खासमा मैले बुकको समीक्षा लेख्न खोजिरहेको थिएँ, केही समयदेखि | कुन तरिकाबाट लेख्ने भन्ने चाहिँ थाहा थिएन । देवकोटाले भनेझैँ, शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्दिनँ, लेख्दछु लेख्नका र आफ्ना विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु |” *( श्रीगणेशमय नमः, निबन्ध ) म नि उस्तै तरिकाले लेख्न चाहन्थे |

खासमा सुरुमा यो विचार आएको चाहिँ Elif Shafek को 10 Minutes 38 Seconds in This Strange World बाट थियो | तर त्यतिबेला अल्छी गर्न मन लाग्यो | त्यो बुकको न्यारेसन  तरिकाले नै गज्जबसँग छोएको थियो | अनि विज्ञानलाई पनि त समेटेको छ त्यसमा | (समाज कसरी चल्छ ? समाज यही पुरै ब्रह्माण्डको त एउटा सानो रूप हो | कुनै पनि सिस्टम कसरी चल्छ ? चलिराको छ ? त्यसमा हुने विभिन्न तत्त्वहरू,  विभिन्न पक्षहरूलाई बुझ्नु र तीसँग जुझ्नु आवश्यक छ |) मैले यहाँ यो कुरा किन भन्न पुगेँ भने नि, कुनै पनि साहित्यमा सामान्यता हामीलाई मन पर्ने भनेको नै त्यसको काल्पनिकता नै त हो | सबैभन्दा सुन्दर पक्ष र सुन्दर तत्त्व हामी मानवसँग भएको भनेकै त त्यही कल्पना गर्न सक्ने शक्ति र त्यसैमा हराउन सक्ने क्षमता त हो |

कुरा 10 Minutes 38 Seconds in This Strange World को नै गरौँ | मान्छेको मृत्यु भइसके पछाडि करिब (फेरि विज्ञानको भाषामा करिब भन्ने कुरा नै हुँदैन, त्यहाँ त सत्य र तथ्यका कुराहरू गर्नुपर्ने हुन्छ |) मान्छेको मृत्यु भइसकेपछाडि १० मिनेट ३८ सेकेन्डसम्म हाम्रो सोच्ने मस्तिष्कले काम गरिरहन्छ भनिन्छ | अनि Shafek ले त्यही विज्ञानको कुरामा आफू अडेर मज्जासँग काम गरेकी छिन् | हो, मलाई त्यो कुराले गर्दा नै त्यो बुकको रिभिउ लेख्न मन लागेको थियो तर खै के-के भएर अल्छी गरेँ मैले |

अतिरक्त अभिलेखपाँचौँ सेमेस्टरको फाइनल परीक्षा चलिरहेको थियो | हामी विद्यार्थी, खासमा म, दुइटा विषयको बिचमा जति नै दिन ग्याप भए नि पढ्ने भनेको परीक्षाको अघिल्लो र अझै खासमा परीक्षाको दिनमा मात्रै हो | त्यही भएर बिचमा खाली रहेको एकदिनमा केही पढ्न नि मन लागेन, अनि यतिकै कोठामा बसिरहन पनि मन लागेन | त्यसैले, विश्वविद्यालयको सेन्ट्रल लाइब्रेरी जाने विचार आयो र म कोठाबाट निस्किएँ | लाइब्रेरी पुगेर म साहित्यको फाँटमा पसेँ र एकछिन एक दुई घण्टा लाइब्रेरीमै बसेर पढ्न मिल्ने सानो साइजको कुनै (जुनसुकै) भए नि किताब खोज्न थालेँ, त्यही क्रममा महाकवि देवकोटाको सुनको बिहान’  निकालेँ | जुन सारै नै सानो आकारको थियो, त्यसैले अर्को किताब नि खोज्न थालेँ | त्यही क्रममा हरियो, बैजनी र सेतो रङ्गको abstract कभर भएको, जसलाई के.के. कर्माचार्यले कोर्नु भएको रहेछ, दिनेश अधिकारीको ‘अतिरिक्त अभिलेख’ झिकेँ | दुई किताब समातेर म लाइब्रेरीको स्टडी रुममा बसेँ |

सुरुमा महाकविको सुनको बिहानलाई सरर निहाल्न पुगेँ म | एकलट सकेर फेरि हामीले सानैदेखि सुन्दै आएको कविताको पङ्क्तिहरूमा हराउन पुगेँ |

नटिप्नु हेर कोपिला!

नचुँड्नु पाप लाग्दछ ।

नच्यात्नु फूल नानी हो !

दया र धर्म भाग्दछ ॥”

अनि त्यसपछि अतिरिक्त अभिलेखका सुन्दर कविताहरूको अभिलेखहरूमा हराउन पुगे |

शब्दहरूको पहाडमा के भयो भने हामी त्यसलाई कविता भन्छौँ ? मलाई प्रश्न गर्न मन लाग्छ | हामीले रचना रचिरहँदा, अरूका कृतिहरू पढिरहँदा,.. ती विभिन्न आयामका, विभिन्न विधाका हुने गर्छन् | खासमा यस्तो प्रश्नको सिलसिला मलाई बुद्धिसागरको कर्णाली ब्लुज पढ्ने बेलादेखि भाको थियो | ती शब्दहरू, यी कुराहरूमा के भयो भने चाहिँ त्यो उपन्यास हुन पुग्छ रू {फेरि काल्पनिकता को नै कुरा हुन आइपुग्छ,.. } दैनिकी लेखेर, शब्दहरू थुपारेर, यस्तो भयो उस्तो भयो भनेर हुन्छ र ? नाइँ, के भयो भने चाहिँ ती शब्दहरूले एउटा छुट्टै संसारको निर्माण गर्छ ? के भयो भने ती व्यक्तिहरू पात्रको रूपमा रूपान्तरण हुन पुग्छन् ? हो, कर्णाली ब्लुज  पढिसकेपछि देखि मलाई रचनाहरू, आखिर, ती रचना, ती विधाका कसरी हुन पुगे भनेर प्रश्न गर्न मन लाग्छ  |

प्रश्न किन गर्न मन लाग्छ ? कि त त्यो अस्तित्व/परिवेश कत्ति पनि स्वीकार हुँदैन, कि त अति नै मन पर्छ | कर्णाली ब्लुजको हकमा त्यसको औपन्यासिकता स्वीकार गर्न नसकेर होला,.. या मैले सुरुमा बुद्धिसागरको फिरफिरे पढेर, कर्णाली ब्लुजमा केही नयाँ नभेटेर हुन सक्छ | या त मलाई डाहा लागेको नि हुन सक्छ | लगभग सबैलाई नै अति मन परेको नेपाली उपन्यास कर्णाली ब्लुज हो | अहिले त अङ्ग्रेजीमा नि अनुवाद भएर विश्वचर्चा पाइरहेको छ, मलाई त्यसको ईर्ष्या लागेको नि हुन सक्छ | खैर, जे होस्, होस् |

म सोध्दै र सोच्दै थिएँ कि आखिर के भयो भने चाहिँ कविता कविता हुन्छ ? सबैका आ-आफ्ना विचार र भावना हुन्छन् | मेरो हकमा चाहिँ कविताले हामीलाई एकछिन भए पनि रोकाउन, सोचमग्न गराउन सक्नु पर्छ |

अब हामी अतिरिक्त अभिलेखभित्रका केही कविताहरूलाई निहालौँ |

सुरुकै कविता ईश्वर र मान्छेले मलाई एकछिन रोकायो | एकछिन गहिरो श्वास फेर्न बाध्य पार्‍यो | अँ त है, यस्तै त भैराको छ है, आखिर किन यस्तो भैराको छ त भनेर सोच्न बाध्य तुल्यायो | मान्छेले ईश्वरसँग मात्र सुन्दरता माग्दा पनि सारा संसार दिँदा अझै फेरि मान्छेले बिना परिश्रमको सम्पन्नता माग्दा ईश्वरले मान्छेको त्यो अवस्था, त्यो स्वभावलाई देखेर रोएको कुरा छ |

यस्तै कालो रातमा पनि फूलले आफूमा रङ्ग भरेको कुरालाई कविले हाम्रो जीवनसँग पनि जोड्न अनि जीवनका दुख, सुखका प्रक्रियाहरू बुझ्न झकझकाएक छन् | चुपचाप चुपचाप राति नै फूलले आफ्ना पत्रहरूमा सबै रङ्ग भर्दो रहेछ भनेर कवि ‘पराजित आतङ्क’ कवितामा छक्क पर्नु भएको छ |

आकाशले आफूलाई पछ्याइरहेको कुरा, आकाशले मान्छेलाई गरेको नि:स्वार्थ मायालाई कविले मज्जासँग कस्तो मिठो तरिकाले व्यक्त गर्नुभएको छ | आफू जति उचाइमा पुगे पनि, जति सम्पन्नतामा पुगे पनि मान्छेलाई खोज्दै धर्तीसम्म आइपुगेको कुरा, अझ धर्तीमा नि भेट्टाउन नसकेपछि मान्छेलाई धर्तीभन्दा पनि तल पुगेर मान्छेलाई खोज्ने कुरा गरेका छन् | आहा, कति निस्वार्थ माया आकाशको |

फौलिन त कसले जित्न सक्थ्यो र आकाशलाई तर पनि मायामा आफू साँघुरिन पनि जानेको छ आकाशले | (के हामी आफू कहिले मायामा साँघुरिएका छौ ?.. अहिलेको यो आर्थिक, सामाजिक अवस्थामा मायाभन्दा पनि अरू नै कुराहरू बढी हाबी भइरहेका छन् |) पोखरी नै नहुनेलाई पनि उनीहरूसँग जे छ: चम्चा, बटुको, थाल, जोसँग जे छ, त्यसैमा आउने अनि अटाउने आकाशको साँघुरिने पनलाई अहँ कसैले जित्न सक्दैन र कसैले त कल्पना नै गर्न सक्दैनन् निस्वार्थ प्रेमको |

त्यस्तो निस्वार्थ माया गर्ने आकाशको प्रेमी म किन यति स्वार्थी, यति सङ्कुचित र कलुषित भाको छु भनेर हामी आफूलाई नै प्रश्न गर्नुपर्ने भएको छ | जसको माया ओढेर सुरक्षित भाको छम उसलाई नै हतियार प्रहार गरिरहेका छौ | किन ? यस्तो गरिरहेका छौ हामीले ?

र कविताको अन्तमा कविले मान्छेको यो व्यवहारप्रति गुनासो पोख्नु भएको छ,.. हामीलाई यति माया गर्ने आकाश हुँदा हुँदै किन हामी आकाश छाडेर, आकाश छेडेर आकाशभन्दा बाहिर जाँदै छौँ ? किन हामी निस्वार्थ माया गर्ने आकाशलाई गलहत्याएर, हाम्रो दया, माया, टिठ केही नि नमान्ने अन्तरिक्षतिर जाँदै छौ ?

“के तपाइलाई थाहा छ

मान्छेअचेल कता जाँदै छ ?”

ओखल कवितामा ओखल स्वादहीन स्वादहरुको कोलाज भएको, निश्चितताहरूबिच अनिश्चित भएको र खण्डहर मनहरूको रहर भएको कुरा गर्नुभएको छ | आफू र ओखलमा कुनै फरक नरहेको कुरा गर्नुभएको छ |

यस्तै आफू सधैँ सधैँ अरूले नहिँडेको बाटो हिँड्न मन लागेको, अरूले नछोएको अँध्यारो छुन मन लागेको, आफ्नो जिन्दगी आफ्नै ढङ्गले जोत्न मन लागेको, आफ्नै ढङ्गले खोज्न मन लागेको कुरा, म र मेरा आफन्तहरूमा गर्नुभएको छ |

यस्तै उपियाँको परेड कवितामा कविले, दुखाइ भएर त हामी बचेको छौँ, जिउँदै छौँ भन्ने दर्शनलाई प्रस्तुत गर्नुभएको छ | कविले कवितामा भन्नुभएको छ, तिनै उपियाँहरुको टोकाइको कारणले त आफू जिउँदो हुनुको आभास भएको, जीवनप्रतिको मोह अनुभव हुन थालेको छ |

कविले यस कवितासङ्ग्रहका प्रत्येक कवितामा अलौकिक बिम्बहरूको प्रस्तुत गर्नुभएको छ |

वसन्तलाई कुकुरले पिसाब फेरेको कारण अब यहाँका यी फूलहरूमा कुनै पवित्रता नआउने कुरा पनि बडो सोचमग्न छ |

त्यस्तै, एक्लै हिँड्दाको आनन्द कवितामा त झन् कविले आफ्नो प्रभाव गजबसँग पार्न सफल हुनुभएको छ | प्रेमका, मायाका कविताकै बढी बिगबिगी भइरहेको बेलामा कविले, आफूले आफ्नो माया आफैँ गर्ने, आफूले आफूलाई महत्त्व दिनुपर्ने कुरा कस्तो सुन्दर तरिकाले व्यक्त गर्नुभएको छ | तिम्रो उपस्थितिमा आफूले नचाही नचाही पनि तिमीलाई सुरक्षित पार्नु पर्ने स्थितिलाई गुनासो पोख्नुभएको छ | तिम्रो सामीप्य आफ्नो लागि सर्पलाई बिनजस्तो हुने कुरा गर्नुभएको छ | फेरि तिम्रो साथबाट, सङ्गतबाट मैले केही नि नपाएको होइन भनेर कविले अनुभवको लागि मात्रै ठिक हुने आलस्य पाएको कुरा जसको कुनै आवश्यकता नै छैन, अनि उत्सवबिनाको उपहार हत्याएको कुरा गर्नुभएको छ | मलाई आफूलाई सजाएर राख्ने कुनै रुचि नै छैन तर पनि तिम्रो सामु त मैले आफूलाई सजाउनु पर्ने, चिटिक्क पार्नुपर्ने दिक्दारी पोख्नु भएको  छ | त्यसैले एक्लै हिँड्दाको आनन्द तिमीसँग हिँड्दा हुँदो रहेनछ | यस कवितामा मलाई सबसे मन परेको पङ्क्ति चाहिँ यो हो :

“विषालु काँडाहरू ओढेको

अजङ्गको पहाड नै भेटियो भने पनि बिचमा

फुकाल्दै काँडाका दाँतहरू

पहाडको उचाइमा

अझै एक मान्छे अग्लाई थप्न सकूँ “

ईश्वरले आफू कहिल्यै पराजित नहुन गरेको षड्यन्त्रलाई षड्यन्त्र कवितामा यसरी प्रस्तुत गर्नुभएको छ |

“आफू कहिल्यै पराजित नहुन

ईश्वरले

उत्साहभन्दा धेरै ठुलो

आक्रोशभन्दा धेरै फराकिलो

मनको एउटा खाडल कनिदिएर मान्छे भित्र

दयाले / संवेदनाले त्यसलाई भरिदिएको छ

त्यस्तै यात्रा कवितामा कविले यात्राको महत्वलाई यसरी प्रस्तुत गर्नु भएको छ |

” म हिँडिन भने-

धर्तीको महिमा घट्छ

म हिँडिन भने-

आकाशबाट हाम फालेर सूर्य मर्छ

म हिँडिन भने-

बतासले आगो ओकल्छ “

अनि जिन्दगानी भनेकै पानी हो | जसरी बग्न पाएन भने पानी लेउ लाग्छ, त्यसरी नै यात्रा गर्न पाएन भने जिन्दगानी पनि छेउ लाग्ने कुरा गरेका छन् |

त्यस्तै कविले आफ्नै श्वासमाथि विभिन्न परिस्थितिमा बारबार अविश्वास भइरहेको दुखेसो नि पोख्नु भएको छ | यस संसारको परिस्थितिको, अवस्थितिको बडो डर लाग्ने, भोको पेट, नाङ्गो आङ देख्नु पर्ने भएकाले लाटोकोसेरोलाई उज्यालोसँग डर लाग्ने गरेको र अँध्यारोमा नै बस्ने बानी परेको कुरा गर्नुभएको छ | इतिहासलाई वर्तमानमा अनुवाद गर्ने कुरा, मान्छेसँग डराउने मान्छेसित असाध्यै डर लाग्ने गरेको कुरा गर्नुभएको छ |

र अन्तिममा यस कवितासंग्रहबाट मलाई असाध्यै प्रभाव पर्ने सफल भएको छोटो मिठो कवितालाई प्रस्तुत गर्न चाहन्छु:

फूल-सुन्दर छ

सुकोमल छ

सम्मोहक छ

फूल-सबैका लागि प्रिय छ

 

फूल-

गाउँमा छ

सहरमा छ

भीरमा छ

फूल-सर्वत्र उपलब्ध छ

फूल-

प्रेममा बोल्छ

मन्दिरमा चढ्छ

साइतमा अघि सर्छ

फूल-मायाको प्रतीक भएको छ

 

तर कस्तो नमज्जा !

हरेक बिघ्नबाट जोगाएर

सुरक्षित हुर्काउने

पिता तुल्य

आफ्नै मालीको मृत्युमा पनि

पूर्ववत्

फूल-मगमगाइरहेकै छ

उफ् !

सृष्टिको कस्तो विडम्बना !

फूलसँग

पटक्कै संवेदना हुँदो रहेनछ    

यसरी कविताहरू दोहोर्‍याई तेहेराई पढी सकेको पनि एक हप्ता हुन लागिसक्यो, यी कविताहरूमा आफू समाहित हुन खोजेको, आफू तिनै कविताका पङ्क्तिहरूमा विलीन हुन मन लागेको | गर्मी महिनामा शीतलता प्रदान गर्ने र जाडोयाममा न्यानो प्रदान गर्ने यी कविताहरूले अहिले मलाई शीतलता प्रदान गरिरहेका छन् |

विश्वविद्यालयका लाइब्रेरीभित्र धुलो जमेर बसेका अरू तमाम पुस्तकहरूको माया लागेर नि आएको छ | ती तमाम पुस्तकहरूलाई केही समयका लागि भए नि निहाल्न, काखमा लिन मन लागेको छ | अब यो कृति अरू कसैले पढोस् भन्नका लागि पनि लाइब्रेरीमा छाडेर जानु परेको छ |

अनि अन्तिममा भन्न मन लागेको अर्को कुरा यस्तो छ कि, यो कृतिले मदन पुरस्कार जस्तो सम्मान पाएको छ भनेर पहिला थाहा पाएर पढ्नु भन्दा  पहिला कुनै कृति पढेर पछि पो यसले त यस्तो खालको ठुलो सम्मान पाएको छ, पुरस्कार पाएको छ भन्ने थाहा हुँदा धेरै खुसी मिल्ने रहेछ | हुन त हामीले यो कृति पढ्दै गर्दा खेरि पनि थाहा पाउन सक्छौ, मनलाई भान हुन्छ कि यी चानचुने कविताहरू होइनन् भन्ने | गहनता र दार्शनिकता नै कविताको सबैभन्दा ठुलो हतियार हुन् |

र, फेरि अन्तिममा यस कवितासङ्ग्रहका रचनाकार कविवर दिनेश अधिकारी लाई पढ्ने मौका मिलेकोमा धेरै खुसी लागेको छ | र फेरि पनि कविज्यूलाई शुभकामना छ | हजुरले एउटा भर्खरैको युवाको मन-मस्तिष्कमा प्रभाव पार्न सफल हुनुभएको छ |