बादल मडारिन्छ ।
गड्याङगुडुङ गर्दै चम्कन्छ बिजुली ।
साम्राज्य फिजाउँछ कालो बादलले ।
धमिलिँदै अँधेरिन्छ आकाश ।
हुरी चल्छ बेजोडले ।
बर्सन्छ पानी धरतीमा ।

बिजुली–प्रसारण बन्द हुन्छ सहरमा । सहर किनाराको झुप्रा बस्तीमा टुकी निभ्छ । साँहिली साँझको भान्सा तयार गर्न जुटेकी हुन्छे । भात छड्कन आँटेको हुन्छ चुलोमा । हुरीभित्र पसेकाले आगाको फिलुङ्गा उडाएर बस्ती सखाप हुने डरले अम्खोराभर पानी खन्याउँछे चुलोमा । आगो निभ्छ, ‘च्वाइँ’ आवाज गर्दै ।

ऊ अलिपर सर्छे, पर–परको सराइमा ओभानो ठाउँ कतै छैन, भित्ता भेट्छे ।

ढोका बन्द गर्न खोज्छे । नाम मात्रको ढोका र गजबारले थेग्न सक्दैन पानी र बतास । चारपाईको ओछ्यान कुनामा थुपार्छे । छानाबाट पानी चुहिन्छ । पानी चुहिने निशान गरेर भाँडा थाप्छे । कुनै भाँडा बाँकी रहँदैन थाप्न ।
पानी बिदा हुने आशामा बस्छे चारपाईको अर्को छेउमा ।

नीलम कार्की निहारिका

नीलम कार्की निहारिका

पानी थामिन त कता–कता, झन् मच्चिँदै–मच्चिँदै बर्सिन्छ । बाछिटाभित्र छिर्छ ढोकाको काप–कापबाट । चुहिने क्रम झन्–झन् बढ्छ । गड्याङगुडुङको चर्को आवाजले अतालिन्छ साँहिलीको मन ।

तप तप छाना छिचोलेर झरेको पानी उसको शरीरमै पर्न लाग्छ । ऊ अलिपर सर्छे, पर–परको सराइमा ओभानो ठाउँ कतै छैन, भित्ता भेट्छे ।
खुट्टा बिस्तारै चारपाइबाट भुइँतिर झार्छे, पानी–पानी छ भुइँ भेटिँदैन ।
ढोका खोलेर कराउँछे– ‘पल्लाघरे दिदी ! ए पल्लाघरे दिदी !’
आवाज निल्छ पानी दर्केको आवाजले ।
ढोकाबाट भेल पस्छ ।

भुइँमा चारवटा ढुङ्गामाथि लामा काठका फल्याक बिछ्याएर बनाएको टाँड छ । टाँडबाट सामान छामछुम गर्दै चारपाइमाथि थुपार्छे ।
पानी दर्केको बेला पनि शरीरबाट पसिना तर्कन्छ साँहिलीको ।
बिहेको वर्ष साँहिलाले किनिदिएको टिनको बाकस सुमसुम्याउँछे ।
हातमा टर्चलाइट लिएर आइपुग्छ डल्लेको बाबु ।

– ‘पानी बढ्दो छ । घरमा तिलको गेडा राख्ने ठाम छैन । भेल पसेको छ । सबै माथि मन्दिरको धर्मशालातिर निस्किसके अघि नै । खोलो सोहोरिएर आयो भने ज्यान जोखिममा पर्छ । निस्किन पयो लौ मास्तिर !’

साँहिली जवाफ नदिई उभिइरहन्छे । डल्लेको बाबुले थप्छ– ‘ढिलासुस्ती नगर ! सबै बालबच्चा च्यापेर उँधो लागिसके । हामी दुई–चार घर बाँकी छौँ । सामानको सुर्ता नगर, हिँड जाऔँ !’
बिजुली चम्कन्छ, देखिन्छ,
चुलोमा बसालेको छड्कन नपाएको भातको कसौडी ।
खिया परेको टिनको बाकस ।
चारपाईमाथि भिजेका ओढ्ने–ओछ्याउने ।
0000

 

रुवाइ रोकिँदैन, झन् चर्को छ धरतीको छाती चिर्ने गरी ।

पानीमा लुछुप्पै भिजेको लस्कर मन्दिर धर्मशाला पुग्छ ।

अघि पुगेकाहरू सुत्न पुग्ने ठाउँ ओगटेर सुते । ढिलो पुग्नेहरू टाउको ओताएर बसे । चिसा लुगा शरीरमा टाँसिई नै रह्यो ।
केटाकेटीको रुवाइ चर्को । बाबुआमा उल्टै छोराछोरी कुटेर मनका पीडा कम गर्ने कोसिस गर्छन् । रुवाइ रोकिँदैन, झन् चर्को छ धरतीको छाती चिर्ने गरी ।

त्यहाँ थिए–
गर्भवती आइमाईहरू ।
भर्खर सुत्केरी भएकाहरू ।
नाबालक बालबालिकाहरू ।
नवविवाहिताहरू ।
अधबैँसे युवायुवतीहरू ।
त्यहाँ थिए –
ज्यामी, मजदुरी गर्ने
घसियारी
रिक्साचालक
सुडेनी
दाउरा बेच्ने
ठेला तान्ने
जुठ्यान सफा गर्ने
फुल्की–चटपटे बेच्ने
सिलौटो खोप्ने
यस्तै–यस्तै खोलाछेउको झुपडीमा बस्ने सुकुम्बासीहरू ।

 

एक सुत्केरीको काख रित्तियो । न्वारनको नाम नजुर्दै बिदा भयो धरतीबाट नानी ।

यतिबेला लखेटेको छ गरिबीको ताँतीलाई पानीको भेलले ।
भव्य घरहरूलाई यो प्रकोपको के असर ? न्यानो ओछ्यानमा शीतल हावाको स्पर्शसँग लडिबुडी गर्दैछन् । आकाशले सङ्गीत दिएको छ । नाचेको छ धरती । यस्तै भान परेको छ उनीहरूलाई ।

पानी बिदा हुने सङ्केत रहेन बिहान हुँदासम्म ।
रुँदा–रुँदा थाकेर निदाएका नानीहरू ब्यूँझेर पुनः रुँन लागे ‘भोक लाग्यो’ भन्दै ।
एक सुत्केरीको काख रित्तियो । न्वारनको नाम नजुर्दै बिदा भयो धरतीबाट नानी ।
पानी थामिएको छैन । एकहूल लाग्यो घाटतिर । नानीको दाहसंस्कारमा ।

– ‘बिचरी, पहिलो रछ । चिसाले लियो ज्यान ।‘
– ‘शान्ति पायो, संसारी दुःख झेल्नु त परेन ।’
– ‘आमाको मन के भन्दो हो ?’
– ‘छाउराछाउरी दुःख दिन जन्मने न हुन् । साँहिलीलाई कति हाइसञ्चो छ, एकगाँस खायो, एकधरो लायो ।’
– ‘भैँसीलाई सिङको भारी हुँदो हो कि !’
– ‘पानी पनि के बिघ्न पर्न सकेको ?’
– ‘छाप्रो बगाइदेला भन्ने डर ।‘
– ‘हामी सुकुम्बासीको झुप्रो कहिले आगाले खान्छ भन्ने डर कहिले खोलाले लान्छ भन्ने डर । कहिले फौज आएर लघार्ने हो भन्ने डर । शान्तिसँग रात काट्नु कहिल्यै छैन ।’

– ‘आफ्नै दुईहात जमिन भए कस्तो हुन्थ्यो  भाछ । गाउँमा अलिकति पाखो बारी थ्यो अरे, ससुरा बजियाले रक्सी खाएर सबै उडाका भन्छन् । उल्टै हाम्रो थाप्लोमा ऋण थुपारेर गए । हामी गाउँ छाडेर भाग्न पयो ।’

– ‘हामी त पुख्र्यौली सुकुम्बासी, हाम्रा नाति–पनाति सुकुम्बासीमै जन्मने होलान् र त्यसरी नै मर्ने होलान् !’

आइमाईहरू बोल्छन् पालैपालो । गरीबलाई पानीले समेत उठिबास लाएको पीडामा ।

साँहिली मौन छे ।
अब भने पानी बिदा हुने सुरसार देखिन्छ ।
खानाको जोहो गर्न गएकाहरू फर्कन्छन् ।
डल्लेकी आमाले दुईटुक्रा पाउरोटी दिन्छे साँहिलीलाई ।
धोतीको सप्को छेउमा बाँध्छे ऊ ।
मन्दिरबाट देखिन्छ– धमिलिएर गडगडाउँदै बगेको खोलो । खोलाको छेउमै लस्करै खरका झुप्राहरू । झुप्रापछि सहर र सुकुम्बासी बस्ती छुट्ट्याउने ठूला–ठूला रुखहरू ।
सहर भव्य घर नै घरहरूले भरिएको ।

बिस्तारै पहेँलो घाम धरतीमा खस्छ । घामको स्पर्शसँगै खोला र बजार हाँस्छ– सुकुम्बासी बस्तीलाई गिज्याएभैmँ ।
लस्कर ओरालो लाग्दैछ ।

साँहिलो भने हातमा सानो पोको लिएर चढ्दै हुन्छ उँधो–उँधो ।
– ‘के गर्नु ? बिचल्ली भयो होला भन्ने मनमा पर्याथ्यो । मालिकको छोरीको बिहे । सामान ओसारपसार गर्नै पयो । छाडेर हिँड्नै मिलेन, हिँडूँ भने भोलिदेखि उही मान्छे चाहिने । छाड्नै भएन । ला, यो खा, भान्सेबाजेले देको ।’
साँहिली पोको हातमा परेपछि सोध्छे– ‘तिम्ले खायौ ?’
‘खाएँ राति नै टन्न खाको, अहिले भोक छैन, अजीर्ण भा’ छ, तँ खा !’
शरीरको चिसो लुगा शरीरमै सुकिसकेको छ ।
साँहिलीको जोडी पनि आनो बस्ती आफ्नोतिर ओरालो झर्छ ।
+++

खरको एककोठे झुपडीभित्र दह जमेको छ ।
डेक्चीले पानी उठाएर बाहिर फाल्छन् । पानी फाल्दै जाँदा उत्खनन हुँदै जान्छ । हिजो पाक्न नपाएको भातको कसौडी, पानी थापेका भाँडाकुडा, कपडा, लत्ता ।

कसौडीभित्र हिलो छ । हिलोमा गाडिएका छन् चामलका दाना ।
साँहिलीले बिस्तार लगाउँछे साँहिलासँग– छड्कन सुरु गरेर भर्सन नपाएको भातको कथा ।
लेदो पानी फालेपछि साँहिलीले भुइँ लिप्छे, साँहिलो लाग्छ भित्ता पोत्न ।

पानीले ढाडिएका दाउरा सल्काएर लुगा सुकाउँछन्, दाउरा चिटचिट पड्कँदै सल्केका छन् । लुगा सुक्ने निहँुमा राग्सिएर ठाउँ–ठाउँमा भ्वाङ पर्छ ।

नमीठो गन्ध छोड्छ धूवाँले लुगामा ।
दिन छिप्पिएर अँध्यारो भइसक्दा पनि रातको ओछ्यान भने सेकिँदैन ।
आगै तापेर रात बिताउनेबाहेक कुनै उपाय रहेन साँहिली र साँहिलासँग ।
त्यसैले अँगेनाको छेउमै गुटमुटिन्छन् रातको काखमा ।

 

‘रघाखोकी अस्तिदेखि थ्यो । बिहेको चिल्लोपीरो, पानीको कुटाइ धपेडीले ज्वरै काढ्यो । तर नआऊँ आज, शरीरले सकेन भनेर नहुने ।’

साँहिला ब्यूँझदा रनरन जरो आएको छ । केही नभनी सधँै  साहूकहाँ रिक्सा लिन जानलाग्दा साँहिलीले भन्छे– ‘घर छाउनुपर्छ सँगीसँग खर काट्न जान्छु है ! भान्सा तयार पारिदिन्छु, आएर खानू !’

स्वीकृतिमा टाउको हल्लाएर बाटो लाग्छ साँहिलो ।
चार–पाँच पटक ओसारपसार गरेपछि नीमको रुखमुनि रिक्सा अड्याएर सुर्ती मल्छ चुनासँग साँहिला । एक चिम्टी सुर्तीको हात बढाउँछ साथीतिर । एकचिम्टी सुर्ती उठाउँदै साथी बोल्छ– ‘तिमीलाई सञ्चो छैन कि कसो साँहिला ?’

– ‘रघाखोकी अस्तिदेखि थ्यो । बिहेको चिल्लोपीरो, पानीको कुटाइ धपेडीले ज्वरै काढ्यो । तर नआऊँ आज, शरीरले सकेन भनेर नहुने ।’

– ‘एक्लो मान्छे, गर्छौ के ? आफू त सक्दा आपू आउँछु, नभए छोरो आउँछ । कहिले दुइटै । तिम्रो पनि छोराछोरी काँधसम्म आउने बेला भा हो । आफूलाई बुढेसकालमा केही पीर भएन ।’

‘भाग्यमा रैन छ । ईश्वरको मर्जी नै त्यस्तो ।’ लामो सास फेरेर बोल्छ साँहिलो ।
– ‘मर्द भएर पनि कस्तो कुरा गर्छस् ए ! साँहिला, लाछीजस्तो ?’

अब साँहिलाको खुट्टा गल्छ । जाँगर चल्दैन रिक्सा तान्न । रिक्सा र दस्तुर साहूका हात बुझाएर सरासर घरतिर लाग्छ ।
घाममा दाउरा सुकाउँदै हुन्छे साँहिली । सबेरै अँध्यारो मुख लाएर फर्केको लोग्ने देख्छे । अँगालोको दाउरा फ्यात्त फाल्छे भुइँमा ।

– ‘के भयो ? शरीरमा निकै सञ्चो भएनजस्तो देख्छु नि ! म आज खर काट्न गइनँ, जङ्गलमा पैरो गाछ रे, टोली पनि आछ रे, भेटे नाम्लो दाँते खोस्ने मात्र होइन, सजाय पनि छ भन्छन् । गए कुखुराको डाँकोसँगै जानुपर्छ भोलि ।’

साँहिलाको निधार छामेपछि, ‘आम्मामा ! भुङ्ग्रोझैँ छ जरो । अब ज्यानले सकेनजस्तो छ । सकोस् पनि कसरी ! दिनरात जोतिनुपर्छ खानैका लागि । खानै नपरे कसो हुँदो हो ! तिमी दुई–चार दिन आराम गर ! दोकानकी साहुनीलाई अर्को ठाममा काम मिलाइदिन भनेकी छु । हुन्छ भनेकी छन् ।’

साँहिला एक्कासि खनिन्छ साँहिलीमाथि, ‘सबै छाडी पुच्छर अगाडि । तैँ जाबीले दुई–चार घर भाँडा माझेर मैले खाउँला ? त्यति बाँकी छ अब देख्नु ! छोरो भएको भए अहिले पाल्ने भैसक्थ्यो ।’

साँहिली नम्र भएर, ‘गएको कुरा छोड्द्यौ, सुर्ता नगर, जे हुनु भैगयो । आजभोलिकाले आफ्नो ज्यान त पाल्न सक्ने हुन् नाइँ ?’
साँहिलो झनै कड्कन्छ– ‘तेरा छोरा छैनन्, त्यही भएर यसो भन्छेस् साँहिली ! म अपुतो मर्न सक्दिनँ ।’

साँहिली पनि जङगिन्छ– ‘नसके के गर्छौ त ? आफ्नो एक ज्यान पाल्न धौ पर्नेले सन्तानको रहर गरेर हुन्छ ? रहर भए गर्नू बिहे, मबाट आस नगर !’

– ‘गर्न परे गरौँला । बडो फुर्ति लाउँछे । तेरा माइतबाट ल्याएर पालेकी पक्कै छैनस्, कि पालेकी छस् ?’
गनगनाउँछ साहिँलो, हिँड्छ त्यहाँबाट ।

साहिँली नचाहँदानचाहँदै चाबी लाएर राखेको विगतमा पुग्छे ।

साहूको सानो नाति धरेलो गर्ने सट्टामा रात्रिस्कूल पढाउने सर्तमा तय गरेर छोरो पठाएका थिए । आपूm अनपढ भएकाले पढेकाको सङ्गतले राम्रो शिक्षा मिल्ला भन्ने आशा थियो साँहिली र साँहिलालाई । मात्रै नातिको लागि साथी भने पनि कुचो लगाउने, कोठा–गल्ली पुछ्ने, चियानास्ता कोठामा पुर्याउने, भाँडा माझ्ने सबै गर्नुपथ्र्यो उसले । कुनैबेला फुर्सद हुँदैनथ्यो । पढ्न बसे बच्चाको थाङ्ना अगाडि थुपारिदिन्थी साहूकी कान्छी बुहारीले । थाङ्ना धोएर सुकाउन जाँदा चार तलामाथिबाट खसेर प्राण त्यागेको थियो, ‘आमा’सम्म भन्न नपाई, ठूलो छोराले । मुखमा पानीसम्म हालिदिन पाएनन् त्यतिबेला । भर्खर नौलो ठाउँ, कोही थेनन् चिनेजानेका । मलामीसम्म भेटेका थिएनन् छोराको मृत्युमा उनीहरूले ।

जेठो छोराको मृत्युशोकमा छटपटाउन पाइन साँहिलीले । सानो छोरालाई पिठ्यूँमा बोकेर मजदुरी गर्न जान्थी । ढुङ्गाको भारी, भारीमाथि छोरो, सुत्केरी शरीर । त्यसबेलाको व्यथा कसैलाई कहेकी छैन उसले । कुपोषण रक्तअल्पतामा गलेको शरीरमा झाडापखाला थपिएर घिटीघिटी गर्दै श्वास छाडेको थियो । दाजुसँगै गएको थियो उडेर प्राण, आमा–बाबुको काख रित्याएर ।
साँहिली भन्छे– ‘धनीका लागि नोकर जन्माउने हो भने किन चाहियो सन्तान ?’
आमा हुने रहर कलेजोमा सुकाई साँहिलीले ।
साँहिली सुकसुकाउँदै जुठो भाँडा माझ्छे ।
आज फेरि जुठो भाँडामा छर्लङ्ग दुवै छोराको अनुहार देख्छे ।
आज फेरि नराम्ररी दुख्छ छाती आमाको ।
टिनको बाकसबाट खिया परेको चाबी उघारेर थैलो निकाल्छे बाहिर ।
ढुसी परेका सानो दौरा–सुरुवाल र भोटो सुकाउँछे छानामा ।
जेठो छोरो जन्मेको बखत सुत्केरी पेट काटेर सिलाको भोटो–दौरा ।
यही लाइदिएकी थिई कान्छो छोरालाई जाडो छेक्न ।
चोलाको बाहुलाले आँसु पुछ्छे भुइँमा झर्न नपाई साँहिलीले ।

साँहिलो रक्सीको चर्को गन्ध बोकेर आउँछ । भटमास र सुकुटीको सानो पोको साँहिलीको हातमा राखिदिन्छ र अवरुद्ध कण्ठबाट भन्छ– ‘साँहिली ! यी लुगा अझै किन समालेर राखेकी ?’
०००

रचना : विस २०६० असार