्मन, हिन्दी, फ्रेन्च, रोमन र स्पानिस लगायत अन्य कतिपय युरोपेली–एसियाली–अफ्रिकी भाषाका कवि लेखकहरूमा उत्कृष्ट काव्य क्षमताको अनुभव गर्न पाइन्छ । जसले लिपिजन्य साहित्य गर्न जानेनन्, तिनका लागि सिर्जनाको बाटो बन्द हुँदैन । ती कुची, बाजा र गलाले समाजको क्रूरतासँग लड्ने बाटामा हुन्छन् । त्यसैले तिनलाई हामी विश्व सम्पदामा लिन्छौँ । जनकजी, हामीले बिर्सनै नहुने कुरा के हो भने आक्रान्ताहरूले कतिपय भाषामाथि दमन गरेका छन् र समय समयमा महान् प्रतिभाहरूले धेरै मूल्य चुकाउनु परेको छ ।

ताजा उदाहरण लिऔँ, अहिले इरानमा हिजाबको बहानामा त्यहाँको कट्टरपन्थी धार्मिक शासनको विरोधमा ठुलो विद्रोह भइरहेको छ, जसमा कवि कलाकारहरू अग्रपङ्क्तिमा रहेको देख्न सकिन्छ । यो क्रम चलिरहनेछ ।

सुखसुविधा भोगेर पनि यो युग मानवजातिको लागि झन् कठिन हुँदै छ । कहाँ कसरी केमा चुकिरहेको छ आजको मान्छे ?

– मानव जातिको सबभन्दा ठुलो दुःखलाई चिन्न र त्यसको निराकरण गर्न दार्शनिकहरूले विगतमा धेरै ठुलो प्रयास गरेका छन् । पश्चिमममा अरिस्टोटल, ग्यालिलियो ग्यालिली, जँ ज्याक रुसो, कार्ल माक्र्स आदि सयौं महान् दार्शनिकहरूले सत्यको खोजमा आत्मोत्सर्ग गरेका थिए । पूर्वमा, अझ हाम्रै नेपाली माटोमा, सिद्धार्थ गौतम बुद्धको उदय यस्तै युगान्तकारी घटना थियो । उनले दुःखको कारण पत्ता लगाए, र मानव जातिलाई अहिंसा र शान्तिको मार्गमा बढ्न अनवरत प्रयत्न गरे । थिचोमिचो र युद्ध नै वर्तमान विश्वका दुःखका कारक हुन् । पहिलेको दुःख सामन्तवाद र त्यसको हाँगो दासप्रथा अनि अलि पछि उपनिवेशवाद थियो, अहिलेका दुःखका स्रोत विश्व प्रभुत्ववाद, क्रूर पूँजीवाद र घिनलाग्दो उपभोक्तावाद नै हुन् । यिनका कारणले नै मानवताले नाना थरीका हिंसा खेपिरहनुपरेको छ । हाम्रो लेखनको मूल उद्देश्य तिनको समूल उच्छेद गर्न मानिसलाई तयार गर्ने महान् लक्ष्यतर्फ लक्ष्यित हुनुपर्छ ।

सम्भवतः अरूभन्दा बढी आनन्द भोग गर्ने,  बढी धनी हुने, आफ्नो जातीय र धार्मिक श्रेष्ठता कायम गर्ने , अरूमाथि शासन गर्ने इच्छाहरू नै मानव समाजका कलङ्क अमानवीय वृत्तिहरू हुन् । लाखौँलाख मानिसको हत्या गरेरै, कुल्चेरै, दबाएरै इस्लाम र क्रिश्चियन धर्म फैलिएको तथ्यसँग तपाईं अवगतै हुनुपर्छ । तर न सनातनीले, न गौतम बुद्धले, न त कन्फुसियसले नै त्यसो गरे । तिनले मानव जातिको परिष्कार र सभ्यताको विकासमा ठुलो योगदान गरे, अहिंसा र शान्तिको बाटो रोजे ।

आजको अमेरिका आक्रामक युरोपेलीहरूले मूल बासिन्दालाई मारेर, षडयन्त्र गरेर खडा गरेको राज्य हो भन्ने कुरामा तपाईं सहमतै हुनुहुन्छ होला । युरोपमा आज पनि जातीय युद्धहरू भइरहन्छन् । पश्चिमाहरू चाहन्छन्, विश्वका सारा मानिस उनीहरू जस्तै हुनुपर्छ, उस्तै पोसाक, उस्तै खानपान, उस्तै संस्कृति भएको मानिस उनीहरूको चाहना हो ।

आफ्ना मूल्य प्रणालीलाई अरूमाथि थोपर्ने प्रभुत्ववादी चाहनाका प्रतिकार त मानिसले गर्छ नै, अनि युद्ध हुन्छ । युद्धको मूल कारण वैमनस्य हो, वैमनस्यको कारण असहमति हो, असहमतिको कारण फरक फरक इच्छाहरूको धर्षण हुनु हो ।
भोगको कहिल्यै तृप्त नहुने भोकलाई तत्काल समन गर्न जुनसुकै खराब नीति अवलम्बन गरेर भए पनि शासकहरू लागिपरेका छन् । यसकै कारण अहिले मानिस प्रकृतिसँग तादात्म्य राख्न चुकिरहेको छ र पृथ्वी सङ्कटमा छ ।

दुःखबाट मुक्ति र सुखको खोज, अहिले एक्कासि, यस युगमा वा एक्काइसौँ शताब्दीमा मात्र गरिएको होइन, मानव इतिहासको प्रारम्भ भएदेखि नै हो । तर आफ्नो वा आफ्नाको सुखको खोज गर्दा अरूको सुखको हरण गर्ने प्रवृत्तिले नै समाजमा विग्रहकारी र विध्वंसकारी चरित्र देखा पर्ने हो, समाजमा सङ्कट उत्पन्न हुने हो, हिंसा, बलात्कार र युद्ध हुने हुन् । हाम्रो कलमले यस सत्यलाई चिन्न सक्नुपर्दछ ।

कविले ठुलाठुला आँखा, सर्लक्क जिउडाल, हिउँ जस्तो गोरो छाला, अग्ला, लामो कपाल आदिलाई सुन्दरताको मानक बनाइदिए । यसो गर्दा चिम्से आँखा, होचो कद, थेप्चे नाक, मोटो शरीरलाई कुरूप बनाएर अन्याय पनि गरेकै हो । यस्ता विम्ब स्थापित गरेर कविले प्राकृतिक सिर्जनाको अपहेलना गरेकै हो । अब कविहरूले विम्ब परिवर्तन गर्नु पर्ने होइन र ?

– हरेक समाज र जातिका सौन्दर्यका आफ्ना खाले मानकहरू हुन्छन् । ती कुनै व्यक्ति विशेषले बनाएको नभई समाजका साझा धारणा तथा मूल्यका आधारमा निर्धारित हुन्छन् । तिनलाई व्यक्तिले लत्त्याउने जोखिम लिन त सक्छ, तर त्यो यति बलियो हुन्छ कि विस्थापित नै भने गर्न कठिन छ । सङ्कीर्ण र बाहिर उति सारो ‘एक्सपोज’ नभएको समाजका सदस्यहरूमा फरक जाति, वर्ण, धार्मिक आस्था वा फरक शारीरिक अवस्थाका मानिसहरूलाई सहजै ग्रहण गर्ने विवेक बनिसकेको हुँदैन । बाहिरी संसारमा चियाएपछि मात्र विविधताको मूल्य थाहा हुन्छ । तर अब बिस्तारै त्यस्ता सामाजिक रुढीहरूलाई अस्वीकार गर्ने प्रवृत्ति बढिरहेको हामी अनुभव गर्दैछौं । हाम्रो समाज अलि बढी परम्परावादी, अन्धविश्वासी, रूढ र धेरै ढिलो मात्र संसारका लागि खुलेको बन्द समाज भएकाले सामाजिक, प्राकृतिक, वंशाणुगत, शारीरिक विविधतालाई स्वीकार गर्न ढिलो भएको हुनुपर्छ ।

साहित्य सामाजिक उत्पादन हो भन्ने बुझेपछि समाज परिवर्तनसँगै परम्परागत बिम्बका स्थानमा नयाँ बिम्बहरू बन्दै जान्छन् भन्ने पनि बुझिनेछ । मजस्ता कालिदासको सूक्ष्म पर्यवेक्षण कलाका प्रशंसक चेलाहरूले पनि उनले खुट्याएका बत्तीस लक्षणमाथि धावा नबोलीकनै तिनलाई नयाँ अर्थ दिन थालेका छन् । अहिले सौन्दर्यको विविधीकरण भएको छ । नयाँ सौन्दर्यशास्त्र बनेका छन् । कुनै बेलाको बेलायती लगायत अन्य युरोपेली देशको उपनिवेश बनेका मानिसले ओरिण्टियलिज्मको सिद्धान्त प्रतिपादन गरेर विश्वमा तरङ्ग उत्पन्न गरेका छन् । कालो, होचो, पुड्को, पहेँलो, चिम्सो, थ्याप्चो आदि आदिको सौन्दर्य मानक स्थापना गरेका छन् ।

अचेल अश्वेत लेखकहरूले पनि नोबेल पुरस्कार पाएका छन्, आफ्नो सौन्दर्य मानक स्थापनाका लागि विभिन्न मञ्च पाएका छन् । नाइजेरियाली घनघोर कृष्णवर्णी बोल सोयिन्काले नोबेल पुरस्कार पाउँदा सोह्र हात माथि उफ्रेर स्वागत गर्ने हामी नै थियौँ । चीनको पीतवर्णी मो यानले चिनियाँ मानिसकै कथा लेखेर नोबेल पुरस्कार हात पारेको हो । अहिले सर्लक्क परेको बेलायती मूलको दक्षिण अफ्रिकी श्वेतवर्णी ईएम कोइजी मात्र होइन, नाइजेरियाली केटी चिमामाण्डा ङोजी अदिचि पनि रुचिपूर्वक पढिन्छे । सौन्दर्यका मानकहरू बन्दै, भत्कँदै बन्दै गर्छन् । बिम्बहरू प्नि बन्दै भत्कँदै गर्छन् । मानिसले नयाँ सोचका राथ कला सिर्जना प्रक्रियालाई अघि बढाउँदै लैजान्छ ।

कुनै बेला ट्रोयकी राजकुमारीको सौन्दर्यमा हुरुक्कै भएर इलियाड पढ्ने, सीता र द्रौपदीजस्ता अनिन्द्य सुन्दरीहरूका गाथा पढेर नथाक्ने हामी नै थियौँ । रचनाकालका हिसाबले ती पुराना त भए, तर ऐतिहासिक मूल्य र कालबोधका दृष्टिले अझै पुराना भइसकेका छैनन् । तिनले आफ्नो समयको यथार्थ र तिलस्मी बोकेका छन् । तर त्यस्तो मूल्य प्रणालीमै हुर्केका हामीले हेमिङ्वेको बुढो माझीको कथा पढ्न थालेका होइनौँ र ? कृष्णको जीवन दर्शन र धनुर्धर अर्जुनको वीरताले भरिपूर्ण महाभारत पढ्न नछाडेरै हामीले प्रेमचन्दका अति सामान्य र दीनहीन पात्रको बारेमा चिन्तन गर्न थालेका होइनौँ र ? हामीलाई प्रमिथस, सिसिफस र स्पार्टाकसजस्ता पात्रहरूले प्रभावित गरेका होइनन् र ? आधुनिक जमानामा त्यस्ता कतिपय घटना र पात्रहरूमा कथा र उपन्यासहरू बुनिएका छन् र सिनेमा जस्तो श्रव्यदृश्य विधामा पनि ती राम्ररी उत्कीर्ण भएका छन् ।

पछिल्लो समय नेपालीमा त्यस्ता बिम्बहरू भत्कँदै गएका छन् । उलार, हजारौँ माइलको बाटो, दमिनी भीर आदि कतिपय उपन्यासमा पिँधमा रहेको वर्गलाई सतहमा ल्याइएको छ भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्छ । कविता र नाटकमा पनि यस्ता गम्भीर प्रयासहरू भएको देखिन्छ ।

आजभोलि कविको परिचय कवि मात्र रहेन । कुन विचारको कवि हो ! कुन पार्टीको ? कुन खेमाको कवि हो ! कुन गुटको ? गरिब हो कि धनी ? यसरी नयाँ परिचय बनेर आएका हुन्छन् कविको। एउटा कवि विशुद्ध कवि हुनबाट किन चुकिरहेको छ ?

– कवि कवि नै हो । कुनै पार्टी वा खेमामा लाग्नु नलाग्नु उसका स्वतन्त्रताको विषय हो । जहाँसम्म विचारको प्रश्न छ, विचार नभएको मनुष्य हुँदैन । त्यसैले कविको पनि निश्चित विचार हुन्छ । सामाजिक राजनीतिक आन्दोलनमा उसको लेखनी वा सशरीर संलग्नताले उसलाई अझ गहिरो अन्तर्दृष्टि प्रदान गर्छ भन्ने मेरो अनुभव छ । यदि कुनै व्यक्ति राम्ररी बुझेर प्रभावकारी कविता लेखिरहेको छ भने उसलाई त्यस्ता ब्राण्डहरुको खासै अर्थ हुँदैन । तर तपाईंले प्रश्नमा इङ्गित गर्नुभएको कुरोलाई गहिरिएर बुझ्नु आवश्यक छ । यस्ता संलग्नताले सत्ता र सुख प्राप्तिको भर्याङको काम गरेको छ भने ऊ कर्तव्यच्यूत हुन सक्छ र सत्ताको तावेदारीमा सीमित रहन सक्छ ।

सामान्यतया कविको प्रतिबद्धता समाजप्रति, व्यापक मानवीय संवेदनाको पक्षमा र सत्यको अन्वेषणमा हुन्छ । हामीकहाँ त्यो अलिक दुर्लभ भइरहेको भने हामीले अनुभव गरेका छौँ । मलाई लाग्छ, एक समर्थ कवि आफ्नो दृष्टि र विवेकलाई धोका दिन सक्तैन ।

एउटा निश्चित उमेरपछि कविता लेख्न सकिँदैन भनेर एक थरी भन्छन्, तर भारतमा गुल्जारले ८६ वर्षको उमेरमा पनि कविता लेखिरहेकै छन् । कसैले भन्छन् कविता जति बुझ्यो उति कम लेखिन्छ भनेर । यदि त्यसो हो भने कविता बुझेको मान्छेले त झन् धेरै कविता लेख्न पर्ने हो । यो कुतर्क गरेर किन आफू निकै कविता बुझेको बन्न खोजिरहेछ आफैलाई ढाक्नलाई । नेपालको अहिलेको परिप्रेक्षमा हेर्ने हो भने तपाईंको पुस्ताका कविले कम कविता लेखिरहेका छन्, यसो हुनुमा माथिका बाहेक के कारण हुन सक्ला ?

– कविता सहज लेखन होइन भन्ने कुरा हामीलाई अनुभव भएकै हुनुपर्छ । शारीरिक अस्वस्थताका कारणले मानिस युवा वयमै कविता लेखनबाट टाढा पुग्न सक्छ, वृद्ध वयमै पुग्नु पर्दैन । माधव घिमिरे सय वर्षको उमेरमा र अझ अन्तिम समयसम्म पनि कविता लेख्तै थिए भन्ने कुरा हामीले उनकै मुखबाट सुनेका छौँ । नवीनतम काव्य भाषाको अन्वेषण अलि कठिन विषय हो । त्यसैले उत्तम कविता धाराप्रवाह रूपमा लेखिरहन सक्ने देवकोटा जस्ता प्रतिभाहरू साँच्चै दुर्लभ हुन्छन् । उमेरले पनि मानिसलाई शिथिल बनाउँछ तर त्यति बेला पनि उत्कृष्ट काव्यप्रतिभा रोकिँदैन । हो, केही व्यवधान भने पक्कै आउँछन् ।

कविता जति बढी बुझ्यो उति कम लेखिन्छ भन्ने कुरा पनि सत्य होइन । हो, आरम्भमा जस्तो धेरै लेख्ने र प्रकाशित गर्ने उत्साह बिस्तारै कम हुँदै जान सक्छ । यसो हुनुका पछाडि कविले कविताको सङ्ख्यामा भन्दा गुणात्मकतामा बढी ध्यान दिने गर्नाले पनि हुन सक्छ । आफू दोहोरिने वा अरूको छाया बनेर अरूलाई दोहोर्याइरहने खालको काम कविताको रचना प्रक्रिया र महत्त्व बुझेको कविले गर्न सक्तैन ।

जहाँसम्म मेरा समकालीन कविहरूले कम लेखेको कुरा गर्नुहुन्छ, हो, तीस र चालिसको दशकको जस्तो गति अवश्य देख्दिन । त्यति बेला नेपाली समाज चरम विद्रोहको चरणमा थियो, राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको लागि हामी समाजसँगै थियौँ । राजनीतिक व्यवस्थामा परिवर्तन आएसँगै केही केहीका निम्ति अन्तिम सत्य त्यही भइदियो । यथार्थ के हो भने, समाजमा झन् कठिन समस्याहरू थपिएका छन् । यस कुरालाई आत्मसात् नगर्नेहरूका लागि उही पुरानै राग प्रिय छ । तर कमै लेखे पनि सजग कवि लेखकहरू अझै क्रियाशील छन् । त्यति बेलाका जस्ता साहित्यिक पत्रिकाहरू अहिले छैनन् । अहिले लक्ष्य ध्येय र माध्यम फेरिएका छन् । नयाँ साथीहरू नवीनतम ऊर्जा लिएर देखा परेका छन् ।

तपाईंले कविता लेख्न सिक्दै गर्दाका सुरुवातका दिन र आज स्थापित कविको स्थान प्राप्त गरिसकेपछिको दिनमा कवितालाई हेर्ने उहिले र अहिलेको दृष्टिकोणमा के फरक पाउनुहुन्छ ?

– सुरुमा बाह्य लयबाट म धेरै आकर्षित थिएँ । आन्तरिक लयबारे मेरो उति सारो स्पष्ट धारणा थिएन । शास्त्रीय छन्द परम्परामा हुर्केका कारणले भानुभक्त, लेखनाथ, देवकोटा, घिमिरेका कविताहरूलाई लय मिलाएर पढ्दा जति आनन्द आउँथ्यो, त्यस्तै लेख्ने प्रेरणा हुन्थ्यो । तर पागल र आमाको सपनाजस्ता कविताले मेरो दृष्टिकोणलाई बदलिदिए । म गद्य कविताको खोज र अध्ययनतिर लागेँ ।

यसै क्रममा विजय मल्ल, गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, अगमसिंह गिरि, वासु शशी, ईश्वरवल्लभ, हरिभक्त कटुवाल जस्ता सयौँ कविका कविताको सङ्गतमा पुगेँ । यसै गरी अङ्ग्रेजी, हिन्दी, बङ्गाली, चिनियाँ, जापानी, स्पेनिस, फ्रेन्च र जर्मन कविता पढेपछि मेरो क्षितिज फराकिलो हुँदै गयो । ब्ल्याक अफ्रिकन पोएट्री पढेपछि तिनको ध्वन्यात्मकता र सङ्गीतमयताले मलाई भिन्नै संसारमा पुर्याइदियो ।

अर्थात् कवितामा सांस्कृतिक र साङ्गीतिक बिम्बहरूको अर्थ बुझ्दै गएँ । कविता शब्दहरूको गुम्फन मात्र होइन, सरल जनभाषामा पनि गहन र उत्कृष्ट रचना सम्भव छ र विषयहरू अनन्त हुने रहेछन् भन्ने अनुभव गरेँ । कवितालाई सस्तो भावुकताको सिकार बनाउनु हुन्न भन्ने बुझेँ अर्थात् कविताको भाषा बुझेँ । जति बढी पढ्छु उति नै आफूलाई नयाँ धरातलमा पाउँछु । तर मेरो आधारभूत दृष्टिकोण भने बदलिएको छैन । त्यो यथावत् छ । अर्थात् कविता लेखन गन्थन होइन, अरूसँग संवाद गर्ने सङ्गीतजस्तो सबैभन्दा प्रभावशाली तथा नित्य गतिशील कला माध्यम हो ।

एक कवि सधैँ सिकिरहन्छ र नयाँपनको खोजमा लागिरहन्छ भन्ने कुरा बुझेपछि कविताबारेका अस्पष्टताहरू हट्दै गए । कवितामा अन्तिम भन्ने कुरा केही हुँदैन भन्ने कुरा बुझेपछि लाग्यो, आरम्भमा मेरा कविता बढी नै समाजको दबाब र परम्परागत स्थापनाहरूका बोझले थिचिएका रहेछन् भन्ने बुझेँ ।

जिन्दगीको लामो यात्रा तय गरिसक्नुभएको छ । गर्न बाँकी र गर्न पाएका कुरा पनि होलान्, यति बेला सोच्दा जिन्दगी के रहेछ जस्तो लाग्छ ?

– मानिसको जिन्दगी धरतीलाई प्रकृतिको आश्चर्यजनक उपहार रहेछ, तर यसलाई विवेकहीन मानिसहरूले कुरूप पारेका रहेछन् ।  जति अनुभव र प्रतिष्ठा आर्जन गरेको छु, त्यसमा असन्तोष गर्नुपर्छ भन्ने लागेको छैन । समाज र राज्यलाई अत्यधिक मानवीय बनाउने प्रयासमा लागिरहन्छु ।

मानिसको जिन्दगी कति लामो हुनुपर्छ भन्नु भन्दा पनि पाएको छोटै उमेरमा पनि के गर्न सकियो भन्ने कुराले अर्थ राख्छ भन्ने सोच्छु । मैले गर्व गर्ने हिसाबले खास केही गर्न सकेको छैन भन्ने कुराले मलाई चिमोटिरहन्छ । तर मैले एउटा कम्युनिटी बनाएको रहेछु, अथवा कम्युनिटीमा आबद्ध हुन सकेछु । सबै कुरा अधुरै छन् । मेरो देश निरङ्कुश राजशाहीबाट मुक्त भएको छ, त्यस मुक्ति युद्धमा मैले जीवनका सचेत पचास वर्ष खर्च गरेको छु । तर, त्यसका अवशेषहरूले विभिन्न परिधान र अवतारहरूमा जनतालाई अझै दुःख दिइरहेका छन् । बाँचुन्जेल तिनका विरुद्ध लागिरहनु मेरो काम हो । मेरो लेखनको आत्मा त्यहीँ छ ।

व्यक्तिको आचरण र उसको सिर्जनालाई फरक नजरले हेरिनुपर्छ वा व्यक्तिको आचरण गलत भएपछि सिर्जनामा दम भए पनि खराब नै कहलिन्छ ?

– साँचो दार्शनिक, नेता, साहित्यकार, योगीहरू र कतिपय आमजनले पनि स्वयंसँग लड्ने क्षमता राख्छन् । लेखन र व्यक्तिको आचरणमा तादात्म्य हुनु भनेको आदर्श अवस्था हो । त्यो प्राप्तियोग्य विषय हो । तर कमजोरीमुक्त मनुष्य, जसमा साहित्यकारलाई पनि समावेश गरिन्छ, एक दुर्लभ अवस्था अथवा युटोपिया हो । यो कल्पवृक्ष पाएजस्तै हो । यो साङ्ग्रिलामा बसेजस्तै हो । समाजभित्रै भएको हुनाले ऊ समाजकै सबल दुर्बल पात्र पनि हो भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्छ ।

भानुभक्त, लियो टल्स्टाय, पाब्लो पिकासो, देवकोटा, पाब्लो नेरुदा, रिमाल, सआदत हसन मण्टो, साल्भाडोर डालीे जस्ता साहित्यकार कलाकारको जीवन हेर्नुभयो भने तिनका व्यक्तिगत आचरणका तुलनामा तिनले दिएका उत्कृष्ट कृतिहरू धेरै मूल्यवान् छन् । व्यक्तिका रूपमा साहित्यकार समाजको सदस्य हो त्यसैले उसको सर्वाइवलका कतिपय अवस्थामा कमजोरी देखिन सक्छन् । तर कलाकृति कलाकृति नै हो ।

संसारमा धेरै कुरा छन् जसलाई जन्मिसकेपछि सिक्न सकिन्छ । तर कविता सिकाउने तालिम केन्द्र हुँदैनन् यदि छन् भने त्यहाँ ठगी हुँदै छ भन्ने बुझे पनि हुन्छ । खासमा कवि कसरी बन्दो रहेछ मान्छे ?

– व्यक्ति समाजको इकाई हो र उसले समाजबाटै मूल्यप्रणाली र संस्कार प्राप्त गर्छ । केही जिनियसहरू हेरेर हामी उनीहरूमा जन्मजात वा दैवी वरदान पाएको ठान्दछौँ । तर कला एक सचेत प्रयत्न हो । प्रकृतिमा मानिसले र तिनमा पनि केही मानिसले मात्र उत्कृष्ट कला रचना गर्ने क्षमता राख्दछन् । त्यसैले कला परिष्कारका लागि पाठशाला भए पनि व्यक्तिको सोखको आविष्कार तिनले गर्न सक्तैनन् । व्यक्तिमा अन्तर्निहित प्रतिभालाई उकास्न त तिनले मदत गर्लान्, तर कलाको टुसो त्यसै बीउमा अन्तर्भूत हुनुपर्छ । कविता असल वा खराब, बलियो वा कमजोर भएको देखाउने ठाउँ त्यस्ता तालिम केन्द्रहरूले दिन्छन् भने केही बिग्रन्न । खासमा जीवन र जगतलाई गहिरिएर हेर्ने र तिनका विभिन्न आयामहरूको कलात्मक पुनर्रचनामा उत्कृष्ट काल्पनिकताको संयोजन गरेर काव्य भाषाको प्रयोग गर्ने क्षमता भएको मानिस कवि हुन्छ ।

आजका पुस्ताले भान्साबाट खुर्सानीलाई टाटाबाईबाई गरेर फास्टफुड भित्र्याउन थालेका छन् । यो डिजिटल युगमा के कविता पनि खुर्सानी जस्तै भएको हो साथमा आजका कवि किन खुर्सानी जस्तो पिरो नभई सबैको गुलियो मात्र बन्न खोजेका छन् ?

– जस्तो युगमा पनि कला किंवा कविताको प्रभाव, महत्ता र सत्ता घट्दैन । प्रविधिले र विविध प्रकारका आविष्कारले त्यसको भूमिका बदल्ने होइन । यी माध्यम मात्र हुन् । अहिले कृत्रिम मानवको युग हो, तर त्यसको हार्ड डिस्कमा मानिसले नै प्रोग्राम हालेर निर्देशन नदिएसम्म त्यसले केही गर्न सक्तैन । त्यो मानव बुद्धिको कमारो मात्र हो । त्यसलाई हाम्रो बारीमा फल्ने खुर्सानीसँग किन तुलना गर्नु ?

लेखकसँग यो रुढीवादी समूह, सरकार, धार्मिक संस्था, राजनीतिक दल, व्यापारी आदि आज पनि डराउँछ । यसको पछिल्लो उदाहरण भनेको सलमान रुस्दीकाे आक्रमणलाई लिन सकिन्छ । पाब्लो नेरुदाले आफ्नो ऊर्जाशील समय विभिन्न देशमा लुकेरै बिताउन पर्यो । तसलिमा नसरिनलाई त देश निकाला नै गरियो । नेपालमा पनि पछिल्लो पटक केही गीत सरकारलाई मन नपरेर ब्यान्ड नै गरियो । आजको दिनसम्म पनि एउटा लेखकले स्वतन्त्र भएर लेख्न नसक्नुको कारण केलाई मान्नुहुन्छ ?

– सलमान रुस्दीमाथिको आक्रमण विवेकहीन पाखण्डी अन्धता हो । संसारमा रुढी, अन्धविश्वास र कृत्रिम शक्तिको आडमा समाजमाथि, मानवीय विवेकमाथि र मानिसको नैसर्गिक अधिकारमाथि हमला गर्ने वातावरण रहेसम्म लेखकीय स्वतन्त्रता र स्वायत्त गतिविधि मूर्खहरूको निशानामा परिरहन्छन् । त्यस्ता तत्त्वहरूका डरले लेख्न छाडिदिने हो भने सत्य कहिल्यै पनि मुखरित हुने छैन ।

एउटा कविताको महत्त्व वा सार्थकता के हो ? के हामी कवि बन्नकै लागि मात्र कविता लेख्ने हो ?

– मैले कतिपय कवितासङ्ग्रह वा अन्य पुस्तकको विमोचन गरेको छु, यद्यपि म विमोचनलाई सार्वजनिक गर्ने एक उपक्रम मात्र ठान्दछु । सीमान्तकृत समुदाय वा मानिसका विषयमा कविता लेख्नु र त्यसको विमोचन विचार वा कामका हिसाबले सीमान्तकृत समुदाय वा मानिसका विपक्षमा रहेको नेताबाट गराउनु एक उपहासपूर्ण कृत्य हो । अब कविताले सीमान्तकृत व्यक्ति वा समुदायसम्म पहुँच राख्ने वा नराख्ने भन्ने कुरा त्यस रचनाको शक्ति र उद्देश्यमा भर पर्छ जस्तो लाग्छ । कतिपय मानिसहरू कविमा नाम दर्ता गराउन पनि अण्टसण्ट गर्छन् । कसैलाई तँ कविता नलेख् वा फलानाबाट विमोचन नगरा भन्न त मिल्दैन । त्यस्ता रचनाको आयु छोटो हुन्छ र उद्देश्यमा पुग्दा पनि पुग्दैन । यसतर्फ हामीले चिन्ता गर्नु व्यर्थ छ ।

एउटा कविताको सार्थकता भन्नोस् वा अन्तिम लक्ष्य (अल्टिमेट गोल) व्यापक मानव समुदायको मानसिक परिष्कार गर्ने र उसलाई मुक्त मनुष्यको सोच निर्माण गर्न योगदान गर्नु हो, उसलाई म छु र हामी छौँ भन्ने बोध गराउने हो । उसले देखेका वा देख्न नसकेका, सोचेका वा व्यक्त गर्न नसकेका विषयलाई कलात्मक पाराले बुझाउने हो । उसभित्रको अहम् र शक्तिलाई उकास्न मदत गर्ने हो । उसलाई साँघुरो दुनियाँबाट व्यापक दुनियाँमा प्रवेश गराउन, उसको सोच र चिन्तनको क्षितिज विस्तार गर्न, उसलाई व्यापक मानव समुदायसँग जोड्न मदत पुर्‍याउनु हो । तर सबै कविता भनिएका रचनामा त्यस्तो सामर्थ्य हुँदैन ।

विनोद चौधरीले चाउचाउ बनाउँछन् र अस्पताललाई आर्थिक सहयोग पनि गर्छन् । रोग उपहार दिएर उपचार गर्नु नै आजको पुँजीवादी व्यवस्थाको नीति हो ?

– हरेक उद्यम वा उद्योगको सामाजिक उत्तरदायित्व पनि हुन्छ भन्ने कुरालाई हाम्रो दुनियाँले स्वीकार गरेको छ । तसर्थ विनोदजीले चाउचाउ पनि बनाउनु र अस्पताललाई सहयोग पनि गर्नुलाई अन्यथा ठान्न मिल्दैन । तर, उनले बनाएको चाउचाउ जनस्वास्थ्यका लागि कति हानिकारक छ भन्ने कुरा राज्यलाई थाहा हुनुपर्छ । त्यस्तो उद्योगलाई अनुमति दिने र गुणस्तरको अनुगमन गर्ने काम राज्यको हो । यस्तो भइरहेको हो भने अखाद्य वस्तुलाई हाम्रा भान्सासम्म आउनबाट हामीले रोकिदिनु पर्छ । तर अखाद्य वस्तुलाई खाद्यवस्तुका रूपमा उत्पादन गर्न लगाई बजारमा लैजाने अपराधी राज्य हो भन्ने कुरा हाम्रो समाजलाई बुझाइदिने तत्त्व अति नै कमजोर अवस्थामा छ ।

र, अझ यदि यस्तै हो भने स्वास्थ्यलाई हानिकारक सिद्ध हुने वस्तु उत्पादन गर्ने उद्योगी पनि अपराधी हो । यस कुराको निर्णय गर्ने निकायहरू छन् । के ती मौन छन् ? तिनले मौन बस्न मिल्छ ? यहीँ उपभोक्ता चेतनाको आवश्यकता हुन्छ । यहीँ कविताले केही बोल्न सक्छ ।

पुँजीवादले पैसा हेर्छ, मानिस हेर्दैन । उसले मानिस पनि हेर्ने भएको भए विश्वको पुँजी सय जना ठुला उद्योगपति वा व्यापारीमा सीमित हुने थिएन । त्यो गरिब र अनिकालग्रस्त अफ्रिकी मुलुकहरूमा पुग्ने थियो । पुँजीवादले मानिस हेर्ने भएको भए हतियारको उत्पादन र व्यापार गर्दैनथ्यो । सुडान, सोमालिया, कङ्गो, सिरिया, इराक, उक्रेन, ताइवानको स्वरूप आजको जस्तो हुँदैनथ्यो । उसले जनस्वास्थ्य पनि हेर्दैन । कोभिड १९ को बेला भ्याक्सिन उत्पादनको होड, विश्व स्वास्थ्य सङ्गठनको लाचारी, रसियाली र चिनियाँ भ्याक्सिनमाथिको अविश्वास र प्रतिबन्धको परिणाम देखेनौँ र हामीले ?

यहाँको विचारमा नेपालमा साहित्यिक पुरस्कार कत्तिको इमानदार हुन सकेका छन् जस्तो लाग्छ ? र, मदनपुरस्कारलाई अहिले लेखक शिवानीसिंह थारुले निर्णायक समितिको नाम किन लुकाएको भनेर आरोप लगाउनु भएको छ । विश्वको परिवेश हेर्ने हो भने यसरी निर्णायक मण्डलको नाम लुकाउने चलन छ वा छैन, यो कतिको जायज हो ?

– नेपालमा सबैजसो पुरस्कार पारदर्शी छैनन् । मदन पुरस्कार पनि पहिलेदेखि नै पारदर्शी छैन । सायद गुठीको नियम त्यस्तै छ । पुरस्कारलाई प्रतिष्ठित बनाउन पारदर्शिता सायद अत्यावश्यक पक्ष हो । तर खास मानिसलाई उसका कृतिको गुण पक्षमा आधारित नभई दिन मन लाग्दा पारदर्शिता एक वाधक तत्त्व पनि बन्न जाँदो हो । निर्णायक मण्डलको नाम लुकाउने चलन पनि छ, जसले विवाद मात्र खडा गरेको हुन्छ । यस्तो प्रवृत्तिले पुरस्कारको प्रतिष्ठामै आँच पुर्‍याउँछ ।

एउटा प्रख्यात मुसाको कथा छ: मुसाहरूको एउटा समूह हुन्छ । एउटा मुसाले अरू मुसाभन्दा फरक देखिन आफ्नो पुच्छर काट्छ । अन्य मुसाहरूलाई यस्तो लाग्छ कि यो मुसा हाम्रो समूहको होइन किनभने यसको पुच्छर छैन । त्यसैले यसलाई मार्नुपर्छ भनेर उक्त मुसालाई मारिन्छ । हामी फरक हुने भनेर विचारले फरक नभएर पुच्छर मात्र पो काटेर फरक देखिन खोजिरहेका छौँ  कि ?

– त्यस्ता मूर्ख मुसाहरू हाम्रो समाजमा छन् । पुच्छर काटेर निजत्व देखाउने अप्राकृतिक व्यवहारका कारण तिनले अस्वाभाविक परिणाम निम्त्याउँछन् । राजनीतिमा त छँदै छन्, साहित्य र कलाका क्षेत्रमा पनि ती छन् । तिनलाई अस्वीकार गर्ने काम पनि हाम्रै हो ।

एउटा व्यक्तिको घरमा एउटा व्यवहार हुन्छ । समाजमा अर्को छवि हुन्छ । ऊ संलग्न सङ्घसंस्थामा अर्कै विचार हुन्छ । आजको युगका प्रायः मान्छे किन आफ्नो रियल फेस लुकाएर बाँचिरहेको छ ?

– समाजलाई हेर्ने र समाजले व्यक्तिलाई हेर्ने दृष्टिकोणमा अन्तर हुन सक्छ । समाज व्यक्ति र उसको परिवारभन्दा ठुलो र शक्तिशाली इकाई हो । आफ्नो स्वतन्त्रतालाई सामाजिक डण्डाले नियन्त्रण गर्न थाल्यो भने व्यक्तिले विद्रोह गर्छ । यो समाजलाई बदल्ने बहसको थालनीमा रूपान्तरित हुन्छ । धेरै मानिसहरू सजग र सचेत हुँदै जाँदा व्यक्तिहरूले नयाँ र साझा वैकल्पिक मूल्य तयार गर्छन् । यो समाज परिवर्तनको प्रक्रिया हो । त्यसैले समाज र व्यक्तिका बिचमा तनावपूर्ण सम्बन्ध भइरहन्छ । व्यक्तिको यथार्थ व्यवहार र समाजनिर्मित छविका बिचमा तनाव हुनु आश्चर्यको विषय होइन । मानिसले वास्तविक अनुहार लुकाउन सफल भएको छैन, केहीले नदेखेका होलान् । तर सत्य यसरी लुक्दैन ।

संसारकै सबैभन्दा जटिल विषय यौन हो । हामीले यसलाई सभ्यताको विकाससँगै विभिन्न सिमाना लगाउँदै आएका छौँ । यौनलाई यहाँले कसरी हेर्नुभएको छ र यौनको मनोवैज्ञानिक पक्षलाई कसरी व्यवस्थापन गर्न जरुरी छ ?

– यौन  अनिवार्य प्राकृतिक  हो । यसलाई व्यक्तिको स्वतन्त्रताको परिधिमा राखेर हेर्नुपर्छ । जबरजस्ती नियन्त्रण गर्न थालियो र मर्यादित बनाउन सकिएन भने यसले अनेकौं समस्यामूलक अवस्था र विकृतिहरू आमन्त्रण गर्छ । यो दुई विपरीत लिङ्गीबिचको आत्मीय सम्झौता हो । तर अचेल पहिले सम्झौता गर्ने र पछि आफ्नो निश्चित स्वार्थ पूरा भएन भने बलात्कारको आरोप लगाएर व्यक्तिको प्रतिष्ठालाई धुलिसात् गर्ने प्रवृत्ति बढिरहेको छ । यौन स्वस्थ हुनुपर्छ, यौन साहित्य पनि स्वस्थ हुनुपर्छ । यसलाई सहज, मर्यादित, आत्मीय र कलात्मक बनाउनै पर्छ ।

यहाँले उपन्यास लेख्दै हुनुहुन्छ भनेको धेरै वर्ष पहिले सुनेको हो । त्यति बेलाको अन्तर्वार्तामा यहाँले दुईचार महिनामा आउँछ भन्नुभएको थियो, त्यो भनेको दुईचार वर्ष नै भइसक्यो । साँच्चै के हुँदै छ उपन्यास ?

– ढिला भएको छ, तर म काम गर्दै छु । त्यति बेलाभन्दा विगत दशकमा पात्रहरूको भूमिका फेरिएको छ । सामाजिक स्वीकृतिमा अन्तर आएको छ र राज्यको व्यवहार फेरिएको छ । त्यसैले त्यसमा राम्ररी कलम चलाइरहेको छु ।

अहिले राससको जिम्मेवारीबाट पनि विश्राम लिनुभएकोले फुर्सदमै हुनुहुन्छ होला । अबको दिन लेखेर बिताउनुहुन्छ वा फेरि कतै संलग्न हुने विचारमा हुनुहुन्छ ?

– खासमा मेरा लागि उपयुक्त भूमिका दिएमा म केही वर्ष अझै काम गर्ने पक्षमा छु । कसैले भूमिका नदिँदैमा मेरो सामाजिक र लेखकीय भूमिका फेरिने छैन । लेखन मेरो चुनाव र क्रियाशीलतापूर्वक समाजसँग संवाद कायम गरिरहनु पर्ने बाध्यता दुवै हो । त्यसैले पहिलो विकल्प राज्यले दिने हो, दोस्रो विकल्प मेरो बचाई हो । राज्यले काम दिँदा पनि, नदिँदा पनि मेरो लेखन चलिरहने छ ।