
चाहना
मुक्ति पोखरेल
छन्दःशार्दूलविक्रीडित
गणःम स ज स त त गुरु
विश्रामःछ र बाह्र अक्षरमा

मुक्ति पोखरेल
मेरो देह ढलोस् तथापि नझुकोस् नेपालको गौरव
आओस् छाल छछल्किँदै म न बगूँ पौडेर जाऊँ पर
यो मेरो तनले कदापि नगरोस् सङ्घात यो देशमा
आए शत्रु भने म झुक्न नपरोस् पर्दा कुनै क्लेसमा ।
१
मेरो रक्त हओस् यसै अवनिको रक्षार्थमा सिञ्चित
सारा मांस र अस्थिपञ्जर गरून् यो मृत्तिका रञ्जित
आफ्नैँ देश निमित्त गर्न म सकूँ काया यहीँ अर्पण
मेरो स्वर्ण शिखा हिमाल नझुकोस् झण्डा हओस् फर्फर ।
२
मेरा हात सुकर्म शान्तिपथमा लागून् सदा सर्वदा ।
मेरा पाउ पुगून् जहाँ गरिबका झुप्राहरू छन् त्यहाँ
आत्मा शुद्ध बनोस् पवित्र तनले सेवा गरूँ राष्ट्रको
कायाकल्प गरूँ म यो मुलुकमा पारी धुलो भ्रष्टको ।
३
भोका मानिसका पुगेर घरमा बालूँ चुलो साँझमा
बस्ती गाउँ घुमेर सेवक बनी बाडूँ पीडा साथमा
मेरो आयु थपूँ उमेर नपुगी मर्छन् जहाँ बालक
सेवा गर्न सकूँ सफा नियतले सच्चा बनी चालक ।
४
मेरो देह ढलोस् यहीँ जमिनमा कर्तव्यको यज्ञमा
मेरो लास जलोस् वनौषधिसँगै ज्वाला बनी अग्निमा
अर्को जन्म हुँदा म सेवक बनी आऊँ यही राष्ट्रमा ।
विश्वामित्र र बुद्ध व्यास शिवले गर्थे तपस्या जहाँ ।
५
भोग्नु पर्ने तनाव
दुर्गाप्रसाद सिग्देल
छन्दःमालिनी
गणः न न म य य
विश्रामः आठ अक्षरमा

दुर्गाप्रसाद सिग्देल
ऋतु पनि कतिखाले ग्रीष्म वर्षा वसन्त
सरद शिशिर गाह्रो पार्छ हेमन्त भन्छ
रहन सहन बेग्लै हुन्छ आफ्नै स्वभाव
हर बखत यिनैको भोग्नु पर्ने तनाव ।
१
प्रकृति पनि अनौठो हुन्छ जाडोर गर्मी
सब दिन गरिवीको लिन्छ सातो अधर्मी
जब जब अजङीलो पर्छ दैवी प्रकोप
तब तब उनलाई गर्छ को लौ भरोस ?
२
दररर कुहिरोले झार्न थल्यो बदीमा
गड गड गरि पानी उर्लिनेभो नदीमा
अचमसित हिवाँको पूल अर्काे बगेछ
अब पनि कति खेप्ने भू खलन्पो भएछ ।
३
सडकतिर सबैमा भीर कान्ला खसेर
ठमठम गरि हिड्ने छैन बाटो समेत
रिम झिम भइ वर्षा नित्य दर्की रहन्छ
यस दिन खहरे झन् गड्गडाई बहन्छ ।
४
कतिपय पहिरोले गाउँ बस्ती बगायो
मन बिचलित पार्ने आज सास्ती बनायो
वरपरतिर हेर्दा यान यौटै चलेन
पसल पनि यहाँको खाद्य सिद्यो खुलेन ।
५
अभर पनि अनेकौं रोगले बेरिएर
कति दिन अब बस्ने दुःखले घेरिएर
यति दिन सरकारी सान्त्वना देखिएन
खुस भइकन बाँच्ने तिर्सना मेटिए ।
६
वसन्त
पदमावती रिजाल
छन्द: मन्दाक्रान्ता
ग्णःम भ न त त गुरु गुरु
विश्रामः चार र दश अक्षरमा

पदमावती रिजाल
आभा छर्दै वन चउर छन् रूप आफ्नो बदल्दै
हाँस्दै नाच्छन् नव तरु लता बैँसमा मस्त झुल्दै
ओढी खास्टो हरित रङको कान्ति छर्दै छ पर्ती
टल्के सारा गिरिशिखर यी सौम्य बन्दै छ धर्ती
१
हावामा छन् कुसुम लतिका जम्जमाई झुलेका
कैयौँ बेली नव प्रकृतिको काखमा छन् फुलेका
देख्छौँ हामी खुब भ्रमरको खेलमा मस्त सृष्टि
डाँडाकाँडा सबतिर निकै हर्षले दिन्छ दृष्टि ।
२
धर्तीमा छन् हरित सृजना पोखिँदै यत्रतत्र
थुम्का थुम्का उपवनहरू देखिए पत्रपत्र
कस्तो होला मगज यसरी चल्न सक्ने धरामा
को होला यो अविरल लुकी रङ्ग भर्ने गरामा ।
३
थालेका छन् मधुर लहरी गुन्जिँदै कोइलीका
नौला नौला अनुपम छटा दीप्ति छर्दै मजाका
मोतीका यी नद र झरना हुन् कि माला बनेका
या हुन् अग्ला गिरिशिखरमा नाग खेल्दै रमेका ।
४
सोच्दै जाँदा अति गजबको लाग्न थाल्यो वसन्त
हेर्दै जाँदा अति रसिक यो लाग्न थाल्यो वसन्त
हो यो साँच्चै सकल ऋतुको खास लाग्दै छ राजा
हो यो हाम्रा मन मगजमा तृप्ति छर्ने खजाना
५



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

