स्पेनिया नाटककार जोजे इचागराइ १९ अप्रिल १८३२ मा स्पेनको राजधानी म्याड्रिडमा जन्मेका थिए। उनका पिता ग्रीक भाषाका प्राध्यापक थिए । विद्वान् परिवारमा जन्मेका इचागराइले सिभिल इञ्जिनीयरिङ् गणित र अर्थशास्त्र समेत अध्ययन गरेका थिए। उनी स्पेनमा शिक्षक, शिक्षा समितिका अध्यक्ष, सार्वजनिक सेवा मन्त्री र अर्थमन्त्री समेत भएका थिए।

उनले जीवनभर विभिन्न पदमा रही समाजमा जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गरे झैँ आफ्ना नाटकमा पनि दर्शकलाई आ-आफ्नो दायित्व बोध गराएका छन् । सुरुमा सौखले नाटक लेख्ने इचागराइ सन् १९०४ को नोबेल पुरस्कारको निम्ति फ्रेडरिक मिस्त्राइलका सहभागी बने। पुरस्कार प्रदान गर्दा उनलाई प्राकृतिक दृश्यको मौलिक वर्णन र जनताको राष्ट्रिय भावनाको चित्रण गरे बापत यो पुरस्कार प्रदान गरिएको भनिएको थियो । उनलाई यो पुरस्कार प्रदान गरेपछि स्पेनिया साहित्यको प्रचार स्वतः बढेर गयो। आफ्ना नाटकमा उनले कर्तव्यनिष्ठ तथा उच्च नैतिक चरित्रवान पात्रको सिर्जना गरेका छन् । त्यसको अतिरिक्त ती नाटकमा प्रायः भावावेशको प्रधानता तथा आध्यात्मिक स्वतन्त्राको निम्ति त्याग जस्ता प्रमुख विषय हुन्छन् । उनले केही ऐतिहासिक सुखान्त र दुखान्त नाटक पनि लेखेका छन् उनका आदर्श पात्र सत्य र सामाजिक प्रतिष्ठाका निम्ति सङ्घर्ष गर्छन् । निम्नलिखित उनका केही महत्त्वपूर्ण कृति हुन् ।

१) प्रतिशोधककी पत्नी (The Avenger’s Wife, 1874), २ तरबारको बिँड (The Sword’s Handle, 1978), महान गेलियोटो (The Great Galcoto, 1895), ४. दनजुवाको पुत्र (The Son of Don Juan, 1895 ) ५. बहुलाहा र साधु, र ६) मरिआना

साहित्य बाहेक उनी गणित र भौतिक शास्त्रका पुस्तक पनि लेख्थे। लेख्ने काममा उनी कहिल्यै थाकेनन्, वृद्ध अवस्थामा पनि उनी लेखेको लेखे गर्थे। १४ सेप्टेम्बर १९१६ मा म्याड्रिडमा उनको शरीरान्त भयो।