
युगोस्लाभियाली आख्यानकार तथा कवि इभो आन्द्रिकको जन्म अक्टोबर ९, १८९२ मा ट्राभनिक नजिकै बोस्नियाको डोल्याक गाउँमा भएको थियो । उनले आफ्नो युवा अवस्था बोस्नियामा बिताए । उनले जाग्रेब, भियन्ना र क्राकाउ विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययन गरे । प्रथम विश्वयुद्ध प्रारम्भ हुँदा अष्ट्रिया विरुद्ध अभियानमा लागेको आरोपमा उनी पक्राउ परे। जेल बस्नुपरेको अवधिभर उनको अध्ययन रोकिएको थियो । सन् १९२३ मा युनिभर्सिटी अफ ग्राजबाट डक्टरेटको डिग्री लिएपछि उनी युगोस्लाभियाली कूटनीतिक सेवामा सङ्लग्न भए । साहित्य र राजनीति दुबैमा चाख राख्ने आन्द्रिक दोस्रो विश्वयुद्धको समयमा जर्मनीको राजधानी बर्लिनमा युगोस्लाभियाली मन्त्रीस्तरीय प्रतिनिधि बनाइएका थिए ।
आन्द्रिकले कविताबाट आफ्नो लेखन यात्रा सुरु गरेका थिए । प्रथम विश्वयुद्ध समाप्त भएपछि उनका गद्य कविताका दुई पुस्तक प्रकाशनमा आए। ती मध्ये एउटा हो, चिन्ता (Anxieties, 1919 ) । यस कृतिमा आन्द्रिकको आफ्नो युद्ध अनुभव र जेल जीवनको संस्मरण समेटिएको छ । सन् १९२० मा उनको पहिलो लघु उपन्यास एलिजा जेरजेजको यात्रा (The Trip of Aliza Djeraelez) प्रकाशित भयो। त्यसपछि लामो समयसम्म उनी कथाहरू लेख्न व्यस्त रहे। दुई विश्वयुद्धका बिचमा उनले एउटै नाउँका तीन वटा कथासङ्ग्रह निकाले। कथाहरू (Stories) नाउँका ती कथा सय क्रमशः सन् १९२४, १९३१ र १९३६ मा प्रकाशित भए । आन्द्रिक आफ्ना कथाका विषयवस्तु बोस्नियाको स्थानीय जनजीवनबाट लिन्छन् र ती सामग्रीका आधारमा विश्वव्यापी मानवीय समस्या प्रस्तुत गर्छन्।
दोस्रो विश्वयुद्धताका उनले थप तीन कृति सिर्जना गरे। ती हुन् १. ब्रिज अन द ड्रिना (१९४५), २. बोस्नियन क्रोनिकल (१९४५) र ३. ओमन क्रम साराजेभो (१९४६) । पहिला दुई पुस्तक यात्रा वृत्तान्त शैलीमा लेखिएका ऐतिहासिक उपन्यास हुन्। यी आख्यानमा बोस्निया र त्यहाँका बासिन्दाको जनजीवनको कथा छ। तिनमा पूर्व र पश्चिमका विभिन्न धर्म र सम्प्रदायका स्थार्थी समूहको जीवनको व्याख्या गरिएको छ । उपन्यास ओमन फ्रम साराजेभोमा उनले परिवर्तित सन्दर्भमा सम्पन्न मानिसको युद्धप्रतिको मनोविज्ञान र नयाँ समाजको निर्माणबारे लेखेका छन् । उनका अरू कृति यी हुन् न्यु स्टोरिज (१९४८) र डेभिल्स यार्ड (१९५४) उनको अर्को कथा सङ्ग्रह अनुहारहरू (Faces, 1960) र निबन्ध सङ्ग्रह नोट्स अन गोया, १९६१ पनि प्रकाशित छन् ।
उनी मानवतावादी थिए । उनी भन्छन्, मानिससँग कसैले डराउनु पर्दैन । हो, म 1 मान्छेसँग डराउँदिन, तर तिनमा भएको अमानवीयतासँग भने डराउँछु । उनले आफू जन्मेको ठाउँ बोस्नियाका विभूतिको चित्रण अत्यन्त मार्मिक र सजीव ढङ्गले गरेका छन् । त्यसैबाट उनी प्रख्यात भएका थिए। उनका धेरैजसो रचना अङ्ग्रेजीमा अनूदित छन् । उनले सन् १९६१ को नोबेल पुरस्कार प्राप्त गरेका थिए।
मार्च १३, १९७५ मा बेलग्रेडमा उनको देहान्त भएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

