ओटिटीका कारण मनोरञ्जनमा हत्ते गर्नेहरू फाइदामा पुगेका छन् । बढीजसो मानिसहरू टेलिभिजनमा भन्दा नेटफ्लिक्सजस्ता ओटिटी प्लेटफर्मलाई नै मनोरञ्जनका मुख्य माध्यम मान्न थालेका छन् ।

नेटफ्लिक्स, डिज्ने प्लस, प्यारामाउन्ट प्लस र एचबिओ र सिनेम्याक्सका लागि उपयोग गरिने म्याक्सजस्ता ओटिटी प्लेटफर्महरूलाई सर्वसाधारणले ग्राहक बन्न रूचाउन थालेपछि पारम्परिक टेलिभिजन देखाउने केबुल सञ्चालकहरू संकटमा पर्न थालेका छन् ।

पारम्परिक टेलिभिजन तथा स्टुडियोहरू भारी घाटामा चल्न थालेका छन् । एउटा अध्ययनअनुसार सन् २०२० यता २० अर्ब डलरभन्दा बढी घाटामा यस्ता स्टुडियोहरू चल्न थालेका छन् । बरू त्यसको साटो सर्वसाधारणले नेटफ्लिक्सलाई आफ्नो मनोरञ्जनका लागि मुख्य साधन मान्न थालेका छन् । सर्वसाधारण ग्राहकले उसो भए स्ट्रिमिङ रूचाउन थालेको हो ?

पहिला पहिला लगानीकर्ताहरूले कम्पनीलाई ठूलो बनाउने, लगानी थपिरहने गर्थे । अचेल भने नाफा उठाउने ध्याउन्नमा लगानीकर्ताहरू लागिपरेका छन् । विज्ञापनदाताको पनि कमी थिएन । पछिल्लो समय विज्ञापनबाट आउने आम्दानी सुक्न थालेपछि खर्च घटाउन कर्मचारीहरू कटौती गर्न थालिएको छ ।

पछिल्लो समय लेखकहरूले पनि आन्दोलन गरिरहेका छन् ।

टेलिभिजन कम्पनीहरू प्यारामाउन्ट ग्लोबल, कमकास्ट, वाल्ट डिज्ने र नेटफ्लिक्स सबैको बजार घटेको छ । ती सबै कम्पनीको एकमुष्ठ २८० बिलियन डलर रकम घटेको छ । वार्नर ब्रदर्सले डिस्करी च्यानल र उसको समूहलाई किनेपछि सेयर कारोबार हुँदा यसको बजार मूल्य भने बढेको छ । खासगरी सन् २०२२ मा यसको संयुक्त कारोबार गर्दा त्यो बेला कोभिड १९ का कारण मनोरञ्जनमा मग्न संसारले उसका सामग्रीहरूलाई भाउ दिएका थिए ।

अमेरिकी मनोरञ्जन उद्योग ज्यादै भिडभाड र गलाकाट प्रतिस्पर्धी छ । दर्शकहरू कुनैको ग्राहक बने भने अर्को महिना तुरून्तै बन्द गरी अर्को च्यानल छान्छन् । यस्तोमा दर्शकहरूले नहेर्ने, नखोज्ने फिल्महरू, टेलिभिजन सोहरू ओटिटी प्लेटफर्महरूले लाइसेन्स नवीकरण गर्न छाडेका छन् ।

अहिले अमेरिकामा ओटिटी प्लेटफर्महरू नेटफ्लिक्स र अन्यले ३६.४% बजार ओगटेका छन् । केबुल टेलिभिजनमा भर पर्ने दर्शकहरूको प्रतिशत ३१ रहेको छ भने ब्रोडकास्ट सिस्टम रूचाउनेको प्रतिशत २२.८ रहेको छ । यस्तै अन्य विधिबाट मनोरञ्जन लिनेहरूको प्रतिशत ९.७ रहेको छ ।

यस हिसाबले सबैभन्दा बढी रूचाइएको मनोरञ्जनको विधि भनेको स्ट्रिमिङ वा ओटिटी नै रहेको प्रमाणित हुन्छ ।