आफ्नै साथी र कार्यकर्ताले समेत छोड्दै गएपछि एक्लिएको कमरेड क्रान्तिकारी ऐनामा आफ्नो अनुहार देख्ता आफैं आत्तिन थाल्यो र एक अपराह्न उसले घोषणा गर्यो, ‘देशलाई अर्को क्रान्ति चाहिएको छ । म दुई–चार वर्षका लागि शहर छोडेर गाउँ पस्छु र दोस्रो क्रान्ति सम्पन्न गर्छु ।’
ऊ महान् क्रान्तिकारी थियो । जनताको शिकार गर्नुलाई क्रान्ति मान्थ्यो, जातीय द्वन्द्वलाई अग्रगमन ठान्थ्यो र धर्म–संस्कृतिको बेमाखलाई प्रगतिशीलता । व्यक्तित्व अनौठो थियो— मानिस उसलाई नचिनुन्जेल उसका साथमा हुन्थे र चिनेपछि साथ छोड्थे । केही वर्ष अघि देशभर ठूलो ‘क्रान्ति’ गरेर ऊ सत्तामा रजगज गर्न पुगेको थियो । दुर्भाग्य, अब उसलाई सबैले चिनिसकेका थिए ।
सूर्य डुबेपछि ‘आज मलाई कसैले डिस्टर्ब नगर्नू’ भन्ने उर्दी जारी गरेर ऊ भुटेको काजु र मिर्गको सुकुटीका साथ ‘ब्लू लेबल’ को बोतल खोलेर बस्यो र तरल पदार्थसँगै दोस्रो क्रान्तिको ठोस चिन्तनमा व्यस्त भयो । राति अबेर नोकर खाना लिएर आउँदा सोफामा टाउको अडयाएर हल्का घुरघुर आवाजका साथ विचारमग्न देखिएको थियो । बिहान घाम झुल्कनु अगावै उठयो र चार जना विश्वासिला अंगरक्षकका साथ शहर छोडयो । . . .
अर्को दिन उनीहरू चारैतिर पहाडले घेरिएको एउटा गाउँमा पुगे, जहाँ ऊ पहिलो क्रान्तिमा एक महीना भूमिगत भएर बसेको थियो । छेउमा जंगल थियो, जंगल पछाडि अजंगको पहरो । गाउँमा सडक पुगेको थिएन, पानी र बिजुलीको सुविधा थिएन । स्वास्थ्य चौकी र स्कूल भवन उसैवेला उसले बम हानेर खण्डहर बनाइदिएको थियो, जसको पुनर्निर्माण भएको थिएन । गरीब गाउँलेहरू गौप्राणी थिए— जति ज्यादती गर्दा पनि केही नबोल्ने । उसलाई लाग्यो— दोस्रो क्रान्ति शुरू गर्न यो हरेक दृष्टिले उपयुक्त ठाउँ हो ।
लुखुरलुखुर गाउँ छिर्दै गरेको महान क्रान्तिकारीलाई देखेर गाउँपालिका अध्यक्ष छक्क पर्यो । त्यो तिनै साहूको छोरो थियो, जसको घरको बुइँगलमा ऊ भूमिगत भएको थियो । ऊसँग हात मिलाउँदै अध्यक्षले सोध्यो, ‘हेलिकप्टरबाट आउनुपर्ने मान्छे पैदल कसरी, कमरेड ?’
‘पहिलो क्रान्ति खेर गयो । अब दोस्रो क्रान्ति गर्नुपर्ने भयो । यहींबाट शुरू गरौं भनेर आएको,’ कमरेडले भन्यो, ‘यसमा तपाईंले सहयोग गर्नुपर्यो ।’
‘ए, त्यसो पो ? फेरि क्रान्ति गर्ने ?’ साहूको छोरो मुस्कुरायो, ‘भइहाल्छ नि !’
कमरेडलाई आफ्नो घरमा पुर्याएर खातिरदारी गरेपछि उसले सोध्यो, ‘ल भन्नोस् मैले के गर्नुपर्यो ?’
‘क्रान्ति गर्न भूमिगत हुनुपर्छ । जंगल छँदैछ, म त्यहीं भूमिगत हुन्छु,’ कमरेड क्रान्तिकारीले आफ्नो योजना सुनायो, ‘तपाईंले गाउँका युवा–युवती पठाइदिनुपर्छ । म भूमिगत सेना तयार पार्छु ।’
‘भूमिगत हुन त म व्यवस्था मिलाइदिउँला, तर गाउँमा युवा–युवती नै छैनन्, कहाँबाट पठाउनु ?’ अध्यक्षले भन्यो, ‘युवक जति घरबारी बन्दक राखेर खाडी मुलुक हानिए, युवती जति पैसा कमाउन शहर पसेका छन् । गाउँमा त केटाकेटी, बूढाबूढी र तपाईंको पहिलो क्रान्तिका घाइते, अपांग र गोली लागेकाहरू मात्र छन् । अरू गाउँको हालत पनि यस्तै हो ।’
‘ठीकै छ,’ कमरेडले सुस्केरा हाल्यो, ‘त्यसो भए केटाकेटीबाटै काम चलाउनुपर्ला ।’
‘बुढेसकालमा किन यत्रो दु:ख गर्नुहुन्छ कमरेड ? आफ्नै पुराना लडाकूहरूलाई बोलाउनोस् न । नयाँलाई तालीम पनि तिनैले देलान्,’ अध्यक्षले सल्लाह दिन खोज्यो ।
‘तिनको कुरै नगर्नोस्,’ ऊ झस्कियो, ‘मलाई सबैभन्दा ठूलो खतरा नै तिनीहरूबाट छ । तिनैबाट ज्यान जोगाउन अंगरक्षक लिएर हिंड्नुपरेको छ ।’
‘पैसा त छ नि, क्रान्तिका लागि ? कि पहिले जस्तै बन्दूक देखाएर चन्दा माग्ने हो ?’ व्यापारी बुद्धिको अध्यक्षले मुख्य जिज्ञासा प्रकट गर्यो ।
‘छ अलिअलि । चिन्ता गर्नुपर्दैन,’ उसले आश्वस्त पार्यो ।
सरसल्लाह मिलेपछि कमरेड फेरि त्यही बुइँगलमा १५ दिनका लागि अर्ध भूमिगत भयो । यसबीच अध्यक्षले उसका लागि जंगलमा खाल्डो खनेर एककोठे पूर्ण भूमिगत आवास तयार गरिदियो । बाहिरबाट हेर्दा ढलेको छाप्रो जस्तो देखिने, भित्र आरामदायी । कमरेडको निर्देशन बमोजिम सैनिक तालीमका लागि पिस्तोल, बन्दूक, बम, ग्रिनेड आदि निर्माण गरियो । सबै काठका । सुरुङ युद्धका निम्ति आठ हात लामा एक दर्जन सुरुङ खनियो । ठाउँठाउँमा पहिलो क्रान्तिका दारुण दृश्य देखाउने फ्ल्याक्स लगाइयो । जंगल पस्ने ठाउँमा गेट बनाइयो । विद्यार्थीहरूले स्कूलपछि दुई घण्टा जंगल पसेर क्रान्तिको खेल खेल्ने सर्वपक्षीय सहमति कायम गरियो ।
सबै चाँजोपाँजो मिलेपछि जंगल पसेर कमरेड क्रान्तिकारीले आफूलाई भूमिगत र जंगललाई क्रान्तिको आधार क्षेत्र घोषणा गर्यो । क्रान्तिको आभास दिलाउन पहिलो दिन उसका दुई अंगरक्षकले विद्यार्थीहरूलाई आँखामा पट्टी बाँधेर अपहरणको शैलीमा स्कूलबाट जंगल पुर्याए । टाउकामा रातो टालो बाँधिदिए र कमरेडलाई सलाम गर्न सिकाए । जंगल घुमाए, सुरुङमा छिराए र दालमोठ–चिउरा ख्वाएर विदा गरे ।
भोलिपल्टदेखि विद्यार्थीहरू आफैं हाजिर हुन थाले । कमरेड पिर्कामा उभिएर उनीहरूको सलाम खान्थ्यो । लामबद्ध गराएर पीटी खेलाउँथ्यो । बन्दूक बोकाएर मार्चपास गराउँथ्यो । चउरमा उभ्याएर भाषण सुनाउँथ्यो । तिनले ताली बजाएपछि झन् चर्को भाषण गर्न थाल्थ्यो । सुरुङमा लुक्ने तरीका बताउँथ्यो । दुश्मनलाई लखेट्न र परास्त गर्न सिकाउँथ्यो । सुराकी र गद्दारलाई चिनेर सजाय दिन लगाउँथ्यो । एम्बुस थाप्न सिकाउँथ्यो । बन्दूक तेस्र्याएर गोली हान्न लगाउँथ्यो । बम पड्काउन अह्राउँथ्यो । बम भनेर पटका पड्काइन्थ्यो । उसलाई त्यसको गन्ध असाध्यै मन पर्थ्यो । निकैवेर नाक गाडेर सुँघिरहन्थ्यो ।
विद्यार्थीहरू त्यो खेलमा छिटै अभ्यस्त भए । खोपी र डन्डीबियो भन्दा त्यो कहाँ हो कहाँ रोमाञ्चक थियो । उनीहरू आफैं लडाइँ खेल्थे । एउटाले ‘डुम्’ भनेर गोली चलाएजस्तो गथ्र्यो र अर्को ‘ऐया’ भन्दै छाती थिचेर लड्थ्यो । कमरेड यो देखेर दंग पथ्र्यो । एक दिन उसले देख्यो, एउटा च्याँसे केटो बाबुको ज्वारीकोट र चश्मा लगाएर भाषण गर्दैछ र अरू श्रोता बनेका छन् । ऊ भन्दैछ, ‘देशले फेरि बलिदान मागेको छ । आऊ, आफ्नो बलिदान देऊ । तिम्रो बलिदानले मलाई माथि पुर्याउँछ । क्रान्ति भनेकै यही हो । बलिदान देऊ र क्रान्ति सफल पार ।’ उसको वैचारिक परिपक्वता देखेर कमरेड गद्गद भयो ।
अध्यक्षले सवारी साधनका रूपमा उसलाई एउटा खच्चड उपलब्ध गराएको थियो । ऊ त्यसैमा चढेर गाउँ डुल्थ्यो । गाउँलेहरू उसलाई ‘बाजे कमरेड’ भन्थे र ऊसँग डराएको अभिनय गर्थे । ‘बाजे त कति ठूलो क्रान्तिकारी, लास्टै डर लाग्छ नि’ भनिदिंदा ऊ दंग पथ्र्यो । कोही कोही ‘भात खाने हो बाजे ?’ भनेर बोलाउँथे । ऊ भोकै भए पनि मुन्टो बटारेर हिंड्थ्यो । भोलिपल्ट फेरि त्यहीं पुग्थ्यो र बन्दूक देखाउँदै चर्को स्वरमा ‘भात पस्क’ भनेर आदेश दिन्थ्यो । क्रान्तिकारीले भात पनि अरूलाई थर्काएर मात्र खानुपर्छ भन्ने उसको प्रबल मान्यता थियो ।
सबै ठीकठाक चल्दैथियो । अचानक एउटा तनाव शुरू भयो । आफ्नो अथाह पैसा कमरेडले शहरमा व्यापारीहरूलाई राख्न दिएको थियो । एउटै इशारामा उनीहरू करोडौं रुपैयाँ लिएर हाजिर हुन्थे । क्रान्तिका लागि भूमिगत भएपछि उसले आफ्ना अंगरक्षक पठाएर पैसा मगाउन थालेको थियो । अकस्मात् उनीहरू फर्कन छोडे । एकपछि अर्को गर्दै चारै जना गायब भए । तिनलाई व्यापारीहरूले आफ्नै अंगरक्षक बनाइसकेछन् । यो खबर सुनेपछि उसलाई आफ्ना दुवै हात भाँचिएको अनुभव भयो । लेनदेनको लिखत थिएन । क्रान्ति सफल हुने टुंगो थिएन । अंगरक्षक विना शहर पुग्ने आँट थिएन । ऊ व्यापारीहरूले पैसा पचाइदिने भए भनेर छटपटिन थाल्यो ।
यसैबीच सरकारले जंगललाई ‘क्रान्ति आरक्ष’ घोषित गर्यो र अतिक्रमण रोक्न भनेर रातारात तारबार लगायो । प्रचार बढेपछि स्वदेशी, विदेशी पर्यटक आउन थाले । महँगो शुल्क तिरेपछि आरक्षभित्रै पसेर क्रान्तिको अभ्यास हेर्न पाइने व्यवस्था भयो । भित्र पस्नेहरू प्राय: विदेशी नै हुन्थे, जसमध्ये कसैकसैले कमरेड क्रान्तिकारीसँग उसको भूमिगत कोठामै पुग्ने मौका पाउन थाले । उसले तिनीहरूलाई ‘फलानोकै हातमा पुर्याइदिनू है’ भन्दै खामबन्दी गोप्य पत्र दिन थालेको थियो, जसको अन्त्यमा लेखिएको हुन्थ्यो, ‘तपाईं हामीलाई गुन लगाउनोस्, हामी गुनको बदला चुकाउन पछि पर्नेछैनौं ।’
दोस्रो क्रान्तिको तयारी शुरू भएको थाहा पाएर पुलकित भएका कमरेडका वृद्ध गुरु एक दिन उसलाई भेट्न आइपुगे । उसले सैन्य तालीम लिइरहेका विद्यार्थीहरूसँगै उभिएर गुरुलाई सलाम अर्पण गर्यो । पर्यटकहरू भिडियो खिचिरहेका थिए ।
वर्षौंवर्ष पश्चात् त्यति धेरै बन्दूक एकसाथ देखेपछि वृद्ध गुरु जोशिए र देब्रे हातले मोटो चश्मा सम्हाल्दै दाहिने मुठ्ठी जोडले आकाशतिर झट्कारेर चिच्याए, ‘स्याब्बास् ! फेरि बन्दूक उठ्नेछ यो देशमा !!’
जोश बढी भएछ क्यार, इँजार चुँडियो र उनको सुरुवाल तल खस्यो ।
मानिस हाँस्न थाले । कोही करायो, ‘बन्दूक होइन, पहिले आफ्नो सुरुवाल उठाउनोस् ।’
उनी निहुरिन खोजे, तर सकेनन् । ढाडै सड्किएछ । कमरेडले हत्तपत्त अगाडि आएर सुरुवाल उठाइदियो र इँजार बाँधिदिंदै भन्यो, ‘बन्दूक त उठ्छ, उठ्छ । अरूले नउठाए मै उठाउँछु ।’
‘उठाउनोस् न कमरेड, त्यहीं पछाडि त छ नि,’ फेरि कसैले जिस्क्यायो ।
उसले बन्दूक उठाएर देखायो । हाँसोको फोहोरा छुटयो । कोही भन्दैथियो, ‘बन्दूक सुल्टो समाउन पनि बिर्सनुभो कि क्या हो कमरेड ?’
ऊ लाजले रातो भयो, र बन्दूकसँगै कुरा घुमायो, ‘बन्दूकको कुरा छोड्नोस्, अब हामी हाम्रा गुरुलाई बमको सलामी दिन्छौं । ल, बम पड्काऊ !’
मानिस आतंकित भए । तर, बम भन्नु पटका थियो । एउटा विद्यार्थीले सलाई झयार्र पारेर आगो झोस्यो र पटका पड्कियो— डयाम्म ! . . .
कमरेड क्रान्तिकारी झसंग भएर ब्यूँझियो । यसो हेर्छ, ‘ब्लू लेबल’ को बोतल भर्खरै भुइँमा खसेर चकनाचूर भएको छ, आफू सोफाको सोफामै !
उसले टाउको दायाँबायाँ झड्कार्यो र तीन–चार पटक लामो सास फेर्यो । सारा श्रीसम्पत्ति आफ्नै नियन्त्रणमा छ भनेर मन ढुक्क भएपछि एक्लै हाँस्न थाल्यो, ‘धन्न सपना रहेछ । नत्र बित्यासै परिसकेको !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।