साल्पा सिलिचुङ्ग ४ सालेवा, भोजपुरमा जन्मिएर हाल बेल्जिम, ब्रसेल्समा बसोबास गर्दै आउनुभएको  कवि विमल गिरी २०४३ वर्षदेखि साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ । अहिलेसम्म उहाँका तीन मुक्तकसङ्ग्रह, दुई हाइकुसङ्ग्रह, एक गीतिसङ्ग्रहहरू प्रकाशित भैसकेका छन् । अहिले उहाँ नियात्रासङ्ग्रह प्रकाशनको तयारीमा हुनुहुन्छ । उहाँ बेल्जियम संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने अन्य सङ्घसंस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । नेपाल सरकारबाट भानुभक्त स्वर्ण  पदक २०७२बाट पुरस्कृत उहाँ विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूबाट सम्मानित हुनुहुन्छ ।

प्रस्तुत छ, अनेसासको वर्तमान प्राज्ञ परिषदका सदस्य साहित्यकार विमल गिरीसँग साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

 

तपाईं देशबाहिर हुनुहुन्छ व्यस्त हुनुहुन्छ तै पनि अध्ययन,लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनु भएको छ ?

– मैले ऐले बेल्जियमलाई स्थायी मौजा बनाएर बसेको पनि २३ वर्ष भयो । यतिका समय यहाँ बसिरहेता पनि हरक्षण उतैका यादहरू स्मृतिमा आइरहन्छन् । तिनै यादहरूलाई समेटी फुर्सद निकालेर लेख्ने पढ्ने गर्छु । त चिता म पुर्‍याउँछु भन्ने उक्तिलाई पछ्याउँदै परिवारलाई दिने थोरै समय कटौती गरेर समयलाई मिलाइरहेको छु ।

विमल गिरी

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?

– साहित्य मार्फत सिर्जना यात्रालाई अगाडि बढाउन निकै कठिन छ । कठोर सङ्घर्ष र मेहनतको खाँचो पर्छ । जनताको सुख-दुःख, भावना र संवेदनालाई अभिव्यक्त गरेर साहित्य  लेखिनु पर्छ । अध्ययन र लेखनमा आफूलाई व्यस्त नपारी साहित्य सिर्जना गर्न सकिन्न ।

मैले आफ्नो भागको थुप्रै वसन्तहरूसँगै जीवन बिताइसकेँ । सुख र सन्तोषको अनुभूति गर्दै यो बाँकी रहेको जीवन पनि झन् राम्रो बितोस् भन्ने चाहन्छु । नाशवान् जीवन प्रकृतिको अमूल्य उपहार हो । कुन दिन अन्तिम हुन्छ थाहै हुन्न ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

– सिक्दै छु, होइन त्यस्तो केही छैन । व्यस्तताका कारण केही समय उभारी थोरै लेख्ने पढ्ने गर्छु ।

साहित्य लेखन,अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– नेपाली भाषा एउटा उन्नत भाषा हो । भाषामार्फत सुमधुर सङ्गीतका लागि चाहिने सुकोमल शब्दहरू सिर्जना गर्छु । समाजलाई सकारात्मक सन्देश दिने गीत, हाइकु, नियात्रा, कथा र कविताहरू सिर्जना गर्दै आएको छु । यस्तै कुराहरूमा अहिले व्यस्त छु, शब्दहरू जुरमुराएर दिमागभरि छरपस्ट हुन्छन् । अनि लेख्छु । आफ्नो सिर्जना कालजयी बनेर इतिहासका पानामा सदा सदा जीवन्त रहोस् भन्ने लाग्छ । समयको आवाजलाई शिल्पमा बाँध्न  व्यस्त छु । जीवनका तमाम क्षणहरूमा लेखाइ अध्ययन चिन्तनले उचाइमा लान्छ वा लाँदैन म जान्दिन ।

तपाईंले साहित्यमा निकै कलम चलाउनु भएको छ तर तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्न मिल्छ ?

– यो मैले भन्ने कुरा होइन । म एउटा राम्रो पाठक हुँ र नेपाली साहित्य सिक्दै गरेको विद्यार्थी हुँ ।

नेपालका साहित्यिक गुट-उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?

– हाम्रा देशमा मात्र होइन, संसारभर यस्तै चलेको चलन छ ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– साहित्यिक पुस्तकहरू अध्ययन गर्दै नियात्रा, कविता, गीत, मुक्तक र हाइकु आदिको लेखन र पारिवारिक दायित्व पूरा गर्दै आजकल समय बिताइरहेको छु ।  मलाई एक मिनेट पनि बिनाकारण खाली बस्न पनि मन लाग्दैन ।  यहाँ जति बोलेँ यो मेरो सानो इशारा मात्र हो ।  यसैलाई लामो बुझिदिनु होला ।

तपाईंलाई मुक्तक गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?

– मलाई साहित्यिक विधाहरू सबै मन पर्छ । यी कुराहरूलाई उत्कृष्ट बनाउनको लागि धेरै अध्ययनको जरुरत पर्दछ । किनभने साहित्य मार्फत हाम्रा समाज र सामाजिक गतिविधिलाई सही मार्ग पनि देखाउनु पर्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– पत्रकारहरूलाई  राज्यको चौथो अङ्ग भन्ने गरिएको छ । राज्यले  दिइएको सम्मान हो यो ।  जनमानसलाई ज्ञान र चेतना हुने वा नहुने सबैको लागि पेसागत सहयोग गर्ने बौद्धिक वर्गको नाम नै पत्रकार हो । विशुद्ध साहित्यलाई लिएर अथवा साहित्यलाई प्रमुख स्थान दिएर अन्य क्षेत्रतिर पनि चाख राख्ने पत्रकारितालाई साहित्यिक पत्रकारिता भनिएको हुनसक्छ । साहित्यिक पत्रकारिताले सिर्जनशील साहित्य फाँटको विशेष गरेर ठुलो दायित्व बोकेको हुन्छ भन्ने मलाई लाग्छ ।

 वास्तवमा जिन्दगी भनेको ?

– सुख-दुःख, आँसु-हाँसो सबैको सङ्गम हो ।

साहित्यको मापदण्ड के हो ?

– यसलाई समवेदनामा छाम्न सक्नु पर्छ । साहित्यको स्वरूप निराकार छ । विस्तृत छ कि साहित्यको मापदण्ड के हो भनेर कसरी भन्ने ?  मानवीय अनुभूतिलाई उसको जिउने परिवेश, समाज र देशसँगको सापेक्षित सम्बन्धको आभास मात्र हो । साहित्य यही हो भनेर कुनै परिसीमा भित्र बाँध्न खोज्नु बडो अप्ठ्यारो कुरो हो ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– परदेशमा छु । व्यस्तताका कारणले धेरथोर समाचार पढ्छु, सुन्छु ।  राजनीतिक परिवर्तन व्यक्ति फेरिएर हुँदैन । मानसिकतामा नै परिवर्तन हुनुपर्छ भन्ने लाग्छ । अहिले  जनताहरूले परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् । झन झन पहिलेभन्दा राजनीतिक दुष्टहरू, भ्रष्टहरू बढिरहेकोले झन् महँगी, भ्रष्टाचार र असमानता बढेका छन् । अब नेताहरूले आफ्ना मनस्थिति बदलेर देश र जनताका बारेमा गहिरिएर सोच्नु पर्ने आवश्यक छ ।

तपाईंलाई मन पर्ने नेपाली विश्व स्तरका लेखक को हुन् ?

– नेपाली लक्ष्मीप्रसाद देवकोटा विश्व स्तरका कवि हुन ।

नयाँ स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?

– म आफैँ नयाँ स्रष्टा हुँ । अरूलाई  के भन्नु र । समाजको लागि पाच्य र पठनीय सिर्जना गर्न सक्नु पर्छ । निडर, अथक र जुझारु स्रष्टाले मात्र समाज र परिवर्तनका लागि सिर्जना गर्न सक्छ ।

अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

–  नियात्रा, मुक्तक र हाइकु तीन ओटा कृतिका पाण्डुलिपि तयार छन् । त्यसलाई प्रकाशन गर्न हतार गर्दिनँ । राम्ररी सम्पादन गरी निकाल्ने विचार छ ।  हेरौँ समयले कहिलेसम्म आशाको भुमरीमा घुमाइरहन्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– वारि र पारि अनवरत सम्झिने र बिर्सने क्रमले सधैँ मुटु कटकटी खाइरहने दुई वटा फोक्टामा जरा टेकेर पलाएको रूख नै डायास्पोरिक साहित्य हो । यसमा प्राय भाषिक संस्कृति अझ कानुनी, राजनीतिक अधिकार अधूरा हुन्छन् र जीवन सधैँ अपरिभाषित दलदलको द्वन्द्वमा भासिएको हुन्छ ।

तपाईं अहिले के गर्दै हुनु हुन्छ ?

– परदेशको बसाइ । नयाँ नयाँ पुस्तकहरू पढ्न पाइँदैन ।  बाँचुन्जेल साहित्य सिर्जना र अध्ययनमा स्वास्थ्य र खुसीपूर्वक लागिरहन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ र म अहिले केही नियात्रा, हाइकु प्रकाशन गर्नका लागि तयारी गर्दै छु । आफूले लेखेका केही रचनाहरूलाई सङ्कलन गरिरहेको छु । केही पुस्तकहरू अध्ययन गर्दै आफ्नै स्यानो व्यवसायमा व्यस्त छु । अनेकन् लेखकहरूको पुस्तक अध्ययन गरेर लेखकहरूसँग जोडिन पाउँदा धेरै खुसी लाग्छ ।

पुरस्कार र सम्मान केही पाउनु भएको छ कि ?

– पुरस्कार: भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतद्वारा पुरस्कृत २०७०,नेपाल सरकारबाट भानुभक्त स्वर्ण पदक २०७२,‘नइ कीर्ति रत्न’ अलङ्कार २०७९ ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– साहित्यले मानव जातिलाई जोड्छ, साहित्य जीवन र जगतको दर्पण हो । साहित्य समयको दस्ताबेज हो, साहित्य सभ्यताको कलात्मक अभिव्यक्ति हो । नेपाली भाषा, साहित्य र समग्र नेपाली वाङ्मयलाई माया गरौँ भन्न चाहन्छु । साहित्यलाई समृद्ध पार्नकाे लागि उन्नत साहित्यहरू पढ्नु जरुरी छ ।  सकिन्छ भने भेटिएका पुस्तकहरू अध्ययन गरौँ । गम्भीर अध्ययनबिना कुशल साहित्यकार बन्न सकिन्न ।  नयाँ कुराहरू जानेर बुझेर खेर त जाँदैन नि ।

यहाँका व्यस्तता बाबजुद पनि अन्तर्वार्ता लागि अमूल्य समय प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्दछु ।