२६
छोराले जे जति कुरा गरेको थियो, आमाका लागि ती सबै नयाँ थिएनन् । उनी उसका यी विचारहरूसँग राम्ररी परिचित थिइन्, तर उसको विचारधारामा कति विचित्र आकर्षण शक्ति छ भन्ने कुरा उनले जीवनमा पहिलोपल्ट यही अदालतमा मात्र अनुभव गरिन् । पोभलको गम्भीर एवम् शान्त मुद्रा देखेर आमा चकित भएकी थिइन् । अझ उसको भाषण त उनका लागि त्यो उज्ज्वल तारा नै बन्न गयो, जुन आफ्नो ध्येयप्रति पाभेलको आस्था र अन्तिम विजयप्रति उसको विश्वासको प्रतीक थियो । आमा सोच्दै थिइन् – अब न्यायाधीशहरूले ऊसँग बडो क्रूरतापूर्वक बहस गर्न थाल्नेछन् । तर यसको सट्टा आन्द्रेइ उभियो र अलिकति ढलमलाउँदै टेढो आँखाले न्यायाधीशहरूतिर हेर्दै भन्यो –

“माननीय विपक्षीहरू … ।”

“तपाईँका अगाडि न्यायाधीशहरू छन्, न कि विपक्षीहरू !” – बिरामी अनुहार भएको न्यायाधीशले रिसाउँदै चर्को स्वरमा भन्यो । आमाले आन्द्रे इको अनुहार हेरेर बुझिन्, ऊ न्यायाधीशहरूलाई जिस्क्याउन चाहन्छ । जसको जुँगा फड्कँदै थियो र आँखामा त्यही चिरपरिचित बिरालोको आँखाजस्तो चमक थियो । आफ्नो दुब्लो पातलो लामो हातले टाउको कन्याउँदै उसले एउटा लामो सुस्केरा हाल्यो ।

“हो र ?” – उसले टाउको हल्लाउँदै भन्यो – “मलाई त लागेको थियो तपाईँहरू न्यायाधीश होइन, मात्र विपक्षी हुनुहुन्छ … ।”

“तपाई कामको कुरा गर्नोस् !” – बूढो न्यायाधीशले रुखो स्वरमा भन्यो ।

“कामको कुरा रे ? हुन्छ, ठिक छ ! लौ हुन्छ, एक छिनका लागि तपाईँहरूलाई न्यायाधीश नै ठानेँ रे, बिलकुल स्वतन्त्र र इमानदार मान्छेहरू … !”

“न्यायाधीशहरूलाई तपाईँको यो प्रमाणपत्र चाहिएको छैन !”

“चाहिएको छैन रे ? हँ ! खैर ठिक छ – तर म आफ्नो विचार चाहिँ तपाईँहरूलाई बताइहाल्छु … । लौ त, तपाईँहरू स्वतन्त्र व्यक्ति हुनुहुन्छ रे, तपाईँहरूका लागि आफ्नो र पराइ भन्ने कुनै भेदभाव छैन रे, ठिक छ । भनौँ, तपाईँहरूका अगाडि वादी र प्रतिवादी उभिएका छन्, वादी भन्छ – उसले मलाई लुट्यो र मारपिट गर्‍यो ! प्रतिवादी जवाफ दिन्छ – मलाई लुट्ने र हिर्काउने अधिकार छ किनभने मसँग हतियार छ … ।”

“तपाईँलाई केही निश्चित कुरा भन्नु छ ?” – बूढो न्यायाधीशले आफ्नो स्वर चर्को पार्दै सोध्यो । उसको हात काँप्दै थियो र आमालाई यो कुरा देखेर खुसी लाग्दै थियो, ऊ अब रिसाउन थालेको छ । तर आन्द्रे इको व्यवहारचाहिँ उनलाई मन परेन । पाभेलको भाषणसँग उसको व्यवहार मेल खाँदैनथ्यो । उनी चाहन्थिन्, उसको तर्कमा पनि त्यही गम्भीरता र कठोरता होस् ।

उक्राइनिले चुपचाप बूढो न्यायाधीशलाई हेर्‍यो र एक छिनपछि उसको टाउको कन्याउँदै गम्भीरतापूर्वक भन्यो –

“कामको कुरा रे ? किन मैले तपाईँहरूसँग कामको कुरा गरिरहने ? जे जति कुरा भन्नुपर्ने हो अरूले भन्नेछन्, समय आइपुग्छ, भन्नेछन् … ।”

बूढो न्यायाधीशले जुरुक्क उभिँदै चिच्यायो –

“चुप लाग्नुस् ! अब म तपाईँलाई अरू बढी बोल्न दिन्नँ ! ग्रीगोरी सामोइलोभ !”

उक्राइनि चुपचाप आफ्नो ठाउँमा बस्यो । आफ्नो घुङघ्रिएको कपाल पछाडि फर्काउँदै सामोइलोभ उभियो ।

“सरकारी अभियोक्ताले हाम्रा साथीहरूलाई जङ्गली र सभ्यताको दुस्मन भनेका थिए … ।”

“त्यही कुरा मात्र गर्नोस्, जुन तपाई सँग सम्बन्धित छ !”

“यो पनि सम्बन्धित छ । त्यस्तो कुनै कुरा छैन, जसको एक इमानदार व्यक्तिलाई चासो नहोस् । साथै म अनुरोध गर्छु, मलाई यसरी बिचबिचमा बाधा नदिइयोस् । म तपाईँलाई सोध्न चाहन्छु – के हो सभ्यता भनेको ?

“हामी यहाँ तपाई सँग बहस गर्न बसेका होइनौँ ! कामको कुरा गर्नोस् !” – बूढाले दाँत देखाउँदै भन्यो ।
आन्द्रे इको त्यस व्यवहारपछि न्यायाधीशहरू बदलिए । यस्तो लाग्थ्यो, अब उनीहरूको अनुहारबाट मुकुन्डो हटाइएको छ । उनीहरूको बेरङ्गी अनुहारमा राता टाटाहरू देखा पर्न थाले, आँखामा हरिया हरिया चिसा चिङ्गारी चम्कँदै थिए । पाभेलको भाषणले उनीहरूलाई चिढाएको त अवश्य थियो, तर उसको शब्दमा जुन शक्ति थियो, त्यसले अनायास नै एक आदरको भावना पैदा गरिदिएको थियो र यो चिढाइ देखा पर्न दिएको थिएन । तर अहिले उक्राइनिले त्यो आवरण हटाइदिएको थियो र त्यस आवरणभित्र रहेको वास्तविकता उदाङ्गो पारिदिएको थियो । न्यायाधीशहरू आपसमा कानेखुसी गर्दै थिए, मुख बिगार्दै नाना थरीको हाउभाउ गर्दै थिए, अकस्मात् उनीहरू अस्वाभाविक रूपमा फुर्तिला देखिए ।

“तपाईँहरू जासुस पाल्नुहुन्छ, युवतीहरूलाई भ्रष्ट पार्नुहुन्छ, मान्छेलाई चोर डाँकु बन्न बाध्य गर्नुहुन्छ, तपाई उनीहरूको आत्मामा भोद्काको विष फैलाइदिनुहुन्छ, मान्छेहरूबिच युद्ध, झूट, व्यभिचार र बर्बरता फैलाउनुहुन्छ – यही हो तपाईँहरूको सभ्यता ! हामीलाई यस्तो सभ्यता चाहिएको छैन !”

“म फेरि पनि तपाई सँग अनुरोध गर्छु !” – अब बूढो चिच्याउँदै थियो, तर सामोइलोभको अनुहार रातोपिरो भैसकेको थियो र आँखा चम्कँदै थिए । उसले पनि चिच्याउँदै जवाफ दियो –

“हामी अर्कै सभ्यताको पक्षपाती छौँ र यस सभ्यताको प्रचार गर्ने मान्छेहरूलाई तपाईँहरूले जेलमा ठुँस्दै पागल बनाइदिनुभएको छ … ।”

“चुप लाग ! अब फ्योदोर माजिन !”

होचो कदको फ्योदोर माजिन जुरुक्क उभियो र स्वाँस्वाँ गर्दै बोल्न थाल्यो –

“म … मैले किरिया खाएर भन्छु ! मलाई थाहा छ, तपाईँहरूले मेरा लागि अगाडि नै सजाय तोकिसक्नुभएको छ ।”
ऊ निसास्सिँदै थियो, उसको अनुहार पहेँलो भयो, मुखमा खालि दुई आँखा मात्र ट्वाल्ल चम्किरहेका थिए । उसले फेरि हात फैलाउँदै चिच्यायो –

“मैले किरिया खाएर भन्छु ! तपाईँहरूले मलाई जतासुकै पठाए पनि म भागिछाड्छु, फेरि फर्कन्छु र फेरि काम गर्न थाल्छु । सधैँ पूरा जिन्दगी काम गर्‍या गर्यै गर्नेछु, मैले किरिया खाएर भन्छु !”

सिजोभले जोडले खकार्‍यो र चलमलायो । दर्शकहरूबिच उत्तेजनाको लहर बढ्दै थियो । सबै बडो अर्थपूर्ण तरिकाले अस्पष्ट स्वरमा खस्याकखुसुक गर्दै थिए । कतै आइमाई रोएको आवाज सुनियो, अर्को मान्छेले अन्धाधुन्ध खोक्न थाल्यो । पहरेदारहरू बुद्धुहरूले जस्तो कैदीहरूलाई हेर्न थाले, फेरि क्रुद्ध दृष्टिले दर्शकहरूतिर हेर्न थाले । न्यायाधीशहरू आफ्ना मेचहरूमा झुल्दै थिए ।

“इभान गुसेभ !” – बूढो न्यायाधीशले चिच्याउँदै भन्यो – “म बोल्न चाहन्नँ !”

“भासिली गुसेभ !”

“म पनि चाहन्नँ !”

“फ्योदोर बुकिन !”

फिका विवर्ण अनुहार भएको त्यो मान्छे बिस्तारै उभियो र टाउको हल्लाउँदै बोल्न सुरु गर्‍यो –

“लाज लाग्दैन तपाईँहरूलाई ? म टेढो मान्छे छु, तर पनि म बुझ्छु इन्साफ भन्ने कुरा कस्तो हुन्छ !” – उसले एउटा हात टाउकामाथि पुर्‍यायो र चुप लाग्दै यसरी आँखा बन्द गर्‍यो, मानौँ कतै धेरै टाढा केही कुरा हेर्दै छ ।

“के कुरा गर्छौ हँ ?” – बूढो न्यायाधीशले आफ्नो मेचमा पछिल्तिर ढल्कँदै चिच्यायो । बूढो निकै चकित र चिढिएको देखिन्थ्यो ।

“भइहाल्यो, के कुरा गर्ने तपाईँहरूसँग … ।”

बुकिन चुपचाप आफ्नो ठाउँमा बस्यो । उसका ती शब्दहरूमा एउटा अत्यन्त महत्त्वपूर्ण कुरा लुकेको थियो – ती सिधासादा शब्दहरूमा उदासीको साथसाथै भर्त्सना पनि थियो । सबैले यो कुरा अनुभव गरे, न्यायाधीशहरूले पनि कान ठाडो पारे । यस्तो लाग्थ्यो, उनीहरू त्यस प्रतिध्वनिको प्रतीक्षामा छन्, जुन बुकिनका यी शब्दहरूभन्दा बढी स्पष्ट होउन् । दर्शकहरू बसेका ठाउँमा पनि पूर्ण निस्तब्धता फैलियो, खालि कसैले सुँक्कसुँक्क गरेको मन्द आवाज हावामा मडारिँदै थियो । अन्त्यमा सरकारी अभियोक्ता आफ्नो कुम हल्लाउँदै मुस्कुरायो, कुलीन समाजका अगुवाले खोक्यो र हलमा बसेका मान्छेहरूले खस्याकखुसुक गर्न थाले ।
“अब न्यायाधीशहरूको बोल्ने पालो ?” – आमाले सिजोभतिर झुक्दै सोधिन् ।

“सबै कुरा सकिहाल्यो नि … अब खालि सजाय मात्र सुनाउन बाँकी छ … ।”

“यत्तिकै हो त ?”

“हो … ।”

आमालाई विश्वास लागेन ।

सामोइलोभकी आमा बेचैन हुँदै बेन्चमा चलमलाइन् र आफ्नो काँध र कुहिनाले आमालाई धकेल्न पुगिन् ।

“क्या हो यस्तो ? मुद्दा सकियो रे ? कहीँ यस्तो पनि हुन सक्छ र ?”

“देखिहालिस्, हुन सक्दो रहेछ त !”

“हाम्रो ग्रिगोरीलाई के सजाय देलान् त ?”

“नकरा … ।”

प्रत्येक व्यक्ति अनुभव गर्दै थियो, कुनै कुराको उल्लङ्घन हुँदै छ, केही गडबडी अवश्य छ, कुनै कुरा चर्किँदै छ ! मान्छेहरू केही बुझिरहेका थिएनन् – उनीहरू यसरी आफ्ना आँखा झिमझिम गर्दै थिए, मानौँ त्यस्तो कुनै चम्किलो कुरा हेर्दै छन्, जसको प्रकाशले उनीहरूका आँखा तिरमिराउँदै छन् । जसको महत्त्व अस्पष्ट छा, तर जसको शक्ति अदम्य छ । उनीहरू त्यो व्यापक कुराको अर्थ बुझ्न असमर्थ थिए, जसको रहस्योद्घाटन अचानक उनीहरूका अगाडि भएको थियो र त्यसैले उनीहरू आफ्नो हृदयको समस्त उत्तेजना ती सानातिना कुराहरूसम्बन्धी बहसमा प्रस्ट गर्दै थिए, जुन उनीहरू बुझ्थे । जेठो बुकिन विना कुनै हिचकिचाहट ठुलठुलो स्वरले बडबडाउँदै थियो –

“भन्नोस् त, किन बोल्न दिँदैनन् ? सरकारी अभियोक्ताले मात्र जति मन लाग्यो त्यति बोल्न पाउने हो र ?”

एक जना कारिन्दा दर्शकहरूका अगाडि उभिएर हात हल्लाउँदै भनिरहेको थियो –

“चुपचाप बस्नोस् ! चुपचाप बस्नोस् !”

स्वास्नीको पछिल्तिर झुकेको सामोइलोभले एक्कासि भन्न थाल्यो –

“भनौँ, उनीहरू दोषी नै छन् रे ! तर आफ्नो कुरा भन्ने मौका किन दिँदैनन् । म बुझ्न चाहन्छु, उनीहरू के कुराको विरोध गर्दै थिए ! मेरो पनि आफ्नो स्वार्थ छ … ।”

“चुप लाग्नुस् !” – त्यस कारिन्दाले सामोइलोभतिर औँला तेर्स्याउँदै भन्यो ।

सिजोभले दिक्दारीपूर्वक आफ्नो टाउको हल्लायो ।

आमा एकटकले न्यायाधीशहरूलाई हेर्दै थिइन् । उनले देखिन्, उनीहरू अस्पष्ट स्वरमा एक–दोस्रासँग कुरा गर्दै छन् र झन्झन् उत्तेजित हुँदै छन् । उनीहरूको वार्तालापको चिसो, चिप्लो आवाजले उनको अनुहार छुँदै थियो, जसले गर्दा उनका गाला काँप्दै थिए र उनी आफ्नो मुखमा एक घिनलाग्दो अनौठो स्वाद अनुभव गर्दै थिइन् । आमालाई किन हो लाग्दै थियो, उनीहरू सबै उनको छोराको र उसका साथीहरूको शरीरबारे, उनीहरूका मसलहरू र अङ्गहरूबारे करा गर्दै छन्, जसका नशा नशामा जवानीको रगत र स्फूर्ति भरिएको छ । यस्ता शरीरहरू देखेर उनीहरूको हृदयमा माग्नेले जस्तो नीच ईर्ष्या र रोगी तथा कमजोर मानिसहरूको जस्तो अदम्य लोलुपता पैदा हुन्थ्यो । उनीहरूको मुखबाट ¥याल चुहिन थाल्यो र लाग्थ्यो, उनीहरू आफ्नो शरीर पनि उनीहरूको जस्तै भएको देख्न चाहन्छ, जो परिश्रम गर्न र धन सञ्चय गर्न सुखको सृजना गर्न र त्यसको उपयोग गर्न समर्थ छन् । अब यी शरीरहरू दैनिक जीवनको व्यवहारबाट हट्दै छन्, त्यस जीवनको बहिष्कार गर्दै छन्, अब ती शरीरहरूमाथि उनीहरूको अधिकार खत्तम हुँदै छ, उनीहरूको शोषण गर्न सकिन्न, उपयोग गर्न सकिन्न । त्यही कारण थियो, जसले गर्दा यी नवयुवकहरूलाई देखेर ती बूढा न्यायाधीशहरूको हृदयमा ती जीर्ण शीर्ण हिंस्रक पशुहरूको जस्तो प्रतिशोधपूर्ण तीव्र क्रोध पैदा हुँदै थियो, जो आफ्ना अगाडि ताजा सिकार देख्दै छन्, तर त्यस सिकार माथि कब्जा जमाउन असमर्थ छन् । त्यस्ता पशुहरू, जसले अरू पशुहरूको शक्तिबाट आफ्नो पेट पाल्ने क्षमता गुमाइसकेका छन् र जो आफ्नो तृप्तिको साधनलाई आफ्नो हातबाट फुत्कन थालेको देखेर कष्टपूर्वक गराउन र कराउन थाल्छन् ।

आमा जति ध्यानपूर्वक न्यायाधीशहरूलाई हेर्दै जान्थिन्, यो विचित्र र अप्रिय विचारले उनको दिमागमा त्यतिकै स्पष्ट रूप लिँदै जान्थ्यो । उनलाई लाग्यो, उनीहरूमा ती भोका पशुहरूको जस्तो लोलुपता थियो, जसले आफ्नो जमानामा एकभन्दा एक सिकारहरूको स्वाद चाखिसकेका छन् र अहिले उनीहरूलाई आफ्नो विवशताप्रति क्षोभ लाग्दै छ । अहिले उनीहरू आफ्नो यस्तो विचार लुकाउनसम्म पनि चाहँदैनथे । उनका लागि जो एक नारी र एक आमा थिइन्, जसलाई आफ्नो छोराको शरीर आत्माभन्दा पनि प्यारो थियो, यो कुरा देख्नुपर्दा अत्यन्त भयङ्कर लाग्थ्यो – उनीहरूका नीरस दृष्टि उनको छोराको अनुहारमा घिस्रिँदै छन् । उसको छाती, काँध र हातहरू छन् । जीवन शक्तिले टम्म भरिएको उसको जिउमा यसरी घिस्रिँदै छन्, मानौँ यस घर्षणले उनीहरूका कक्रिएका नशाहरूमा बगिरहेका रगत र कमजोर मसलहरू फेरि तातिने छन् । ती नवयुवकहरूलाई हेर्दै, जसका लाग सजाय अगाडि नै निर्धारित भैसकेको थियो र जसको शरीरमाथिको अधिकारबाट अब उनीहरू सधैँका लागि वञ्चित हुँदै छन्, उनीहरूको हृदयमा जुन लोभ र ईर्ष्या पैदा गरेको थियो, त्यसले उनीहरूको शरीरमा फेरि कुनै मात्रामा शक्ति सञ्चार गर्दै थियो । आमाले कल्पना गरिन्, पाभेललाई यो ओसिलो, अप्रिय स्पर्शको आभास छ र ऊ काँप्दै आमातिर हेर्दै छ ।

पाभेल आमातिर बडो शान्त र प्रेमपूर्ण दृष्टिले हेर्दै थियो । ऊ अलि थाकेजस्तो देखिन्थ्यो । ऊ बराबर आमातिर हेरेर टाउको हल्लाउँथ्यो र मुस्कुराउँथ्यो ।

“अब छिट्टै स्वतन्त्र भइन्छ !” – त्यस मुस्कुराहटमा देखिएको थियो । छोराको त्यस मुस्कुराइटले बडो प्रेमपूर्वक आमाको हृदय थपथपाउँदै थियो ।

एक्कासि सबै न्यायाधीशहरू उभिए । आमा पनि उभिइन् ।

“ल हिँडे !” – सिजोभले भन्यो ।

“फैसला गर्ने ?” – आमाले सोधिन् ।

“हो … ।”

अहिलेसम्म आमाको हृदयमा जुन तनाव थियो, त्यो अकस्मात् गायब भयो र उकुसमुकुस पार्ने थकाइले उनको सम्पूर्ण शरीर ढाक्न थाल्यो । उनका आँखीभौँ काँप्दै थिए । निधारमा पसिनाका थोपाहरू देखिन थाले । हृदयमा वेदना र निराशाको एउटा ठुलो बोझ खसेजस्तो लाग्यो र छिट्टै यो बोझ अदालत र न्यायाधीशहरूप्रतिको घृणामा बदलियो । आमाको टाउको दुख्दै थियो – उनले एक हातले निधार थिच्दै माथितिर हेरिन् । कैदीहरूका नातेदारहरू बारतिर लागे र अदालतको त्यो हल मान्छेहरूको वार्तालापले गुन्जियो । आमा पनि पाभेलको नजिक गइन् र उसको हात समातेर रुन थालिन् । उनको हृदय वेदना र हर्षले आन्दोलित हुँदै थियो । उनी परस्पर विरोधी भावनाहरूको जालमा फसेकी थिइन् । पाभेल बडो प्रेमपूर्वक आमासँग कुरा गर्दै थियो, उक्राइनि चाहिँ ठट्टा गर्दै थियो ।

सब आइमाईहरू रुँदै थिए । उनीहरूको यस रुवाइमा शोकभन्दा पनि अदालतको बढी छाप परेको थियो । अनजानमै कुनै विपद्को पहाड आइलागेको थिएन । बाध्यतावश आफ्ना छोराहरूसँग छुट्दै थिए र यसैकारणले उनीहरू उदास थिए । तर दिनभरि उनीहरूले जे जति कुरा देखे र सुने, त्यसले उनीहरूको यो शोक कम पारिदिएको थियो । आमाबाबुहरू आफ्ना छोराछोरीहरूलाई मिश्रित भावनाले हेर्दै थिए । त्यस भावनामा युवावस्थाप्रति अविश्वास र आफूलाई बढी जान्ने सुन्ने ठान्ने बानीबाट पैदा हुने धारणाका साथै उनीहरूप्रति आदरको भावना बडो अनौठो तरिकाले मिसिएको थियो । भावी जीवनप्रति जुन निराश पूर्ण विचारहरू उनीहरूको हृदयमा मडारिँदै थिए, ती विचारहरूलाई त्यस आश्चर्यको भावनाले दबाइदिएको थियो, जुन यी नवयुवकहरूले उनीहरूको हृदयमा पैदा गरिदिएका थिए, जो एक अर्कै, श्रेष्ठ जीवनको सम्भावनाबारे यति निडर भएर कुरा गर्दै थिए । उनीहरूका जे जति भावना थिए, सबै कतै भित्रै दबेर बसेका थिए किनभने उनीहरू ती भावना व्यक्त गर्न असमर्थ थिए । उनीहरूसँग शब्दको कमी थिएन, तर ती शब्दहरू लुगाफाटा र स्वास्थ्यसम्बन्धी सोधपुछजस्ता अत्यन्त सामान्य वार्तालापमै खर्च भइरहेको हुन्थे ।

जेठो बुकिन हात हल्लाउँदै आफ्नो भाइसँग कुरा गरिरहेको थियो –

“इन्साफ चाहिएको छ, अरू केही होइन !” भाइचाहिँले जवाफमा भन्यो –

“मैनाको हेरविचार गरिदेऊ है … ।”

“धन्दा नलेऊ, सबै ठिक हुन्छ … !”

सिजोभले आफ्नो भतिजाको हात समात्दै भन्यो –

“त्यसो भए फ्योदोर तँ पनि जाँदै छस् … !”

फ्योदोरले उसको कानतिर झुकेर केही कुरा भन्यो र दङ्ग पर्दै मुस्कुराउन थाल्यो । पहरेदार पनि मुस्कुरायो, तर तुरुन्तै आफ्नो मुस्कुराहट रोक्यो र खकार्न थाल्यो ।

अरू आइमाईहरूजस्तै आमा पनि पाभेलसँग लुगाफाटो र स्वास्थ्यबारे नै कुरा गर्दै थिइन् । तर उनको हृदयमा नाना थरीका प्रश्नहरू उठ्दै थिए । उनी सासाबारे, आफूबारे, उसैबारे र अरू पनि थुप्रै प्रश्नहरू सोध्न चाहन्थिन् । तर यी सबै प्रश्नहरूलाई छोराप्रतिको असीम प्रेम र उसलाई खुसी पार्ने, ऊसँग प्रेमपूर्वक कुरा गर्ने इच्छाले ढाकेको थियो र यो इच्छा झन्झन् बढ्दै थियो । भविष्यसम्बन्धी त्रास बिस्तारै हट्दै थियो । खालि न्यायाधीशहरू र मुद्दासम्बन्धी ती सबै भयानक कुराहरूको सम्झनाले मात्रै उनी अझै पनि काँप्दै थिइन् । उनी अहिले आफ्नो हृदयमा एक अत्यन्त उल्लासमय र अनुपम सुखको अनुभव गर्दै थिइन् । उनी आफ्नो यस अनुभूतिलाई बुझ्न सकिरहेकी थिइन् र बडो अन्यौलमा परेकी थिइन् । उक्राइनिले अरू मानिसहरूसँग कुरा गरिरहेको देखेर यो अनुभव गर्दै थिइन् कि अहिले पाभेलभन्दा उसलाई माया ममताको बढी खाँचो छ, आमा उसतिर फर्किन् ।

“मन परेन मलाई तिम्रो यो अदालत !”

“किन र आमा ?” – उसले बडो कृतज्ञतापूर्वक मुस्कुराउँदै सोध्यो – “यो बडो पुरानो जाँतो हो, पिसेको पिसै गर्छ … ।”

“यसले न त कसैलाई तर्साउनै सक्यो, न त कसैले केही कुरा नै बुझ्यो । कसैले बुझेन, को ठिक हो, को बेठीक ?“ – आमाले अनकनाउँदै भनिन् ।

“हँ, हँ, अरू त केही चाहनुहुन्न ?” – आन्द्रेइले आश्चर्यपूर्वक सोध्यो – आमा मुस्कुराइन् र सुस्केरा हाल्दै भनिन् –

“मैले त ठानेकी थिएँ मुद्दा निकै डरलाग्दो हुनेछ … ।”

“न्यायाधीशहरूको सवारी हुँदै छ !” – पहरेदारले चर्को स्वरमा भन्यो । मान्छेहरू छिटो छिटो आ–आफ्ना ठाउँमा बसे ।
प्रधान न्यायाधीशले एक हात टेबुलमा अडाएको थियो र अर्को हात आँखाअगाडि लगेर कागजतिर झुक्दै उभिएको थियो । भँवरोको भुनभुनाहटजस्तो आवाजमा उसले पढ्न सुरु गर्‍यो ।

“सजाय सुनाउँदै छन् !” – सिजोभले अघिल्तिर झुक्दै भन्यो ।

कोठामा निस्तब्धता फैलिएको थियो । सबै मान्छेहरू बूढालाई एकटकले हेर्दै उभिएको थिए । त्यो होचो, बूढो यसरी तन्किएर उभिएको थियो, मानौँ कुनै अदृश्य हातले समाइराखेको लाठो हो । अरू न्यायाधीशहरू पनि उभिए – भोलोस्त प्रधान एकातिर टाउको झुकाएर छततिर ट्वाल्ल हेर्दै थियो, मेयर दुवै छातीमा हात बाँधेर उभिएको थियो, कुलीन समाजमा अगुवा आफ्नो दाह्री सुमसुम्याउँदै थियो । रोगी अनुहार भएको न्यायाधीश, भुँडीवाल न्यायाधीश र सरकारी अभियोक्ता कैदीहरूलाई हेर्दै थिए, न्यायाधीशहरूका पछाडि भित्तामा टाँसिएको तस्बिरको फ्रेमभित्रबाट जारले पनि हलतिर हेर्दै थियो । उसले बडो भड्किलो रातो पोसाक लगाएको थियो र उसको अनुहारमा उदासीनताको भावना थियो । अहिले उसको मुखमा एउटा झिँगो बसेको थियो ।

“निर्वासन !” – सिजोभले खुसीको सास फेर्दै भन्यो – “हे भगवान्, लौ अब यो मुद्दा पनि सकियो । भन्थे, कठोर परिश्रमसहितको कैदको सजाय दिनेछन् । आमा ठिकै छ, यो त्यति खराब कुरा होइन !”

“मलाई त अगाडि नै थाहा थियो । यही निर्णय हुन्छ भन्ने आशा थियो ।” – आमाले थकित स्वरमा भनिन् ।

“खैर, अब त पक्का पनि भयो नि ! यिनीहरूको के विश्वास र … ?” – उसले फर्केर कैदीहरूतिर हेर्‍यो, उनीहरूलाई बाहिर लैजाँदै थिए ।

“लौ, फ्योदोर, अर्को भेटसम्म, बिदा !” – उसले ठुलो स्वरमा भन्यो – “भगवान्ले तिमीहरूको भलो गरुन् !”
आमाले चुपचाप आफ्नो छोरा र अरू कैदीहरूतिर हेरेर टाउको हल्लाइन् । उनी रुन चाहन्थिन् तर असजिलो लाग्दै थियो ।