सबै धर्मका ग्रन्थहरू उत्तिकै पवित्र छन्, कुनै पनि ग्रन्थहरू कुनै एकधर्म वा एक सम्प्रदायका मुखपात्र हुन सक्दैनन् । ग्रन्थहरू ज्ञानका स्रोत हुन् । ज्ञान कुनै एक निश्चित सम्प्रदायको निजी सम्पत्ति हुँदै होइन । ज्ञान त लोक कल्याणको नीति वा विधान हो । श्रीमद्‍भगवद्‌गीता पनि ज्ञानको स्रोत हो । यो केवल हिन्दु अर्थात् आर्य सभ्यताका लागि मात्र नभई लोक कल्याणका लागि समेत साधन हो । श्रीमद्‍भगवद्‌गीता ज्ञानको भण्डार अर्थात् सार्वजनिक सम्पत्ति हो । ज्ञानको मूल ढोकामा धर्मको पर्खाल लगाउनु अपराध हो । वेद, उपनिषद्, गीता, बाइबल, कुरान, त्रिपिटक जसले जे पढेर ज्ञान लिँदा हुन्छ । महाभारतको भीष्म पर्वमा श्रीकृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञान नै प्रकारान्तरमा आएर श्रीमद्‍भगवद्‍गीताका रूपमा चिनिएको छ । कतिपय विद्वान् विदुषीले गीतालाई सदाबहार ज्ञान समेत भनेका छन् । पूर्वीय दर्शनका प्रमुख तीन स्तम्भ मध्ये गीतालाई एउटा स्तम्भ मानिन्छ ।

श्रीमद्‍भगवद्‌गीताको आधार अर्थात् उद्भव केन्द्र महाभारत हो । महाभारत युद्धका लागि नै श्रीमद्‍भगवद्‌गीताको ज्ञान दिएकाले यस गीताका अगाडि र पछाडिका विभिन्न सन्दर्भलाई आधुनिक युगमा विभिन्न विद्वान्, विदुषीले पत्ता लगाएका विभिन्न वाद तथा दर्शनहरूलाई केलाएर हेर्दा यसलाई स्पष्टसाथ बुझ्न सकिन्छ । आधुनिक युगमा पत्ता लगाएका अधिकांश वादहरूको प्रयोग महाभारतमा उति बेला नै प्रयोग भइसकेका छन् । महाभारत र गीतालाई थप गहिराइमा बुझ्नका लागि अहिलेका वादहरू र महाभारतमा प्रयोग गरिएका सन्दर्भहरूलाई बुझ्नु पर्ने हुन्छ ।

राजगद्दीको हकदार भएता पनि धृतराष्ट्र दृष्टिविहीन भएकै कारण उनलाई राजगद्दीबाट टाढा राखिएको थियो । राजगद्दीबाट केही समय टाढा हुँदा धृतराष्ट्रको अचेतन मनमा कुर्सीको लालमोहर राम्रोसँग लागिसकेको थियो । द्रौपदी त्यति बेलाकी भारत वर्षकै सुन्दर युवती हुन् । द्रौपदीप्रति दुर्योधन र कर्णको अचेतन मनमा भोग गर्ने इच्छा बसेकाले कुरुसभामा द्रौपदीको चीरहरण भएको समेत सजिलै आकलन गर्न सकिन्छ । यद्यपि चीरहरण हुनुको सर्त अर्कै देखिन्छ । कर्ण र दुर्योधनको मनमा बसेको कुण्ठित इच्छाहरूको दुष्फल द्रौपदीको चीरहरण हो । धृतराष्ट्रको अचेतन मनमा बसेको कुर्सी मोह र दुर्योधनको मनमा रहेको अतृप्त विषय वासना भोग महाभारत युद्धका प्रमुख कारण मध्येको एक कारण हो । मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा धृतराष्ट्र र दुर्योधनको दमित इच्छाको विस्फोटन हो महाभारत युद्ध ।

पाण्डव राजा भए पनि उनीहरू षडयन्त्रको सिकार भएर सबै थोक गुमाउँदा पाण्डवहरू नै शोषित हुन पुगे भने अर्कातिर कौरव शोषक हुन पुगे । यसरी शोषित र शोषक ध्रुवीकरण भए पछि वर्ग सङ्घर्ष हुन जरुरी थियो । कार्लमाक्सकानुसार “महाभारत युद्ध नै वर्ष सङ्घर्षको अन्तिम र निर्णायक सङ्घर्षका रूपमा देखा परेको छ ।” यस सङ्घर्ष पछि पाण्डवराज्य (साम्यवाद) को स्थापना भयो । अहिलेको साम्यवाद र पाण्डवले राज गर्दाका बखतका राज्य नीतिबिच धेरै हदसम्म समानता छन् ।

षडयन्त्रको सिकार भएर सबै थोक गुमाए पछि पाण्डवहरूको जीवन निराशातिर उन्मुख भएको थियो । त्यस्तो घोर निराशाको बिचमा पाण्डवहरूले आफ्नो अस्तित्व साबित गर्नका लागि महाभारत युद्धमा होमिएका थिए । ‘हिलोमा नै कमल फुल्छ’- अस्तित्ववादको मान्यता यहीँ हो । महाभारत युद्ध अस्तित्वको कमल थियो जुन विसङ्गतको हिलोमा फुलेको थियो ।

द्रौपदीले पाँच पाण्डवसँग विवाहको प्रस्ताव केही बेरसम्म अस्वीकार गर्नु, चीरहरण सभामा आफ्ना लोग्नेलाई धिक्कारी विद्रोह गर्नु, कौरवसँग पाण्डवले आफ्नो अपमानको बदला नलिएसम्म केश नबाँध्ने प्रतिज्ञा गर्नु र किचकको बलात्कारको प्रयास असफल पारेर नारी पुरुषको भोग्य साधन होइन, नारी पनि मानव हो । नारीको पनि सम्मान हुनुपर्छ भन्ने नारीवादी चिन्तन महाभारतमा छरेकी छन् ।

गीतामा भएको आत्माको परिभाषा र आधुनिक विज्ञानले परिभाषित गरेको शक्ति (इनर्जी)को परिभाषा पनि एक आपसमा बाझिन्छ अर्थात् मिल्छ । आत्मा न जन्मिन्छ न मर्छ यसले केवल शरीर फेर्छ यो गीताको वचन हो । विज्ञानले शक्ति न सिर्जना हुन्छ न नाश हुन्छ । यो केवल एउटा रूपबाट अर्को रूपमा परिवर्तन हुन्छ भनी परिभाषित गरेको छ । विज्ञानले गीतामा वर्णित आत्माको मान्यतालाई शक्तिका रूपमा स्वीकार गरेको देखिन्छ । यस कारणले पनि गीता पूर्णतः वैज्ञानिक ज्ञान समेत हो ।

गीतालाई बुझ्न मनोवैज्ञानिक, माक्सवाद, अस्तित्ववाद, नारीवाद आदि दृष्टिकोणबाट महाभारतका घटनाहरूलाई केलाएर अध्ययन गर्नुपर्दछ । गीतामा कुनै  एउटा दर्शनको बाहुल्यता छैन । त्यसैले यो बहुलवादमा आधारित दर्शन हो । सफलताको पहिलो चाबी भनेको कर्म (मेहनत) हो । कर्म (मेहनत) नै धर्म हो । आफ्नो सफलताका लागि कसैको मानव अधिकार हनन गर्नु हुँदैन । यो संसारमा सबैभन्दा बलवान् समय (परिस्थिति) हुन्छ भन्ने मान्यता आधुनिक दर्शनको पनि छ र यही दर्शन गीतामा पनि छ । गीतामा सूत्रात्मक वाक्य गठन भएकाले त्यसको उपयोगिता हरेक क्षेत्रमा उत्तिकै छ ।

गीतामा श्रीकृष्णले विराट् स्वरूप देखाउँदा ‘शुक्लयजुर्वेद’मा वर्णन गरिएको हजारौँ नेत्र, कान, नाक, मुख, हात र पाउ भएको पुरुषका रूपमा चित्रित गरेर श्रीकृष्णलाई ईश्‍वरीकरण गरिएको छ । श्रीराम र श्रीकृष्णलाई विष्णुको अवतार मानिएको छ । श्रीरामका पालामा सती प्रथा थिएन तर श्रीकृष्णका समयमा सती प्रथा बढ्दो अवस्थामा थियो । श्रीकृष्णलाई आफ्नै पूर्वजन्मको पूर्ण ज्ञान नभएको जस्तो देखिन्छ यसको मतलब उनी सर्वज्ञता भने होइनन् । वेद, उपनिषद्, पुराणले ईश्वरलाई सर्वज्ञता भनेर परिभाषित गरेका छन् । सती प्रथा जस्तो अमानवीय र क्रूर व्यवहारको मूकदर्शक भएकाले श्रीकृष्ण ईश्वर हुन् भन्ने कुरामा शङ्का पैदा भएता पनि श्रीकृष्ण त्यस युगमा महानायक हुन्, शान्तिप्रेमी मानव रूप हुन्, चतुर कुटनिज्ञ हुन्, अद्भुत प्रेम र करुणाले भरिएका युग नायक हुन् भन्ने कुरामा कुनै द्विविधा छैन ।

संस्कृत भाषा अहिले लोपोन्मुख अवस्थामा पुगिसकेको छ, श्रीमद्‍भगवद्‍गीता संस्कृत भाषामा लेखिएको दार्शनिक ग्रन्थ हो  । संस्कृत भाषामा रहेको दिव्य ज्ञानलाई सरल, सरस र सुबोध्य रूपमा कवि उमेश अवस्थी आदर्शले श्रीमद्‍भगवद्‍गीता आदर्शगीतामा उतार्न सफल भएका छन् । विषयवस्तु उहीँ, परिवेश उहीँ, पात्रहरू उहीँ र भाषाशैली मात्र फरक भएकाले श्रीमद्‍भगवद्‍गीता आदर्श गीता गीताको छायानुवाद हो । कवि आदर्शले ‘आदर्श गीता’ लेखेर गीताको पुस्तान्तरण गर्नमा ठूलो योगदान गरेका छन् । उनको आदर्श गीता सरल पद्यमा भएकाले नेपाली भाषी जसले पनि गुनगुनाएर आफ्नो काम गर्न सक्नेछन् । कवि आदर्शले युवा उमेरमै असामान्य र अकल्पनीय काम गरेका छन् । युगौँदेखि वर्णन गरिँदै आएको गीतालाई २४/२५ वर्षकै उमेरमा पद्योबद्ध गर्नु जटिल कार्य नै हो ।

कवि आदर्शले नेपाली भाषामा गीताको छायानुवाद गर्ने क्रममा डोटेली भाषाका केही शब्दहरूको प्रयोग गरेका छन् । जसले काव्यलाई झनै रसिलो बनाएको छ । संस्कृत भाषामा लेखिएको श्रीमद्‍भगवद्‍गीता विशेष अनुष्टुप् छन्दमा लेखिएको छ भने कवि आदर्शद्वारा अनुवादित गीतामा शार्दूल विक्रीडित, अनुष्टुप्, तोटक लगायतका थुप्रै छन्दको प्रयोग गरिएको छ । दैनिक जीवनमा प्रयोग हुने किसिमका शब्दहरूको प्रयोग गरेर कविले उक्त गीता लेखेका छन् । काव्यका हिसाबले काव्यिक शब्द प्रयोग गर्नु उपर्युक्त हुन्छ । दैनिकी जीवनमै प्रयोग हुने अधिकांश शब्दको प्रयोग गरेर गीतालाई महाकाव्यतर्फ साहित्यमा डोर्याउनु एकातिर नेपाली साहित्यका लागि उपलब्धि हो भने अर्कातिर  यसलाई आदर्श गीताको कमजोर पक्ष समेत मान्न सकिन्छ ।

वर्तमान समयमा मान्छे दिनमा दुई गुणा रातमा चार गुणा भ्रष्ट बन्दै गइरहेका बेलामा गीता सरल पद्य रूपमा आएको छ । यसको अध्ययनले केही हदसम्म मानिसलाई इमानदार,विनयशील र चरित्रवान् बनाएर आदर्श समाज निर्माणमा भूमिका खेल्ने नै छ । समाजको छातीमा ढुङ्गो हैन मुटु धड्किने बनाउनका लागि आध्यात्मिक ज्ञानको आवश्यकता पर्ने गर्दछ । त्यो गीताभित्र पाइन्छ । सरल ढङ्गबाट सहजै बुझ्नका लागि त कवि आदर्शद्वारा अनुवादित गीता पढ्न सकिन्छ । समृद्ध समाज निर्माणका लागि भौतिक र आध्यात्मिक दुवै ज्ञानको अपरिहार्यता हुन्छ । तसर्थ भौतिक र आध्यात्मिक दुवै ज्ञानको पार्दूभाव गर्न सक्ने महान् काव्य हो श्रीमद्‍भगवद्‍गीता आदर्श गीता ।