नसम्झनुहोस् म दार्शनिक रोला बार्थको कुरो गर्दै छु। उसको सिद्धान्तको कुरो गर्दै छु। उसले सिद्धान्तमा लेखकको मृत्युको घोषणा गरेको थियो। तर आज म यथार्थमा एउटा लेखकको मृत्युको फेहरिस्त बताउँदै छु।

त्यो लेखक जो मेरो सबैभन्दा प्रिय थिए। आत्मीय थिए। यस अर्थमा हैन कि ऊ र म एक अर्काबिच परिचित थियौँ। तर यस अर्थमा कि उसले मेरो मनको बहहरू लेख्ने गर्थ्यो। मेरो मात्रै हैन ऊ यो पुरै आख्यानटारको सबैका प्रिय लेखक थियो। जसका कथाहरूले सबै जनाको जिन्दगीलाई अपनत्व महसुस गराउँथ्यो।सबै जनाको हृदयलाई छुन्थ्यो। सबै जनाको अन्तर आवाजलाई सुन्थ्यो।

उसको लेखनशक्ति भनेको उसको जिन्दगीको विराट अनुभव थियो। जिउनुको विविधता थियो। लेख्नुको निम्ति बाँच्नुपर्छ भन्थ्यो ऊ । हाम्रो निम्ति लेखक भएनि ऊ आफ्नो निम्ति भने एक पात्र थियो। जो स्वयं बाँच्थ्यो एक कहानी। एक मृगतृष्णा। एक महत्त्वाकाङ्क्षा। र त्यसलाई एकाकार गराउँथ्यो हामीसँग। त्यहीँ कतै भेट्थ्यौँ हामी पनि हाम्रो जिन्दगीहरू। जिन्दगीलाई यति नजिकबाट लेख्ने उ तर आज चुपचाप मृत्युको नियति स्विकार्न बाध्य भयो। उसको मृत्युले यो पुरै आख्यानटार शोकमा डुबिरहेका छ। र एउटै सोचमा रङमङिरहेको पनि; आखिर उसको मृत्यु किन भयो ? कसरी भयो ?

खासमा, अन्तिममा उसको कलम भुत्ते हुँदै गइरहेको थियो।

त्यहीँ कलम जसले पहिले सयौँ सुन्दर कथाहरू लेखेका थिए। ती कथाहरूमा उनले अनेकौँ सुन्दर पात्रहरूको सिर्जना गरेका थिए जसलाई मृत्युपर्यन्त सायदै हामी बिर्सन्छौँ। ती पात्रहरू खासमा जीवन्त थिए र आख्यान्टारको सबैसँग नजिकबाट साक्षात्कार गर्ने गर्थे। दुखका भलाकुसारी गर्ने गर्थे। खुसीको हाँसो हाँस्ने गर्थे। ती पात्रहरू आख्यान्टारभरी चर्चित थिए जसरी चर्चित थिए उसका प्रत्येक कथाहरू ।

तर अन्तिममा उसको कलम भुत्ते हुँदै गइरहेको थियो।

ऊ बारबार पाउलो कोहेलोको भनाइ दोहोर्याइरहन्थ्यो- लेखकहरू आँसु र हाँसोको सागरमा डुबुल्की मारिरहने निरीह प्राणीहरू हुन्। साँच्चै त्यस बखत ऊ निरीह भएको थियो। एकदमै लाचार। के उसले पिडाको सागरमा पौडन जानेन ? आँसुको सागरमा डुबुल्की मार्न सकेन ? हैन। ऊ आँसुको सागरमा डुबुल्की मारेरै यतिन्जेल बाँचिरहेको थियो । उसो भए के जिन्दगीप्रति उसको असन्तुष्टि थियो ? यो पनि हैन। खासमा उसको असन्तुष्टि आफ्नै कथाहरूसँग थियो। आफ्नै लेखाइसँग थियो।

ऊ सुरुमा होलटाइमर लेखक बन्न चाहन्थ्यो। त्यसको निम्ति ऊ हर दिन हर रात आफूलाई बन्द कोठाभित्र थुन्थ्यो र लेख्थ्यो। त्यो बन्द कोठाभित्र झ्याल भने खुल्ला रहन्थ्यो। उत्तरतिर फर्किएको काठको झ्यालबाट हावाका झोक्काहरू सुस्तरी भित्रबाहिर गरिरहन्थ्यो। सोचको गहिरो गुम्फनभित्र बाफिरहेको उसको मस्तिष्कलाई त्यहीँ हावाका झोक्काहरूले स्फूर्ति दिने गर्दथ्यो। चराहरूको उत्सव, नदीहरूको भजन र हुस्सुहरूको जात्रा हेर्दै लेख्न उसलाई खुब मन पर्थ्यो।

बेलाबेला ऊ जङ्गल विचरण गर्थ्यो। उसले प्रकृतिको गहिरो जीवनदर्शनलाई मानवीकरण गर्न नै बर्षौं वर्ष सङ्घर्ष गरेको थियो। फुलका डाली डालीमा आएर सैसला खेल्ने बतासहरूको ढुकढुकी जाँच्न खोज्थ्यो। असीमित उड्ने बादलहरूको यात्रा नाप्न खोज्थ्यो। आकासको अतल गहिराइ तौलन खोज्थ्यो। तपस्यामा बस्ने पहाडहरूको ध्यानलाई हृदयङ्गम गर्न खोज्थ्यो। रुखको मुनि उभिएर पातहरूको कानेखुसीलाई सुन्न खोज्थ्यो। घण्टौँ घण्टासम्म पातपतिङ्गर, ढुङ्गा माटो, चराचुरुङ्गी र देवी देउरालीको जिन्दगीसँग एकाकार गराएर जङ्गलको बिचमा एक्लै शून्यताभासमा हराउँथ्यो। यसरी उसले मस्तिष्क घोटेर आफैलाई कठोर यातना दिन्थ्यो।

बेलाबेला ऊ कोठाबाट फुत्त निस्किएर पागल जसरी आफ्नै सुरमा हिँड्थ्यो। ऊ यति बेसुरे भइसकेको थियो कि बाटोवरपर भेटिने भिडहरूको वास्तै हुन्थेन। हल्लाहरूको फिकर हुन्थेन। हिँड्दा ऊ अक्सर चुरोट पिउँदै हिँड्थ्यो। सर्कोपिच्छे सकिने चुरोटको ठुटाजस्तै जिन्दगी पनि निस्सारमा दुर्व्यसनी भइरहेछ, ऊ सोच्थ्यो। हावामा डोलिँदै उड्दा चुरोटको धुवाँ एकदमै तिलस्मी देखिन्थ्यो। जस्तो तिलस्मी उसको अस्तित्व देखिन्थ्यो।

ऊ आख्यानटारको एकेक बस्तीमा पुग्थ्यो। बस्तीमा भेटिने सबै पात्रहरूप्रति ऊ संवेदनशील बन्थ्यो। पात्रहरूमध्ये पनि उसको संवेदना दीन-दुखीप्रति अलि बढ्ता हुने गर्दथ्यो। तिनीहरूसँग ऊ हप्तौँ आत्मिक साक्षात्कार गर्दै बातचित गर्थ्यो। तिनीहरू दुख्दा तिनीहरूसँग ऊ पनि घण्टौँ दुख्थ्यो। तिनीहरू रुँदा ऊ पनि घण्टौँ रुन्थ्यो। तिनीहरूको व्यथाको आँसु उसको निम्ति सबैभन्दा महत्त्वपूर्ण हतियार थियो जसले धोएर ऊ दुनियाँकै सबैभन्दा सुन्दर र शक्तिशाली हरफहरू लेख्थ्यो। बेलाबेला ऊ भगवानको यस्तो स्याडिस्टिक इन्स्टिङ्ट सम्झिँदै उद्वेलित हुन्थ्यो। तथाकथित सर्जक हुनुको दम्भी सुप्रिमेसीदेखि झनक्क रिस उठ्थ्यो। तर जति नै उद्वेलित भएपनि आखिरमा उसको मन कपास जत्तिकै मुलायम थियो। पग्लिहाल्थ्यो।

मृत्युअघि अन्तिमपल्ट उसलाई हामीले त्यहीँ आख्यानटारमै देखेका थियौँ। त्यतिखेर ऊ एकदमै क्लान्त र गम्भीर देखिन्थ्यो। त्यस उपरान्त ऊ कहाँ गयो ? के गर्यो ? कसैलाई थाहा छैन।

के उसले सुटुक्कै कोठामा आत्महत्या गर्यो त ?

“हैन!”- उसको एउटा प्रिय पाठक बोल्यो।” ऊ आत्माहत्यालाई पलायनवादी सोच भन्थ्यो, कायरता भन्थ्यो। सृष्टिकै अनुपम उपहार हो भन्थ्यो जिन्दगी। यस्तो सोच्ने मान्छेले कसरी आत्महत्या गर्न सक्छ ?”- त्यो पात्रले लेखकको आत्महत्याको कुरालाई ठाडै अस्वीकार गर्यो।

“मेरो नाम काक्फा हो। म उसकै कथाको एउटा उपेक्षित पात्र। तर पनि उसले मलाइ हाँस्न सिकायो। उपेक्षा र घृणाहरूमाझ पनि बाँच्न सिकायो। उसले यस अर्थमा जिउन नसिकाउनु हो त मैले अरूहरूसँगकाे आफ्नो समान अस्तित्व चिन्नै नसक्ने थिएँ। यस अर्थमा उसले मलाई सच्चा मान्छे हुनुको गौरव बोध गरायो र खुसी प्रदान गर्यो। उसको कथाको पात्रमध्ये सायद म सबैभन्दा खुसी पात्र हुँ”- त्यो पात्र बोल्यो।

“के उसको हत्या भयो ?”

“को बाट ?”

“सम्भ्रान्त र सुखी मान्छेहरूबाट।”

“किन उनीहरूबाट ?”

“सायद दुखी, निरीह, उपेक्षित र सर्वहारा वर्गहरूलाई उनीहरूकै दाँजोमा उभ्याइदियो भन्ने हाइरार्की सोचले।”

“हुन सक्छ।”

“तर नहुन पनि सक्छ।”

आख्यानटारको घुमाउने चौतारीमा भेला भएर सबै जनामाझ उसको मृत्युको अड्कल र गन्थन धेरै बेरसम्म चल्यो।

“उसको निम्ति कोठाबाहेक अर्को प्रिय स्थान घाट थियो। ऊ दिनमा एक पटक घाटहरूमा जाने गर्थ्यो। सायद मृतात्माहरूको स्नेहले उसको मृत्यु भएको हुन सक्छ।”- कसैले भन्यो।

“जङ्गल जङ्गल डुलिहिँडेकोले सायद जङ्गलीले दुख देको हुनुपर्छ।”-कसैले भन्यो।

“हैन कोठामै एक्लै धुम्धुम्ती बस्दा डिप्रेसन भएर उसको मस्तिष्कको नसा चुँडिएको हुनुपर्छ।”- कसैले भन्यो।

आख्यान्टारको सबै जनाले आआफ्नो अनुमान लगाउन थाले।

“के बेकारमा लख काटिरहने ? बरु उसकै घरमा गएर बुझौँ न!”- त्यहाँ भेला भएको सबैभन्दा बुढोले भन्यो।

उसको कुरो सबै जनाले समर्थन गर्यो। त्यसपश्चात् हामी सबै जना मृत लेखकको घरतिर लाग्यौँ।

बस्तीको निक्कै पर सुनसान ठाउँमा थियो उसको घर। बाँसले बनेको उसको घर सानो र चिटिक्कको घर रित्तो थियो। घरको वरिपरि तारले बार लगाइएको थियो। गमलाको फूलहरू सुकेर पहेँला भइसकेका थिए। आँगनको बिचमा भने एउटा झ्याम्म परेको रुख थियो। त्यो रुखमुनि एउटा काठको फलैँचा थियो। रुखमाथि चराहरू अन्ताक्षरी खेलिरहेका थिए। चराहरूले भुत्ल्याएर आँगन भरी पातहरूको कसिङ्गर बनाएको थियो।

हामी सबै जना उसको सिकुवामा बस्यौँ। घरमा जम्मा एउटा मात्रै कोठा थियो। हामीले त्यो कोठा लेखकको हो भनेर सहजै अनुमान लगायौँ। कोठा भित्रबाट लक हालिएको थियो। अघि कुरा गरेको उत्तरपट्टिको कोठाको झ्याल पनि बन्द थियो। हामीले उसको कोठाको दैलोमा नक गर्यौं। तर केही प्रतिक्रिया आएन। त्यतिकैमा अचानक आँगनमा एक जना मान्छे आइपुग्यो।
” तपाईंहरूको लेखक त मरिसक्यो। मृत व्यक्तिको कोठा किन ढकढकाउनुहुन्छ ?”- उसले कुरा अलिक अनौठो थियो।
“तपाईं चैँ को हो नि ?”- मैले रहस्यपूर्ण तरिकाले सोधेँ।

“मेरो नाम कामु हो। लेखकको सबैभन्दा प्रिय पात्र। एउटा परचक्री पात्र।” उसले रहस्य चिर्दै उत्तर दियो।

“हामी लेखकको लास हेर्न आएको। र उसको मृत्यु कसरी भयो बुझ्न पनि ।” मैले जानकारी पाउने अभिप्रायले सोधेँ।

“सिगरेट पिउनुहुन्छ ?”- उसले सोध्यो।

“नो थेक्ङ्स। बरु कुरो के हो चाँडो बताइदिए बेस हुन्थ्यो।”- भनेँ।

“यति पट्यारलाग्दो जिन्दगी त बिस्तारै बाँचिन्छ भने मृत्युको कुरो सुन्न केको हतार ? रिल्याक्स। बरु पहिले राम्ररी बस्नुस्।”- उसले यति भनिसकेपछि ऊ र म आँगनको फलैँचामा गएर बस्यौँ। उ सिगरेट तान्दै बोल्न थाल्यो-“खासमा उसको कलम भुत्ते भएको थिएन।”

“अनि के भएको थियो त ?”- मैले हतारैमा सोधेँ।

“लौ उसो भए ध्यान दिएर सुन्नुहोस्।”

धेरै दिनदेखि लेखक केही लेख्न खोज्दै थियो। सायद उसको जिन्दगीको आफ्नै कथा। आँखा खोलेदेखि चिम्लिएसम्मको एउटा सत्य। आंशिक, वैयक्तिक। उसले यसअघि धेरै कुछ लेखिसकेको थियो। प्राय सब उत्कृष्ट र सफल नि भएका थिए। तर ती पुस्तकहरू सबै अरूकै जीवनका रङहरू थिए। समयको स्मृति विस्मृतिहरू थिए। अरू नै पात्रहरूको घटनाक्रमको कालखण्ड थिए। त्यै भएर यस पटक ऊ खुद आफ्नोबारे लेख्न चाहन्थ्यो। आफ्नै भोगाइहरु समेटेर। आफैलाई पात्र बनाएर। तर दुखको कुरो उसले लेख्न सकिरहेको थिएन।

ऊ कल्पना लेख्ने लेखक थिएन। न कि भावना लेख्ने लेखक। ऊ स्वच्छ अनुभूतिहरूमा चुर्मुम्म डुबेर लेख्न चाहन्थ्यो। त्यसको निम्ति ऊ जिन्दगीलाई निस्वार्थ भोग्न चाहन्थ्यो। थाहा छ उसले के गर्यो ?

सर्वप्रथम उसले सामाजिक सम्बन्धहरू तोड्यो। सामाजिक भएपछि सिर्जना मर्छ भन्थ्यो। उसले वृद्धा आमाबुवासँगकाे साथ छाड्यो। जसले उसलाई जन्माएर संसार देखाएको थियो। श्रीमतीको साथ छाड्यो। जसले  ऊ माथि सपना देखेकी थिइन्। त्यसपछि घर छाड्यो। समाज र सम्पूर्ण इस्टमित्रसँगकाे सम्पर्कबाट टाढा भयो।

त्यसपछि ?

त्यसपछि ऊ सम्पूर्ण सम्बन्धहरूको पर्खाल तोडेर यहाँ आयो। यहाँ आएर बाँसको सानो कटेरो बनाएर बस्न थाल्यो। मानवीय अनुभूतिको साँचो मूल्य बोध गराउन एक्लो भएर बस्न थाल्यो। पिडाहरू भोग्दै, दुखहरू भोग्दै। त्यतिन्जेलसम्म ऊ एउटा परचक्री भइसकेको थियो। उसको निम्ति सबैभन्दा सुन्दर चिज उसको आफ्नै मस्तिष्क थियो। जहाँ खेलाइरहन्थ्यो जीवनजगतको अनेकौँ दृष्टिहरू, दर्शनहरू, मान्यताहरू। ऊ वरपरका यावत घटना र गतिविधिबारे आउटडेटेड भइसकेका थिए र आफ्नै सोचहरूको संस्करणलाई नवीकरण गरिरहन्थे। अपडेट गरिरहन्थे। यस्तो लाग्थ्यो उसको निम्ति दुनियाँ उल्टो घुमिरहेको छ। ऊ हरेक दिन जसो कोठामै एक्लै बसिरहन्थ्यो। उसको कोठाबाट ट्टट्टट्ट…. आवाज आइरहन्थ्यो। सायद ऊ किबोर्डमा केही टाइप गरिरहेको हुन्थ्यो। उसले लेख्दा प्राय अगरबत्ती बाल्ने गर्थ्यो जसको बास्ना बाटोसम्मै आउँथ्यो।

“तर त्यस दिन अगरबत्तीको बास्ना चलेन।”

“कुन दिन ?”-

“त्यो दिन जब म केही व्यवहारिक कुरा गर्न उसलाई भेट्न आउँदै थिएँ।”- कामु बोल्यो।

“अनि उसले तिम्रो चाहना पूरा गरिदियो त ?”- सोधेँ।

त्यहीँ त बेलिबिस्तार लाउँदै छु। त्यो दिन झ्याल बन्द थियो। कोठाभित्रबाट अगरबत्तीको बास्ना चलेको थिएन। र किबोर्डको ट्टट्टट्ट …. आवाज पनि सुनिएको थिएन। सायद लेखक सोचमा डुबिरहेको होला सोचेँ। र उसको सोच भङ्ग नहोस् भनेर बिस्तारै आँगनमा आएँ। फलैँचामा बसेँ। चराहरूको गीत सुनेँ। एक घण्टापछि बिस्तारै घरभित्र छिरेर चेपबाट उसको कोठा चिहाएँ। तर कोठामा केही चालचुल थिएन। त्यसपछि “फलाना” भनेर उसलाई धेरै पटक बोलाएँ। ऊ केही बोलेन।

यति गर्दा नि प्रतिक्रिया नआएपछि जोडले लात्ताले हानेर ढोका खोलेँ। बिस्तारै भित्र छिरेँ। दुर्भाग्यवश लेखक आफ्नो कुर्सीमाथि मृत अवस्थामा भेटिए।मे रो मनमा एकदमै चिसो पस्यो। सोचेँ कसैले हत्या त गरेन ? तर हत्याको शङ्काको निम्ति उसको अङ्गमा कुनै दाग र चोट थिएन। के उसो भए आत्महत्या थियो ? अहँ आत्महत्याको प्रमाण दिने त्यस्तो केही सबुत पनि थिएन। जस्तो कि  चक्कु, डोरी, ब्लेड, बिखको सिसी, पेस्तोल…। अहँ केही थिएन। त्यसपछि उसको मृत्यु रहस्यमै स्विकारेर एउटा पात्र भएको नाताले लासलाई जङ्गलतिर लगेँ। मैले उसको परिवार, आफन्त र इष्टमित्र कोही पनि बोलाउन उचित ठानिन। फुर्दाखेरि चिहानमाथि उसका सबै पुस्तकहरू राखिदिऊँ भन्ने सोचेर लासलाई त्यतिकै छोडी फेरि घरतिर फर्किएँ।

“त्यसपछि ?”

“त्यसपछि तपाईंहरूसँग भेट भयो”।

त्यतिन्जेलसम्म इलाकाको केही पुलिसहरू लिएर लेखकको परिवार र आफन्तहरू उपस्थित भइसकेको थियो।

त्यसपछि ?

त्यसपछि हामी सबै लास हेर्न जङ्गलतर्फ लाग्यौँ। शिशिर ऋतुको समय जङ्गल सुनसान थियो। नाङ्गा रुखहरूबाट जिन्दगीका अन्तिम पातहरू पहेँलिएर हावामा तैरिँदै खसिरहेका थिए। भुँइमा खसेका सुकेका पातहरू टेक्दै  हामी चिहानघारी पुग्यौँ। एउटा पहेँलो चिहानको छेउमा लेखकको लास लडिरहेको थियो। उसको ओठ सुकेर चिसो र निलो भएको थियो। आँखाहरू बन्द भएका थिए जसको वरपर पहेँलो पुतलीहरू उडिरहेका थिए। उसको लामो कपाल जमिनभरि पसारिएको थियो। उसको मृत शरीर ढुङ्गाझैँ शान्त थियो।

पुलिसहरूले लासलाई राम्रोसँग नियाले। असई  साबले केही जवानहरूलाई थप इन्भेस्टिगेसनको निम्ति लेखकको कोठामा जाँच गर्न पठायो। एकछिनपछि तिनीहरू फर्के र केही शङ्कास्पद घटना फेला नपरेको जानकारी दिए। लेखकको मृत्यु भएको ६ घण्टा बिती नसकेकोले लासलाई पोस्टमार्टमको निम्ति जिल्ला हस्पिटल पठाइयो।

दुई तीन घण्टापछि पोस्टमार्टम रिपोर्ट आयो। रिपोर्टअनुसार लेखक आफै मरेको भन्ने प्रमाणित भयो।

“तर आफै कसरी मर्न सक्छ मान्छे ?”- तिन छक्क हुँदै डाक्टरलाई सोध्यौँ।

“मर्न सक्छ नि। तर यस्तो केस बिरलै हुन्छ। जस्तो कि अति संवेदनशील र भावनात्मक मानिसको केसमा यो देखा पर्न सक्छ।”- डाक्टरले भन्यो।

त्यसपछि उसले हामीलाई भित्र लगेर लासको अङ्गहरूको एकएक फोटोहरू र पोस्टमार्टम भिडियो देखायो। बिचरा ती हाम्रो प्रिय लेखकको मृत्यु कति दर्दनाक तरिकाले भएको रहेछ।

फोटोअनुसार- उसको आँखाको आँसुहरू सुकिसकेका रहेछ। ओठका मुस्कानहरू हराइसकेको रहेछ। हृदयमा माया रसाउन छाडिसकेको रहेछ। र अर्को एउटा लेखकको मनको अब्स्ट्राक्ट फोटो थियो। त्यसलाई उज्यालोमा नियालेर हेर्‍यौँ। उसको मन पीडा र दुखहरूको थुप्रोले थिलथिलो भएको थियो। वेदना र व्यथाहरूको पहाडले थिचिएको थियो।