म सानो छँदा लेटाङमा स्कुल पढ्दाताका हाम्रो घरमा चार वटा तपेँस (एल्युमिनियमका भाँडा) थिए । तपेँसहरूलाई घरमा चिन्न सजिलो होस् भनेर आमाले जेठो, माहिलो, साहिँलो र कान्छो तपेँस भनेर नाम दिनुभएको थियो ।
जेठो तपेँसमा गाईलाई खोले पकाइन्थ्यो । यो निकै अजङको र खोले पकाउँदा पकाउँदा कालो र बाक्लो भएको थियो । माइलो तपेँस अलि पातलो तर निकै ठुलो थियो । यो पानी ओसार्न तथा पानी जम्मा गर्न प्रयोग गरिन्थ्यो । म आफू पनि माइलो छोरो भएको हुनाले यो तपेँस आफू जस्तै लाग्थ्यो । अथवा भनौँ न एक प्रकारको अलि नजिक वा सहोदर जस्तो महसुस हुन्थ्यो । पानी वा खोलेभरि हुँदा जेठो र माइलो तपेँस म उचाल्न नै सक्दिनथेँ । बोक्ने त परै जाओस् । भरी हुँदा जेठो र माइलोलाई आमाले मात्र यताउति सार्न सक्नुहुन्थ्यो ।
साइँलो तपेँस अलि सानो र अलि बाक्लो थियो । यसमा पाहुना आउँदा खाना पकाइन्थ्यो । कान्छो तपेँस टिलिक्क राम्रो, सानो र पातलो थियो । यसमा घरमा नियमित खाना बनाउँथे । हामी चार दाजुभाइ थियौँ घरमा । शरीर तथा बनोटको हिसाबले हामी ४ दाजुभाइ जस्तै लाग्थे यी तपेँस भाँडाहरू ।
एसएलसी पास गरियो । धरान क्याम्पस पढ्न सुरु गरियो । बि.कम. पढ्ने बित्तिकै जागिर खान सुरु गरियो । तपेँसहरूसँगको सम्बन्ध घर आउँदा जाँदा मात्र भयो । सब चिजहरू उस्तै थिए । चार्टर एकाउन्टेन्ट पढाइ गर्न मद्रास गइयो । बि. कम. लगायत सिए पढेर आउँदा लगभग आठ वर्ष बितेछ । यस बिचमा घरको दैनिक काम छोडिँदा तपेँसहरूसँग तन टाढा भयो । तर मन टाढा थिएन । एक दिन मद्रासबाट घर आउँदा जेठो तपेँस घरको कुनामा बसिरहेको थियो । मलाई अचम्म लाग्यो जेठो तपेँस त्यत्रो ठुलो थियो कसरी यति सानो भयो ।
विरक्त पनि लाग्यो । दुख जस्तो पनि लाग्यो । मेरा आँखाले तपेँसलाई सोधे “हैन हो मेरा आँखा बिग्रेका हुन् कि तँ सानो भइस् ? “
म सानो छँदा भिडभाड र चहलपहल जस्तो लाग्ने घर त्यो दिन शान्त थियो । टामाटिमी कुनामा बसेको तपेँसले भन्यो, “ म सानो भएको होइन केटा तँ ठुलो भइस् । म जस्ताको तस्तै छु उही कालो । अनि उही आकारको ।”
यति भनेर तपेँस रोए जस्तो लाग्यो । तपेँस रोएको होइन रहेछ तपेँसको समय रोएको थियो ।
२० वर्षमा धेरै कुराहरू गुमे । बुवा हुनुहुन्न । तपेँसको बारेमा कुरा सोध्नको लागि आमा हुनुहुन्न । छन् त केवल यादहरू । घरमा आमाले छोड्नुभएको एउटा गिलास मात्र रहेछ तपेँसलाई चिनेको । जब मैले घरको गिलासलाई हेरे झन् तपेँसको याद आयो । तपेँस र त्यसका समयहरू सोध्न आज आमा चाहिएको महसुस भयो । कहाँ गए ती तपेँसहरू । पोलेर पगालेर कसको घरमा के गर्दै होलान् ? के तिनले मलाई सम्झन्छन् ? आमाको फोटोलाई गएर सोध्न मन लाग्यो ? छोरी यताउति गर्दै थिई । जान सकिन । शायद बाउलाई रुन छुट छैन ।
२० वर्षअगाडि तपेँस मलाई हेरेर रोएको थियो । आज तपेँसलाई सम्झेर मेरो आँसु आयो । मेरो आँसु देखेर घरमा भएको गिलास पनि रोए झैँ लाग्यो ।
वर्षाको मौसम । बाहिर झरी परेको पनि थिएन । आकाश खुला पनि थिएन । धुम्म थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।