आदिपुरूषको ह्याङ उत्रियो ? कि अझै बाँकी छ ? ह्याङ बाँकी छ भने अर्को ह्याङ थप्नुस् । आज हामी बलिउडले सन् १९४२ अर्थात् भारत विभाजनअघि बनाएको फिल्मका बारेमा चर्चा गर्नेछौँ ।

यो फिल्मको शुरूवाती दृश्य हेरेर चकित नहुनु होला किनभने यसमा रामराज्य फिल्मको नाउँसँग विभाजनपूर्वको नक्सा देखाइएको छ, जहाँ पाकिस्तान, भारत, बाङ्लादेश र बर्मासमेत जोडिएको छ । इतिहासका विद्यार्थीका लागि यो रोचक पक्ष हो ।

भारतमा त्यो बेला प्रायः मिथक वा इतिहासमा आधारित फिल्महरू बनाइन्थे । यो फिल्म रामायणको कथामा आधारित छ । फिल्मको शुरूवात वाल्मीकिले रामकथा पूरा गरेपछि सुनाउने इच्छाबाट हुन्छ । रामको कीर्ति चारैतिर फैलन्छ । कोमलभावका वाल्मीकिले आफ्ना राजाका बारेमा प्रशस्ति लेख्छन् र यसको खबर रामलाई दिन अह्राउँछन्, एक शिष्यलाई ।

शिष्य अयोध्या पुग्नु र धोबीले आफ्नी पत्नीलाई रात अन्तै बिताएर आएका कुरामा रामसँग जोडी अर्काले लगेकी स्वास्नी फिर्ता ल्याउने म रामजस्तो हुँ र ? भनेर जोरी खोजेपछि रामले सीतालाई त्याग गर्नु लगभग उही समय हुन्छ ।

जब शिष्यले रामलाई तपाईंको जीवनी पूरा भएको वाल्मीकिले खबर गर्नु भएको छ भनी सुनाउँछ, रामले त्यो अझै अधुरै छ भनी फर्काइदिन्छन् ।

जंगलमा छाडिएकी सीता वनदेवी नामले वाल्मीकिकै आश्रममा बस्न थाल्छिन् र समयक्रममा जुम्ल्याहा सन्तान जन्माउँछिन् । लव‑कुश पराक्रमी भएर हुर्कन्छन् र रामकै सेनासँग भिड्न थाल्छन् । अन्त्यमा रामविरूद्ध नै शस्त्र उज्याउने आफ्ना कलिला बालकहरूलाई रामले शक्तिशाली अस्त्र प्रयोग गर्ने बुझेपछि सीता प्रकट हुन्छिन् र बाबु‑छोराहरूको मिलन गराउँछिन् ।

प्रजाकै मनोभावले सीता त्यागेका राम र उनकी पत्नी‑पुत्रहरूको मिलन त भयो तर रामले सीतालाई दरबार लैजान कठिन हुन्छ । यसबीच उनले खबर पाउँछन्, प्रजाहरूले आफ्नो गल्ती महसुस गरेर सीतालाई फिर्ता ल्याउन चाहन्छन् । यो थाहा पाएपछि राम पनि खुसी हुन्छन् ।

तर यही बेला ठूलो भूकम्प आउँछ र सीता जुन भूमिबाट निस्किएकी थिइन्, त्यही भूमिमा विलीन हुन्छिन् ।

रामले आफ्ना दुई छोरालाई अयोध्या लगेसँग फिल्मको अन्त्य हुन्छ ।

यो फिल्ममा सीता बनेकी छन्, उस जमानाकी प्रख्यात अभिनेत्री शोभना सामर्थ । उनी नूतन र तनुजाकी आमा थिइन् । अर्थात्, काजोलकी हजुरआमा । सन् ४० र ५० को दशकमा उनी निकै चर्चित कलाकार थिइन् ।

यो फिल्म विजय भट्टले निर्देशन गरेका हुन् । फिल्म रिलिज हुँदा त्यो बेला मुम्बईको एउटा सिनेमा हलमा सय हप्तासम्म चलेको थियो भने भारतका अन्य कतिपय ठाउँमा ५० हप्ताभन्दा बढी चलेको थियो ।

रामका रूपमा प्रेम अदीबले अभिनय गरेका थिए ।

यो फिल्मको सबैभन्दा रोचक पक्ष त, महात्मा गान्धीले हेरेको एक मात्र फिल्मका रूपमा चर्चित छ । वृद्ध गान्धी मुम्बईको जुहुस्थित अस्पतालमा सन् १९४५ ताका उपचारार्थ भर्ती भएका थिए । गान्धीले फिल्म हेरिदिऊन् भन्ने यसका निर्देशक विजय भट्टको इच्छा थियो । गान्धीका निजी सचिवले ४० मिनेटको समय भएकाले फिल्मको रोचक पक्ष मात्र हेर्न भ्याउने बताइएको थियो । तर हेर्दाहेर्दै उनले साढे २ घण्टाको फिल्मलाई डेढ घण्टासम्म हेरेका थिए ।

आउनोस्, हामी पनि त्यो इतिहासको साक्षी बनौँः