शिलिङमा पङ्खा घुमिरहेछ । रातको १२ बजिसके छ । भोलि बिहान ड्युटीमा जानु छ । खै किन ? बिर्खबहादुरलाई निद्रा छैन । बिर्खबहादुर घुमिरहेको पङ्खातिर आँखा लगाउँछ र सोच्छ जीवन पनि यस्तै त रहेछ घुमिरहने पङ्खाजस्तै । नचाहादा नचाहादै समयले घुमाइरहेको छ ।

कृष्ण कञ्चन

बिर्खबहादुर निद्रा नआएपछि मोबाइल खोल्छ । मोबाइलमा बाआमाको धूमिल तस्बिर देखापर्छ । पुराना अतितहरू आँखामा नाँच्न थाल्छन् । २०६२\६३ को शसस्त्र जनयुद्धमा बेपत्ता पारिएका थिए बिर्ख बहादुरका बा । ऊ सम्झन्छ त्यो साँझ बाआमासँगै बिर्खबहादुरको २ बर्षको छोरो र श्रीमतीसँगै थिएँ । बिर्खबहादुर कि श्रीमती आशाले भान्साको सबै काम सकिसकेकी थिइन् । बिर्खबहादुरले गाई, भैँसी र बाख्रालाई गोठमा सारिसकेको थियो । आमाले कुखुरालाई खोरमा थुन्दै थिइन् । बा आँगनको डिलमा बसेर नातिलाई काखमा राखेर रमाइरहेका थिए । बाँस भञ्ज्याङ्गमा चराहरू कराउँदै बाँस बस्ने सुरसार  गरिरहेका थिए । साँझ बिस्तारै ढल्दै थियो । गाउँमा कहिले सैनिकले गस्ती गर्थे । कहिले माओवादी लुकेर गाउँ पस्थे । चरम सन्त्रासमय वातावरणमा गुज्रिरहेको थियो गाउँ ।

……..

एउटाले भन्यो “भद्रवीरको घर यहीँ हो ।”, सानो आवाजमा बा’ले ‘को हो ?’ सङ्केतमा टाउको हल्लाउनु भयो ।

साँझ झमक्क परिसेकेको थियो । टाढाको मान्छे चिन्न आँखालाई गाह्रो भइसकेको थियो । घरभित्र दियालो बालेर उज्यालो छाएको थियो । त्यति नै बेला ५ जना मान्छेको छाया आँगनमा देखियो छुट्याउन गाह्रो थियो, तिनीहरूको हुन् भनेर । गाउँमा माओवादीको सन्त्रास बोकेर बाँच्नु परेको थियो । ऊनीहरू हाम्रो घरतिर अगाडि बढिरहेका थिए । बाले सबैलाई भित्र जान आग्रह गर्नुभयो, नातिलाई आशाको काखमा दिनुभयो । बा र म पिँढीमा बसिरह्यौँ । एकैछिनमा बुटको आवाज आँगनमा पर्यौ । अँध्यारो भएकाले अनुहार चिन्न गाह्रो भयो । एउटाले भन्यो “भद्रवीरको घर यहीँ हो ।”, सानो आवाजमा बा’ले ‘को हो ?’ सङ्केतमा टाउको हल्लाउनु भयो ।

“तपाईँ हामीसँग हिँड्नु पर्यो ।”, त्यो मान्छेले बा’लाई आग्रह गर्यो । बा’ले ‘कहाँ ? किन ?’ भन्दै सोध्नु भयो ।

“यहीँ परसम्म हो ।” उसले जवाफ फर्कायो ।

बा चुपचाप हिँड्न विवश हुनु भयो । उनीहरूले राइफल बोकेका थिए । बा हिँड्दैगर्दा म पनि जान्छु भनेर मैले पनि अडान लिएँ तर ऊनीहरूले “सानो कुरा भएकाले एकछिनमा फर्किहाल्नुहुन्छ, तपाईँ जान जरूरी छैन ।”

त्यतिखेर आमा पनि घरभित्रबाट बाहिर निस्किनुभयो र भन्नुभयो, “अहिले कहाँ जाने रात परिसक्यो ? भोलि आउनु । दिउँसो कुरा गर्नु । जहाँ जानु छ दिउँसो जानु !”

आमाको प्रश्नको जवाफ दिन उनीहरूले उचित ठानेन् होला सायद ! चुपचाप बा’लाई हाँमीसँग हिँड्नु भनेर भनिरहेका थिए । बा’ले एकटक आमाको अनुहारसँगै  मेरो अनुहार हेर्नुभयो आशाका आमा छोराभित्रै थिए । बा उनीहरूसँग बाटो लाग्नुभयो । आमा र मैले बा गएको हेरिरह्यौँ । बा’ले विवश भएर एकटक घरतिर फर्किएर हेर्नुभयो।

साँच्चै त्यो रात मुटु पनि जोड जोडले धड्किरहेको थियो । सानो छोराबाहेक हामी कोही निदाउँन सकेनौँ, र त्यो रात अनिँदो नै बित्यो ।

रात छिप्पिन लाग्दा पनि बा फर्किनु भएन । मेरो मनमा चिसो पस्यो आमा आतिनु भयो । आशा पनि आतिइन् । सानो छोरा सुतिसकेको थियो । हामी बा’लाई खोज्न राँको बोकेर सबैतिर गयौँ, तर बा भेटिनु भएन । ऊनीहरू कोही भेटिएनन् । हतास हुँदै निराश हुँदै आमा र म घर फर्कियौँ । त्यो रात काट्न साह्रै सकस भएको थियो हामीलाई । कहिले उज्यालो होला भन्ने पर्खाइमा थियौ हामी । घडीको सेकेन्ड सुई पनि घण्‍टा सुई जस्तै ढिलो चलेको महसुस भयो । मैले मिनेट मिनेटमा घडी हेरेँ । साँच्चै त्यो रात मुटु पनि जोड जोडले धड्किरहेको थियो । सानो छोराबाहेक हामी कोही निदाउँन सकेनौँ, र त्यो रात अनिँदो नै बित्यो ।

पूर्वमा सूर्यले लाली नपोत्दै बिहानै खोरबाट भाले बास्यो ।  अनिँदा आँखा बोकेर आमा उठ्नुभयो र गाई भैँसीलाई कुँडो पकाउनुभयो । आशाले दैलो पोतिन र आँगन बडारिन म पनि उठेर चूल्हो नजिकै बसेँ । मान्छेहरू पानी पँधेरो गर्न थालेका थिए । हामीले बा’लाई पर्खिरहेका थियौँ । बा’लाई पर्खिँदा पर्खिँदा पनि नआएपछि गाउँमा चारैतिर हल्लाखल्ला भयो बा’को खोजी कार्य भयो, तैपनि बा भेटिनु भएन । त्यो दिन पनि बा घर नफर्किएपछि अर्को दिन डराउँदै डराउँदै हामी प्रहरी चौकीमा उजुरी गर्न पुग्यौँ । न्याय खोज्ने भनेको ठाउँ नै त्यहीँ थियो । प्रहरीचौकी पुगेको माओवादिले थाहा पाए झन् अनिष्ट हुने देखिन्थ्यो । बा’लाई माओवादिले गिरफ्तार गरेको खोजी पाउँ भनी उजुरी गर्यौँ । चौकीमा सामान्य केरकार गरेपछि उनीहरूले, ‘पिर गर्नु पर्दैन हामी खोजी कार्य  अगाडि बढाउँछौ, उहाँ छिट्टै भेटिनुहुन्छ’, भनेर हामीलाई सान्त्वना दिएर घर फर्काए ।

दिन ढल्यो !
हप्ता बित्यो । महिना बित्यो । वर्ष पनि बित्यो बा’घर फर्किनु भएन । प्रहरी प्रशासनले पनि बा’लाई भेट्न सकेन । हामीले बा फर्किनु हुन्छ कि भनेर मूलबाटो हेरिरह्यौँ । आँखा थाके, आँसु सुके, तर बा फर्किनु भएन । आमा बा’को चिन्ताले खाना खान छोड्नु भयो । आमाको शरीर बा’को पिरले कमजोर हुँदै गयो आमा पनि बिरामी हुनु भयो । पिरैपिरले आमाले पनि एकदिन  हामीलाई छोडेर जानुभयो । त्यसपछि सुरू भए मेरो जीवनमा दु:खका दिनहरू ।

कोही बाटोमा हिँडे पनि बा आउनुभयो कि भनेर आँखाहरूले हेर्न हतार गर्छन् । यसरी कैयन् वर्ष बितिसकेका छन्, हाम्रा बा’लाई कुर्दाकुर्दै ।

निम्न वर्गको परिवारमा जन्मेको म बा बेपत्ता पारिएपछि आमाले संसार छोडेँ पछि घरमा सानो छोरा आशा र म मात्र भयौँ । देशमा शान्ति आयो, युद्धविराम घोषणा भयो । आमा फर्किने त कुरा थिएन बा फर्किनु हुन्छ कि भन्ने मनमा झिनो आशा बाँकी नै छ । बा फर्किनु हुन्छ कि भनेर हामी अझै पनि मूलबाटो हेरिरहन्छौँ । कोही बाटोमा हिँडे पनि बा आउनुभयो कि भनेर आँखाहरूले हेर्न हतार गर्छन् । यसरी कैयन् वर्ष बितिसकेका छन्, हाम्रा बा’लाई कुर्दाकुर्दै ।

हाम्रो कुनै आयश्रोत थिएन् । बा बेपत्ता पारिएपछि पाखोबारीमा पनि माओवादीले कब्जा गरेका थिए । हामीले पेट पाल्ने भनेको बारीमा नै उनीहरूले झन्डा गाड्दा पनि हामी चुपचाप बस्न बाध्य थियौँ । आशालाई पनि डर थियो, मलाई पनि बालाई छ जस्तै माओवादीले लग्छन् भनेर त्यसैले पनि उनी मलाई बोल्न दिँदैन थिइन। हामी विवश भएर बाँच्नुसिवाय अर्को कुनै बिकल्प थिएन । बोले आफैँ निरर्थक मारिनुपर्ने, बलि चढ्नुपर्ने डर थियो । नबोले अभावले मर्नुपर्ने डर थियो । घरमा भएको अन्नपात पनि माओवादीले लुटेरा छापामार शैलीमा लाने गर्थे ।

सानो छोरा दिनहुँ हुर्केदै थियो । बा’आमाले आफूले पूरा गर्न नसकेका सपनाहरू छोराछोरीले पुरा गर्छन् भन्ने आशा हुन्छ । मैले मेरा बा’आमाका सपना कति पूरा गरेँ कुन्नि ? तर उहाँहरूका केही सपना पूरा गर्न नपाउँदै नियतिले बा’आमालाई नै टाढा बनाइदियो । अब बा’आमाका सपना पूरा गर्ने जिम्मेबारी मेरो छोराले बोकेको थियो । तर मैले पनि आफ्नो जिम्बेबारी र कर्तव्य त पूरा गर्नु छँदै थियो। तर छोराको आवश्यक्ता पूरा गर्न म परदेशिनु पर्ने बाध्यता भयो ।

आफूले भन्दा धेरै प्रगति गरोस् सन्तानले भन्ने चाहाना बाआमामा मात्र हुन्छ । जहाँ कुनै लोभ, ईष्याको भावना हुँदैन । निम्न वर्गीय परिवारमा बाँचिरहेका सन्तानलाई अभावबाट मुक्त गर्न भए पनि म परदेशिनु पर्ने भयो । गाउँमा केही सरसापाट, केही ऋण गरेरै भए पनि म परदेशिएँ, आशालाई र सानो छोरालाई सम्झाई बुझाई गरेर । मर्नुभन्दा बौलाउनु वेश भनेझैँ म आशाको काखमा सानो छोरोलाई घरमा एक्लै छोडेर लाचार बनेर, आँसु लुखाएर, मन दुखाएर परदेशिन विवश भएँ।

मलेसिया आएको केही सयमसम्म जीवन पीडादायी र कष्टकर रूपमा बित्यो । भनेको जस्तो काम पाउन सकिएन । कम्पनीले ८ घण्टा भने पनि १२\१३ घण्टा निरन्तर काम गर्नुपार्यो। बारम्बार राजदुतावासमा जानकारी गराएपछि बल्लतल्ल काम मिल्यो, त्यसपछि म आफ्ना बाआमालाई सुरक्षा दिन नसकेको मान्छे मलेसियामा सुन पसलको सुरक्षा गार्डको काम गर्न थालेँ । सुन देख्दा आमाको याद आउँछ । आमाले मलाई नाक, कान बुच्चो बनाएर पढाउनु भयो, केही बचेको पनि मेरो विवाहमा आशाको लागि नै दिनुभयो । भन्नुहुन्थ्यो, “छोरो पढेर भोलिपर्सि योभन्दा धेरै सुन लगाउँन दिने छ ।”, आमाको सपना पूरा गर्न नपाउँदै आमाले छोडेर जानुभयो ।

सबैले भन्छन्, ‘देशले मुहार फेरिसक्य’, तर मैले सम्झिने मेरा बाआमाको अनुहार फेरिएको छैन ।

सबैले भन्छन्, ‘देशले मुहार फेरिसक्य’, तर मैले सम्झिने मेरा बाआमाको अनुहार फेरिएको छैन ।

कहिलेकाहीँ सोच्छु मेरा बा’का गाला चाउरी परिसके होलान् ! हात खुट्टा कमजोर भइसके होलान् ? त्यो दिन रातमा को हो ? भनेर छुट्याउन नसकेका आँखाले आजभोलि दिनमा पनि छुट्याउन सक्दैनन् होला ? गला अवरूद्ध हुन्छ होला ! कानले सुन्न पनि छाड्न थाले होलान् ! अब भेटिएपछि मेरा बा’ले मलाई चिन्न सक्छन् कि सक्दैनन् होला ! बूढा कानले मैले ‘बा !’ भनेर बोलाउदा सुन्छन् कि सुन्दैनन् होला ! मरेर जाने मान्छेको भन्दा हराएर जाने मान्छेको याद धेरै आउँदो रहेछ, फर्किन्छ कि भन्ने झिनो आशा मनमा जीवनभर बाँचिरहने रहेछ ।

…………………

मोबाइलको फोटो हेर्दाहेर्दै मन मस्तिष्क विगतमा पुगेछ । मुखबाट हिक्क हिक्क आवाज आएपछि तल्लो बेडको साथीले, ‘के भयो बिजय ?’ भनेपछि झसङ्ग हुन्छ बिर्खबहादुर ।

अहो ! १ बजिसके छ ।

भोलि बिहानै सुरक्षाको लागि तैनाथ हुनुपर्ने छ बिर्खबहादुरलार्इ । ८ घण्टा त उभिनु नै पर्छ । खुट्टा दुखेर गाह्रो हुन्छ । अनिँदो बसेर कसरी काम गरोस् बिचरा ! भोलि झनै गाह्रो हुन्छ । काम गर्न नसके साहुले गाली गर्नेछ । यस्तै यस्तै सम्झिएर मुटु फेरि ढुकढुक गर्न थाल्छ उसको, त्यसपछि जबर्जस्ती आँखा बन्द गर्छ ।