निक मार्स
सिंगापुरकी अभिनेत्री तथा मोडल तथा पूर्व रेडियो जकी जेमी यिओलाई पछिल्लो समय एआईले सिर्जित डिप फेक (वास्तविक मान्छे उपस्थित नभई गरिने कार्यको भिडियो रूपान्तर)सँग कुनै समस्या छैन । बरू डिप फेक बनाउन उनले सहयोग गर्ने भएकी छन् ।
यतिबेला नेटफ्लिक्समा चार्ली ब्रुकरको नयाँ शृंखला प्रसारणमा छ । त्यसको पहिलो भागमा अभिनेत्री सल्मा हायकले आफ्नै आख्यानीकृत चरित्र निभाएकी छन् । उनले सो चरित्रका लागि आफैँ सुटिङमा सहभागी हुनु परेन, उनले आफ्ना सारा तस्बिरहरू खिचाइन् र कम्पनीलाई जिम्मा लगाइन् । डिप फेकले नै अभिनयका सारा कामहरू गरिदियो ।
टेलिभिजन शृंखला ब्ल्याक मिररको जोन इज अफुल शीर्षकमा अभिनेत्री हायक देखिन्छिन् । उनले त्यसका लागि कुनै अभिनय गरिनन् । कम्प्युटरले नै जे जे गराउनु पर्ने थियो, गरायो ।
तर यी सबै क्रममा सल्मा हायकलाई चाहिँ कस्तो अनुभूति भयो त ? पक्कै पनि राम्रो अनुभूति भएन ।
यतिबेला हलिउडमा लेखकहरूले हडताल गरिरहेका छन् । उनीहरूको हडताल लम्बिएको छ । हडताल लम्बिएसँगै कलाकारहरू पनि सो हडतालमा साथ दिन निस्किएका छन् । उनीहरूको चासो अबका दिनमा के छ भने, कलाकार मर्यो भने पनि त्यो कलाकारले अब अभिनय गर्न सक्नेछ । त्यस्तो अवस्थामा उनीहरूको अधिकार स्टुडियोको हातमा हुन्छ कि मृत कलाकारको हातमा हुन्छ ?
आर्टिफिसियल इन्टेलिजेन्सले तपाईंले अह्राएको लेख्ने मात्र गर्दैन । उसले तपाईंले दिएका विवरणमा आधारित रहेर तस्बिर, चित्रकला, अडियो स्वर मात्र होइन, भिडियो पनि बनाइदिन्छ । त्यसमा अब वास्तविक कलाकारहरूका तस्बिर र भिडियोहरू संलग्न गराइयो भने त त्यसले अझ के के चमत्कार गरेर सिर्जनात्मक उद्योगलाई कुन हालतमा पुर्याउने हो भन्ने कसैले आकलन गर्न सकेको छैन ।
यस्तोमा यो नयाँ प्रविधिले धेरैलाई उत्साह र निराशा दुवै अवस्थामा ल्याइदिएको छ । यस्तोमा सिंगापुरे कलाकार जेमी यिओलाई भने चिन्ता छैन ।
हालै उनले ह्युगोसेभ नामक एउटा फाइनान्सियल टेक्नोलजी कम्पनीसँग एउटा सम्झौता गरेकी छन् । सो कम्पनीले उनका तस्बिर, अडियो, भिडियोलाई जस्तोसुकै गरी उपयोग गर्न सक्ने कागजमा हस्ताक्षर गराएको छ ।
यसका लागि अब केही साता उनी एउटा हरियो पृष्ठभूमिमा उभिन्छिन् । त्यहाँ उनी नवरसका सारा गतिविधिहरू गर्छिन् । कुद्छिन्, हल्लिन्छिन्, टहल्छिन् । रिसाउँछिन्, हाँस्छिन्, रून्छिन् ।
यी सारा भिडियो खिचिसकेपछि अब उनलाई नक्कल गर्न एआई मेसिनलाई सजिलो हुन्छ । अब उसले तपाईंको ठीक नक्कलले जे पनि गर्न सक्ने भयो । यसको परिणाम सुखद् पनि हुनसक्छ, दुखद् पनि हुनसक्छ ।
‘मेरा सारा अडियो, भिडियो र तस्बिरहरूको जे पनि हुनसक्छ, दुरूपयोग पनि हुनसक्छ,’ जेमी भन्छिन्, ‘तर यो प्रविधि हो । हामीले अब रोकेर रोकिनेवाला छैन । डरका कारण यसलाई अँगाल्न सक्नु भएन भने अलि आँटिलोले यसलाई अँगाल्ने छ र तपाईं पछि पर्न सक्नुहुन्छ ।’
केही समयअघि पेप्सी कम्पनीले प्रख्यात फुटबल खेलाडी लियोनेल मेस्सीलाई लिएर त्यस्तै प्रयोग गरिसकेको छ । उनले लेज नामक कुरमुरेका लागि आफ्ना भिडियो उपयोग गर्न सकिने स्वीकृति दिएका थिए । अहिले सोही स्वीकृतिअनुसार उनको नयाँ विज्ञापन तयार भएको छ, जहाँ उनले लेजको स्वादबारे बखान गरिरहेका छन् । साथै, तपाईंले मेस्सीलाई के सन्देश भनून् भन्ने लागेको छ, त्यही भनिदिन्छन् ।
अहिले उनको स्वरमा स्थानीय भाषाहरूमा ती विज्ञापन आइसकेको छ । भोलिका दिनमा उनले नेपालीमा बोले भने आश्चर्य नमान्दा हुन्छ । कुनै डबिङ कलाकारले उनको स्वर प्रतिस्थापना गर्नै पर्दैन ।
मेस्सीबाहेक यस्तै कुराका लागि प्रयोगमा सहभागिता जनाउन राजी भएका फुटबलर डेभिड बेकह्याम र हलिउडका कलाकार ब्रुस विलिस पनि छन् । तर उनीहरूले पछि पूर्ण रूपमा आफ्ना छवि उपयोग गर्न रूचाएनन् । प्रायोगिक रूपमा मात्र उनीहरू सीमित रहे ।
किङ्स कलेज लन्डनका मार्केटिङ विज्ञ डा. किर्क प्लाङ्गर भन्छन्, ‘अबका केही वर्षमा डिपफेक (वास्तविक मान्छे उपस्थित नभई गरिने कार्यको भिडियो रूपान्तर) विज्ञापन जगतमा कामको एउटा अर्को विधामा परिणत हुने देखिन्छ ।’
डिपफेककै कारण नयाँ सिर्जनशीलताको ढोका खुल्ने उनको धारणा छ । यसले पहिला पहिला भिडका लागि तयार पारिने विज्ञापन, अब खास विशेष व्यक्ति वा सानो समूहका लागि पनि बनाउन सकिने सम्भावना बढेर गएको छ । र, यस्ता माइक्रो टार्गेट गरिएका विज्ञापनहरूको प्रभाव ज्यादै प्रभावशाली हुने उनको धारणा छ ।
यिओ भन्छिन्, ‘पछिल्लो समय कलाकारहरूले कम मिहिनेतमै पनि बढी फाइदा दिलाउन वा लिन सक्छन् र त्यसका लागि एआई सहयोगी औजार हुनसक्छ ।’
पहिला पहिला एउटा भिडियो तयार पार्न महिनौँ लाग्थ्यो। एउटा विज्ञापन सुट गर्न हप्तौँ लाग्थ्यो । त्यसलाई महिनौँ लगाएर तयार पारिन्थ्यो र जम्माजम्मी एउटा भिडियो तयार हुन्थ्यो । त्यसपछि संसारका विभिन्न भाषामा डब गरिन्थ्यो । त्यसका लागि अर्को महिना लाग्थ्यो । अब एआईको सहयोगले महिनौँको समय हप्तौँमै सकिने सम्भावना बढेर गएको ह्युगोसेभ विज्ञापन एजेन्सीका सहसंस्थापक ब्राहम जिजेलीको भनाइ छ ।
तर कुरा चाहिँ यत्ति सुन्दर मात्रै छैन । यसका अँधेरा पक्षहरू पनि उत्तिकै छन् । डा. प्लाङ्गर भन्छन्, ‘एक चोटी जब हामी एआईलाई जगाउँछौँ, यसले नजाने कयौँ नराम्रा कुराहरू पनि साथै लिएर आउँछ । त्यसैले विज्ञापन उद्योगले त्यस्ता अँधेरा पक्षबारे समयमै सचेत हुनुपर्छ । प्रविधिको नैतिक उपयोगमा बढीभन्दा बढी ध्यान दिन जरूरी छ ।’
उनको तर्क छ, समुचित उपयोग नभए भोलिका दिनमा विश्वासको संकट आउन सक्छ । उपभोक्ताहरू के सही, के गलत भनेर रनभुल्ल पर्ने अवस्था आउन सक्छ । अहिले नै राजनीतिक सन्देश तथा अश्लील सामग्री उपयोगमा दुरूपयोग बढिरहेको अवस्थामा भोलि अझ कहालीलाग्दो अवस्था आउनसक्ने उनी देख्छन् ।
अहिले तपाईंका तस्बिर र भिडियोहरूलाई दुरूपयोग रोक्न खास र प्रभावकारी कानुनको अभाव छ । मानौँ, भोलिका दिनमा मेस्सीको जुन छवि छ, त्यसलाई नै हानि पुग्ने गरी विज्ञापकहरूले दुरूपयोग गरिदिए भने के होला ?
सिंगापुरका कानुन विज्ञ ताङ सेङ रोङ भन्छन्, ‘अहिले हामी एआईको डिपफेक नामक अज्ञात दुलोमा छिरेका छौँ । त्यहाँबाट अनेकन् राम्रा‑नराम्रा विषयहरू निस्कँदै जानेछन् । हानिकारक पक्षलाई न्यूनीकरण वा नियन्त्रण गर्न के कस्ता कानुन र नियमहरू बनाइन्छन्, त्यसले एउटा आकार प्रदान गर्दै जानेछ ।’
यिओ भन्छिन्, ‘हामी अहिले नै आत्तिनुपर्ने अवस्था छैन । परेको बेहोर्दै जाने हो । यदि तपाईं खेलमा जमिरहन चाहनुहुन्छ भने खेलबारे सिक्दै अघि बढ्नुको विकल्प छैन । तपाईं सिक्नु हुन्न, खतरा मोल्नु हुन्न भने तपाईंले कामबाट अवकाश लिनु नै उत्तम हुन्छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।