हिजोआज मसँग साहित्यको चर्चा कमैले गर्छन्। बरु अरू अरू कुरा गर्छन्। लेख्न पहिले पहिले हौसला दिने हिजोआज आँखा तर्छन्। कति सुनुन् ?

एक समयमा त साहित्यको नशाले गर्दा दिशा गर्न पनि बिर्सिन्थेँ। घरमा को के काम, कति हतारले आयो मतलब नराखी खाता निकाल्यो बररर कविता भट्ट्याउन थाल्यो। कति पो खपुन् ? आउनै छाडे। पहिले पहिले त म यता कविता भट्याउँथे उता श्रीमती फतफताउँथिन्। अहिले कोही नआउँदा उनलाई पनि सुन्ने भएछ। अस्ति त खै तपाईं हिजोआज कविता लेख्ने छोड्नु भयो त पो अरे गाँठे माझ मुखैबड।

यो कुराले गर्दा मलाई दाल मे कुछ काला हाय भन्ने भइहाल्यो। मेरी श्रीमती र मेरा कविताको साइनो कंस र श्रीकृष्णको जस्तो थियो। निज्जै मामा भानिजको जस्तो। आज उनको कंस प्रीतिले मलाई छक्क पार्‍यो। म अनुसन्धानमा निस्किएँ, घटनाको सुराक खोज्दै।

कारण त दरै रछ। जायज पनि। उनले फेसबुक पल्टाउँदा एउटा पोस्ट देखिछन्। लाख लाख पुरस्कार। पहिलो एक लाख, दोस्रो असी हजार र तेस्रो साठी हजार। जम्माजम्मी दुई लाख चालिस हजार। पैसाको छेल्लो खेलाइ हुने। नुहाउनै पुग्ने। हिसाब गरिछन् – तपाईँ एक लाख, म असी हजार र छोरी साठी हजार। घरैमा सबै सोरसार पार्ने।

‘अनि तिमी कविता लेख्छौ ?’

‘तपाईं लेखेर मेरा नाउँमा पठाइदिनु।’

‘अहँ, हुँदैन। आफै लेख ?’

‘अनुवाद गर्दा हुन्छ ?’

‘कुन कविता ?’

‘पार सराइ उरी गोल।’

‘त्यस्तो कविताले भेट्छ ?’

‘किन भेट्दैन ? त्यो कविता जति चर्चित कविता अरू कुन छ ? सबका मुख मुखमा छ। कालजयी कविता हो।’

मलाई हाँस उठेको थियो तर हाँस्न सकिनँ। घरछेउको दाँतको डाक्टर छुट्टीमा गएको थियो। ऊ नहुँदा मलाई हाँस्नै आउँदैन। कुरो अर्कोतिर लगेँ।

‘अनि यत्रो दुई लाख चालिस हजार के गर्नु ? बल्छीमा एकै चोटि तिनै वटा माछा परेछन् भने त म हाइप्रेसर भएको मान्छे स्ट्रोक भएर मर्छु त !’

‘पैसा के गर्नु ? तपाईँलाई घरको चासो भए त हो। कति थोकको खाँचो छ। गोठका टिन सबै दुला परे। पानी कतै जाँदैन। बाख्रा जतिलाई लुतो लागेर निलीमाको खुइले कुकुरजस्ता भका छन्।’

‘लुतो लाग्यो ?’

‘अँ, देख्नु हुन्न ? तपाईंलाई त अनि तेस्रो आँखे भन्छन् त।’

‘अनि बाख्राको लुतो खेदाउन तेत्रो पैसा चाहिन्छ ? साउने सँग्राती आउँदै छ। त्यसै दिन खेदाउँला।’

‘धेर फक्कड कुरा नगर्नु है। सग्राँतीले लुतो खेदाउँछु ?’

‘फक्कड कुरा ? यो हाम्रो संस्कृति हो। आफ्नो संस्कृतिलाई फक्कड भनेकी ? यो कुराको विचार हुनुपर्छ। संस्कृतिको अपमान गर्न पाइँदैन, पाइँदैन। संस्कृति विरोधी होसियार, होसियार।’

मैले नारै लगाएँ। कुरा टार्ने कौशल।

‘त्यो कुरा होइन, थपक्क कविता लेख्नु र पैसा भेटेर गोठका टिन फेर्नु।’

‘गोठ( गुहाली) को जिम्मा मेरो होइन। दाहाल बाबैको हो, अचार्य दाजु-भाइको हो।’

‘ऐ बराल, बराल !’ लु हेर फेरि! अर्को काउसो टुप्लुक्क। आह्रिसमान पाँडे। अब यसले झन् बलेको आगामा घिउ थप्ने पर्‍यो।

‘ऐ बराल, बराल। आज तैँले मेरा कविता हेर्दिनु पर्छ। नाइँनुइँ गर्न पाउँदैनस्।’ आँगनबाटै बरबराउँदै आयो।

‘तेरा कविता ? तँ व्याकरण छोडेर कहिलेदेखि कवि भइस् ?’

‘त्यो कुरो छोड। हेर्छस् हेर्दैनस् सोझै भन्।’

‘देखा।’

आह्रिसमानेले तिन वटा कविता देखायो। उसका पनि घरमा तिन जना जहान छन्। बुढा-बुढी अनि चार वर्षको छोरो। धन देख्दा महादेउका तीन नेत्र भनेझैँ उसको पनि हाल मेरै जस्तो भएको रहेछ।

कविता हेरेँ। पहिलेको कविता कता कता पढे पढे जस्तो लाग्यो। ठम्याउन सकिनँ।

‘ऐ तैँले यो कहाँबाट चोरिस् ? साँच्चो भन् नभए हेर्दिनँ।’

आह्रिसमाने मलाई ढाँट्दैन। एउटा पुरानो हिन्दी पत्रिकाबाट चोरेछ साथीले। पत्रिकै देखायो।

अर्को हेरेँ। माथिकोसँग बिचको, बिचकोसँग तलको प्रसङ्ग अर्को अर्कै छ। शैली पनि भिन्नाभिन्नै छ। भाषा पनि तिन खालको छ । कता कता गोडाचारेक भेटेजस्ता वाक्य छन्।

‘ऐ, यो ?’

‘कसम होला यो त त्यस्तो हुबहु छैन। यो चल्छ बुझिस्।’

‘अनि यो चाहिँ कसरी लेखिस्?

‘यो रिमिक्स हो। एक जनाको किताब पढेर धेरै वटा कविताका पङ्क्ति ल्याएको छु अनि अरू पनि कता कता बटुलेको। यो थाहा पाउँदैनन्।’

मैले मार झपारेँ। ऊ सहभागिताबाट वञ्चित भयो। मैले पनि लेख्न सकिनँ।

‘दाजु, ए दाजु !’ बाहिर धरणी आएछ।

‘भित्र आइज।’ मैले बोलाएँ।

‘बस्तिनँ। भरे सात बजेतिर धनेकामा मिटिङ छ, आउनु है जसरी भए पनि।’

‘केको मिटिङ ?’

‘भी.डी.पी। अब गाउँमा ड्युटी बस्ने। चोरको रमरमी छ। अस्ति पाठककोमा डाका पसे। दानेमाइलाकामा पनि चोर आएको। बडझारतिर उस्तै छ। गाई बाख्रा केही राख्दैन। म हिँडेँ। तपाईं आउनु।’

मेरा लुतो लागेका बाख्रा चोरे चोरोस्। ढुक्कै हुन्थ्यो। मैले आह्रिसमानेका मुखतिर हेरेँ। चोरको मन पुलिस पुलिस्।

अब यी कविता चोरको ड्युटी कसले गर्ने ?