साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कमाएर खाने कि मागेर चलाउने ?

Chovar Blues Mobile Size

म यसो २५ वर्ष अगाडिको समयमा फर्केर जान्छु । सन् १९९४ अर्थात् विक्रम सम्वत् २०५० साल ।

२०४६ सालको जनआन्दोलनपश्चात् संसदीय संवैधानिक राजतन्त्र स्थापना भएको चार वर्ष भएको थियो । आन्दोलन पंचायति व्यवस्था र राजतन्त्रको विरुद्धमा भएको थियो भन्ने कुरा बिर्सँदै गइरहेको थियो । संविधानका अक्षरहरूमा, नेताहरूको भाषणहरूमा बाहेक जनसाधारणले महसुस गर्न सकिने आर्थिक–सामाजिक रूपान्तरणको झल्को देखिन पाएको थिएन । महसुस गर्न सकिनेगरी एउटा परिवर्तन भने भएको थियो । त्यो हो बोल्न, लेख्नमात्र होइन गालीगलौज गर्न पनि प्रतिबन्ध थिएन । अधिकांश समय शासनसत्ता नेपाली कांग्रेसको हातमा थियो । २०४६ को जनआन्दोलन बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त प्रयासमा भएको भए तापनि २०५० सालसम्म आइपुग्दा पानी बाराबार भइसकेको थियो । नेपाली कांग्रसकै नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागिसकेका थिए । बामहरू आफैँ टुक्रा टुक्रामा विभाजित त थिए नै, सँगै बाम पार्टीहरूको एक मोर्चा २०४६ सालको आन्दोलन र सम्झौतालाई मान्न तयार थिएन ।

यसैबेला नेपाली कांग्रेसको सत्ताधारी मूलधारकै तर्फबाट एउटा नारा आयो– उदारीकरण, बजारीकरण, विश्वव्यापीकरण । जे त्यतिखेरका शासकहरूले भने– सरकारले आफैँले व्यापार गर्ने होइन, उद्योग चलाउने होइन । सरकार त नियमक संस्था हो, त्यसकारण सरकारको स्वामित्व भएका अधिकांश उद्योग अति सस्तो मूल्यमा बिक्री भयो । सरकारले आफैँ भन्यो– हामी व्यवस्थापनमा चुस्त छैनौँ । नीजिक्षेत्र हामीभन्दा व्यवस्थित छ । त्यतिखेरै पनि विशेषत रामशरण महतको नेपालको अर्थतन्त्रमा निर्णायक भूमिका रह्यो । उनको एकल निर्णय नै नीति र कानुन बने ।

यहीबेला युवाहरू विदेश जान थालिसकेका थिए । कामको अवसर थिएन । सरकारी उद्योगहरू विशेषत चिनियाँ सहयोगमा स्थापित उद्योग सबै बिक्री भइसकेर पनि बन्द भइसकेको थियो । निजि बैंक र फाइनान्स कम्पनी खोल्ने लहर चलेको थियो । तीन करोड चुक्ता पूँजी र पहुँच भए बैंक स्थापना गर्न सकिन्थ्यो, फलस्वरूप उद्योगी–व्यवसायीहरू नै बैंक स्थापनामा लागे । कतिपयले त सरकारी बैंकमा तीन करोड ऋण लिएर नयाँ निजि बैंक पनि खोले । त्यसैबेला एउटा अर्को व्यवसाय सुरू भयो , रेमिट्यान्स कम्पनी । नेपालीहरूले मलेसिया र खाडी मुलुकमा काम गर्न गइसकेका थिए । घरमा पैसा व्यक्तिगत विश्वास र हुण्डीको भरमा पठाउनु पथ्र्यो । घरमा पैसा पुग्न कमसेकम एक हप्ता त लाग्थ्यो । ल्याएकै मानिसले खाइदेला कि भन्ने डर पनि थियो । यसैबेला खुलेका रेमिट्यान्स कम्पनीहरूको कारोबार धेरै ठूलो भयो ।

उदारीकरणले नेपालमा आयात बढायो । नेपालका परम्परागत उद्योग धरासायी भयो । सरकारको राजश्व आयातमै बढी निर्भर हुँदै गयो । आयातीत सामान बिकाउन नयाँ सुविधाहरू दिइयो । किस्ताबन्दीमा टीभी, मोटरसाइकल, मोटर पाइन थाल्यो । ती सामान किन्न न्यून ब्याजदर मात्र होइन , शून्य प्रतिशत ब्याजदरमैँ पनि किस्तामा सामान पाइन थाल्यो । जनता झन् झन् उपभोग गर्ने भए ।

sagarmani mobile size
स्नेह सायमि

व्यापार सम्झौताहरू हुँदै गए, हामीसँग निकासी गर्ने सामान छैन । आयात गर्ने प्रसस्त थियो । त्यतिखेरै नेपालमा अष्टे«लियाबाट मासु र जुस आइसकेको थियो, भारतबाट तरकारी र फलफूल त आइरहेकै थियो ।

जुन पञ्चायति व्यवस्थाको विरोध गरियो, उसले जोगाए जतिको अर्थतन्त्र पनि जोगिएन । रामशरणजीको एउटा नीति बन्यो, जे जस्तो ऋण, जे सुकै सर्तमा पनि स्वीकार गर्ने । यसरी नेपाली अर्थतन्त्रमा विदेशी चलखेल बढ्यो । उनीहरूले यसो गर कीउसो गर भन्ने खटन बढ्यो । हामी आर्थिक रूपमा कहाँ छौँ ?अबका दिनमा के के गर्ने ? मात्र होइन, कुन महत्वपूर्ण संस्थामा कसलाई नियुक्ति गर्नेसमेत हस्तक्षेप हुन थाल्यो । विदेशी भन्नासाथ ठूलै मान्छे, हामीभन्दा पक्कै जान्ने बुझ्ने हुनुपर्छ भन्ने हामीलाई लाग्न थाल्यो ।

त्यसपछिका उद्योग भनेका जडान उद्योगमात्र हुन् । जसले न नेपालीलाई रोजगार दिन्छ न विदेशी मुद्रा कमाउँछ । विदेशी मुद्रा कमाउने, नेपालको संस्कृति र परम्परा, नेपालको पर्यावरण जोगाउने, अलिकति भए पनि पैसा नेपाल र नेपालीकै हातमा रहोस् भन्ने सोच पनि सरकारदेखि समाजसम्म हराउँदै गयो ।

त्यसो हुँदाहुँदै पनि अर्थतन्त्र त चलाउनु पर्यो । कसरी चलाउने त ? राजस्व आयातमा निर्भर, उल्लेख्य उद्योग छैन, जस्तोसुकै सर्त मानेर विदेशी ऋण माग्दा पनि अर्थतन्त्र नै चल्नेगरी त पाइएन । कसरी चल्यो त नेपाली अर्थतन्त्र भने रेमिट्यान्स । हामीसँग निर्यात गर्ने एउटै वस्तु छ , मान्छे । प्रत्येक आमाबाले आफ्नो आधाजीवन र आयश्रोत खर्चेर हुर्काएको कलकलाउँदा युवाहरू । धनी देशसँग पैसा छ, आरामदायी र बौद्धिक काम गर्ने मान्छे छन्, तर खतरापूर्ण, फोहोरी कसैले नगर्ने काम गर्ने मान्छे छैनन् । त्यसका लागि यो संसारमा नेपालजस्तै लथालिंग र गरीब मुलुक छन् । आफ्नो देशमा नै युवाहरू टिकाउनु पर्छ र आफ्नो देशमै रोजगार सिर्जना गर्नु पर्छ भन्न सोच छैन । ती देशका नागरिकहरू ऋण काढेर दलालको ढाँटमा फँसेर गाउँबाट सिधै कहिल्यै नदेखेको हवाइजहाज चढ्न आइपुग्छन् र एकैपटक पुग्छन् कि खाडी कि मलेसिया ।

युवाले आफ्नै बलबुतामा केही काम गर्छु भन्यो भने केही छैन, साहुले ऋण पनि दिँदैन । यो अवस्थामा लहैलहैमा ढिलोचाँडो विदेशै हो । त्यही भयो, अहिले २५ वर्षपछि अर्थात् सन् २०१९ , विक्रम संवत २०७६ मा के छ त सिनारियो ?

छोराहरू विदेशमा काम गर्छन्, बुहारीहरू गाउँ छोडेर सदरमुकाम बस्छन् । गाउँघर सुनसान छ । खेतबारी बाँझै छ । बूढाबूढी गाउँमा छन् । अशक्त छन् । उद्योगधन्दा हुने त कुरै भएन । सहरमा उपभोग गर्ने चलन बढेको छ । रोटीको सट्टा चाउचाउ र पिज्जा, बर्गर, स्टिक खाएका छन् । पकाउन मन लाग्दैन । रोजगारदाताहरू शीपयुक्त कामदार नपाएर निराश छन् । भारतीय मूलका मानिसहरूको श्रमबाट सहर चलेको छ । फेरि पनि नयाँ नयाँ मोबाइल फोन, टीभी, मोटरसाइकल, मोटरले सहर जाम छ । गरिब र धनीबीचको खाडल बढ्दो छ ।

यसो हुँदाहुँदै पनि केहीयुवाहरू अलग सोच्छन्, अलग गर्छन् । जस्तै मणिकर कार्की राजनीतिमा रहँदारहँदै बुटवलमा चियाचौतारीको स्थापना गर्छन् । अनुरूप मानन्धर अमेरिकाबाट पढेर फर्केपछि फाइकस बायोटेक कम्पनी स्थापना गरेर टिस्यु कल्चरको ल्याब खोल्छन । आकाश अधिकारी रेडमड कफीसपको चेन बनाइरहेछन् । कुशल सुन्दर श्रेष्ठ हाइड्रोपावरमा लागिरहेछन् । दीप बस्नेत कृषिमा लागेका छन । पवन रेग्मी प्रकाशकको भूमिकामा छन् ।

कमसेकम रोजगारी खोज्न छोडेर रोजगारको सिर्जना गरिरहेछन् । नेपालको अर्थतन्त्र धान्ने बिउ यिनीहरू र यिनीहरूजस्तै नेपालमा नै साना ठूला व्यवसाय गर्ने युवाहरू नै हुन् । यसको उल्लेख्य प्रतिफल अर्को २५ वर्षपछि प्रमाणित हुनेछ ।

प्रतिक्रिया
Loading...