मलाई जति चाहिने हो, म ठ्याक्कै त्यति मात्र पिउँछु र त्यसपछि एक ट्वाक बढी थप्छु ।
एच.एल. मेन्केन

एस.एल. मेन्केन १८८० मा जन्मिएका थिए । उनी अखबारका सम्पादक, समीक्षक, पत्रकार र भाषाविद् पनि थिए । बाल्टिमोर हेराल्ड पत्रिकाबाट कनिष्ठ रिपोर्टरका रूपमा उनी छिरेका उनले पछि व्यंग्यात्मक पत्रिका स्मार्ट सेटको पनि सम्पादन गरे । उनले पछि अमेरिकन मर्करी नामक अखबार स्थापना पनि गरे । उनले ६ भागमा निबन्ध संग्रह प्रेजुडिस प्रकाशन गरेका थिए । र, यो अमेरिकी साहित्यमा ठूलो उपलब्धिका रूपमा परिचित छ ।

उनले द अमेरिकन ल्याङ्वेज शब्दसंग्रह निकालेका कारण उनी भाषाशास्त्रीहरूको नजरमा अमर बन्न पुगे ।

एच.एल. मेन्केनको समयमा अमेरिकामा रक्सी विरोधी अभियान चलेको थियो । उनी त्यसको सख्त विरोधी थिए । सरकारको यस किसिमको प्रतिबन्धबाट उनी यति रिसाएका थिए कि उनले द अमेरिकन ल्याङ्वेज नामक पुस्तकमा रक्सी भट्टीमा बोलिने छाला शब्दहरूका लागि विशेष ठाउँ दिएका थिए ।

स्वाभाविक रूपमा उनी धेरै भट्टी चिन्दथे, त्यहाँ उनी पिउन पनि जान्थे । खासगरी त्यो बेला पिउनेहरूको अनौपचारिक विशेष क्लब पनि हुने गर्थ्यो । यस्तो क्लबमा भेला भएर उनीहरू ‘भर्बल बमिट’ (मस्त पिएर जे पायो त्यही ज्ञान बाँड्ने) काम गर्थे । कहिलेकाहीँ भर्बल बमिट मात्र नभएर वास्तविकतामै छाद्ने काम पनि हुन्थ्यो ।

कहिलेकाहीँ भेलामा जान नजुरेका बेला उनी घरैमा आनन्दले पिउँथे । उनले शुद्ध र गज्जबको रक्सीको स्वाद लिन भनेर नै घरैमा जाँड वा रक्सी उत्पादन गर्थे । उनको घरमा उत्पादन गरिएका रक्सीको प्रेमीहरूमा सिन्क्लेयर लेविस पनि थिए । लेविसको रक्सीमा बढी नै प्रेम देखेर उनले घरेलु रक्सी बनाउने तरिका सिकाउँदै आफ्ना सामग्रीहरू उनलाई उपहारमा दिएका थिए ।

०००

जाँड खाएर ढलेकी युवतीलाई के खाएर ढली भनेर कल्ले पो सोध्ला र ?
एड्ना सेन्ट भिन्सेन्ट मिले

१८९२ मा जन्मिएकी एड्ना नाटककार र कविका रूपमा चर्चित छिन् । उनका कविताहरू गेयात्मक हुन्थे र त्यस्ता कविताका लागि उनी निकै मानिएकी थिइन् । २० वर्षकै उमेरमा उनले भेसारमा स्कलरसिप पाएकी थिइन् । उनको रेनेसाँ शीर्षकको कविता पढेपछि उनलाई स्कलरसिप दिइएको थियो । उनको हार्प-वेभर एन्ड अदर पोयम्स शीर्षकको संग्रहले उनलाई पुलित्जर पुरस्कार दिलाएको थियो । यो पुरस्कार पाउने उनी प्रथम महिला बन्न पुगिन् ।

एड्ना भेनिटी फेयर पत्रिकामा लेख्ने गर्थिन् । पत्रिकाले एक दिन उनलाई फकाउन कुनै लेख लेख्न आग्रह गर्यो । यदि उनले समयमै लेख लेखिन् भने युरोप भ्रमणको तारतम्य मिलाइदिने वचन पनि दिइयो । तर त्यसका लागि उनले चाँडै नै आलेख दिनुपर्ने थियो । त्यो बेला उनले नान्सी बोयड नाउँमा पत्रिकामा लेख्थिन् ।

तर लेख्ने मूड बनाउन उनलाई पिउनु पर्थ्यो । बरू कम्पनीले नै उनलाई मस्त पिलाउने व्यवस्था मिलाइदियो । एक अबेर राति, उनले पिउँदै लेख्दै गर्दा अन्य दुई जना साथीहरू एडमन्ड विल्सन र कवि जोन पिल बिसप पनि आइपुगे ।

पिउँदै गर्दा उनले आफू पिएको बेला भारी हुने हुनाले कसैले पनि उचाल्न नसक्ने दाबी गरिन् । त्यसको प्रमाणका रूपमा उनले बिसप र विल्सनलाई आफ्नो शरीरको टाउकाको भाग एक जना र गोडातिरको भाग अर्को जनालाई उठाउन लगाइन् ।

वास्तवमा उनीहरूले एड्नालाई उठाउन निकै गाह्रो भयो । कारण चाहिँ, उनीहरू पनि मज्जैले मातेका थिए र भुइँमा खुट्टा राम्रोसँग टेकिरहेका थिएनन् । त्यो दिन ती दुई कविले एड्ना पिएका बेला भारी हुन्छे भन्ने कुरालाई प्रख्यात बनाइदिए ।

०००

बिहीबारको दिनबाट म टन्न पिउँछु र शनिबार बिहानसम्म अल्कोहलरहित बन्न पुग्छु ।
जोन ओ’हारा

सन् १९०५ मा जन्मिएका जोन उपन्यासकार तथा छोटा कथा लेखकका रूपमा चर्चित छन् । उनका लामा कथाहरू द न्यु योर्कर पत्रिकामा प्रकाशित भएका छन् । उनको पहिलो उपन्यास अप्वाइन्टमेन्ट इन् समाराले नै उनलाई गतिलो लेखकका रूपमा दर्ज गराएको थियो । उनको बटरफिल्ड ८ अर्को चर्चित उपन्यास हो । उनको टेन नर्थ फ्रेडरिकले अमेरिकाको प्रतिष्ठित नेसनल बुक अवार्ड जितेको थियो ।

रक्सी पिउन थालेपछि जोन ओ’हारालाई खै कस्तो जोश आउँथ्यो, छेउछाउका मान्छेसँग भिड्न पुगिहाल्थे । त्यो बेला उनीहरूको पिउने अड्डा भनेको २१ क्लब भन्ने भट्टी थियो ।

कयौँ पटक रक्सी पिउँदै जाँदा झगडा परेर अभिनेता पल डग्लस, कवि रोबर्ट बेन्चली, प्रख्यात न्युरोलजिस्ट डा. होवार्ड फेबिङसँग भिड्न पुगेका थिए ।

जोनको पिएपछि झगडा गर्ने प्रवृत्तिलाई मध्यनजर गर्दै उनी कुनै भट्टीमा छिरेपछि उनको छेउमा दुई जना बाउन्सर रेखदेखका लागि तम्तयार भएर बस्थे ।

कोही साथीहरू भने जोनसँग पिउन थालेका छन् भने बेलाबेलामा ढोका छेउमा छु कि छैन भनेर हेर्थे ताकि जोनको रौद्र रूप देखिन थालेपछि ढोकाबाट लुसुक्क बाहिर निस्कन सजिलो होस् ।