हामीले यहाँ
सधैँ कुनै मान्छेलाई
देउताझैँ बनाउँछौं

एउटा
देउता नभई नबाँच्ने हुन्छौं
नहाँस्ने हुन्छौं

हामीलाई
हरपल
हर क्षण
कसै न कसैलाई धेरै ठूलो गराउँछौँ
माथि चढाउँछौँ
धुरीमा पुर्याउँछौँ
देवत्वकरण गर्छौँ
पुज्छौँ
ढोग्छौँ

हामीलाई कसैले
उसलाई गरेको गाली सह्य हुँदैन
सधैँ ताली पाओस् चाहन्छौँ
हाम्रो नजरमा
उसका विरोधकर्ता
विकास अवरोधी
हाम्रा नि विरोधी
अनि
उसको यशोगान गर्ने
सबै हाम्रा
सबै राम्रा

समय बित्दै जान्छ
पछि
हामीले खोजेका आभा उसमा पाउँदैनौँ
पहिलेको आगो उसमा देख्दैनौँ
उसको तुफान सुनसान पाउँछौँ
वाचा पूरा नभएझैँ लाग्छ
सपना क्षयीकरण भएझैँ लाग्छ
उसले हामीले चाहेको पूरा नगर्ने ठान्छौँ
हामी उसमा नि कमजोरी देख्न थाल्छौँ
र पुनः
अर्को एउटा देउताको खोजीमा लाग्छौँ

खोज्छौँ
भेट्छौँ
नजिक कतै
फेरि अर्को ‘भगवान्’
जसमा हामी हाम्रो भावना जोड्छौँ
चाहना जोड्छौँ
उसको पीडामा हामी दुख्छौँ
खुसीमा हाँस्छौँ
र उसमा हाम्रा सपना बिसाउँछौँ
योजना बुन्छौँ
कथा उन्छौँ
पल गुन्छौँ
हो
उसलाई हामी ‘भव्य’ बनाउँछौँ

ऊ सधैँ सगरमाथा होस् चाहन्छौँ
तर मान्छे कोही सधैँ हिमाल हुँदैन
कोही सधैँ भगवान् हुँदैन
र नि हामी आफूलाई समर्पित गर्न
नचाउन
हँसाउन
समयका पलहरूलाई
चलयमान बनाउन
कटाउन
आफ्ना असक्षमतालाई बिर्सन
सधैँ एक ‘महान्’ व्यक्ति खोजिरहन्छौँ
जो भगवान् झैँ होस्
उनै बराबर होस्
शक्ति देखाओस्
हामी भक्ति देखाउँछौँ
जादुको छडी चलाओस्
दुस्मनलाई भगाओस्
डाँडा कटाओस्
हामी सधैँ यस्तै फिल्मी फिल्मी चाहन्छौँ
तिलस्मी चाहन्छौँ
सधै यस्तै यस्तै चाहन्छौँ
अनि
यसै यसै दिन कटाइरहन्छौँ
जयजयकार गरिरहन्छौँ
बसिरहन्छौँ…।