हिउँको सिरकभित्र सुतिरहेको हिमाल सबेरै घामको किरणसँगै उठ्दछ ।
र, घामसित घामकै आँगनमा खेलिरहेको हिमाललाई हरबिहान उसले बार्दलीबाट हेरिरहेको हुन्छ । यसरी नै हिमालभन्दा वारिवारि देखिने पहाडहरू, रूखजंगल र जंगलसित गीत गाउँदै बगिरहेको नदीलाई र कल्पना गर्छ नदीको पानीमा बगिरहेको आफ्नै जिन्दगीलाई । “म पनि दूर पहराबाट रसाएर आएको हुँ ! कहीँ पैतालामुनि टेकिएर, कहीँ पैतालाहरूलाई पछ्याउँदै ।”
यत्तिकैमा स्मरण गर्छ उसले, अग्लो भीरबाट हाम्फालेको र भीरको फेदीमा पछारिएको कुरा । कहीँ समतल मैदानमा सललल बगिरहेको, कहीँ बालुवैबालुवामा भासिएको कुरा । अहो, यसरी सिर्जनाको नदीमा बगिरहेको पनि झन्डै तीन दसक पो भैसकेको रहेछ ।
ठूलो जंगलमा रूखजस्तो ठूलै रूख मात्र देखिन्छ । छोटा थुम्काहरू, थुम्काहरूमै हराउँछन् । कुनै अग्लो पहाड, मात्र पहाडजस्तो देखिन्छ । जस्तो मानिसहरूको भीडहरूमा पनि मानिसजस्तो प्रष्ट अनुहार चिनिनलाई भीडभन्दा फरक हुनैपर्छ, यही बुझेर ऊ भीडभन्दा फरक बन्न चाहन्छ । उसलाई थाहा छ, जतिसुकै भीडमा होस् शशि शाहका कलाहरू भीडमै प्रष्ट चिनिन्छ । जतिसुकै भीडमा होस् कृष्ण मानन्धर, लक्ष्मण श्रेष्ठ, वत्सगोपाल या रमेश खनालहरूका कलाहरूले तिनीहरुको परिचय दिइरहेको हुन्छ । ऊ यही कल्पना गरिरहन्छ र आफ्ना सिर्जनाहरूमा कसरी फरकपना दिन सकिन्छ भनेर लागिरहन्छ ।
उसका सिर्जनाहरूले माटोको सुवास बोल्छन् । धर्म-संस्कृति र गाउँले जीवनको परिभाषा बोल्छन् । कुनै अर्ध अमूर्तजस्तो क्यानभासमा आफ्ना सिर्जनाहरूलाई आफ्नै ढंगले प्रस्तुत गर्दछ उसले । यही भएर उसको पेन्टिङ उसकै जस्तो छ । ऊ अर्थात्, भक्तबहादुर थापा मगर ।
मलेसियाको कुलाङ भन्ने ठाउँमा जन्मेको हो भक्तबहादुर तर ऊ मलेसियन नागरिक भने होइन । उसको बाबा तनहुँ जिल्लाबाट ब्रिटिस आर्मी भएर सपरिवार मलेसिया रहेका बेला भक्तबहादुरको जन्म भएको रहेछ । पछि ऊ बच्चै हुँदै बुबा रिटायर्ड भएछन् । सपरिवार नेपाल फर्केपछि उसको कलायात्रा आफ्नै गाउँठाउँबाटै शुरु हुन्छ । त्यसो त भक्तबहादुरको बाबा पनि चित्रकार रहेछन् । पल्टनमा उनले बेलाबखत साहेबहरूका चित्र बनाउने रहेछन् । त्यो कुरा भक्तबहादुरलाई थाहा थियो । त्यसैले भक्तबहादुरले प्रारम्भिक कला आफ्नै बाबासितै सिकेछन् । सात कक्षा पास नगरून्जेल जति सिके उनले उनकै बुबासित सिके । त्यसपछि माध्यमिक विद्यालय पढ्न गाउँदेखि टाढा दमौली माध्यमिक विद्यालय पुग्नुपर्ने रहेछ । माध्यमिक शिक्षा पढ्दैगर्दा उनको बसाइँ उतै बजारतिर भयो तर त्यहाँ चित्रकला पढाउने कुनै शिक्षकहरू थिएनन् । आफैँ अभ्यास गरिरहन्थे भक्तबहादुर । उनलाई अझै याद छ, नौ-दस पढ्दाताका बालदिवसको उपलक्ष्यमा सरकारले अधिराज्यव्यापी चित्रकला प्रतियोगिताको आयोजना गरेको रहेछ । जसमा उनले सान्त्वना पुरस्कार पाएछन् । यद्यपि, भक्तबहादुर भन्छन्, ” उतिबेला मैले विद्यालय स्तरमा थुप्रै पटक चित्रकला प्रतियोगिताहरूमा भाग लिएँ । पुरस्कारहरू पनि पाएँ । यद्यपि, अहिले मलाई लाग्छ प्रतिस्पर्धा आफ्नै मिहिनेतसँग गर्नुपर्छ । आफूले आफैँलाई मूल्यांकन गरेर आफैँसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नु नै कलाकारको असली परीक्षा हो भन्ठान्छु ।”
हाइस्कूल पास गरेपछि ललितकलामा चित्रकला पढ्न पुगेका भक्तबहादुर उच्च अध्ययन पूरा नगरी बीचमै छाडिदिएछन् तर स्वअध्ययन गर्दै चित्रहरू बनाउन छाडेनछन् । चित्र बिक्री गर्ने क्रममा ठमेलका गल्लीहरू, पाटन-भक्तपुरका चोकहरू सयौंपटक ओहोरदोहोर गरे, कति जुत्ता फटाले, उनैलाई थाहा छैन ।
त्यही बखत थुप्रै कलाकार साथीहरूसित उनको संगत बढ्यो । चित्रको लत लाग्यो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा उनले एकल र सामूहिक गरेर थुप्रै पटक चित्रकला प्रदर्शनी पनि गरिसकेका छन् । चित्रकर्ममै समर्पित भएर उनले काठमाडौँमा सपरिवार सम्पन्न जीवन बाँचिरहेका छन् । अब हेरौं उनका केही चित्रकलाः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।