कलाक्षेत्रमा सानैदेखिको रूचि थियो । घरपारि मनास्लु हिमाल ऐनाजस्तै छर्लँग टल्किन्थ्यो । त्यही हिमाललाई मुहान बनाएर बग्ने नागबेली नादी खोला अत्यन्त सुन्दर र मनोरम लाग्दथ्यो । यस्तै बिछट्ट प्रकृतिको आँचलमा हुर्के बढेर होला म सानैदेखि रङहरूसंग खेल्न रूचाउदथेँ । समयसँगै रूची बिस्तारै पेशामा परिवर्तन हुन थाल्यो । अचेल कला मेरो बाँच्ने आधार पनि बनेको छ ।

समय र मुड अनुसार मागबाहेक आफ्नो रूची लागेको विषयवस्तुमाथि पनि ब्रस खेलाउने गर्दछु । जुन कलाप्रेमीहरूले मन पराएर किनेर लैजाने पनि गरेका छन् । अहिलेसम्म तैल, एक्रेलिक र जलरङ माध्यममा थुप्रै कलाहरू सिर्जना गरिसकेको छु । अहिले साहित्यपोस्टमा आएका जलरङ माध्यमका कलाहरू हुन् । हरियो साउन थिममा आधरित यी चित्रहरू हालसालै बनाइएका कलाअन्तर्गत पर्दछन् ।

बर्षात् र झरी युवापुस्तालाई मन पर्ने मौसम हो । अझ भनौँ हरियो साउनलार्इ धेरैले प्रेमको मौसमको रूपमा पनि व्याख्या गरेको पाइन्छ । झरीमा रूझ्नुको बेग्लै मज्जा छ । बर्षात् र झरीको बारे अनेकन् कविता र गीतहरू लेखिएका र गाइएका छन् ।

यसपाली मेरो कलामा पनि केही रोमान्चक जोडी र कर्कलाको पातमा अडिएको झरीको थोपा, झरी थामिएपछि चराचुरूंगीको भावभंगीहरू उतार्ने प्रयास गरेको छु । थोपा थोपा, बूंद बूंद, कण कण बाछिटाहरूमा झरीको सौन्दर्य देख्ने पारखीहरूलाई हरियो साउनको शुभकामना !!!

 

भीम सुब्बा तामाङ, बाबु साइँला