कलाकार मज्जाले पिउँछ किनभने ऊ सुस्ताउन पिउँछ, उसको बिर्सने बानीका लागि पिउँछ, उत्तेजनाका लागि पिउँछ । संसारका ती सबै कारणका लागि पिउँछ, जसका लागि उसको कलासँग कुनै लेनदेन चाहिँ हुँदैन ।
युजिन ओ’निल

सन् १८८८ मा जन्मिएका नाटककार युजिन ओ’निलको पहिलो नाटक बियोन्ड होराइजन थियो । यसबाटै उनले पुलित्जर पुरस्कार हात पारे । त्यसपछि पनि उनले तीन वटा थप पुलित्जर पुरस्कार जिते । सन् १९३६ मा नोबेल पुरस्कार जित्ने दोस्रो अमेरिकी साहित्यकार बन्न पुगे । उनका पछिल्ला कृतिहरू भने अझ सुन्दर सिर्जना मानिन्छन् । जस्तो कि, द आइसम्यान कमेथ, मून फर द मिसबिगोटेन, लङ डेज् जर्नी इन्टू नाइट आदि ।

बच्चा बेलामा साहित्यकार युजिन ओनिल निकै बदमास किसिमका थिए । प्रिन्सटन विश्वविद्यालयमा पढ्न भनेर गएका तर त्यहाँ टिक्न सकेनन् । टिक्न नसक्नुको कारण चाहिँ कक्षाकोठामा नै उनले आफ्ना कक्षाका साथीहरूमाथि बन्दुक नै तेर्स्याएर तर्साइदिए । यी सबै कर्ममा रक्सीको भूमिका अहं छँदैथियो ।

एक पटक त उनले रक्सी नखाने एक जना पादरीकहाँ शरण लिएका थिए । उनैकहाँ रक्सी पिएर उधुम मच्चाइदिए । जब त्यहाँबाट उनी निकालिए, पैसाको अभावमा उनले नशा गर्नैपर्ने बाध्यताका कारण तुच्छभन्दा तुच्छ रक्सीको उपभोग गरे ।

तर ती सबैले उनलाई एउटै मात्र फाइदा भयो, पछि जीवनकै मास्टरपिस सिर्जना गरे, जसको नाम थियोः द आइसम्यान कमेथ ।

०००

चाहिनेभन्दा एक प्याक बढी मात्र के लिएकी हुन्छु, म पार्टीको आयोजकको खोकिलामा सुरक्षित हुन थाल्छु ।
डोरोथी पार्कर

सन् १८९३ मा जन्मिएकी पत्रकार तथा साहित्यकार डोरोथी पार्करको परिचय नाटककार, नाटक समीक्षक तथा फिल्मको स्क्रिन राइटरको रूपमा पनि उत्तिकै छ । नाटक समीक्षकका रूपमा भेनिटी फेयर म्यागेजिनमा काम गर्दाताका उनी द न्यु योर्कर म्यागेजिनमा पनि उत्तिकै सक्रिय थिइन् । साहित्यको प्रख्यात समूह एल्गोकिन राउन्ड टेबलको संस्थापक सदस्यहरूमध्ये उनी एक मात्र महिला थिइन् ।

धेरै बिहे गर्नेमध्येकी साहित्यकारका रूपमा डोरोथी पार्कर पर्छिन् तर उनी पिउने बेला भने एक्ली हुन्छिन् । उनको एउटा प्रेम रक्सी पिएकै बेला फक्रियो, हुर्कियो । उनीहरूले कुनै समय एल्गोकिन राउन्ड टेबल नामक साहित्यिक संस्था बनाएका थिए । त्यसका एक सदस्य रोबर्ट बेन्चली पनि थिए । बेन्चलीले उनको कार्यालय सापटमा चलाउने गर्थे । कार्यालय सापट लिने क्रममा पिउँदाका बखत ठट्टामा डोरोथीलाई लाइन मार्दै भन्थे, ‘तिम्रो टेबुलको आकार आधा इन्च मात्र कम हुन्थ्यो भने हामी दुवै एकै लाइनमा बसेर काम गरिरहेका हुन्थ्यौँ, अनि रोमान्स पनि अलि बढी नै हुन्थ्यो ।’

तर यी दुई बीच कहिल्यै रोमान्टिक सम्बन्ध भने भएन । पार्करको सबैभन्दा दह्रो दोस्त रक्सी थियो । एक पटक एउटा कार्यक्रममा उनलाई निम्तो दिँदा उनले आयोजकलाई सोधेकी थिइन्, ‘तपाईंले मलाई रक्सी पिउने ब्रेक आधा आधा घण्टामा दिन सक्नुहुन्छ कि हुन्न ? दिन सक्नुहुन्न भने म उपस्थित हुन सक्दिनँ ।’

एक पटक उनलाई चिकित्सकले रक्सी पिउन प्रतिबन्ध लगाएको थियो । जवाफमा उनले भनेकी थिइन्, ‘मेरालागि जीवन सस्तो छ, रक्सी छाड्नु महँगो ।’

तर चिकित्सकले उनलाई चेतावनी दिँदै भनेका थिए, ‘तिमीले रक्सी छाडिनौ भने अर्को महिना नै तिमीलाई मृत घोषित गर्नुपर्ने हुनसक्छ ।’

त्यसपछि मात्र उनले रक्सी छोड्ने वाचा पूरा गरेकी थिइन् ।

०००

जब म रक्सीले चूर भएको हुन्छु, समाजका सारा इच्छाहरूको भूत ममाथि चढ्छ ।
एडगर एलन पो

सन् १८०९ मा जन्मिएका कवि, कथाकार तथा समीक्षक एडगर एलन पोको पहिलो कथा संग्रह टेल्स अफ द ग्रोटेस्क्यु एन्ड अरबेस्क्यु हो । उनलाई विख्याति दिलाउने काम भने द फल अफ द हाउस अफ युसर बन्न पुग्यो । द मर्डर्स इन द रू मोर्गु र द पर्लोनेड लेटरले आधुनिक डिटेक्टिभ कथाको जग बसाल्यो । द राभेन कथा संग्रह उनको सबैभन्दा उम्दा कृति मानिन्छ भने कविताकृतिमा द बेल्स र एनाबेल ली अति सुन्दर मानिन्छ ।

सन् १८४९ अगस्त २७ का दिन पोले भर्जिनिया राज्यको रिचमन्डमा सार्वजनिक रूपमा रक्सीविरोधी वक्तव्य निकालेका थिए । त्यसको ठीक एक महिनापछि भने उनलाई रक्सीमै आहाल लगाएको सर्वसाधारणले देखे । तर त्यो दिन उनको जन्मदिन थियो ।

त्यसपछि उनी लापत्ता भए । कयौँ दिनको खोजीपछि उनलाई आफन्तले बाल्टिमोरमा चुनावका बेला फेला पारे । तर उनको अवस्था त्यो बेला दयनीय थियो । उनी रक्सीले चुर भएका थिए । उनको कपडा पनि थिएन । खासमा भन्ने हो भने उनले अर्कैको कपडा लगाएका थिए । उनलाई फेला पारिएको चार दिनपछि उनको मृत्युको घोषणा गरिएको थियो तर के कारणले मृत्यु भयो भन्ने अझैसम्म रहस्य नै छ । तर मृत्युको मूल कारकका रूपमा रक्सी बदनाम भइरह्यो, र अझैसम्म भइरहेको छ ।