मूलकविः डा. सरोज कौशल
अनुवादः इन्द्र गिरी, दार्जिलिङ
१.
वानप्रस्थ आश्रममा प्रवेश
गर्न सक्छन् थोरैले मात्र
मोहरूपी फलामको बन्धन
छोड्नै सक्दैनन्
तीर्खा नै मेटिंदैन
वृद्धि हुँदै जान्छ
ऐश्वर्यको लालसा
घरको मोह
जडताको मोह हो
सुम्पन सक्दैन आउने पिँढीमाथि
उत्तरदायित्व
अविश्वास नै दु:खको
कारण बन्छ अविराम
व्यापक कालखण्डमा
नीच स्वभावले दिन्छ दु:ख धेरै
हे! मन तिमीले नै विचार गर
सौन्दर्य प्राप्त गरेर
असीम वानप्रस्थको
————
२.
वानप्रस्थले गर्दैन
दोषारोपण कसैलाई
ऊ हैन निराशाको
विषम जंगल
अहंकार पनि छैन उसलाई
आफ्नो धन अथवा उपलब्धिहरूको
वानप्रस्थ त हो त्यो पराकाष्ठा
जहाँ स्वीकार्छौं हामीले योग्यता
अनुज र कनिष्ठको
पराजित हुन चाहन्छौँ
हामी आउने पिँढीसित
परम्परा हाम्रो सर्वोच्च
विराजमान होस्
अनि मस्तक होस् हाम्रो
हिमगिरिजस्तै उच्च
उच्चतर, उच्चतम।
———–
३.
वानप्रस्थ केवल आश्रम हैन
यो त हो जीवन-शैली
प्रवृत्तिमा वैराग्य
मुक्तिमा लोक-संग्रह
आयु र लिङ्गमा
आधारित छैन यो
वानप्रस्थ
अरुको जीवनमा चियो गर्नु
ईर्ष्या-द्वेष राख्नु सबैसित
नीचताको परिचय
हृदय-विषादको पछिल्लो क्रम
वानप्रस्थ
विलिन होस्
जन-जनको मनमा।
————-
४.
यशलाई धमिलो पार्छन् उनीहरूले
जो योग्य हुँदैनन्
पाँउछन् आदर्श चरित्र जसले
तपमा लीन हुन्छ जीवन उनैको
कठोर अनुशासन अनि पगपगमा
संघर्षको सामना गरेर
हताश हुँदैनन् जो
बारम्बार जीवन संग्राममा
अडिग रहन्छन् जो
उनीहरू हिलोमा रहेर पनि
निर्लिप्त सृजित
आरोहण गरिरहन्छन् अविराम
उत्कर्षको, श्रेष्ठत्वको।
—————
५.
असारको पहिलो दिन
स्मरण हुन्छ अनायास
मेघदूत को यक्ष अनि
महाकवि कालिदासको
अपूर्व गाथा विरहको अलापियो
विरहले बनायो महान्
कालिदास र यक्षलाई
विरह बन्यो गुरु दुवैको
हामी सबैको
वियोगले शिक्षा दिन्छ
जीवन-संघर्षको
बनाउँछ त्यसले
संन्यासीसरह
प्रकृतिसित साक्षात्
सम्वाद गर्न थाल्छन्
मेघसित गर्छन् बिन्ती
सन्देश पुर्याउनलाई
लुप्त हुन्छ
चेतन-अचेतनको भेद
समस्त प्रकृति हुन्छ
सम्मिलित वियोगको दु:खमा
प्रकृति नै सङ्गिनी भए
त अरुको के हैसियत
देवता भन्दा उच्च हुन्छ
मनुष्य, यही नै हो महत्व
असारको पहिलो दिनको।
——————
(स्मरण कविको)
६.
वानप्रस्थ हो सिर्जना
व्यक्तित्वलाई सुसज्जित पार्ने
धैर्य, सन्तोष र वैराग्यले
दिनहुँ रचेर आफ्नो समृद्धि
समाजलाई दिनु
नयाँ आदर्श
दीप्तिमान चेतनाशक्तिले
कान्तिलाई फैलाउनु
आफन्तहरूमा
झङ्कृत पार्नु
ब्रह्माण्डलाई
असीम सहृदयताका साथ।
———-
७.
वानप्रस्थले गर्दैन गुणगान
नचाँहिदो कुराको
आफ्नैं वीरगाथाकालको
पनि हैन त्यो पुनरावृत्ति
षडयन्त्र पनि हैन
त्यो सम्बन्ध बीचको
आयु ज्येष्ठत्वले हुँदैन
आदरणीय त्यो
गुणहरू र परिपक्व बुद्धिको
सम्पूर्ण मिश्रणले नै
वानप्रस्थलाई दिन्छ
सफलताको आधार।
(डा. सरोज कौशल जयनारायण व्यास विश्वविद्यालय, जोधपुरकी प्राध्यापक हुनुहुन्छ । उहाँले संस्कृत विभाग अध्यक्षका रूपमा कार्य गर्नुभएको थियो । महिला अध्ययन केन्द्र, पं. मधुसूदन ओझा शोध प्रकोष्ठ लगायतमा निर्देशकको भूमिकामा रहिसक्नु भएको छ । डिगबोई, आसाममा जन्मनु भएका इन्द्र गिरी सन् १९८० देखि लेखनमा हुनुहुन्छ । उहाँका समय-असमय, मौसम -बेमौसम कविता प्रकाशित छन् । मौसम बेमौसम सन् २०११ मा हिन्दीमा अनुवादसमेत प्रकाशित छ ।उहाँले अभिजमान स्मृति स्पन्दन पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ भारतीय तेल निगमको उपप्रबन्धकबाट सेवा निवृत्त हुनुहुन्छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।