सुन्दरीजल नयाँपाटी काठमाडाैँमा जन्मनुभएका डा. बद्री पाेख्रेलले ज्ञान-विज्ञानलाई अध्यात्मसँग समन्वय गराउने उद्देश्यले पुराणकाे साराशं लेखन कार्य गरिरहनु भएकाे छ । ३२ वर्ष नेपाल सरकारकाे सेवा गर्नुभएका उहाँले बजेट, अर्थ, राजस्व, अन्तर्राष्ट्रिय व्यापार, लैङ्गक विकास र प्रशासनका क्षेत्रमा विशिष्ट अनुभव हासिल गर्नुभएकाे छ । जयतु संस्कृतमका अध्यक्ष समेत रहनुभएका डा. पाेख्रेल अरू धेरै सामाजिक संस्थामा पनि संलग्न हुनुहुन्छ ।
प्रस्तुत छ, लेखक डा. बद्री पाेख्रेलसँग साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
तपाईंले पुराणहरूको अनुवाद गरेको जानकारीमा आएको छ । लामो समयसम्म प्रशासनिक क्षेत्रमा काम गरेको अनुभव भएको व्यक्तिले पुराणकै अनुवाद गर्न थाल्नुको कारण के हो ?
– आजभोलिको नयाँ पुस्ताले पुराणलाई त्यति चासो र रुचिको विषयमा लिँदैन । बरु अज्ञानतावश वा अर्काको बहकाउमा पुराणलाई बुढाबुढीको विषय भन्ने गर्छन् । मैले अङ्ग्रेजी साहित्य र संस्कृत साहित्य र दर्शनको अध्ययन गर्ने अवसर पाएको हुनाले नयाँ पुस्ताले चासो नराख्नुको कारण पत्ता लगाउन र पुराणको उपयोगी पक्षबारे केलाउन मन लाग्यो । त्यसैले पूर्वीय शास्त्रीय मान्यतामा गणना गरिने १८ पुराण पढ्छु भन्ने सोचेँ र संस्कृत नपढेर पनि पुराण पढ्न चाहनेहरूको लागि समेत उपयोगी हुन्छ भनेर हरेक पुराणको अध्याय पिच्छेको सारांश पनि नेपालीमा लेख्न थालेको हुँ ।
भारतमा अङ्ग्रेज-राज सुरु भएपछि ‘भारतीय संस्कृति र विद्या ज्यादै उपल्लो स्तरको रहेछ । यसैले त्यो संस्कृति र विद्या-परम्परामा प्रहार नगरी बेलायती संस्कृतिलाई भारत वर्षमा स्थापित गर्न कठिन छ’ भनेर भारतीय सदनमा सन १८३५ मा टी बी मेकालेले लगेको प्रस्तावले पनि पश्चिमा साहित्यको दाँजोमा भारतीय महाद्वीपको संस्कृति र साहित्यको गरिमालाई उजागर गर्दछ । संस्कृतमा भएका यिनै विशेषता, ज्ञानराशी र नेपालमा हराउँदै गएको आचार विचार, त्यसैको कारणले बढेका द्वन्द्व, रोग, कलह र संस्कृतिको दुरवस्था समेत मनन गरेर पूर्वीय संस्कृतिको महत्त्व बोध गराउन मैले पुराणहरूको अनुवाद गरेको हुँ ।
स्थापित अर्थशास्त्री भएर पुराणको अनुवाद के प्रयोजनले र कसरी गर्नुभयो ?
– मेरो लामो व्यावसायिक जीवन अर्थशास्त्र पढ्न पढाउन र अर्थशास्त्रको व्यापकता भित्र पर्ने अर्थ, वित्त, कर, वाणिज्य, बैङ्किङ, राजस्व जस्ता विषयमा काम गर्ने र गहिरिनु पर्ने मै खर्च भएको हो । त्यसअनुसार मैले अर्थशास्त्रमा नै पी एच डी गरेँ । पढेँ, लेखेँ र त्यसै क्षेत्रमा काम गरेर तीन दशक भन्दा लामो समय बिताएको थिएँ । यद्यपि पारिवारिक पृष्ठभूमि र तत्कालीन बाल्यकाल एवं सामाजिक परिवेशले संस्कृत तर्फ पनि मैले आचार्य सम्मको अध्ययन पुरा गरेको थिएँ । नेपाल सरकारको सेवाबाट अवकाश लिएपछि सेवा अवधिका अनुभव र अनुभूतिले अध्यात्म सेवा गर्ने क्रममा पुराणको अनुवाद गर्न मन लाग्यो ।
अर्थशास्त्रको क्षेत्र विशाल हुँदाहुँदै पुराणतिर लाग्नुको खास कारण पनि बताइदिनुहोस् न ?
– अर्थशास्त्र वर्तमान विश्वको महत्त्वपूर्ण विधा हो । तर पनि यो जगतलाई दुई चिराबाट हेर्नुपर्छ ।
एकाङ्गी भाव मात्र अवलम्बन गर्नु अध्ययनलाई अधुरो छोड्नु हो । मानव सभ्यताको विकासको कुरा गर्दा तपाईं मेसोपोटामिया (हालको सिरिया र इराकको टिग्रिस र युरेफ्रटस नदी बिचको भूभागको मैदानमा विकास भएको) सभ्यता, मिश्रको सभ्यता, युनानी सभ्यता आदिबाट विकास भएको एक थरी मत छ ।
अर्को थरी मत, वैदिक कालमा ऋषि महर्षिबाट विकास भएको अनादि सभ्यतालाई मान्ने गरिन्छ । वैदिक कालीन युगको खास समय अहिलेसम्म कसैले पनि निर्क्याैल गर्न सकिरहेको छैन वा यस बारे पर्याप्त अनुसन्धान नै हुन सकेको छैन ।
यस्ता कुरा धेरै छन् जसलाई पुराणले छर्लङ्ग पारिदिएका रहेछन् । शून्यको उत्पत्ति गुगल हेर्दा अन्दाजी ३ वि सि तिर मेसोपोटामियामा, मायानहरूले ४ ए डि तिर, मध्य पाँचौँ शताब्दीतिर भारतमा, त्यसपछि चीनतिर भनेर अस्पष्ट र अन्दाजी कुरा गरिएको छ । तर, नारद पुराण (जुन अनादि कालमा लेखिएको बारे पण्डितहरू एकमत छन्) मा शून्य मात्र नभएर सिङ्गो गणित, सा रे ग म प ध नि आदि सङ्गीत, राग, छन्द, लय आदिको मसिनो विश्लेषण रहेछ ।
त्यसै गरी अर्थशास्त्रका जनक एडम स्मिथ संसारमा ६ वटा समस्या भए, ७ वटा अर्थशास्त्री जम्मा भएर ७ वटा समस्या देखाउँछन् भनेर आफै जनक भएको शास्त्रको उपहास गर्दछन् । जनसङ्ख्या सिद्धान्तका प्रतिपादक मानिने टि आर माल्थस् खाद्यान्न वृद्धिको दर र जनसङ्ख्या वृद्धिको दर क्रमशः अङ्क गणितीय र ज्योमेट्रिक आधारले हुने भनी भयावह भविष्यको कल्पना गर्छन् । यी भनाइ र शास्त्रले कहिल्यै पनि मानिसले सुखसँग जीवन यापन गर्न नपाउने यथार्थ उद्घाटित हुन्छ ।
त्यो भन्दा त प्राणायामको माध्यमले अभ्यास बढाएर, आत्मा र शरीरको सम्बन्ध विश्लेषण गरेर आत्मिक शान्ति लिन पूर्वीय दर्शन निकै अगाडि रहेको चित्र मेरो मन-मस्तिष्कमा झ्याउले छोपिएर रहेको ढुङ्गो झैँ बसिरहेकाले त्यसबाट झ्याउ किन नपन्छाऊँ जस्तो अनुभव हुन थाल्यो र म पुराणतिर आकर्षित भएको हुँ । त्यसमाथि म पुराणतिर मात्र लागेको कहाँ छु र ?
पुराण अनुवाद गर्ने आधार केलाई बनाउनुभएको छ ?
वस्तुतः मैले पुराणको अनुवाद गर्ने आधार निम्न विषयलाई बनाएको हुँ –
क. जीवनको आखिरीसम्म धेरैतिरको अनुभव लिइसकेपछि सबैलाई आत्मशान्ति, सन्तोष, दान, उपकार भगवत् भक्ति तर्फ प्रवृत्ति बढेको देखेकोले ।
ख. धेरैले संस्कृत पढ्न नसकेको र नपाएको अवस्थामा संस्कृत नपढेकै कारणले पुराण पढ्न पाइन भन्नेलाई पुराण पढ्न सजिलो बनाइदिन ।
ग. संस्कृत पढेकै भए पनि १८ पुराण पढ्न वर्षौं लाग्ने भएकाले त्यत्रो समय दिन नसक्नेहरूलाई सहयोग गर्न ।
घ. विश्वमा व्यापक हुँदै जानुको साथै नासाले समेत चासो लिएको विषय संस्कृत नै भएकोले संस्कृतको सेवा र प्रचार गर्न ।
ङ. पुराणमा भएका विज्ञान, दर्शन, योग, साहित्यको उत्खननमा उत्प्रेरणा जगाउँदै जनसमक्ष पुर्याउन ।
च. अहिलेसम्म पुराणको अनुवाद यस अघि कसैले पनि नगरेको र यो काम गर्दा आफैँ पहिलो भइने लागेर ।
पुराणको प्राचीनतालाई कसरी बुझाउनु हुन्छ ?
– पुराण वैदिक सनातन संस्कृतिका आधारभूत ग्रन्थ हुन् । यसमा ऐतिहासिक र सामाजिक पक्षको प्रधानता भेटिन्छ । यद्यपि पुराणलाई धेरैले वेदमा भएका विषयहरूको व्याख्या भनेका छन् । तापनि अथर्वसंहिता (वेद)ले चार वेद, पुराण र छन्द एकै पटक आविर्भाव भएको बताएको छ । छान्दोग्योपनिषदले पुराणलाई पाँचौँ वेद भनेको छ । १४ विद्या (४ वेद, ६ वेदाङ्ग, पुराण, न्याय, मीमांसा, धर्मशास्त्र) र १८ शास्त्र (१४ विद्या, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र अर्थशास्त्र) मा गणना हुने पुराणलाई २८ औँ व्यासले रचना गरेको बताइएको छ । यी आधार र शास्त्रहरूले पुराणलाई वैदिक कालकै कृति भएको प्रमाणित गर्दछ ।
सामान्य मानिसलाई पुराण कसरी सम्झाउनु हुन्छ ?
– संस्कृत व्याकरणअनुसार पुराण शब्द ‘पुरा भव’ अर्थमा ट्यु प्रत्यय गर्दा बन्दछ । यसको अर्थ पुराना घटनाहरू भन्ने हुन्छ । प्राचीन कालमा नयाँ भएको वस्तुलाई पुराण भनेर यास्कले भनेका छन् । जुन साहित्य पुरातन सृष्टि र लयसँग सम्बन्ध भएर पनि आधुनिक लोकजीवनसँग जोडिन सक्छ, त्यो नै पुराण हो । पुराणले नजानिँदो ढङ्गले शान्ति प्रवाह गर्दछ ।
पुराणमा के के विषय हुन्छन् ?
– पुराणमा प्राचीन इतिहास, साहित्य, जीवनचर्या, संस्कृति आदि विषय समाहित हुन्छन् । अमरकोषले पुराणका पाँच लक्षण हुन्छ भनेको छ (पुराणं पञ्चलक्षणम्) । धेरैजसो पुराणहरूले नै पुराणका विषय उद्घाटन गरेका छन् । वायु पुराण, विष्णु पुराण, सूतसंहिता आदिले पुराणमा १. सर्ग (पदार्थहरूको उत्पत्ति), २. प्रतिसर्ग (नैमित्तिक, प्राकृतिक, नित्य, आत्यन्तिक प्रलय), ३. वंश (भूत, वर्तमान र भविष्यकालीक सन्तति, परम्परा, राजवंश, ऋषिवंश), ४. मन्वन्तर (सृष्टिका कालमानको द्योतक एवं देवता, मनु, सप्तर्षि, भगवानका अवतार र वर्णन), र ५. वंशानुचरित (मनुवंश वर्णन, राज चरित्र)को वर्णन हुने बताएको छ । भागवद्ले पुराणमा १० किसिमका (माथिका ५ र आख्यान, उपाख्यान, गाथा, कल्पशुद्धि, वृत्ति) विषय हुन्छ भनेको छ ।
पुराणमा अध्यात्म तत्त्व, आत्माको अमरता, आत्मोन्नतिका उपाय, शरीर विज्ञान, मनोविज्ञान, चिकित्सा विज्ञान, इतिहास, साहित्य, गणित छन्द आदि विषयहरू छन् । संस्कृत वाङमयमा भएका दर्शन, साहित्य, विज्ञान, कला, कर्मकाण्डहरू पुराणमा छन् । यद्यपि सबै पुराणमा माथि बताइएका ५ मूल विषयको वर्णन हुन्छ भनिए पनि भन्ने शैली, उदाहरण, नितान्त फरक भएकाले पुराणमा वर्णन हुने विषय एउटै र उस्तै भए पनि हरेक पुराण छुट्टा छुट्टै र फरक भएको अनुभव हुन्छ । पुराणमा के विषय हुन्छ भन्नु भन्दा के विषय हुँदैन र ? भन्नेबाट पुराणका विषय बुझ्न सजिलो पर्दछ ।
पुराण र संस्कृतको सम्बन्ध कस्तो छ ?
– मूल पुराणहरू संस्कृतमा लेखिएका हुनाले पुराण र संस्कृतका बिचमा अन्योन्याश्रित सम्बन्ध छ । तर, संस्कृत भाषा मात्र नभएर जीवन पद्धति, जीवन दर्शन, ज्ञान विज्ञानको शास्त्र पनि हो । भाषागत हिसाबबाट संस्कृतलाई प्राचीन भाषा, अतिकमले मात्र बोल्ने (२०६८को जनगणनामा १६०० परिवारमा मात्र बोलिने, यद्यपि २०७८ को जनगणनामा यसको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने जनविश्वास) बताइएको छ ।
संस्कृतलाई कर्मकाण्डीहरूको भाषा, बुढाबुढीसँग सम्बन्धित भाषा भनेर आलोचना गर्ने गरिएको भए पनि ग्रन्थका आधारमा नासा कै टिप्पणीअनुसार पनि संसारमा सबैभन्दा बढी शब्द (१ खर्व २ अर्व, ७८ करोड) शब्द भएको समुन्नत भाषा उल्लेख गरेको छ भने नासाबाट नै सातौँ जेनेरेसनको कम्प्युटरमा संस्कृत भाषा समावेश गरी सन २०३४ सम्ममा बजारमा ल्याउने खबर सुन्नमा आएको छ ।
संसारको सबैभन्दा पुरानो ग्रन्थ वेदको भाषा संस्कृत नै भएकाले शास्त्रीय दृष्टिले पनि संस्कृतले भाषाको रूपमा विश्व-मान्यता पाएको छ । संस्कृतको महत्त्व र गुरुत्वलाई मनन गरेर नै विश्वमा र विशेषतः युरोप र अमेरिकाका विश्वविद्यालयहरूमा संस्कृतको अध्ययन अध्यापन, अनुसन्धान गर्ने विभाग, इन्स्टिच्युट र सङ्कायहरू धमाधम खुलिरहेका छन् । जर्मनीमा मात्र १३०० स्कुलमा संस्कृत पढ्न पाइने खबर छ । नेपालमा संस्कृतको छुट्टै विश्वविद्यालय छ । गीता, महाभारत, कौटिल्यको अर्थशास्त्र, मनुस्मृति जस्ता ग्रन्थहरू संस्कृतमा नै लेखिएको र ती ग्रन्थहरूको विश्वव्यापी खोजी र सम्मान हुनुले पनि पुराण र संस्कृतको सम्बन्धलाई उजागर गरेको छ ।
तपाईं जयतु संस्कृतमसँग पनि सम्बन्धित हुनुहुन्छ, यसको ऐतिहासिक गरिमा कायमै छ ?
– हो, म त्यहाँ अध्यक्षको रूपमा रहेको छु । जयतु संस्कृतम् नेपालको इतिहासमा अविस्मरणीय आन्दोलन/घटना हो । नेपालको इतिहास पढ्ने सबैलाई थाहा छ । अहिले त्यस बेलाको सन्दर्भ आवश्यक र सान्दर्भिक दुवै छैन । यसैले आन्दोलनबाट संस्थाको रूपमा स्थापना भएपछि जयतु संस्कृतमले संस्कृतको प्रचार प्रसार, प्रकाशन, सम्मान, कविता गोष्ठी, अन्तर्राष्ट्रिय स्तरमा संस्कृतको प्रचार आदि काम गर्दै आएको छ । दर्शन र संस्कृत साहित्यसँग सम्बन्धित ग्रन्थ प्रकाशन गर्दै २४ वटा पुर्याइसकेको छ । धेरै दशकदेखि प्रायः बन्द भएकाे संस्कृत नाटकलाई प्रकाशनमा ल्याउँदै छ । सन २०२४ मा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनको निमित्त अग्रणी भूमिका निर्वाह गरिरहेको छ। उत्तर महाभारत लेखनलाई अगाडि बढाइरहेको छ । नियमित, वार्षिक र विशेष गरेर तीन किसिमका कार्यक्रम गरिरहेको । नयाँ सदस्य बढाउने तर्फ लागिरहेको छ ।
पुराणमा के के विषय पाइन्छन् ?
– पुराण भनेको विस्तृत इतिहास हो । इतिहास भनेको राजा महाराजाहरूको कामकाज र पहिलेका घटना मात्र भनेर बुझुञ्जेल पुराणलाई बुझिँदैन । पुराणभित्र सूर्यको गति, ग्रहहरूको दूरी, समय मापनका आधार र ग्रह-ग्रह बिचको सम्बन्ध आदि पनि बताइएको छ ।
गणितका हरेक प्रश्न, ज्योतिष [गणित, जातक (होरा), संहिता] भित्रका हरेक घटनाहरू, शकुन अपशकुन विचार, स्वप्नका फल, योग, तन्त्र, शिल्प, छन्द, लय, राग पनि पुराणमा पाइन्छन् । पुराणमा सदाचार नैतिकता, कर्तव्य, अकर्तव्यका सुचि बताइएका छन् । यसै गरी पुराणमा आस्तिक दर्शन (न्याय, मीमांसा, वेदान्त, वैशेषिक, सांख्ययोग) नास्तिक दर्शन (बौद्ध, जैन, चार्वाक) को विवेचना, साहित्य (कालिदास, माघ, दण्डी आदिका कृतिहरू) कर्मकाण्ड (गर्भाधान, जन्मदेखि मृत्यु-उत्तर सम्मका संस्कार सहितका षोडष संस्कार) पनि समाविष्ट छन् ।
अर्थशास्त्र, राजशास्त्र, कामशास्त्र, मनोविज्ञान पनि पुराणका विषय हुन् । यसैले पुराण ज्ञान र शास्त्रको भण्डार नै हो ।
पुराणमा कहिले सम्मका घटना समावेश भएका पाउनु भएको छ ?
– युग गणनाको आधारमा जसरी आइतबार सोमवार हुँदै एक हप्तापछि पुनः तिनै आइतबार सोमवार दोहरिन्छन्, त्यसै गरी चार युग (सत्य, त्रेता, द्वापर, कलि) पनि दोहरिरहन्छन् । यसरी दोहरिरहने क्रममा हुने भगवानका अवतारदेखि लिएर बुद्ध, राम, विक्रमादित्य, कौटिल्य आदि जस्ता २००० वर्ष पहिले सम्मका घटना र जीवनीहरू पनि पुराणमा छन् ।
के पुराण ज्ञान शास्त्र नै हुन् त ?
– पुराण ज्ञानको पुञ्ज हो । ज्ञान भनेको पढेर, देखेर, सुनेर बुझेर, मनन र अनुभव गरेर पाइने बुद्धि, सिप र कला हो । पुराणले दृश्य, भौतिक वस्तु, अदृश्य परमात्मा, दैवीशक्ति, मायाशक्ति, कल्पना शक्तिदेखि लिएर ब्रह्माण्डका स्थावर (एकै ठाँउमा बस्ने), जङ्गम (चलायमान), विवेकचातुर्य समेतको व्याख्या र विश्लेषण गर्ने भएकाले पुराण र ज्ञानलाई अलग गर्न कठिन हुन्छ । पुराणभित्र ज्ञान र ज्ञानले पुराणकै विषयलाई परिभाषादेखि प्रत्यक्ष, अनुमान, उपमान, शब्द आदि प्रमाणका आधारमा व्याख्या विश्लेषण गरी उदाहरण प्रस्तुत गर्ने भएकाले पुराण र ज्ञानलाई छुट्याउन सकिँदैन ।
पुराणबाट सिक्नुपर्ने र सिकिने कुरा के हुन् भन्ने ठान्नुहुन्छ ?
– पुराण ज्ञानभण्डारको शास्त्र भएकाले र पुराणमा योग, तन्त्र, विज्ञान, दर्शन, साहित्य, चिकित्सा, कर्मकाण्ड आदि विषय समाहित भएकाले जसले जे खोजे पनि पाउन सक्छ । जीवनलाई सफल बनाउन र समाजमा प्रतिष्ठा प्राप्त गर्न पुराणमा बताइएका आचार, आहार, चिन्तन, महापुरुषहरूको जीवनीको अनुसरण र अनुकरण गर्नुपर्ने सन्देश पुराणले नै दिन्छ ।
हेर्नुहोस्, हिजोआज हरेक घरमा द्वन्द्व छ । बाबु आमा र छोरा छोरीको बिचमा बोलचाल समेत हुँदैन । श्रीमान् श्रीमतीका बिचमा सम्बन्धविच्छेदका घटनाहरू बढिरहेका छन् । विश्वलाई बन्धुत्वको दृष्टिले हेर्नुको सट्टा नाफा र स्वार्थको जाल फिँजाउने बजारको रूपमा हेरिन्छ ।
‘सँगै हिडौँ, सँगै काम गरौँ, सबै सुखी होउन्, सबै निरोगी होउन्’को संस्कृतिलाई ‘म खाऊँ मै लाऊँ’को संस्कृतिले पटाक्षेप गरिदिएको छ । मायालाई त्रासले, विवेकलाई स्वार्थले, प्रेमलाई बलात्कारले प्रतिस्थापन गरिरहेको छ । जसले जसरी पनि कमाउनु पर्छ भन्ने सोचले गर्दा समाजमा अपराध बढिरहेको छ । स्रोत बाँडफाँडमा असन्तुलन भएर धनी र गरिवका बिच खाडल बढिरहेको छ । यस्ता समकालीन, दुर्दान्त दृश्यबाट मुक्ति लिन पुराणका विषयहरू अत्यन्त उपयोगी हुने लाग्यो ।
नयाँ पुस्तालाई पुराणको ज्ञान कसरी दिने त ?
– नयाँ पुस्तालाई मूलतः तीन किसिमले हेर्नुपर्छ –
१. जथाभाबी गरेर हिँड्ने र शास्त्र नमान्ने, कसैको कुरा नसुन्ने,
२. पुराणलाई पुराना कुरा भनेर बेवास्ता गर्ने र
३. सुझबुझ भएका र समाजमा केही गराैँ भन्ने सोच भएका ।
पहिलो किसिमका युवाहरू घर-परिवार र समाजका बोझ भएका छन् । घरमा झगडा पार्नेदेखि हत्या, आत्महत्या गर्ने सम्मका दुष्कर्ममा लाग्ने भएकाले परिवार समाज र राष्ट्रकै लागि बोझ भएका छन् । तिनीहरूलाई क्रमशः सोच र व्यवहारमा परिवर्तन ल्याउन पुराणमा बताइएका सदाचार, महापुरुषका जीवनी, उदाहरण र घटनाहरू उपयोगी हुन्छन् । दोस्रो किसिमका युवा-युवतीहरू ज्ञानबाट टाढा छन् । उनीहरूले नजानेको र थाहा नपाएको वा कसैको बहकाउमा लागेको कारणले पुराणलाई बेवास्ता गर्ने भएकाले पुराणका विषयलाई पाठ्यक्रममा समावेश गरेर सरल तरिकाले व्याख्या गर्ने र नेपाली भाषामा पुराणलाई अनुवाद गरेर त्यहाँ भएका गुण र वैशिष्ट्यलाई बाहिर ल्याई उनीहरूको सोचलाई बदल्नुपर्ने हुन्छ । तेस्रो किसिमका पुस्ताले दुवै किसिमका वर्गलाई ठिक बाटोमा ल्याउने सिप, कला र ज्ञान दिनु पर्छ, त्यो क्षमता पुराणले दिन्छ ।
अहिलेसम्म कति वटा पुराणको अनुवाद गरिसक्नुभयो ?
– १८ वटै पुराणहरूको अध्याय पिच्छेको सारांश लेखेर प्रकाशित गर्ने काम सम्पन्न गरिसकेको छु । साथै शिव पुराणको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित भैसकेको छ । सबै पुराणहरूलाई गुगल मार्फत एमेजनको किन्डलको https://www.amazon.com/s?rh=p_27%3ABadri+Pokhrel लिङ्क हेर्न र पाउन पनि सकिने व्यवस्था गरेको छु ।
पुराणका सम्बन्धमा पश्चिमा विद्वानहरूको धारणा के पाउनुभएको छ ?
– पुराणभित्र अथाह ज्ञान भण्डार छ । पुराणमा भएका ज्ञानकोषहरू हजारौँ वर्षअघि तयार भएका हुन् । तर ती ज्ञान कोषका ज्ञानभण्डार सुन राखेर ताला बन्द गरेको कोठा जस्ता भएका छन् । यसैबिच पूर्वीय ज्ञान भण्डारलाई आधार मानेर पश्चिमा विद्वानहरूले प्रतिपादन गरेका ज्ञान विज्ञानका ग्रन्थहरू सरल र सुलभ हुन गए । भाषागत हिसाबबाट पनि संस्कृत कठिन मानिएकाले र संस्कृतका पण्डितहरूले वेद र पुराणहरू सबैले पढ्न हुँदैन भन्ने अपव्याख्या गरिदिएकाले संस्कृतमा लेखिएका ग्रन्थहरू बन्द कोठामा थन्किएझैँ भए ।
त्यसको साथै संस्कृतमा भएका बहुमूल्य ज्ञानभण्डारबारे अध्ययन अनुसन्धान गर्ने तर्फ चासो नजानु पनि उपेक्षाको कारण बन्न गयो । समान शिक्षा र समान कक्षाकै भए पनि संस्कृत तर्फ काम गर्ने शिक्षक, गुरु र कर्मचारीले न्यून तलब र न्यून प्रोत्साहन पाउनु पनि समग्र संस्कृत जगत र पुराणका विषय पछि पर्नुको कारण वन्नगयो ।
संस्कृत युरोपेली भाषाकी जननी मात्र होइन, समग्र दर्शनको स्रोत पनि हो भनेर अमेरिकी इतिहासकार एवं दार्शनिक विलियम जेम्स् डुँराटले चिनाएपछि पश्चिमी जगतले संस्कृततर्फ थप चासो देखायो । त्यो यथार्थलाई फेडेरिक भोन स्लेगेलले “यो संसारमा संस्कृत भाषाको जस्तो नियमनिष्ठा भएको र त्यति दार्शनिक सुस्पष्टताले युक्त अन्य भाषा छैन” भनेपछि नै पश्चिमाहरूले संस्कृतका ग्रन्थहरूको अध्ययन अनुसन्धानलाई तीव्र बनाए ।
एउटा साहित्यकारको नाताले वर्तमान नेपालको राजनैतिक परिदृश्यलाई कसरी नियालिरहनु भएको छ ?
– नेपालको वर्तमान राजनीति अदूरदर्शी नेताहरूको हातमा पुगेको देखिन्छ । त्यसैले राजनीति बिग्रिएको छ । राजनीति सर्वतोमुखी विकासको मियो भएकाले सामाजिक, सांस्कृतिक संरचनाहरू अपाङ्ग जस्ता भएका छन् । अधिकांश सीपहीन अपेक्षित वैदेशिक राजकारीको दौडले सामाजिक शान्ति खलबलिएको छ ।
गाउँ घरका साहित्यिक संस्थाहरू गन्तव्यहीन जस्ता भएका छन् । शहर बजारका लेखकहरू घटिया राजनैतिक नेतृत्वले निराश भएका छन् । पुरस्कार र सम्मानहरू बिक्रीमा भएका र अर्थ र अधिकारका प्रभावले नहुनुपर्ने कुरा भैरहेका गुनासा छरपस्टै छन् । त्यति हुँदा पनि र साहित्यमा जतिसुकै व्यवधान आए पनि यसको महातिर्खाले समाज निर्माणको यात्रामा ढिलो चाँडो सकारात्मक सन्देश प्रवाह गर्न नछोड्ने भएकाले प्रशस्त साहित्यिक रचनाहरू दृश्यमा आएका छन् । गुणस्तर भने छुट्याउनु पर्नेछ । साहित्यिक गोष्ठी, सभा, विमोचन आदिका सङ्ख्याले यसको पुष्टि गरिरहेको छ ।
यो यथार्थलाई नियाल्दा वास्तविक साहित्यकार असल साहित्यले समाजको निर्माण गर्छ भन्ने सैद्धान्तिक धरातलले एक मूर्त रूप लिने आशा गर्न सकिन्छ ।
तपाईंले नेपाली साहित्य लेखनमा के के काम गर्नुभएको छ ?
– मेरो नेपाली साहित्य लेखनको सुरुवात कविताबाट भएको थियो । सुरुमा बालसाहित्यबाट लेखन सुरु गरेको थिएँ । केही वर्ष रेडियो नेपालबाट मेरा बालकृतिहरू प्रसारणमा आउँथे । त्यसपछि भने मैले अध्ययनलाई प्राथमिकतामा राखेँ ।
फाटफुट लेख रचनाहरू विभिन्न पत्रपत्रिकामा आइरहन्थे । मेरो पहिलो पुस्तकाकार कृति साझा प्रकाशनबाट प्रकाशित दश पोका भित्रका पन्ध्र अञ्जुली (यात्रा निबन्ध) हो । त्यसपछि भने अर्थशास्त्रको सम्पत्ति कर, छन्दका कविता ‘म भित्र अर्कै छ‘, Land Revenue Administration, Fiscal Policy (अङ्ग्रेजीमा), शक्ते दार्शनिक विवेचनम् (संस्कृतमा) व्यवस्थापनका पाँच आयाम आदि प्रकाशित भएका हुन् ।
मलाई यात्रा गर्न र यात्रा गर्न र यात्रा साहित्य लेख्न मन पर्छ । त्यसअनुसार मैले नेपालका ७७ जिल्लाको भ्रमण गरेर लेखिएका ७७ वटा निबन्ध समेटिएको ‘मेची-काली‘ आदि प्रकाशनमा आएका हुन् । यस्तै, आधुनिक गीतहरूको सङ्ग्रहमा रूपमा विभिन्न ख्यातिप्राप्त गायकहरूले गाएका गीतहरूको सङ्ग्रह ‘आरोग्य‘ प्रकाशित भएको छ । यस्तै पुराण तर्फ नेपालीमा २० वटा र अङ्ग्रेजीमा एउटा (शिव पुराण) समेत प्रकाशित भैसकेका छन् भने अहिलेसम्म सबै विधामा गरेर ३३ वटा पुस्तक प्रकाशित भएका छन् ।
अर्थशास्त्र तर्फ के के उल्लेखनीय काम गर्नुभएको छ ?
– मेरो जीवनको अधिकतम कालखण्ड अर्थशास्त्र विधामै बित्यो । करिब २५ वर्ष (विदेश गएको, अध्यापन अनुमति लिने अनुकूल नपरेको, अस्वस्थ भएको अवस्था बाहेक) प्राइभेट गलेजमा अध्यापन गरेँ । रेडियो नेपालमा करिब दुई वर्ष अर्थ जगत कार्यक्रम चलाएँ, कान्तिपुर र अन्नपूर्ण पोस्टमा अर्थ जगत स्तम्भ लेखेँ । धेरै कलेज र विश्वविद्यालयको विशेष आग्रहमा अर्थशास्त्र पढाउन, एम.फिल र पि.एम्.डी. का अनुसन्धान पत्र र कृतिहरू हेरेँ /मूल्याङ्कन गरेँ र गर्दै पनि छु । त्यो भन्दा महत्त्व पूर्ण त अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय आदिमा अर्थ, योजना, अन्तर्राष्ट्रिय व्यापार विषयमा काम गरेँ । धेरै देश विदेशमा अर्थ वित्त सम्बन्धी सेमिनार गोष्ठीमा नेता र सदस्यका नाताले भाग लिएँ, विचार व्यक्त गरेँ, ध्त्इ बैठकमा नेपालका समस्याबारे बताएर सहयोगका लागि कन्भिन्स् गराएँ ।
अब तपाईं पुराण कै काम गरिरहनु हुन्छ कि अर्थशास्त्री नै बन्न चाहनुहुन्छ ?
– पुराणको एक चरणको काम सकिएको छ । अब समयसापेक्ष हुने गरेर सबै पुराणका अङ्ग्रेजीमा ५-६ मिनेटका भिडियो बनाएर पश्चिमा जगतलाई पनि पूर्वीय दर्शनको रसास्वादन गराउने तर्फ लागेको छु । म अध्ययन/लेखन नगरी बस्न नसक्ने स्वभावको भएकाले अध्ययन र लेखनलाई नै निरन्तरता दिने सोच बनाएको छु ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
– फुर्सदको समय भन्ने नै मलाई हुँदैन जस्तो लाग्छ । यद्यपि केही समयदेखि स्वास्थ्यले साथ दिन गारो मानिरहेको छ । हेरौँ, भविष्य कता मोडिने हो ।
प्रवासी नेपालीका सम्बन्धी तपाईंको भनाइ के छ ?
– अब दिनानुदिन संसार साँघुरो भइरहेको छ । सीमाहीन विश्वबारे कुरा चल्दै छ । यस अवस्थामा को स्वदेशी, को प्रवासी ? अहिलेसम्म जो जो प्रवासीका रूपमा रहनु भएको छ उहाँहरूको पनि नेपालप्रतिको माया र नेपाल सरकारको पनि द्विदेशीय अनुमति पत्र दिने कुराले झन् स्वदेशी विदेशी बिचको अन्तराललाई घटाएको छ ।
अरू केही भन्नु छ कि ?
– धन्यवाद, त्यो भन्दा बढी भन्नु हे छ र ! तपाईं आफू पनि प्रवासमा बसेर नेपाली साहित्यको सेवामा लागिरहनु भएको हुनाले साहित्यको उत्खनन, प्रचार र महत्त्वबारे जान्नुहुन्छ । मेरो शुभकामना छ, लागिरहनुहोस् । अहिलेको त्याग र लगनशीलताको उपयोग भावी पुस्ताले गर्न पाउनेछन् ।
हाम्रो काम ‘चरैवेति, चरैवेति‘ नै हो, निरन्तरता नै हो ।
धन्यवाद !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२७ कार्तिक २०८२, बिहीबार 









