
चार पाँच कक्षा पढ्दादेखि नै मलाई गीतसङ्गीतको भोक लागेको हो । इन्डियन क्यासेट प्लेयर हामीहरू त्यसलाई डेक भन्थ्यौँ, त्यसमा रिल भएको चक्कावाला क्यासेटमा गीतसङ्गीतको भोक मेटाउन थालिसकेको थिएँ । प्लाइबोर्डमा स्पिकर राखेर त्यसलाई बेस आवाजमा सुन्ने, नभए घैँटोको मुखतर्फ स्पिकर राखेर सेटेरियो आवाज बनाएर सङ्गीतको व्यञ्जन तयार गर्थेँ ।

अरुण थापा
त्यति बेला क्यासेट किन्ने पैसाको अभाव त हुने नै भयो त्यसैले पुराना सुनेर मिच्छिएका क्यासेटमा गीत डबिङ गर्थेँ । एउटा गीतको तीन रुपैयाँको दरले त्यसमा मन परेका गीतहरू डब गराउँथेँ । त्यति बेला एउटा नाकेनाके स्वरमा खुब दर्द भेटाउन थालेँ । दर्दको अर्थ पनि थाहा नभएको मलाई उनको आवाजले लट्ठै बनाउन थाल्यो । त्यसैले मैले उनका सबै गीतहरूलाई डब गरेर सुन्न थालेँ । उनी हुन् सङ्ख्यात्मक हिसाबले कम गीत गाएर नेपाली सङ्गीतमा अजर-अमर बन्न सफल आवाज अरुण थापा ।
दोष कसैलाई दिन चाहन्न, ऋतुहरूमा तिमी, भुलु भुलु लाग्यो मलाई, म रोए पनि तिमी हाँसिदिनु, जति माया लाए पनि आदि गीत कण्ठस्थ गाउँथेँ । उनको आवाजसँग मेरो यस्तो मोह थियो कि उनलाई नसुनी म अपूरो भएको महसुस गर्थेँ । आज श्रावण-५ गायक अरुण थापाको स्मृति दिवस । उनलाई धेरै सम्झेको छु । उनीसँग गीत सुनेर बिताएको पोषणयुक्त समयलाई सम्झिएको छु ।
अरुण थापालाई नेपाली गीतसङ्गीत सुन्ने श्रोताले निकै मन पराए । वियोगान्त गीतमा बढी खुल्ने अरुणको आवाजमा भएको फिलिङ्सले प्रायः सङ्गीतप्रेमीको मन जितेको पाइन्छ । भर्खर भर्खर गिटार बजाउन सिक्नेदेखि लिएर गायनमा रुचि भएका सबैले उनको गीतसँगै अभ्यास गरेको पाइन्छ, देखिन्छ । उनका बारेमा हल्ला चल्ने गर्थ्यो, उनी निकै पियक्कड हुन् रे, प्रेमिकाले छोडेर गएपछि यस्तो सेन्टिमेन्टल गीत गाएका हुन् रे, उनी ड्रग्स पनि लिन्छन् रे, उनी अस्तव्यस्त छन् रे आदि इत्यादि । पछि अलि बुझ्ने भएपछि थाहा भयो मैले बच्चामा सुनेका केही हल्लामा सत्यता थियो भने केही हल्लालाई चङ्गा बनाएर उडाउने काम भएको रहेछ ।
नेपाल बैङ्कका वरिष्ठ अधिकृत गुन्जबहादुर थापाका छोरा अरुण थापाको साङ्गीतिक काल झम्सिखोलाको हुलाकको बक्सा भएको र पहिलो पटक बिजुली र टेलिफोन जडान भएको त्यस बेलाको सबैको नजरमा परेको घरमा बित्यो । उनको त्यति बेलाको सङ्गत घर अगाडिको गणेश मन्दिरमा मित ओम विक्रम विष्ट, रेकर्डिङ वादक मदन परियार, मुकुन्द खड्का, दिवाकर खड्का लगायतको जमघट हुन्थ्यो ।
पप सम्राट् ओम विक्रम विष्ट अरुण थापाका मित हुन् । उनीहरूको मित साइनोको पनि रोचक कथा छ । गणेश मन्दिरमा सङ्गीतको माहौल जमाउने टोलीमाथि आक्रमण भयो । सो ग्याङ फाइटमा अरुण र ओम जमेर लडे । रक्ताम्य भए । त्यही रगतको थोपा एका अर्कालाई लगाएर मितेरी साइनो गाँसे ।
उनी नारायण गोपालद्वारा पनि मन पराइएका गायक हुन् । त्यति बेला नारायण गोपाललाई मन पर्ने गायकको नाम लिन लगाउँदा । नारायण गोपालले भनेका थिए रे, `मन पर्ने गायक धेरै छन् तर आशालाग्दा गायक भनेको अरुण थापा र दीप श्रेष्ठ हुन् ।´
= = =
अरुण थापाको अधुरा प्रेमकहानी :
साङ्गीतिक माहौलमा भिज्दै गर्दा अरुण थापासँग आफ्नै मौलिक गीत थिएनन् । उनले हिन्दी गीत गाए विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागिता जनाउँथे । एकपटक पोखराको पिएन क्याम्पसको कार्यक्रममा उनले किशोर कुमारको `मेरा जीवन कोरा कागज´ गीत गाएका थिए । सो गीत सुनेपछि एकजना युवती यति धेरै प्रभावित भइन् कि प्रेम प्रस्ताव नै राखिन् । प्रेम प्रस्ताव राख्ने युवती थिइन् – विमला पालिखे । अरुणले विमलाको प्रस्ताव स्वीकार गरेर बिहे समेत गरे । विमला र अरुणको बिहेमा विमलाको परिवार खुसी थिएनन् । अरुण थापाको विवाहित जोडीलाई विमलाको परिवारले टुटाइदिए । विमलासँग छुटिएपछि अरुण झन् अव्यवहारिक हुँदै गए । लागूपदार्थ दुर्व्यसनमा फसे ।
उनले दोस्रो बिहे पनि गरे ललितपुरकी मुना केसीसँग । त्यो सम्बन्ध पनि त्यति राम्रो हुन सकेन । छोरी जन्मेपछि अरुणमा लामो समय पछि खुसी थपिएको थियो । आर्थिक अवस्था कमजोर भएपछि आफैँले किनेर श्रीमतीको नाममा राखेको जग्गा बेचेपछि अरुण थापा र उनकी श्रीमती बिच सम्बन्ध विच्छेद भयो । क्रमशः अमर गायक अरुणले एक पछि अर्को गर्दै सबैको साथ गुमाउँदै गए । श्रीमतीले छोरी समेत लगेर दोस्रो विवाह गरिन् ।
= = =
अरुण थापाको अस्तव्यस्त जीवन :
अरुण थापाका अस्तव्यस्त जीवन जिउने गायकमा पर्छन् । उनका फुटकर गीतहरू धेरै भए पनि एल्बम भने निक्लिसकेको थिएन । वि.स २०५४ सालतिर मगर सङ्घले उनको एकल एल्बम निकाल्ने तय भयो ।
शंकरदेव क्याम्पसअगाडि लाफा भवनमा विमोचन हुने भयो । प्रमुख अतिथि थिए, कवि वैरागी काइँला । साथमा केही मन्त्रीहरू, सङ्गीतकार प्रकाश गुरुङ, युधीर थापालगायत त्यस बेलाका सङ्गीत अनुरागी सबैको उपस्थिति थियो । सबै आए, तर गायक अरुण स्वयं भने आएनन् । सो कार्यक्रमको उद्घोषक प्रकाश सायमी थिए ।
२ बजे तय गरिएको कार्यक्रममा साढे तीन बजेसम्म अरुण थापा उपस्थित नभएपछि उनीबिना नै कार्यक्रम सम्पन्न गरियो । विमोचन सकाएर प्रकाश सायमी लगायतको समूह पद्मकन्या क्याम्पसबाट जाँदै थियो । त्यहाँ एउटा भीडबाट हल्ला आयो एउटा जाँड खाएर लडेको जँड्याहालाई प्रहरीले लिएर गयो भन्ने । पछि बुझ्दा थाहा भयो । उनी अरू कोही नभएर सोही पक्राउ पर्ने व्यक्ति थिए । भोलि पत्रपत्रिकामा अरुण थापाको दुइटा समाचार आयो । एउटा अरुण थापाको एकल एल्बमको विमोचन र अर्को प्रहरीद्वारा पक्राउ गरिएको । पछि घटनाबारे छानबिन गर्दा थाहा भयो उनी बागबजार स्थित प्रेमिका विमलाको घरमा खबर पुर्याउन गएका थिए तर त्यहाँ विमलाको परिवारले लफडा गर्यो भनेर प्रहरीमा बुझाएका रहेछन् ।
उनको जीवनमा लागूपदार्थको आगमनले नराम्ररी जरा गाड्यो । असफल प्रेम र पारिवारिक समस्याले गर्दा उनी एडिक्ट हुँदै गए । २०४५ सालमा लागू पदार्थ दुर्व्यसनीको आरोपमा उनी १५ महिना जेल पनि बसे । तैपनि नशाले उनको जीवनलाई छाडेन । अत्यधिक लागू पदार्थ सेवनकै कारण उनलाई कलेजोको हेपाटाइटिस बिको सङ्क्रमण भयो । घर छुट्यो, परिवार छुट्यो । उनको जीवन ‘देवदास’ झैँ भयो । जीवनका अन्तिम क्षणमा अमृत गुरुङ, ईश्वर गुरुङ र बहिनी मिना थापाले अरुणको हेरविचार गरे ।
= = =
अरुण थापाको जीवन :
जनवरी महिना भनिए पनि आजसम्म जन्मको गते खुल्न नसकेका अरुण थापा विसं. २००९ सालमा भारतको कलकत्तामा जन्मिएका थिए । तत्कालीन भारतीय महावाणिज्य दूतको सहयोगमा उनका बुवा गुञ्जमान थापा नेपाल राष्ट्र बैङ्कमा अधिकृत तहमा जागिर खान काठमाडौँ आउँदा अरुण मात्र तीन महिनाका थिए । शान्ति थापामगरको कोख र काखलाई उजिल्याउँदै धर्ती पदार्पण गरेका अरुण थापा भाइ पुरण थापा र बहिनी मुना थापाको दाजुको रूपमा जन्म लिएका थिए । उनकी सौतेनी आमाका तर्फबाट जन्मिएका किरण थापा पनि अरुण थापाका प्रिय भाइ मध्येका एक थिए ।
भाइ किरण थापा अरुणको साङ्गीतिक जीवनको अन्त्यसम्म सँगै नै थिए । काठमाडौँको गणबहालबाट शिशु कक्षाको अध्ययन प्रारम्भ गरेका अरुणले पछि क्षेत्रपाटीस्थित जेपी हाइस्कुलमा प्राथमिक तहसम्मको अध्ययन गरे । प्राथमिक तहको अध्ययन पछि असाध्यै चकचके र छुकछुके व्यवहार सहन नसकेपछि उनलाई राम्रो शिक्षा प्राप्त गरुन् भन्ने उद्देश्यले उनका बुवा गुञ्जमानले दार्जिलिङको प्रसिद्ध टर्नबुल हाइस्कुलमा भर्ना गरिदिएका थिए ।
कक्षा ९ सम्म त्यहाँ अध्ययन गर्दा अरुण थापा पढाइको होइन, सङ्गीतको लती बनिसकेका थिए । गितारका कर्ड्सहरू राम्ररी फिट्न सक्ने भइसकेका थिए । सङ्गीतको सङ्गतले पढाइ बिग्रिने देखेपछि फेरि उनका बुबाले उनलाई २०२६ सालमा काठमाडौँ ल्याए । त्यसपछि उनी काठमाडौँको जुद्धोदय हाइस्कुलमा कक्षा ९ मा भर्ना भए र त्यसको दुई वर्षपछि उनले मध्यम श्रेणीमा एसएलसी पास गरे ।
पहिलो पटक नेपाल बैङ्कले पोखरामा क्षेत्रीय शाखा खोल्दा उनका बुबा ’नेपाल बैङ्क लिमिटेड पोखरा’का क्षेत्रीय महाप्रबन्धक बनेर पुगेका थिए। अरुणको सिङ्गो परिवार पोखरा पुग्यो । उनी मानविकी अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । त्यहीँबाट प्रारम्भ भयो, उनको साङ्गीतिक जीवनको अनुष्ठान ।
अरुणका बुवा गुञ्जमान पनि राम्रा तबला वादक थिए ।
साहित्यकार सरुभक्त भन्छन्, ’पोखराको पालिके चोकस्थित नेपाल बैङ्कको आवासमा हुने जमघटमा उनका बुवाले तबला बजाउँथे र अरुण र अरूहरू गीत गाउँथे । अरुणको सङ्गीतको विरासत उनको घरको वातावरण नै हो । त्यही निवासमा नै अरुणले ’जति माया लाए पनि’मा धुन फुराएका थिए।’
कान्तिपुर गेस्ट हाउसको एउटा दुर्गन्धित कोठामा सुगन्धित स्वरको अन्त्य हुने बेलासम्म उनलाई उनका आफन्त, परिवार, समाज, साङ्गीतिक क्षेत्र र राज्यले समेत उद्धार गर्न सकेन । कसैले गरेका उद्धारका कार्य पनि असम्भव नै भए । उनले गीतका त्यान्द्रामा नसा घोलिरहे । नसाको लहडमा गीत घोलिरहे । गीत र नसामा आफैँलाई बिर्सिरहे । २०५२ साल मङ्सिरमा आयोजना भएको एकल साँझमा ठडिँदा पनि नशाको लैबरीमा उनले गाए । कार्यक्रम सुरु हुने बेलाभन्दा अघि उनी दुई घण्टा ट्वाइलेटमा हराएका थिए ।
पब्लिक गेस्टहाउसमा बस्थे उनी। त्यहीँ उनी थला परे। त्यसपछिका चार दिन उनका लागि सारै कष्टकर भए। बिरामी भएको चौथो दिन उनको देहान्त भयो । अरुण थापा जीवनको उत्तरार्धमा निकै गलिसकेका, विक्षिप्त र कमजोर बनिसकेका थिए । बागबजारको एउटा गेस्ट हाउसमा बस्दै आएका थापा लागूऔषध सेवनकै कारण हेपाटाइटिस बि, कलेजोको रोग तथा पेटको अल्सर समेत भएका गायक अरुण थापा २०५६ साल साउन ५ गते यस संसारबाट बिदा भए । उहाँको कारुणिक निधन भएका दिन रेडियो नेपालमा दिनैभरि चोट के हो व्यथा के हो बजी नै रह्यो गुञ्जी नै रह्यो । चोट के हो व्यथा के हो ?
उनले थुप्रै गीत गाए तर राज्यबाट भने कुनै पदक वा सम्मान पाएनन् । उनको ‘ऋतुहरूमा तिमी’ बोलको गीत २००३ को बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० मा परेको थियो। यद्यपि नेपाल मगर सङ्घले २०६० सालमा सङ्कलित रु ५० हजारको अक्षयकोषबाट अरुण स्मृति सङ्गीत पुरस्कार स्वरूप रु. ५ हजार वितरण गर्दै आएको छ ।
उनका धेरै गीत हराइरहेको कुरा पनि उनीसँग सङ्गत गर्ने प्रकाश सायमीले बताउँछन् । उनका ती गीतहरूको संरक्षणमा पनि लागेको सायमीले विभिन्न कार्यक्रममा जानकारी दिएका छन् । उनी व्यक्तिगत रूपमा आफ्नो लागि कहिले ठिक निर्णय लिएनन् होला । आफ्नो सम्पूर्ण जीवनलाई कुलतमा फसाइदिए होलान् तर उनले नेपाली सङ्गीतलाई गरेको योगदानको अवमूल्यन कहिले गर्न सकिँदैन । उनको आवाजमा भएको दर्दले सङ्गीत पारखीलाई सधैँ स्पर्श गरिरहने छ । नेपाली सङ्गीत बाँच्दासम्म उनको आवाज यही कतै गुञ्जिरहेको हुनेछ ।
श्रद्धा-सुमन प्रिय गायक अरुण !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
