एउटै बैङ्कमा चार महिना जति सँगै काम गरेपछि अनिल (नाम र केही विवरणहरू परिवर्तन गरिएको छ) आफ्नो सहकर्मी सपनासँग प्रेममा परे । आफूहरू बिच रिपोर्टिङ सम्बन्ध नभएकोले उनीहरूले खासै स्वार्थ बाझिने अवस्था देखेनन्। उनीहरूले कहिलेकाहीँ ठुलो टोलीमा सँगै काम गरे तर डेटिङ गर्दा एउटै टोलीमा भने थिएनन्।
अनिल काममा कसैसँग रोमान्टिक रूपमा संलग्न भएको यो पहिलो पटक थियो। त्यत्तिको अनुभव पनि थिएन र त्यसैले उनले जोखिमहरूको ख्याल गरेनन्। सुरुमा अनौपचारिक सम्बन्ध जस्तो लागेकोले उनीहरूले कसैलाई भन्न चाहेनन्। तर जब सम्बन्ध गम्भीर भयो, धेरै ढिलो भैसकेको थियो। अनिलको कामको एकजना साथी र सपनाको रूममेटलाई मात्र यो सम्बन्धको बारेमा थाहा थियो। अरूलाई भन्ने हिम्मत नै भएन।
अन्ततः सम्बन्ध चिसियो र उनीहरूको जोडी टुट्यो । उनीहरूले विभिन्न प्रोजेक्टहरूमा सँगै काम गर्नुपर्यो । यो सबैभन्दा अप्ठ्यारो भाग थियो। एक आपसमा राम्रो व्यवहार गर्ने कोसिस गर्दागर्दै पनि घरीघरी तनाव र रिस उठ्ने खालको असन्तुष्टि देखिन्थ्यो । अरूले उनीहरूको मनस्थिति त बुझेनन् होला तर आफ्नै लागि भने यो पक्कै पनि सुखद थिएन । त्यही अप्ठ्यारोबिच एक आपसमा दूरीको आवश्यकता पनि देखियो । फलस्वरूप अनिल कम्पनी छोड्न बाध्य भए ।
त्यसो भए, के आफ्नो सहकर्मीसँग प्रेम गर्नु कत्तिको उचित हो त?
संयुक्त राज्य अमेरिकामा गरिएको भर्खरको सर्वेक्षण अनुसार अफिसभित्र हुने रोमान्स निरन्तर बढ्ने क्रममा छ।
कार्यस्थलमा रोमान्टिक सम्बन्धहरू सामान्य हुन थालेका छन्। तथ्याङ्क हेर्ने हो भने अधिकांश कर्मचारीहरू आफ्नो क्यारियरको कुनै न कुनै बिन्दुमा अफिस रोमान्समा संलग्न भएका हुन्छन्। वास्तवमा, यस अध्ययनमा संलग्न ६८% मानिसहरूले कार्यस्थलमै माया पिरती बसेको खुलेर स्वीकार गरे। यसमा कम उमेर समूहका धेरै देखिए। हुन पनि हृदयका कुरालाई कामकाजका मामिलाबाट अलग राख्न अरूलाई भन्दा बढी गाह्रो हुन्छ कम उमेरका व्यक्तिहरूलाई।
अब एक छिन अफिस रोमान्सका सम्भावित नकारात्मक परिणामहरूतिर जाऔँ ! माथि उल्लिखित अध्ययनका अनुसार, यस्ता प्रेम प्रसङ्गले नराम्रो मोड लिने सम्भावना त्यति धेरै टाढा छैन। अन्तर्वार्तामा सहभागी ३७% व्यक्तिका अनुसार जुन अवधिमा उनीहरू सहकर्मीसँग रोमान्टिक सम्बन्धमा थिए, त्यस बखत उनीहरूको उत्पादनशीलता घटेको थियो। त्यति मात्र होइन, २६% उत्तरदाताहरूले यस्ता प्रेम सम्बन्धको कारण उनीहरूको जीवनमा गम्भीर विचलन आएको उल्लेख गरे भने २२% ले विशेष रूपमा तनाव महसुस गरेको स्वीकारे। तिनीहरूमध्ये लगभग ६०% ले सम्बन्ध लुकाउन रुचाए, त्यस्तै ४२% भने आफ्ना सहकर्मीहरूले खिल्ली उडाउला कि भन्ने डरमा बाँचे।
छोटकरीमा भन्नुपर्दा, कार्यकक्षको छिमेकीसँग प्रेममा पर्नु घातक साबित हुन सक्छ । विशेष गरी, जब सम्बन्ध आफ्नो इच्छाअनुसार अघि बढ्दैन वा दुई मध्ये एक जनाको छवि र विश्वसनीयता माथि आँच आउने यस्तो सम्बन्धको जोखिम लिन सक्षम हुँदैन वा चाहँदैनन्। माथिको छोटो प्रेमकथा त्यसकै एउटा नमुना उदाहरण हो।
जब वहाँहरूजस्तै दुईजना व्यक्तिहरू प्रेम सम्बन्धमा पर्छन्, सम्भावना दुईवटा हुन्छन्। कि त्यो सम्बन्ध दिगो रूपमा अघि बढ्छ कि त बिचमै टुट्छ। नतिजा जे होस्, यस्ता प्रेम सम्बन्धहरू कार्यस्थलमा हुँदा भने अरू अवस्थाहरू पनि सिर्जना हुन्छन् जसले आफ्नो करिअर र संस्थाको कार्य संस्कृतिलाई नै नकारात्मक असर पुर्याउन सक्छ। दीर्घकालीन सम्बन्धहरू बन्ने सम्भावना हुँदाहुँदै पनि, उचित र नैतिक रूपमा अगाडि नबढ्ने हो भने भविष्यमा थुप्रै समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ। त्यसैले भावनात्मक रूपमा अघि बढ्नुअगाडि संयमता र सजगता अपनाउनु पर्ने हुन्छ। त्यसो भए, के कस्ता सावधानी अपनाए यस्ता जोखिम न्यून गर्न सकिन्छ? हेरौँ तल उल्लेखित केही महत्त्वपूर्ण बुँदाहरू।
१. संस्थाको नीति नियम रुजु गरौँ
सहकर्मीसँग प्रेम-सम्बन्ध कायम गर्नुअघि संस्थाको यस्तो प्रेमप्रतिको नीति के कस्तो छ, त्यो समीक्षा गर्नु महत्त्वपूर्ण हुन्छ । कुनै संस्थाले सहकर्मीबिच प्रेम-सम्बन्ध मनाही गर्छन् भने अरूले भने हाकिम र कर्मचारीबिचको सम्बन्धलाई मात्र वर्जित गर्छन् । आफ्नो संस्थाको नीति बुझेपछि व्यक्तिहरूलाई सुसूचित निर्णय लिन र नकारात्मक परिणामबाट बच्न मद्दत मिल्छ ।
२. आफ्नै हाकिमसँग प्रेम सम्बन्ध नखोजौँ
धेरैजसो कार्यस्थलमा हाकिम र कामदार बिच सम्बन्ध राख्न प्रोत्साहन दिइँदैन । यस्तो सम्बन्धमा हुने शक्ति सन्तुलनले गर्दा स्वार्थ बाझिने तथा नातावाद र हिंसाले प्रश्रय पाउने हुन्छ। आफ्नो हाकिमसँग सम्बन्ध राख्दा एकातिर आफ्नै इज्जत र करियरमा धक्का पुग्न सक्छ भने अर्कोतिर कार्यस्थलमा तनाव उत्पन्न हुने सम्भावना बढ्छ। कदाचित हाकिमप्रति आकर्षण भएको खण्डमा रोमान्टिक वा व्यक्तिगत अन्तरक्रिया गर्नबाट बच्नु र त्यस्तो सम्बन्धलाई व्यावसायिक राख्नु नै उत्तम हुन्छ।
३. व्यावसायिक हुने कोसिस गरौँ
कार्यालयभित्रका सम्बन्धहरूलाई व्यावसायिकमै सीमित राख्नु आवश्यक हुन्छ। यसो गर्दा सम्भावित विवाद र गलत बुझाइहरूबाट बच्न सकिन्छ। कार्यस्थलमा आफ्नो सीमा कायम गर्न अति जरुरी हुन्छ सार्वजनिक रूपमा प्रेम प्रकट गर्नु वा आफ्ना प्रेम सम्बन्धका अन्तरङ्ग कुरा गर्नुबाट पछि हट्नु पनि उत्तिकै जरुरी हुन्छ। केही गरी त्यस्तो सम्बन्ध टुटेको खण्डमा आफ्ना व्यक्तिगत भावनाले कामलाई असर नपर्ने गरी व्यावसायिक रहन र सँगै काम गर्न सक्नु उति नै अपरिहार्य हुन्छ।
४. आफ्नो सम्बन्ध सकभर गोप्य नराख्नुस्
सहकर्मीसँग नयाँ सम्बन्ध गाँस्नु आकर्षक लाग्न सक्छ तर त्यस्तो सम्बन्ध पछि गएर कस्तो हुने हो भन्ने अन्योल हुनु स्वाभाविक हो। तर यसलाई गोप्य नराख्नु नै राम्रो हुन्छ। यति भन्दै गर्दा, पहिलो डेटपछि नै थाहा दिनु पर्छ भन्ने पक्कै होइन। टेक्सस विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक आर्ट मार्क म्यान भन्नुहुन्छ, “आफ्नो सम्बन्धबारे पहिले नै खुलासा गर्दा पछि हुने अप्ठ्यारोपनबाट बचिन्छ अनि आफ्नो व्यावसायिक छवि पनि कायम हुन्छ।” तर दुईजना ठुलो संस्थाको फरक-फरक विभागमा काम गर्छन् र संस्थाको नीतिले पनि खुलाउनु आवश्यक छैन भने गोप्य नै राख्दा पनि खासै फरक नपर्न सक्छ।
५. आपसी संवादलाई खुला राख्नुस्
केही गरी त्यस्तो सम्बन्ध स्थापित भएको खण्डमै पनि त्यसलाई स्वस्थ राख्न उचित संवाद हुनु जरुरी छ। आफ्ना अपेक्षाहरू के हुन्, सीमाहरू कहाँ कोर्ने, सम्भावित विवाद कसरी समाधान गर्ने — यी सबैबारे आफ्नो जोडीसँग खुलस्त र साँचो बातचित गर्नु अत्यावश्यक हुन्छ। आफ्ना इरादा र भावनाहरूबारे स्पष्ट हुन सकेको खण्डमा गलतफहमीहरू हुँदैनन्, काममा नकारात्मक असर कम हुन्छन्।
६. सम्बन्धले कामलाई असर गर्न नदिनुस्
कार्यालयमा भएको प्रेम सम्बन्धले आफ्नो कामलाई हस्तक्षेप गर्न दिनु हुन्न। व्यक्तिगत कुराभन्दा कामको जिम्मेवारीलाई बढी प्राथमिकता दिनु पर्छ। संस्थाको विश्वसनीयतामा आँच न आओस्, नातावाद नहोस्, वा व्यक्तिगत स्वार्थको लागि संस्थाका श्रोतको दुरुपयोग नहोस्। केही गरी त्यस्तो सम्बन्धले काममा प्रभाव परेको देखियो भने त्यसको समयमा नै सम्बोधन हुनु पर्छ। यस्तो अवस्थामा केही परिवर्तनको पहल गर्नु आवश्यक हुन्छ ता कि काम कर्तव्यहरू निर्बाध निर्वाह होस्, दायाँबायाँ नहोस्।
७. भावी परिणामहरू प्रति तयार रहनुस्
साँच्चै भन्ने हो भने कार्यालयका प्रेम सम्बन्धको नतिजा अप्रत्याशित हुन सक्छ। त्यसमा संलग्न व्यक्तिको करियरमा होस् वा संस्थाकै संस्कृतिमा होस् दुवैमा नकारात्मक असर पर्ने धेरै सम्भावना हुन्छ। अतः त्यस्ता प्रेम सम्बन्धको सम्भावित नतिजाप्रति तैयार रहनु पर्छ भने सम्बन्धमा सजगता र सचेतता अपनाउनु जरुरी हुन्छ। कसरी? आफ्नो हाकिमसँग वा जनश्रोत विभागका अधिकृतसँग आफ्नो सम्बन्धको बारे स्पष्ट हुने, संस्थाप्रति आउन सक्ने नकारात्मक असर न्यून गर्न कदम चाल्ने, आदि इत्यादि।
कार्यस्थलमा हुने प्रेम सम्बन्धहरू जटिल र संवेदनशील स्वभावका हुन्छन्। त्यसैले तिनले व्यक्तिगत र व्यावसायिक जीवनमा अहम् भूमिका खेल्छन्। कार्यस्थलमा अप्ठ्यारा अवस्था सिर्जना नगर्न र संस्थाको कार्य संस्कृति लाई क्षति नपुर्याउन माथि उल्लेखित टिप्सहरू अवलम्बन गर्न जरुरी हुन्छ। व्यावहारिक जीवनमा कसरी यो हासिल गर्न सकिन्छ, तलको उदाहरण हेरौँ।
सञ्जय र उनका सहकर्मी रिता ट्राभल एजेन्सीमा काम गरिरहेका थिए जब एकर्कामा रुचि लाग्न थाल्यो। तर उनीहरू रोमान्टिक सम्बन्ध बनाउने कुरामा भने हिचकिचाइरहेका थिए। । दुवैको सोच एउटै थियो: काममा डेटिङ गर्नु गलत हो। एक अर्का बिच आकर्षण पक्कै थियो तर पनि तिनीहरूले कहिले पनि खुला रूपमा फ्लर्ट गरेनन्। आफ्ना फोन मेसेजहरू पनि मित्रतापूर्णमै सीमित राखे। तीन महिनाको अनिश्चितता पछि उनीहरूले डेटिङमा जाने निधो गरे। दुवै जना करियर-केन्द्रित थिए र आफ्नो सम्बन्धलाई व्यावसायिक राख्न चाहे।
केही महिनाको पर्खाइपश्चात् संस्थाको जनशक्ति विभागसँग आफ्ना कुरा राखे। संस्थाको फरक-फरक तहमा रहेकाले स्वार्थ बाझिने स्थितिमा पुग्नुअघि नै यस्तो वार्ता महत्त्वपूर्ण थियो। उनीहरूले आफू कम्पनीप्रति समर्पित रहेको र आफ्नो करियरलाई असर गर्न नचाहँदा नचाहँदै प्रेममा परेकोले अबको बाटोको लागि सुझाव मागे। उनीहरूले सकारात्मक प्रतिक्रिया पाए। उनीहरू एउटै परियोजनामा नरहने र सञ्जय, जो रिताभन्दा वरिष्ठ थिए, उनको कार्य सम्पादन समीक्षा वा पदोन्नतिको लागि जिम्मेवार नहुने तरिकाले अघि बढ्ने जनश्रोत विभागसँग सहमति भयो।
यस्तो समर्थन प्राप्त भएपछि रिताले यो विषय आफ्ना सहकर्मीहरूसँग खुलाए। त्यतिबेला सहकर्मीबिच त गफ सुरु भयो, तर त्यसलाई चिन्ताको विषय हुन दिएनन्। दुवैले कडा परिश्रम गरिरहे र करियरलाई गम्भीरतापूर्वक लिएको छैन भनेर मानिसहरूले सोच्ने मौकै दिएनन् ।अफिसमा हुँदा एक अर्कालाई सहकर्मीहरू जस्तै व्यवहार गर्थे। चिया पिउन बाहिर जान्थे तर सधैँ मूल ढोकामा भेट्थे। केही वर्ष पछि उनीहरूले विवाह पनि गरे।
पक्कै पनि, कार्यस्थलमा गाँसिने प्रेम सम्बन्धहरूले केहीको जीवनमा सुख र पूर्णता ल्याउन सक्ला । यस्ता सम्बन्धहरू निर्वाह गर्दा आफू, सहकर्मी र संस्थाप्रति पनि सजगता र सम्मान अपनाउनुपर्छ । तर गलत तरिकाले सम्बन्धलाई विस्तार गरेको खण्डमा भने नकारात्मक परिणामहरू पनि निम्त्याउन सक्छ । आखिरमा कार्यस्थलको वातावरणलाई व्यावसायिक र स्वस्थ राख्नु सबैको कर्तव्य हो। यसमा नै सबैको हित हुन्छ।
********************
लेखक पेसाले इन्जिनियर र अध्यापक हुनुहुन्छ। उहाँका लेखहरू यहाँ पढ्न सकिन्छन् : lifeandbeyond.substack.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।