भनिन्छ, अनुभवले जीवन चिनाउँछ । अनुभव मानवीय सुख, दुःख, शोक, खुसी, भाव, अभाव, निन्दा र सम्मानको संयुक्त रूप हो । हरेक व्यक्ति अनुभवको पुञ्ज हो । आयुअनुसार पुञ्जको राशि ठुलो हुँदै जान्छ । प्रत्येक व्यक्तिले जीवनमा अनेकौँ नयाँ नयाँ पाठ सिकिरहेको हुन्छ । कोही आफूले हासिल गरेको अनुभवलाई कर्मबाट प्रकट गर्दछन् । कोही कर्ममा अपनाउनुका साथै वाणीबाट पनि अनुभवीको सच्चा परिचय दिन्छन् । कोही जिन्दगीमा सिकेका र महसुस गरेका कुरा लेखनको माध्यमबाट प्रकट गर्दछन् । कोही अनुभवबाट पनि सिक्दैनन् ।
एकजना मित्रले भन्यो, ‘तिमी तिम्रो लेखमा वकिल झैँ प्रतीत हुन्छौ ।”
अर्कोले भन्यो , ‘तिम्रा शब्दहरूमा उपदेशको भाव झल्कन्छ । तिमीले त संस्कृत पढ्नुपर्ने । कति राम्रो भागवत कथा भन्थ्यौ होला ।’
म परिहास गर्छु, ‘म बाहुनजस्तो देखिन्छु र ? मेरो बोलीमा किञ्चित तोतेपना छ । वाणीमा कुनै लालित्य छैन । प्रवचनको प्रवाहमा अनपेक्षित उबडखाबड पैदा हुन्छ। ममा न कला छ र न त कटाक्ष नै । मलाई मेरो क्षमता र सीमाको ज्ञान छ ।’
मेरा शब्दहरूमा जे जस्तो गन्ध आए तापनि ती मेरा मौलिक अभिव्यक्तिहरू हुन् । ती अभिव्यक्ति नै मेरो क्षमता र सीमाका प्रमाण हुन् । मैले के पढ्नुपर्थ्यो , के बन्नुपर्थ्यो र मेरो चरित्र कस्तो हुनुपर्थ्यो भन्ने चर्चा गर्नु र स्टेसनबाट छुटेको गाडीबारे चर्चा गर्नु एउटै कुरा हो । जुन गाडीमा सवार छु त्यही नै मेरो वास्तविकता हो । जे सिकेको छु, त्यही गाडीले घुमाएको यात्रामा सिकेको छु ।
म पोखिन्छु बिना कुनै पात्रमा । लमतन्न र सर्वाङ्ग पसारिन मन लाग्छ मलाई । म दिगम्बर महादेव झैँ स्वच्छन्द विचरण गर्न चाहन्छु । परन्तु सभ्यताको दाम्लोले बाधा दिन्छ । संस्कृतिको सदाचारले खबरदार भन्छ । अनि म घुमाउरो तरिकाले निर्वस्त्र हुन्छु व्यञ्जनामा ।
मेरो शरीर पनि एउटा घर जस्तै त हो । अहिले उमेर बढ्दै जाँदा थोत्रो भएको छ । एकजना मलाई नबिराई पढ्ने मित्रले भने, ‘तिम्रा शब्दहरू कुनै युवाले प्रकट गरेजस्ता लाग्दछन् यदाकदा । तिमीले छद्म नाममा लेख्नुपर्थ्यो । एउटा युवक अझ एउटी युवती बनेर लेख्नुपर्थ्यो । अनि भाइरल हुने थियौ तिमी ।’
साथीको भनाइमा दम थियो कि त्यसै उडाएको हो बुझ्न सकिन । किन्तु म मेरा शब्दहरू कुनै अज्ञात युवक या युवतीका नाममा किन खर्च गरूँ ? किन म अज्ञात युवतीको नाममा निर्वस्त्र बनूँ ? मेरो मनको कुडादानमा लबालब सामग्रीलाई किन म अरूको नामबाट बाहिर मिल्क्याऊ ? म निरन्तर लेख्दै छु र मेरो मनको कबाडखाना शनै: शनै: खाली हुँदै छ । म जतिजति लेख्दै जान्छु, मन हलुका र प्रसन्न हुँदै जान्छ ।
बाबुबाजेले भन्थे , ‘कुन बखतमा के चाहिन्छ के थाहा ? मौकामा कुकुरको बिस्टा पनि काम लाग्छ ।’ कुन सन्दर्भमा भनेथे पुर्खाले, तर हामीले केही पनि फाल्न नहुने बुझ्यौँ । हामीले अनाहक लोभको चक्करमा परेर अनेकौँ कबाडखाना खडा गर्दछौँ । जुत्ता राख्ने ठाउँ, भान्सा, पूजाकोठा, दराज र स्टोरलाई कबाडखाना बनाउँछौँ । त्यतिले नपुगेर हामीलाई अलग्गै ‘थोत्रामोत्रा’ राख्ने ठाउँ पनि चाहिन्छ कबाडखाना खोल्यो कि मुसा, साङ्ला, धमिरा, सुलसुले र स्याउँस्याउँ कीरा समेत निस्कन थाल्दछन् ।
हामी मनको कबाडखाना पनि भरसक खोल्दैनौँ । बरु ताल्चा लगाउँछौँ । जति नै रिस उठे पनि मुख सम्हालेर बोल्नुपर्छ । आफ्नो यौन आकाङ्क्षामा पनि लगाम लगाउनुपर्छ । तिमी पशु होइनौ । तिमी प्रकृतिस्थ प्राणी होइनौ । तिम्रो समाज छ । तिमी सामाजिक बन्नुपर्छ । तिमी संस्कृतिस्थ हुनुपर्छ । आकाङ्क्षालाई नियन्त्रण गर्नुपर्छ ।
उन्मत्त र अनुशासनहीन पशुलाई ठिक पार्न घाँडो लगाइदिने चलन छ । पशुलाई नियन्त्रण गर्न र आफूअनुकूल कज्याउन नाकमा नत्थी, मुखमा लगाम र घाँटीमा दाम्लोले नियन्त्रण गर्ने चलन छ । मानिसलाई चाहिँ समाज , धर्म, संस्कृति, परम्परा र कानुनको जन्जिरले बाँधिन्छ ।
कृष्ण अर्जुनलाई सम्बोधन गर्दै भन्छन्, ‘हे अर्जुन तिमीमा समाज बस्दैन, तिमी समाजमा बस्छौ । तिमीले निर्धारण गरेको नियमलाई समाजले मान्नु जरुरी छैन । परन्तु समाजले निर्धारण गरेका नियम तिमीले मान्नै पर्छ ।’
हाम्रो मनमा दुई किसिमका जिन्सीखाना छन् ।
पहिलो – सामाजिक किंवा सांस्कृतिक जिन्सीखाना र अर्को – व्यक्तिगत जिन्सीखाना ।
हाम्रो मनको कबाडखानामा हामीले वर्षौं थुनेर राखेको कुडाकर्कट छ । त्यहाँ पनि काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, आशक्ति, ईर्ष्या, द्वेष, निन्दा र उपहासको स्टोर छ । कुनै समयमा कसैले उपहार स्वरूप दिएका वचनरूपी सर्प, बिच्छी, मुसा, उपियाँ, लामखुट्टे र छुचुन्द्रा जम्मा भएर बसेका छन् मनैभरि।
शारीरिक कब्जियतभन्दा मानसिक कब्जियत खतरापूर्ण हुन्छ । मेरो मानसिक कब्जियतलाई मैले केही लेखेर फालिसकेको छु र केही अनुभव र भोगाइको सिलसिलामा नि:शब्द खाली गरेको छु । लेखन बडो गुनिलो जरिया हो मानसिक सफाइको । शब्दहरू कुचो जस्तै हुन् । शब्दको माध्यमबाट मनको कबाडखानाको ताल्चा खुल्छ र त्यहाँभित्र स्वच्छ पवन छिरेको आभास हुन्छ । मैले जसको नाममा मेरा शब्दरूपी कबाड फालिदिन्छु , उसले पढ्दैन । कदाचित पढे पनि बुझ्दैन । कथम् बुझेछ भने पनि आफ्नै मनको कबाडखानामा जम्मा गरेर राख्छ । मेरो उद्देश्य मेरो कबाडखाना रित्याउने हो । त्यसले सरुवा भएर अरू कसैको मन फोहोर गराउन पुग्छ भने म केवल ‘राम’ मात्र भन्न सक्छु ।
म लेख्छु, मानौँ एउटा सानो बालक अस्फुट तोते बोलीमा उच्चतम दार्शनिक भावहरू फैलाउने चेष्टामा छ । मेरा द्वन्द्वहरू यसरी बालकीय लेखनमा समाधान हुन्छन् । सायद लेखनले मनुष्यलाई पागल हुनबाट जोगाउँछ । पढ्नेले ‘लौ यो त पग्लाएछ’ भन्ला , परन्तु त्यो पगलाहट होइन । त्यो त सम्भावित पागलपनलाई मिल्क्याएर निर्मल बन्ने प्रक्रिया हो ।
महाकविले ‘पागल’ कविता लेखेर आफ्नो सम्भावित गम्भीर पगलाहटलाई खुला गगनमा फालिदिएका थिए । शोकाकुल कविवर माधव घिमिरेले ‘गौरी’ लेखेर शोकमय पगलाहटको चिकित्सा गरेका थिए । बेकारका सामान फालेर र बढारकुंढार गरेर मनको कबाडखानालाई परिमार्जन गरियो । स्टोर सफा र शुद्ध भयो ।
मेरो जन्म मेरो इच्छाले भएको होइन । ब्राह्मण कुलमा जन्मनु मेरो नियोजित आकाङ्क्षा होइन । म मनुष्य योनीमा, त्यो पनि ब्राह्मण कुलमा जन्मेको भनेर गौरव पनि गर्दिन । र ‘बेकारमा बाहुन बनेर जन्मिएछ’ भनेर ग्लानि गर्नुको पनि कुनै प्रयोजन छैन । मेरो काबुभन्दा बाहिरको कुरामा न पिर गर्नुको अर्थ छ र न त गौरव नै । परन्तु यो जगतम जति पनि मनुष्य छन्, ती सबैको इज्जत बराबर छ र सबै समान सम्मानका हकदार छन् भन्नेमा चाहिँ प्रस्ट छु ।
जन्मनुअघि म आमाको कोखमा थिएँ । आमाको शरीरमा आउनुअघि पिताको शरीरमा थिएँ । त्यसअघि पनि थिएँ म । तर कहाँ ? मुण्डकोपनिषद् भन्दछ, ‘त्यसअघि म निराकारमा थिएँ ।’ यो जन्म हुनुभन्दा त मलाई निराकार नै ठिक थियो । त्यस्तो निराकार, जो सनातन र सुषुप्त थियो । न सुख, न दु:ख, न जन्म, न मृत्यु, न शोक, न सुर्ता, न जड र न त चेतन नै । मलाई यो जाग्रत् र स्वप्न अवस्थाको महासागर समान जीवन जगतको कुनै प्रयोजन थिएन । परन्तु वास्तविकता के हो भने मेरो जन्म भयो । म छु ।
हामी हिन्दु हौँ भनेर गर्व गर्छौं । मुसलमान र इसाई पनि त्यही गर्छन् । हामी त्यो सीमाबाट बाहिर जानै सक्दनौं । हामी स्वतन्त्र जन्मन्छौँ, तर नाल काट्ने बित्तिकै कारागारको वास सुरु हुन्छ । कतै खतना गरेर र कतै के के गरेर । जहाँ जन्म भए तापनि गर्व या पश्चात्ताप गर्नुको प्रयोजन छैन । हिन्दुकहाँ जन्म्यो हिन्दुको दाम्लोमा बाँधियो । इसाईकहाँ जन्म्यो , इसाईको जन्जिरमा जकडियो ।
त्यो जन्जिर हाम्रो रोजाइ होइन । तर हामी प्रश्नहीन निष्ठा राख्छौँ । यसै गरी सभ्यता अगाडि बढिरहेको छ ।
वेदान्त भन्दछ, ‘म कुनै धर्मको होइन । म कुनै देश या इलाकाको होइन । आज म जुन शरीरमा निवास गर्छु , त्यो मात्र पनि होइन म । म त यी सारा सीमाभन्दा पर छु (बियोन्ड) ।’ यो सारा संसार सुगन्धित पुष्पमय मात्र छैन । यो जगत मलिन पनि छ । संसारले हामीलाई त्यही मलमा डुबाउने प्रयत्न गर्छ । हामी आज्ञाकारी शिष्य झैँ उसले जे भन्छ, त्यही मान्दै जान्छौँ ।
हे मानव ! तिमी चैतन्य स्वरूप हौ । तिमी स्वयं सनातन र अविनाशी ब्रह्म हौ । ब्रह्म अर्थात् निर्विकार, निराकार, शाश्वत र सनातन । सांसारिक गाली, अवहेलना, कलह र द्वेष सबै मल हुन् । तिनलाई जिन्सीखानामा थुनेर नराख । चित्तलाई शुद्ध र सिनित्त राख । वाणीलाई संयत राख । मनलाई फोहोर थन्क्याउने कुडादान नबनाऊ । मनको स्टोरलाई ताल्चाहीन र स्वतन्त्र छाडिदेऊ । कबाडबाट मुक्त हुनासाथ गाली गाली रहने छैन । हेला हेला रहने छैन । ईर्ष्या र द्वेषका काला मेघहरू आफै हराएर जानेछन् । मनको गगन स्वच्छ , नीलो र निर्मल हुनेछ ।
कतै पढेको थिएँ । सायद ओशो कथा हो यो – एउटा गाउँमा आमाछोरी बस्थे । बडो सभ्य , सुसंस्कृत र विनयशील । परन्तु दुर्भाग्यवश दुवै जना निदमा हिँड्ने रोगले ग्रस्त थिए । एक रातको कुरा हो । संयोगले दुवै जना निदमा बाहिर निस्के आधा रातमा । दुवै निस्के , किन्तु एक निस्केको अर्कोलाई थाहा भएन । अकस्मात् एउटा बगैँचामा आमाछोरीको भेट भयो ।
छोरीलाई देख्नासाथ आमा क्रोधले गर्जन गर्न थालिन्, ‘तँ दुष्ट ! तैँले मेरो जवानी खोसिस् । मेरो सारा सौन्दर्य खोसिस् तैँले । तेरो पालनपोषण गर्दैमा म वृद्ध हुँदै छु ।’
छोरीले भनिन्, ‘तँ पापिनी बुढी ! तैँले मेरो प्रेमको मार्गमा तगारो तेर्स्याइस् …।’ भयानक रूपमा भनाभन हुँदै थियो । त्यत्तिकैमा भाले बासेको सुनियो ।
दुवै निद्राबाट जागे । ‘आमा किन बाहिर निस्केको ? कमजोर शरीर, खाना पनि राम्ररी खानुहुन्न ।’
अगिसम्म सभ्यताको लगाम थिएन, दुवै संस्कृतिविहीन थिए । पारिवारिक मर्यादा र विनम्रताको जन्जिर थिएन । आमाप्रतिको कर्तव्यबोध थिएन । जागा हुनासाथ वचन र व्यवहारमा सभ्यताले सेन्सर लगायो । सांस्कृतिक मनको जागरण भयो । ‘मलाई चेतना छ, कि म जीवित छु । मलाई होस छ , कि म एक चेतनमय आत्मा हुँ । म सभ्यतामा छु । संस्कृतिको पालना मेरो परम कर्तव्य हो । यही मेरो चैतन्य हो ।’
केवल बौद्धिक अभ्यासले मात्र व्यावहारिक ज्ञान प्राप्त हुँदैन । मनको कबाडखानाको व्यवस्थापन गर्न अनुभूति र आत्मबोधको आवश्यकता पर्छ । हामी अरूका बैगुन खोजेरै वृद्ध र रोगी हुन्छौँ । हामीले दुनियाँभरको निरीक्षण गर्छौं , किन्तु आफ्नो चित्त वृत्तिको निरीक्षण गर्नबाट फुत्कन्छौँ । आउनुहोस् , हामी सबै हाम्रो अन्त:करणको कोमलतालाई छामेर आफ्नो अवस्थिति पत्ता लगाऔँ । इमानदारीसाथ खोज्यौँ भने आफूलाई पनि अवश्य भेट्टाउने छौँ ।
यो शरीर, यो सारा सम्पदा र यो सौन्दर्य सबै एक दिन समाप्त हुनेछ । यो अभिमान, यो यौवन र यो सम्मान पनि हेर्दाहेर्दै समाप्त हुनेछ । तथापि हामी कर्ममार्गमा सदा समर्पित हुनु परम आवश्यक छ । एक दिन मर्नुपर्छ भन्ने चेतना हमेसा आत्मसात गर्नुपर्छ । परन्तु मरेर जाने चोला हो भन्दैमा नीच मारेर खुम्चिनु हुँदैन । हामीले हाम्रा इन्द्रिय, मन, बुद्धि र चेतनालाई हमेसा चलायमान राख्नु जरुरी छ । खिया लागेको चित्त र बुद्धिले सारा जीवनलाई नै अँगार झैँ कलुषित पार्दछ ।
हामीले भौतिक परियोजनाको झैँ आफ्नो जीवनको पनि अनुगमन गर्नु जरुरी छ । पुराना सडक, पुल र भवनमा देखा परेका खिया सफा गरे झैँ. पार्ट पुर्जा फेरे झैँ, भ्वाङ टाले झैँ र मैलालाई खाक्सीले घोटेर सफा पारे झैँ चित्तको अनुगमन र परिमार्जन गर्नु अति आवश्यक छ ।
ज्ञानले शान्ति मिल्छ । अनुभवले पाठ सिकिन्छ । आत्म निरीक्षणले चित्त वृत्तिको पहिचान हुन्छ । पहिचानले मनोरोगको निदान हुन्छ । निदानले उपचारको मार्ग प्रशस्त हुन्छ । हामीले बुझ्यौँ भन्दैमा अरूले पनि बुझे भनेर बुझ्नु हुँदैन । सबैको समझको आआफ्नो तरिका र क्षमता हुन्छ । सकिन्छ भने अरूलाई पनि कर्मशील , शालीन र शान्त पार्ने यत्न गरौँ । सकिँदैन भने आफ्ना इन्द्रियहरूलाई कर्मनिष्ठ , चित्तलाई शान्त र स्वभावलाई शालीन बनाऔँ । यत्ति मात्र गर्न सके पनि आधा समस्या समाधान हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।