‘इको लिटरेचर’ अर्थात् वातावरण साहित्यअन्तर्गत लेखिएका ‘स्वच्छन्द सुसेलीहरू–२’ नामक कविता सङ्ग्रह बजारमा आएको छ । ‘स्वच्छन्द सुसेलीहरू’ दुई वर्षअघि नै प्रकाशन भइसकेको छ ।

‘साहित्यका थुप्रै पाटाहरू हुन्छन् । जसमा वातावरण साहित्य पनि एक हो । सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका हरेक वस्तु (सजीव तथा निर्जीव) अनि तिनीहरूबिच अन्तरसम्बन्धको व्याख्या तथा अवस्थाबारे ध्यान दिएर लेखिएका सृजना नै ‘इको लिटरेचर’ अर्थात् वातावरण साहित्य हो ।’ यस कृतिका सम्पादक विजय हितानले यसै कृतिमा समावेश कार्यपत्रमा यी कुरा लेखेका छन् ।

‘उद्योग, कल–कारखाना, यातायातको साधनले उत्सर्जन गरेको कार्बन डाइअक्साइडले विश्वमा गर्मी बढिरहेको छ । हावाको शुद्धतामा कमी आएको छ । धेरै वन्यजन्तुहरू लोप भइसकेका छन् । दश वर्षभित्रमा कार्बन डाइअक्साइड उत्सर्जन कार्य आधा गर्न सकियो भने पनि वातावरण जोगाउन हामीलाई पचास प्रतिशत अवसर मिल्ने छ । यो तीव्र उत्सर्जनलाई कम्तीमा पचास प्रतिशत मात्र रोक्न सकियो भने तापक्रम एक दशमलव पाँच डिग्रीमुनि राख्न सकिन्छ । नत्र जलवायु परिवर्तनको प्रभाव हाम्रो नियन्त्रण बाहिर जान्छ । जसलाई सुधार्न सम्भव रहन्न ।’ जलवायु परिवर्तन विरुद्धकी अभियन्ता स्विडेनकी ग्रेथा थुनबेरी यसो भनेकी छन् ।

आजसम्म हामीले दिनदिनै बहस गरिने राजनीति, जाति, वर्ग, समाज आदि नै मुख्य विषय रहेका छन् । तर फरक विषय लिएर साहित्यको रूपमा माथि ग्रेथाले दिएको चेतावनीलाई नेपालमा पनि बुलन्द बनाउन ‘वातावरण बचाऊ’ अभियानमा ‘स्वच्छन्द सुसेलीहरू–२’ नामक किताब प्रकाशन भएको छ ।

संसारभरि छरिएर रहेका नेपालीहरूले प्रकृति र वातावरण विषयमा भाषण, अर्ति-उपदेश, आक्रोश, इच्छा, चाहाना व्यक्त गरेर कविता, मुक्तक बनाएका छन् । जसमा दुई समालोचक, शुभकामनादाता अनि सम्पादक गरी अरू चार जनाका पनि उही विषयमाथि दोहोर्याई–तेहराई  ‘प्रकृति बचाऊ, वातावरण सफा राख’ भन्ने स्वर एकत्रित भएको छ ।

समालोचक प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेलको भाषामा भन्नुपर्दा, मानिस बाहेक सबै प्राणीमा यौनादि क्रियाकलापको निश्चित समय हुन्छ, तर मान्छे कुनै समय सीमा नभएको अराजक प्राणी हो । वर्तमान विश्वमा वातावरण बिगारेको कुनै अरू प्राणीले नभई मान्छेले नै हो ।

यसरी, प्राणी जगतमा सबैभन्दा बुद्धिमानी प्राणी हामी मानिस हौँ भनी अरू कुनै प्राणीले भनेका होइनन् । मानिसको आफ्नै मपाईंत्व हो । यस्तो मपाईंत्व र अहमको भ्रमबाट बाहिर निस्कन लेखक सरुभक्तका कविताले छर्लङ्ग पार्दिन्छ–
एउटा हल्पी ऐना टाँगिएको छ

ऐनाको तलपट्टि लेखिएको छ– ‘संसारको सबैभन्दा खतरनाक प्राणी’
म चिडियाखानामा झैँ आकर्षित हुन्छु
खतरनाक प्राणी हेर्ने उत्सुकताले
ठिक ऐना अगाडि उभिन पुग्छु
तर अप्रत्याशित
ऐनामा आफ्नै प्रतिबिम्ब देख्छु ।

बिग्रँदै गएको वातावरण सम्बन्धी नेपालीहरूको ध्यान त्यति नगएको हो कि भन्ने लागिरहेको बेलामा यो ‘स्वच्छन्द सुसेलीहरू–२’ नामक सङ्ग्रहले झस्काइदिएको छ । वातावरण दिवसका दिन वनमन्त्रीले एउटा बिरुवा रोपेजस्तो गरेको समाचार बाहेक अरू क्रियाकलाप त्यति भएजस्तो लाग्दैन । गाउँ गाउँमा रोड पुगेको छ । लकडी (काठ टुक्रा पारेर सहरतिर बेच्ने) अभियान चलेको छ । वर्षमा वनमन्त्रीले एउटा बिरुवा रोप्ने र जङ्गलबाट सयौँ रुखहरू मासेर बेच्ने नेपालका प्रवृत्तिमा कति सन्तुलन छ भन्ने ध्यान सायदै कसैलाई होला ।

प्रकृतिका हितैषी मानिएका आदिवासीहरूमा झनै प्रकृति जोगाऊ अभियानको नामै छैन । व्यक्तिगत गाडी किनेर देखाउनुमा प्रतिस्पर्धा छ । सडकछेउ फुटपाथमा पसल छ । ‘प्रकृति बचाऊ, वातावरण सफा राख’ भन्ने अभियान आदिवासीहरूले चलाउनु पर्ने हो । तर, ‘सुनका गहना देखाऊ, रक्सी मासु खाऊ, महँगा लुगा खापैखाप लगाऊ’ जस्ता व्यवहारले व्यापारी मोटाउनु सिवाय अरू केही भएको छैन ।

वास्तवमा भन्नुपर्दा हामी अज्ञानताका कारण आफ्नो विरुद्धमा आफैँ लागिरहेका छौँ । विश्वलाई कस्तो समस्याले गाँज्दै छ भन्ने कुराबाट बेखबर हामीलाई मानवीय व्यवहार कस्तो हुनुपर्छ भन्ने ज्ञान यो कृतिले प्रदान गर्दछ ।

इन्भारोन्मेन्ट एजेन्सी इङ्लेण्डका अफिसर समेत रहेका नेपाली विजय हितानले विश्वभरि रहेका नेपालीहरूलाई प्रकृति र वातावरण सम्बन्धी कविता लेखाएर यो कृति तयार पार्नु आफैमा सह्रानीय काम भएको छ । भलै ‘कविता सङ्ग्रह’ हुनुमा केही अमिल्दो कुराहरू पनि छन् । जस्तो कि, सबै कविहरूका एक-एक कविता समावेश छ भने सम्पादकको चाहिँ बाह्रवटा कविता समावेश छन्, विषय मिल्यो भन्दैमा कुनै बेला लेखिएका कार्यपत्र पनि सङ्कलन सङ्ग्रहमा हालिनु, सम्पादकको मात्र बायोडाटा राखिनुले पुस्तकमा केही बोझिलोपन ल्याएको छ । तापनि यस्तो महत्त्वपूर्ण विषयमा आफ्नै लगानी र सम्पादनमा लगभग तीन सय पृष्ठको मोटो किताब तयार पार्नु अनि विषयका हिसाबले पनि हितानजी धन्यवादको पात्र अवश्य नै बनेका छन् ।

नेपाल बाहिर भने वातावरणको संरक्षण गर भन्ने विषयमा धेरै काम भइसकेको छ । यसै गरी अमेरिकी पूर्व उपराष्ट्रपतिले विश्वका सातै महादेश, भूमध्येसागरीय जङ्गल, उत्तरी तथा दक्षिणी ध्रुव भ्रमण गरेर ‘An Inconvenient Truth’ किताब लेखे । केन्याकी पूर्व वातावरण मन्त्री वांगारी माथाएले अफ्रिकी महिलाहरूलाई परिचालित गर्दै ‘Greenbelt Movement’को नेतृत्व गरिन् । फलस्वरूप दुवैलाई नोबल शान्ति पुरस्कार प्रदान गरियो । यसै गरी जेन गुडअलले ताञ्जानियाको जङ्गलमा वर्षाैं बिताएर चिम्पाञ्जीकाे व्यवहारबारे अध्ययन गरिन् । ‘चिम्पाञ्जी बचाऊ’ अभियानमा दर्जनौँ किताब लेखिन् । भारतमा सुरु गरिएको रुख बचाऔँ भन्ने-रुखलाई अँगालो हाल्ने ‘चिप्को अभियान’ले बिरुवा संरक्षणमा सहयोग पुर्याउँदै आएको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा प्रकृतिको वर्णन गरी लेखिएका नगण्य हिसाबमा किताबहरू लेखिएका छन् । लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका सिर्जनामा प्रकृति सुन्दरताको सुगन्ध पाइन्छ । शाकुन्तल, प्रकृति पोखरा, तरुणतपसीजस्ता कृतिहरू प्रकृतिपरक लेखिएका सिर्जनाहरू हुन् ।

डा. रुपक श्रेष्ठको मुक्तक सङ्ग्रह ‘पोख्तक’, अम्बर नेम्बाङकाे ‘सम्झनाको तरेलीहरू’, गोपाल बस्नेतको ‘आफ्नै सेरोफेरो भित्र’, ध्रुवचन्द्रको ‘जिलिएको’, कार्ण शाक्यको ‘सोच’, राजेन्द्र पराजुलीको ‘अनायिका’, मोहन कोइरालाको ‘सिमसारको राजदूत’ आदि पर्यावरणलाई केन्द्र बनाएर लेखिएका कृतिहरू हुन् । अझ विस्तृत जानकारी त यसै पुस्तकमा समावेश सम्पादक हितानका कार्यपत्रमा पढ्न पाइन्छ ।

पर्यावरण सन्तुलनमा रहन सबै प्राणीका लागि उत्तिकै महत्त्वपूर्ण कुरा रहे तापनि मानिसमा रहेको महत्वकाङ्क्षाले अत्यधिक वातावरण बिगार्ने काम भएको छ । हुन त नेपाललाई नखाएको विष लाग्यो भन्ने कुरा छ । केही सत्य पनि हो । विकसित राष्ट्रहरूले निर्माण गरेको आधुनिक कलकारखानाका कारण नै ओजन तह पातलिँदै गएको विज्ञहरूको भनाइ छ । तथापि नेपालमा यो विषयमाथि बहस गरिने कुनै प्लेटफर्म छैन, न त कुनै पुरस्कार नै । अपवादमा लेखक सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई भने जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।

सम्पादक हितानजीको गुनासो छ– ‘समाज परिवर्तनका लागि लेखिने कृतिहरूलाई दिइने मदन पुरस्कार, पहिचान पुरस्कारजस्ता अब विशेष वातावरण विषयमाथि लेखिएका कृतिलाई प्रोत्साहन गर्न वातावरण पुरस्कारको खाँचो छ ।’ सायद अब, त्यो अपूर्ण काम पनि उनैले पूरा गर्लान् ।

साहित्यले वाद, चिन्तन, राजनीति तथा समाज सुधारका कुरामा प्रशस्त योगदान पुर्याउँदै आएको छ । तर प्रकृति बचाऊ र वातावरणप्रति भने कम चासो राखेको यो कृतिको गुनासो छ । त्यही कम चासो र क्रियाकलापलाई घनिभूत रूपमा अघि बढाउनकै लागि यो कृतिको जन्म भएको मानिन्छ ।

सहरमा बेसी चाप र गाउँमा बाँझो जमिन रहनाले मानिसको बसोबासमा पनि असन्तुलन आएको । मानिसलाई गाउँ फर्काउन सरकारले व्यवस्थित स्कुल, अतिरिक्त शिक्षक र शिक्षामा कडा निगरानी राखेमा मात्र पनि धेरै मानिस गाउँमा नै रहने छन् । गाउँ फर्क अभियानलाई प्रोत्साहन गर्न कवि तथा नियात्राकार केदार संकेतकाे कविताले जोड गर्दछ–

गाउँ दुर्गम, अभाव र अँध्यारो भए पनि
किसानहरूको पसिनाले उज्यालो छ
गाउँ शिक्षामा अयोग्य र निरक्षर भए पनि
प्रेम, सद्भाव र सहयोगले शिक्षित छन् त्यहाँ
सहरमा
झरेको तिम्रै पसिनाले बाफिएर
बेहोस तिमी
गाउँ सम्झ, आँत शीतल हुनेछ ।
लोलाएका तिम्रो आत्मा पनि
गाउँकै पहाडमा बौरिने छ ।

संसारभर फैलिएको कोभिड–१९ महामारीले आक्रान्त केही नागरिकहरूलाई साँच्चै यो कविताले छुन्छ । गाउँमा सेलटर जमाइरहेका मानिसहरूका लागि नै लेखिएजस्तो छ यो कविता ।

समालोचक डा. गोविन्द प्रसाद भट्टराईले यसै कृतिको समालोचनामा लेखेका छन्, ‘सिर्जनात्मक नेपाली साहित्यले दिशा परिवर्तन गर्दै छ । हामी तीव्र परिवर्तनको चक्रमा पसेर नित्य नवीनताको खोजीमा घुम्दै छौँ ।’

अहिलेको अवस्थाले पनि सुझाइरहेछ कि हामीले अब नवीन विषयमा बहस गरौँ । नेपालले वार्षिक २८ हजार १ सय ६६.०६ गिग्राम हरित गृह ग्याँस उत्सर्जन गर्छ । अब नेपालीले कसरी कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान जाओस् । यो कृतिले यस्तै विषयमा सचेत रहन सुझाव दिन्छ ।

विश्वभर फैलिएको महामारी कोभिड –१९ ले संसारलाई थला पारेको अवस्थामा विश्व वातावरणमा भने धेरै सुधार आएको छ । यस कृतिमा केही कविताहरू यही विषयमाथि पनि केन्द्रित छन् :

इन्दिरा प्रसाईं-

‘कोरोना बोल्यो हे मनुवा’

ढ्याङ्, ढ्याङ्, ढ्याङ्, ढ्याङ्, ढ्याङ्
‘जङ्गल नासिछस्
खोलानाला सबै दूषित पारिछस्
पहाड, कन्दरा सबै सखाप छन्
धुवैँधुवाँले आकाश ढाकिछस्
अब आफ्नै सर्वनाश हेर ।’

५–६ जुन २०२० का दिन बेलायतको लण्डन सहरबाट सञ्चालित पाँचौँ वातावरण साहित्य वेबिनार (भिडियो कन्फ्रेनिसिङ) कार्यक्रममा विभिन्न देशबाट वाचिक पचास जना कविहरूको कविता सङ्ग्रहित छन् । थपमा, बाइस जना अतिथि (कार्यक्रमपछि सङ्कलन गरिएका) कविताहरू र सम्पादक स्वयंका १२ कविताहरूको सँगालो नै यो कविता सङ्ग्रह हो । शिल्प र शैलीयुक्त ‘कविता’ भन्न मिल्ने केही कविता छन् भने धेरै चाहिँ ‘कविता’ हुन बाँकी छन् । ती सिर्फ वाक्यांश छन् । यद्यपि, वातावरण संरक्षणका लागि आफूसँग जस्तो शिल्प र ज्ञान छ त्यो लिएर चेतनामूलक आवाजको घना जुलुस निर्माण भएको छ भनी सहर्ष स्विकार्न सकिन्छ ।

जानु काम्बाङ्ग लिम्बू :

‘सहिदको आत्मा’

आहा !
धुलो-धुवाँरहित काठमाडाैँ
प्रदूषणरहित शीतल बतास
बतासको लय पछ्याउँदै
लहराइरहेको सुन्दर रानी पोखरी
पोखरी माथि पखेटा जुधाउँदै
जलनृत्य गरिरहेका राजहाँसका जोडीहरू
पोखरी वरिपरि फन्को मार्दै
पालाम गाइरहेछन्–लिम्बुवानी मेंछ्या–थाङ्घबेनहरू ।

यो सङ्ग्रह धेरै गुणकारी र थोरै दोष बोकेर बनेको छ । केही दोषहरू मध्ये एक कमजोरी हो ती सबै कविताहरू कि त प्रकृति सुन्दरताको गुणगान गाएका छन्, कि त वातावरण ध्वस्त भइसक्यो भनी आक्रोश पोखेका छन् । तर कुनै पनि कविताहरूले नयाँ मार्ग प्रदर्शन गर्न सकेका छैनन् । मानिसले गल्ती दुई तरिकाले गर्छन् । पहिलो, जानाजान; दोस्रो, अञ्जान । यहाँका कविताहरूले जानाजान गरेका मानिसका गल्तीहरू मात्र औँलाएका छन् । दैदिन्य गरिने वातावरण प्रतिकूल क्रियाकलापहरूकाे विकल्प दिन नसक्नु यस कृतिको ठुलो दोष बनेको छ ।

जानेका कुरा आफूमा सीमित नराखी मिठो भाषामा तुरुन्तै प्रचार गरिहाल्ने खुबी मात्र साहित्यकारमा हुन्छ । अब, हरेक साहित्यकारले जलवायु परिवर्तनका विषयमा केही न केही लेख्नै पर्ने अनुरोध गर्दै यो विषयका अभियन्ता विजय हितानले इको साहित्यका भूमिका, परिधि, आवश्यकता आदि सबै जानकारी कार्यपत्रमा खुलाएका छन् ।

अन्तमा, जनहितका लागि सकेसम्म सबै नेपालीहरूले यो कविता सङ्ग्रह ‘स्वच्छन्द सुसेलीहरू–२’ एक चोटि पढेर मनन गर्नु हितकर हुनेछ ।