बेलायतका पुस्तकालयहरूले ३ अर्ब ४० करोड पाउन्ड बराबरको सेवा सुविधाहरू हरेक वर्ष दिइरहेको एउटा अध्ययनले देखाएको छ ।
पुस्तकालयहरूले बाल साक्षरता, डिजिटल समावेशी तथा स्वास्थ्यका सन्दर्भमा निकै ठूलो भूमिका खेलिरहेको सो अध्ययनले देखाएको हो ।
इस्ट आङ्लिया विश्वविद्यालयले गरेको अध्ययनले एउटा पुस्तकालय सञ्चालनको खर्चभन्दा तिनले दिइरहेका सेवाहरू छ गुणा बढी रहेको निष्कर्ष निकालेको छ । एउटा पुस्तकालयको वार्षिक बजेट १० लाख पाउन्ड हुने गरेको छ ।
यस अध्ययनले नीति निर्माता तथा स्थानीय मात्र होइन राष्ट्रिय नेताहरूका लागि पनि आँखा खोल्ने विश्वास लिइएको छ । लाइब्रेरिज कनेक्टेड नामक च्यारिटी संस्थाकी प्रमख कार्यकारी इसोबेल हन्टरले हालै सो अध्ययन निष्कर्ष सार्वजनिक गरेकी हुन् । उनले सो अवसरमा भनिन्, ‘प्रमाण प्रस्ट छ र यसले भनिरहेको छ कि पुस्तकालयमाथि लगानी गर्नु स्थानीय निकाय र समुदायका लागि ठूलो भलो कार्य गरिरहेको छ ।’
यस शोधका लागि शोधकर्ताहरूले दक्षिणी बेलायतमा रहेका कयौँ पुस्तकालयहरू भ्रमण गरेका थिए । पुस्तकालय भवन उपभोग गर्ने प्रयोगकर्ताहरूसँग गरिएको वार्ताबाट यी कुरा प्रस्टिएको हो । पुस्तकालयहरूले एकै ठाउँमा समुदायका विभिन्न समस्याहरू समाधान गर्नुका साथै पठन संस्कृति पनि बढाउन क्रियाकलापहरू गर्ने भएकाले ती यतिबेला सामूहिक उन्नयनको बाटो बनेको अध्ययनले देखाएको हो ।
अध्ययनको अगुवाई गरिरहेका जोन गोर्डनले भने, ‘पुस्तकालयहरूले त्यहाँको नितान्त आवश्यकताअनुसार सेवा दिँदा रहेछन्, जसका कारण समुदायले एउटा भरपर्दो साथी पाएको महसुस गर्ने गरेका छन् ।’
कहिलेकाहीँ त यी पुस्तकालयहरूले शरणार्थीहरूलाई पनि सहजीकरण गर्ने रहेछन् । खासगरी युक्रेनी शरणार्थीहरू व्यवस्थापन, कोभिड १९ रोगपछि आउने समस्याहरूको रेखदेख तथा सूचना आदानप्रदानमा समेत सहयोगी देखिएको छ ।
यस्तो सहयोग गर्न सहज हुनुको मुख्य कारण भने, पुस्तकालयको आफ्नै विशाल भवन हुनु, पुस्तकालयसँगै छलफल, सभा, सम्मेलन गर्न सकिनुजस्ता सुविधा देखिएको छ ।
पछिल्लो समय बेलायती स्वास्थ्य सेवामा देखिएका कमजोरीका अवधिमा पुस्तकालयले नै सामान्य स्वास्थ्यका समस्याहरूमा सहयोग गर्नेजस्ता काम पनि गरेको पाइयो । यो पुस्तकालयको कामभित्र नपरे पनि कर्मचारीहरूले आफ्नो पहुँच, विज्ञता तथा सक्रियता उपयोग गरी ती काम फत्ते गरेको पाइएको हो ।
यति मात्र होइन, साक्षरता वृद्धिका लागि बेलायतले खेलिरहेको भूमिकालाई यस्ता पुस्तकालयले जोड बल पुर्याइरहेको र प्रतिवर्ष २७९ पाउन्ड बराबरको योगदान दिइरहेको समेत देखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।