विसं २०३६ सालको सडक कविता क्रान्ति सकिएको थियो । तर साहित्यिक उत्साह उमङ्ग भने त्यसले पछिसम्म पनि दिइरहेको थियो । नचिन्नेहरूले पनि कुनै बेला सडक कविता सुनेको आधारमा बाटामा रोकेर भन्ने गर्थे, “अब फेरि कहिले हुन्छ ?”

युवा साहित्यकारहरू हामी एक अर्काकहाँ जाने, साहित्यिक गफ गर्ने पनि गर्थ्यौं ।

जीवन आचार्य टेवहालको चोकभित्र कुनै घरको भुइँतलामा बस्थे । “आस्था“ नामको साहित्यिक पत्रिका पनि निकाल्थे । न्यूरोडको नजिक पनि भएको हुनाले म लगायत हामी साथीहरू जीवनको डेरामा पुग्थ्यौँ । साहित्यिक गफगाफ गर्न ।

एकदिन उनको डेरामा फणिन्द्र नेपाल र म संयोगवश सँगै पर्यौं । केही बेरको गफगाफपछि हामी सँगै निस्कियौँ ।

उनले प्रस्ताव गरे, “चिया खाँदै गफ गरौँ न गोविन्दजी ! केही सल्लाह गर्नु छ ।“

हामी यौटा चिया पसलमा पस्यौँ र चिया मगायौँ ।

फणिन्द्रले भने, “गोविन्द जी ! साहित्यमा केही नयाँ कुरो गर्नु पर्यो । मान्छेहरूको ध्यान खिच्ने खालको ?”

फणिन्द्रको यो अप्रत्याशित प्रस्तावको अर्थ मैले बुझिन र ट्वाल्ल पर्दै भनेँ, “के गर्ने होला ?”

“जस्तो आयामेली आन्दोलनले नेपाली साहित्यमा तहल्का मच्चायो । त्यस्तै तीन जना मिलेर केही नयाँ कुरा गरौँ ।“ फणिन्द्रले भने ।

तर के गर्ने भन्ने उनीसँग कुनै प्रस्ताव वा योजना थिएन । केही नयाँ गरौँ र आयामेली आन्दोलनको जस्तै तीन जनाले गरौँ भन्ने मात्र थियो ।

मैले नाइँ भन्ने कुरो त थिएन, तर मलाई उति सारो त्यसमा चासो भएन र थप कुराकानी पनि भएन फणिन्द्रसँग त्यसपछि । एक किसिमले त्यो दिन भएको कुरो केही दिनपछि बिर्सिएँ ।

म पाएसम्म र भ्याएसम्म साहित्यका विविध विधाका पुस्तक पढ्ने र विभिन्न पत्रपत्रिकामा आफ्ना रचना प्रकाशनमै बढी केन्द्रित थिएँ ।

विसं २०४१ साल वैशाख १ गते पोखराबाट “तरलवाद” नामक एक साहित्यिक वादको घोषणा भयो । त्यो तीन जनाले थालेको वाद थियो जसमा थिए पोखराका तीर्थ श्रेष्ठ, काठमाडौँका विनय रावल अनि फणिन्द्र नेपाल । फणिन्द्रले विनय र तीर्थको साथ लिएर “तरलवाद”को थालनी गरेको मैले बुझिहालेँ ।

तरलवादको घोषणासँगै त्यसको मुखपत्रका रूपमा डिमाई साइजको “पूर्वार्द्ध” पत्रिका प्रकाशित भयो, तरलवादको घोषणापत्रसहित । त्यसले काठमाडौँको साहित्यिक सेरोफेरोमा एक प्रकारको तरङ्ग ल्याइदियो ।

त्यो पत्रिकाको नामले म झस्किएँ ।

“पूर्वार्द्ध” त परिचित नाम हो । मसँग पनि सम्बन्धित नाम हो ।

युसास नामको संस्था खोलेका थियौँ हामीले । युवा साहित्य समाज । म त्यस समाजमा थिएँ । जीवन आचार्य थिए । दिनेश सत्याल थिए । अबि राई थिए । शिव रिछिङ्बुङ थिए । …र थिएँ म पनि ।

हामीले विभिन्न विभागको पर कल्पना गरेका थियौँ । चित्रकला विभाग, जीवन आचार्य । मुक्तक प्रदर्शनी, म अर्थात् गोविन्द गिरी प्रेरणा । पत्रिका प्रकाशन विभाग अवि राई । अवि राइले “पूर्वार्द्ध” उनको नाममा दर्ता गरेका थिए, युसासको सामूहिक भए पनि । युसासको मुखपत्रको रूपमा “पूर्वार्द्ध” गोजीका पत्रिकाको आकारमा २ अङ्क प्रकाशित भयो । तर युसासमा बेमेलको विषवृक्ष उम्रियो र निष्क्रिय भयो । पत्रिका पनि २ अङ्कपछि प्रकाशन भएन ।

अब अहिले त्यही नामको पत्रिका तरलवादीहरूको घोषणापत्रसहित उनीहरूको मुखपत्रको रूपमा प्रकाशित भएको थियो । पछि थाहा भयो, नयाँ पत्रिका दर्ता गर्न झन्झट लागेर फणिन्द्रले अवि राईसँग पत्रिका मागेर चलाएका रहेछन् ।

कतिले भने, नेपाली साहित्यमा नयाँ कुरा आयो ।

कतिले भने, चर्चामा आउन हल्ला गर्ने मेलोमेसो हो ।

कतिले भने, यसलाई गहिरिएर विचार गर्नुपर्छ ।

कतिले भने, तेश्रो आयामको सिको हो, तीन जनाले नै गरेको ।

केही दिनसम्म, केही हप्तासम्म, केही महिनासम्म पत्रपत्रिकामा समाचारहरू छापिए । प्रतिक्रियाहरू छापिए । बहसहरू भए र छापिए । समर्थन र विरोधमा लेखहरू प्रकाशित भए । म तरलवादका कतिपय कुराहरूप्रति सहमत भइन, सन्तुष्ट भइन र यौटा चर्कै आलोचनात्मक लेख प्रकाशित गरेँ, जुन “पूर्वार्द्ध” मा पनि प्रकाशित भयो । शायद मैले आलोचना गर्नुमा फणिन्द्रले सुरुमा मसँग गरेका कुराकानी पनि बीजको रूपमा मेरो मनमा बसेको हुँदो हो ।

“तरलवाद” नाम शायद सही थिएन र त्यसलाई “तरलतावाद” भनियो । यो निकै चाखलाग्दो, रोचक र एकसाथ गम्भीर कुरा थियो । यौटा वादको घोषणा गरेको कति समयपछि त्यो वादको नाम सच्चिनु शायद अपरिपक्वता नै हुँदो हो ।

नाम संशोधन भएर तरलतावाद भने पनि “अद्यापि” अधिकांशले तरलवाद नै भन्ने लेख्ने गर्छन् ।

तरलवादका तीन संस्थापक वा प्रवर्तक फणिन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठको नामको एकएक अघिल्लो अक्षरबाट “फविती” नयाँ शब्द पनि बनाइयो र त्यो नाम पनि केही समय मजाले चल्यो । फवितिले सुरु गरेको तरलवादका सूत्रधार र प्रणेता फणिन्द्र थिए नै । जति तरलवादको विश्लेषण चर्चा भयो, ती सब फणिन्द्रकै थियो । यस विषयमा तीन तरलवादीहरू बिच चिसोपन आएको पनि गाईं गुईं सुनिन थालेको थियो ।

विनय र तीर्थले तरलवादको विषयमा खासै उल्लेखनीय व्याख्या विश्लेषण गरेनन् । त्यो पाटो फणिन्द्रको एकल झैँ नै देखियो ।

विसं २०४० साल कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म शताब्दी वर्ष थियो । सो उपलक्षमा पाल्पामा शतवार्षिकी कार्यक्रमको आयोजना गरिएको थियो । त्यो कार्यक्रममा भूपि शेरचन, मदनमणि दीक्षित, तुलसी दिवस, मोहनराज शर्मा, विनोद दीक्षित जस्ता साहित्यका स्वनामधन्य व्यक्तित्वहरू पाल्पा पुगेका थिए । म पनि पुगेको थिएँ । फणिन्द्र पनि पुगेका थिए ।

कार्यक्रमको मुख्य दिन भव्य कवि गोष्ठीको आयोजना गरिएको थियो । कविता वाचनका लागि आयोजनास्थल पुस्तकालय खचाखच थियो । माइकबाट सुन्न बाहिर चौरमा पनि मानिसहरू तन्मयकासाथ बसेका थिए । बिचबिचमा मन्तव्य पनि राखिएको थियो । यसै क्रममा विद्वान मदनमणि दीक्षितले आफ्ना सारगर्भित मन्तव्य राखे ।

मदनमणि दिक्षितले बोलेर आफ्नो स्थानमा फर्किसकेपछि फणिन्द्रले आफ्नो सिटबाट उठेर चर्को स्वरमा बोले, “ अहिले मदनमणि दीक्षितले भाषणमा जे बोल्नु भो, त्यो हाम्रो तरलवादी आन्दोलनको सिद्धान्त हो । हाम्रो सिद्धान्त चोरेर उहाँले भाषण गर्नु भयो । यदि यो विषयमा उहाँ बहस गर्न चाहनुहुन्छ भने म बसेको होटेलको कोठामा आउन म चुनौती दिन्छु ।“

कार्यक्रम स्थल स्तब्ध भयो । फणिन्द्रको यो अनपेक्षित आक्षेपले सारा साहित्यकारहरू चकित भए । आफ्नो होटेलको कोठा नम्बर दिएर मदनमणिजस्ता विद्वानलाई बहस गर्न आउन सक्नुहुन्छ भनेर ललकार्नु कल्पना बाहिरको कुरा थियो । मेरा लागि र धेरैका लागि ।

त्यसपछि फणिन्द्र कार्यक्रम स्थलबाट हिँडे ।

केही उद्दण्ड साहित्यकारले फणिन्द्रलाई भौतिक आक्रमण गर्ने भन्दै पाखुरा सुर्किएका थिए रे । तर त्यस्तो अप्रिय घटना भएन । तर जे भयो, त्यो नै अत्यन्त अप्रिय थियो ।

सुरुमा सामूहिक रूपमा सुरु गरेको अस्वीकृत जमात छिन्न भिन्न भैसकेको थियो । त्यो एक प्रकारले इतिहासको गर्तमा विलुप्त भैसकेको थियो, वर्तमानमा त्यसको उपस्थिति थिएन । तर अस्वीकृत जमातका एक हस्ती साहित्यकार कविताराम श्रेष्ठले एक्लो अभियन्ता बनेर “मेरा अस्वीकृत मान्यताहरू” नामक लामो पुस्तक बराबरको अवधारणा अभिव्यक्ति साहित्यिक पत्रिकामा पूर्णाशं प्रकाशित गरे र साहित्यिक क्षेत्रमा पुनः तरङ्ग ल्याए ।

म त्यतिखेर साथीहरूसँग सामूहिक साहित्यिक गतिविधिमा “थाकेर” राइपटर्स क्लब नामक संस्थाको नाममा साहित्यिक गतिविधि गर्न अग्रसर थिएँ र  केही कार्यक्रमहरू गरिसकेको पनि थिएँ । अचानक मलाई के लाग्यो भने, यो नयाँ ढङ्गबाट कविताराम श्रेष्ठले अघि सारेको “मेरा अस्वीकृत मान्यताहरू” माथि छलफल कार्यक्रम किन नगर्ने ?

यो छलफलका लागि कविताराम तयार भए । अनि विश्वभाषा क्याम्पसको सभाकक्षमा कार्यक्रमको आयोजना गरेँ राइटर्स क्लबको ब्यानरमा । त्यो कार्यक्रममा फणिन्द्र नेपाल पनि आएका थिए ।  कवितारामको साथमा उनलाई पनि बोल्न दिनु पर्थ्यो भन्ने उनको आशय थियो । उनको दाबी थियो, यो अस्वीकृत विचार पनि तरलवादको सिद्धान्तसँग मिल्छ । तर मैले फणिन्द्रले चाहे भने उनको लागि बेग्लै कार्यक्रम गर्न सकिने बताएँ । तर पछि उनले खासै चासो देखाएनन् र मैले कार्यक्रम गर्नु परेन ।

वास्तवमा तरलवाद भनेको फणिन्द्र नेपाल, फणिन्द्र नेपाल भनेको तरलवाद भएको थियो ।

कतै तरलवादको बारेमा बोल्नु परे फणिन्द्र नेपाल ।

कतै तरलवादको व्याख्या गर्नु परे, फणिन्द्र नेपाल ।

सिद्धान्त परिमार्जन गर्नु परे, फणिन्द्र नेपाल ।

अरू २ अभियन्ताले नचाहेका हुन् कि नपाएका हुन्, बोल्न लेख्न अघि सरेको देखिएन ।

तरलवादको सिद्धान्तको पुस्तक निस्कियो, “तरलताको अर्थप्रकाश” (विसं २०४६) । यो पुस्तक पनि फणीन्द्रको एकल लेखन थियो । यसले फणीन्द्रलाई के फाइदा भो भने उनी सधैँ केन्द्रीय व्यक्तित्वको रूपमा छाइरहे । केन्द्रमा देखिइरहे । तर बेफाइदा के भो भने सहधर्मी २ अभियन्ताहरू चिढिए र एक एक गर्दै दुवैले तरलवाद परित्याग गरे । त्यो अभियानबाट अलग भए । उनी एक्लो भएपछि आफैँ पनि सुस्ताए र तरलवादको अवसान भो ।

यसै बिच फणिन्द्रले कान्तिपुर दैनिकमा पनि काम थाले । कान्तिपुर कोसेलीमा पनि उनी थिए । “ग्रेटर नेपाल”को विषयमा त्यसै ताक कान्तिपुरमा उनको  धारावाहिक लेख आउन थालेको थियो । त्यसले उनलाई चर्चामा ल्याएको थियो । म त्यसताक कान्तिपुरमा लेख रचनाहरू प्रकाशनार्थ दिन जान्थेँ । कान्तिपुरको अफिस शान्तिनगर गेटबाट अलि भित्र भाडाको घरमा थियो । हस्त लिखित लेख रचना लिएर बुझाउन जानु पर्थ्यो ।

मैले लेख रचना त दिन्थेँ नै । फणिन्द्रको हातमा । तर एकदिन मैले लेख रचना दिँदै भनेँ, “मेरो यौटा नयाँ प्रस्ताव छ ।“

फणिन्द्रले सोधे, “के होला ? भन्नुहोस् न !”

त्यति बेला मैले यौटा लघु उपन्यास लेखेको थिएँ । म त्यो कान्तिपुर कोसेलीमा धारावाहिक प्रकाशन गर्न चाहन्थेँ । मैले मेरो कुरा राखेँ । त्यस दिन अफिसमा फणिन्द्र एक्लै थिए ।

उनले भने, “साथीसँग सल्लाह गर्छु । तर भैहाल्छ नि । ल्याउनोस् न !”

कान्तिपुर कोसेलीमा त्यति बेला फणिन्द्र र युवराज गौतम साथै काम गर्थे ।

अर्कोपल्ट म पाण्डुलिपिसहित कान्तिपुर गएँ । संयोगले त्यस दिन फणिन्द्र र युवराज दुवै थिए । म पुग्ने बित्तिकै फणिन्द्रले सो कुरा युवराजलाई भने । युवराजले पनि “भैहाल्छ नि” भनेपछि मैले लगेको लघु उपन्यास “मात्र एक रात” को पाण्डुलिपि छोडेर आएँ ।

लगातार ५ शनिवार “मात्र एक रात” छापियो । यो उपन्यास कान्तिपुर पब्लिकेसनकै इतिहासमा कान्तिपुर कोसेलीमा धारावाहिक रूपमा प्रकाशित पहिलो उपन्यास बन्यो । यो उपन्यास कान्तिपुरमा त्यसरी प्रकाशन हुनुमा एक नम्बरको श्रेय फणीन्द्रलाई नै जान्छ ।

फणिन्द्रका आफ्ना कविताका पुस्तकहरू पनि प्रकाशित हुँदै गए । पुस्तकहरू सम्पादनमा पनि उनी सक्रिय भए । उनका प्रतिनिधि कविताहरूको पुस्तक मोहन कोइरालाको सम्पादनमा समेत प्रकाशित भयो । उनका कविता अलिक चाम्रा खालका नै हुन्थे । उनलाई कविता लेखनमा मोहन कोइराला मार्ग मन परेको बुझिन्थ्यो । भारतका हिन्दी कवि अज्ञेयका कविताहरू उनलाई प्रिय लाग्थ्यो ।

तरलवादी आन्दोलनबाट विनय रावल र तीर्थ श्रेष्ठ अलग भएपछि तरलवादको चहलपहल सामसुम भयो । अझ कान्तिपुरमा ग्रेटर नेपाल सम्बन्धी लेखहरू प्रकाशन हुन थालेपछि उनी त्यसैमा एकोहोरिए । कान्तिपुरमा रचना दिन जाँदा छोटो भेटघाट भैरहन्थ्यो । उनी ग्रेटर नेपाल सम्बन्धी निरन्तर एक प्रकारले धारावाहिक लेखमा रमाउन र डुबुल्की मार्न थाले । त्यो लेखको कारण थ्रेट आउन थालेको, दूतावासबाट लेख प्रकाशन रोक्न दबाब आएको कुरा बताउँथे । तर त्यससम्बन्धी सामाग्रीहरू उनलाई बोलाई बोलाई विभिन्न व्यक्तिले दिने गरेको हुनाले उत्साहित छु भन्थे ।

तिनै लेखहरूको सङ्कलन “नेपाल: टिस्टादेखि सतलजसम्म” विसं २०५५ सालमा प्रकाशित भयो । उनको सम्पादनमा “सुस्तामा भारतीय अतिक्रमण…” पुस्तक पनि विसं २०६२ सालमा प्रकाशित भयो । यता बिस्तारै उनका साहित्यिक लेखनमा सुस्तता आउन थाल्यो ।

पछि त उनी ग्रेटर नेपालको अभियन्ता बनेर अनेक गतिविधिमा लागेपछि, कहिले चीन त कहिले जेनेभा पुग्न थालेपछि उनको साहित्य लेखन सक्रिय रहन सकेन । तैपनि कवितालाई उनले त्याग्न भने सकेका छैनन्, यद्यपि अहिले उनको ग्रेटर नेपालको गतिविधि र क्रियाकलापका समाचारले उनी कवि हुन् भन्ने परिचय धुमिल बनाउँदै लगेको छ ।

फल्स चर्च, भर्जिनिया