अनुवादः पुण्य कार्की
एउटा गाउँमा एकजना दाउरे बस्थ्यो । ऊ दिनै जङ्गल जान्थ्यो । जङ्गलबाट काठ काटेर शहर पु-याउँथ्यो । त्यही बेचेर आफ्नो रोजीरोटीको समस्या सुल्झ्याउँथ्यो । दिनदिनै ऊ जङ्गल जान्थ्यो । तर, काठ नभेट्ता कहिलेकाहीँ भोकै पनि पर्थ्यो।
जङ्गलमा एक अद्भूत फकिर बस्थ्यो । उसले हरेक दिन त्यस दाउरेलाई देख्थ्यो । उसको दुःखपूर्ण जीवन देखेर फकिरलाई दया आयो । एकदिन उसले दाउरेलाई भन्यो–“मूर्ख मान्छे ! जङ्गलको छेउबाटै दाउरा काटेर किन फर्कन्छौ ? जङ्गलको अलि भित्र किन छिर्दैनौ ?”
दाउरेले भन्यो, “जङ्गलको अलिभित्र गएर के हुन्छ र ? आखिर मैले काट्ने दाउरा जङ्गल छेउमै पाइरहेकै छ त !”
फकिरले सम्झायो, “तिमी थोरै अगाडि बढ जङ्गलमा । छेउबाटै दाउरा काटेर फर्केको कारणले दरिद्र भएको होऊ, अलि अगाडि गयौ भने धनी हुनेछौ किनभने अलि अगाडि जङ्गलमा तामा खानी छ ।”
फकिरको कुराले त्यो मानिस केही अगाडि बढ्यो । नभन्दै तामा खानी भेट्यो । ऊ दाउराको साटो तामा बेच्न थाल्यो । केही दिनपछि फेरि त्यो फकिर भेटियो ।
फकिरले भन्यो, “बेवकुफ, अझै तिमीलाई थाहा भएन ? दाउराको ठाउँमा तामा भेट्यौ र त्यसमै मख्ख प-यौ हैन ? त्यो ठाउँभन्दा अझ अगाडि गएका छौ ? त्यहाँ चाँदीको खानी छ ।”
ऊ अझै सम्पन्न बन्यो ।
त्यही फकिर एकदिन डुलिरहेको बेला फेरि दाउरेसित भेट भयो । उसले हकारेर भन्यो, “तिम्रो त बुद्धि नै छैन । मैले दिएको मन्त्र बुझ्दै बुझैनौ। त्यहाँ अझ अगडि जाऊ, त्यहाँ त सुनको खानी छ ।”
फकिरले त्यसो भनेपछि दाउरे अगाडि बढ्यो । सुनखानी भेट्यो र त्यसमै भुलियो । फकिरले अगाडि बढ् भन्दा पनि सुनमै लोभिएर त्यहीँ बस्यो ।
फेरि एकदिन फकिरले उसलाई भेट्यो ।
बेस्सरी गाली ग-यो, “तिम्रो बुद्धि कहिल्यै आएन ? तिमी जडबुद्धिको मानिस रहेछौ । बाहिरबाट तिमी सम्पन्न त बन्यौ तर भित्र भने दरिद्रको दरिद्रै रह्यौ । तिमीलाई देखेर मलाई दया लाग्छ । कतिचोटि भनिसकेँ– अझ अगाडि जाऊ । अगाडि हिराको खानी छ ।”
फकिरले भनेजस्तै दाउरे अगाडि बढ्यो ।
फेरि वर्षौँपछि त्यो फकिर डुल्दै आयो । तब ऊ हिराखानीमै भुलिएको थियो । उसले विशाल महल बनाइसकेको थियो । उसको धनसम्पत्तिको डङ्गुर थुपारेको थियो ।
उसलाई देखेर फकिरले भन्यो, “दयाको पात्र दयाको पात्र नै रहने भयौ । तिमी भित्रबाट गरिबको गरिबै रहने भयौ । हिजो तिमी दाउरे थियौ र अझै पनि दाउरे नै रहिरह्यौ । किनकि तिमीले थुपारेको सुन, सम्पत्ति, हिरा, जवाहरात सब बाहिर छन् । तिमी त्यसभन्दा अगाडि अझ किन जाँदैनौ !”
पहिलेको दाउरे र अहिलेको अर्बपति त्यो मानिसले भन्यो, “तपाईं किन मलाई पछ्याइरहनु भएको ? मलाई चैन साथ बाँच्न नदिने नै कसम खानु भएको हो ? तपाई किन अगाडि जा, अगाडि जा भनेर हुटहुटी लगाउनु हुन्छ ? अब अगाडि गएर के पाइन्छ ? हिरा नै पाइसकेँ भने के पाउन बाँकी छ र ?”
त्यस फकिरले भन्यो, “त्यसभन्दा अगाडि मेरो आश्रम छ । असली हिरा म तिमीलाई दिन सक्छु । त्यो ध्यानको हिरा हो । अहिलेसम्म त तिमीले बाहिरको खानीमा खोजी रह्यौ । अब अगाडि भित्रको खानी खन्न सुरु हुन्छ ।”
फकिरको कुरा सुनेपछि उसले भन्यो, “तपाईंको कुरा मेरो बुद्धिले बुझ्न सकेन । मलाई यसै ठाउँमा रोकिन दिनुस् ।”
फकिरले भन्यो, “तिम्रो मर्जी तर जुन खजाना थोरै अगाडि पुग्दा तिमीले पाउनेछौ, त्यो सधैँ त्यहाँ पाइने छैन । किनकि म आज छु, भोलि हुन्नँ । जुन खजाना अहिलेसम्म पायौ, त्यो सधैँ पाइन्छ । हामीभन्दा पहिले पनि थियो, हामी नभए पनि त्यो रहनेछ ।”
ध्यानको खजाना कहिलेकाहीँ प्रकट हुन्छ । हजारौँ वर्षमा कहिलेकाहीँ प्रकट हुन्छ । जब कुनै व्यक्तिले त्यो दुर्लभ खजाना खोज्छ, पत्ता लगाउँछ, त्यो सबैको लागि द्वार बन्दछ ।
(एक ओमकार सतनामबाट)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला